प्रनेश पक्राउमा रंग पत्रकार विभाजित, एफजेई पक्राउको समर्थनमा, फिक्सन विपक्षमा

बिहिबार, ३० जेठ २०७६, ०६ : १३ शुक्रवार
प्रनेश पक्राउमा रंग पत्रकार विभाजित, एफजेई पक्राउको समर्थनमा, फिक्सन विपक्षमा

युट्युब च्यानल मिम नेपालमा गरिएको नेपाली फिल्म ‘वीर विक्रम २’को समीक्षाको आधारमा प्रनेश गौतमलाई साइबर क्राइमको आरोपमा प्रहरीले पक्राउ गरेको विषयमा चलचित्र पत्रकारसँग सम्बन्धित दुई संस्था विभाजित देखिएका छन् ।

नेपाल पत्रकार महासंघमा एसोसिएट संस्थाको रुपमा आबद्ध चलचित्र पत्रकार संघ र चलचित्र समीक्षक समाज नेपालले प्रनेश पक्राउप्रति विपरीत धारणा सार्वजनिक गरेका हुन् ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले बुधबार प्रनेशको पक्राउको पक्षमा चलचित्रसँग सम्बन्धित १० वटा संस्थाले जारी गरेको विज्ञप्तिमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए । चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र संघ लगायतका संस्थाले जारी गरेको विज्ञप्तिमा ‘वीर विक्रम–२’ बारे प्रनेशले गरेको समीक्षाको भत्सर्ना गरिएको थियो । विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भएको दाबी थियो ।

अध्यक्ष सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा चलचित्र पत्रकार संघसमेत विभाजित देखिएको छ । संघका महासचिव अनिल यादवले सामाजिक सञ्जालमा सो विज्ञप्तिमा संस्थाको अध्यक्षको हस्ताक्षर देख्दा आफूलाई लज्जाबोध भएको लेखेका थिए । 

चलचित्र समीक्षक समाजले बिहीबार विद्युतीय कारोबार ऐनको अपव्याख्या र दुरुपयोग भएको ठहर गर्दै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी यसको प्रयोग नगर्न आग्रहका साथ प्रनेशको तत्काल रिहाईको माग गरिएको छ । 

समिक्षक समाजका अध्यक्ष यज्ञश र महासचिव सामीप्यराज तिमल्सेनाले जारी गरेको विज्ञप्तिमा प्रनेशले बनाएको भिडियोबारे भनिएको छ, ‘चलचित्र समीक्षा गर्ने शैली विविध हुन सक्छन्, संसारभर धेरै शैली प्रचलनमा छन् । प्रनेश गौतमले प्रस्तुत गरेको यो भिडियो ‘एब्सर्डिस्ट ह्युमर’ शैलीमा बनाइएको कमेडी भिडियोमा पर्ने देखिन्छ ।’

उसले चलचित्रकर्मीहरु आफैँ सर्जक भएकाले आलोचना र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन् भन्ने समाजको मान्यता रहेको र अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्य कलाकारको मात्र स्वतन्त्रता नभएर चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरुको स्वतन्त्रता भएको उल्लेख गरिएको छ । 

उसले अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै समाजलाई जीवन्त र स्वतन्त्र बनाउने, कुनै पनि बहानामा यसमाथि हुने प्रहार स्वीकार्य नहुने, सार्वजनिक कला वा उत्पादनको आलोचना, समीक्षा वा टिप्पणीलाई अपराधका रुपमा चित्रण गरिनु उचित नहुने, अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि मान्य नहुने उल्लेख छ । 

‘मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारी आदि कलाकारबारे यस किसिमका टिप्पणी गरेको पाइयो । हामी यसको समर्थन गर्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी विषयमा संवेदनशील हुन आवश्यक रहेकोमा पनि जोड दिन्छौं ।’ 

प्रनेशलाई साइवर क्राइम गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी हिरासतमा राखेको छ ।

Leave A Comment