कथै छैन नेपाली फिल्ममा

शुक्रबार, ३१ जेठ २०७६, ०२ : ३६ रीना माेक्तान
कथै छैन नेपाली फिल्ममा

एक महिनाअघि फिल्म लेखक यम थापालाई एउटा ठूलो ब्यानरका निर्माता÷निर्देशकबाट अनौठो सर्तसहित स्क्रिप्ट लेख्न प्रस्ताव आयो । सर्त थियो, ‘पैसा जति भने पनि दिन्छु तर स्क्रिप्ट एक हप्तामै चाहिन्छ ।’ 
‘कान्छी’, ‘राज्जा रानी’, ‘मेरी मामु’ लगायत फिल्म लेखेका उनलाई त्यसै पनि ती फिल्म फ्लप भइरहेका बेला आएको यो प्रस्ताव चित्त बुझेन । 

‘बरु तीन महिना समय दिनुस्, गरेपछि राम्रैसँग गरौँ न,’ उनले निर्मातालाई अनुरोध गरे । निर्माता के मान्थे ? तीन महिना भन्नासाथ निर्माता तर्सिए । उल्टो आफ्नो अफर लत्याएको भन्दै उनी यामसँग रिसाए । बोलचालै बन्द भयो ।  

००० 
तीन वर्ष भयो अभिनेता राजेश हमालले फिल्म नखेलेको । त्यसअघि पनि उनको कमै फिल्म खेलिरहेका थिए । पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ उनले खुब आशा गरेर खेलेको फिल्म थियो । ‘बागमती’ त भारतको केरलाबाट आएका निर्देशक र प्राविधिकले बनाउँदै थिए ।

त्यो फिल्मले ओरालो लागेको आफ्नो करिअर उकास्ला भन्ने खुब आशा थियो उनमा । तर दुवै फिल्म बक्सअफिसमा नराम्रोसँग चिप्लियो । त्यसयता उनी फिल्म खेलिरहेका छैनन् । सबैले सोध्छन्, ‘कमब्याक कहिले हुने ?’ उनको रेडिमेड जवाफ आउँछ, ‘जहिले राम्रो स्क्रिप्ट हातमा आइपुग्छ, त्यही दिन पक्का ।’

०००
स्क्रिप्ट फिल्मको मेरुदन्ड हो । जसरी घर बलियो हुनलाई जग बलियो हुनुपर्छ, त्यसैगरी फिल्म बलियो हुन स्क्रिप्ट बलियो हुनैपर्छ । तर, नेपाली फिल्मकर्मी त्यही स्क्रिप्टलाई कति हलुकासँग लिन्छन्, त्यसको गतिलो उदाहरण हो फिल्म लेखक थापालाई आएको अफर । 

अनि, नेपाली फिल्ममा राम्रो स्क्रिप्टको कति हदसम्म खडेरी छ भन्ने लामो समय फिल्म क्षेत्रमा राज गरेका राजेश हमालले कमब्याक नगर्नुको कारणले पनि देखाउँछ । नेपालमा बर्सेनि बन्ने १ सय हाराहारीका फिल्ममध्ये पाँच वटाले पनि लगानी उठाउन नसक्नुको मूल कारण पनि स्क्रिप्ट नै हो । 

लामो समय रंग पत्रकारीता गरेर निर्देशनमा प्रवेश गरेका फिल्म समीक्षक तथा निर्देशक दीपेन्द्र लामा नेपालमा अधिकांश कमजोर फिल्म बन्नुको कारण कमजोर पटकथा नै रहेको मान्छन् । 

‘यहाँ ६० प्रतिशत स्क्रिप्ट लेखकका कारण कमजोर हुन्छ भने ४० प्रतिशत निर्देशकले गर्दा,’ उनी भन्छन्, ‘स्क्रिप्टका लागि केही मिहिनेत गर्ने पनि छन् तर अधिकांश मिहिनेत गर्दैनन् । तीन महिनामा स्क्रिप्ट लेखेर छायाँकनमा जाने चलन छ ।कतिले २ महिना, १ महिनामा लेखेर पनि सुटिङमा गएका छन् ।’

उनको मतअनुसार स्क्रिप्ट लेखनका लागि तीन महिना पर्याप्त समय होइन । कम्तीमा पनि ६ महिना समय त चाहिन्छ ।  छोटो समयमा स्क्रिप्ट लेख्ने अनि चाँडै सुटिङमा जान हतारोले कमजोर फिल्म बनिरहेको लामाले बताए । 

मिहिनेत गर्दैनन् फिल्मकर्मी 

जे विषयमा फिल्म बनिरहेको हुन्छ, त्यसमा गहिरो अध्ययन–अनुसन्धान नहुनु स्क्रिप्ट कमजोर हुनुको अर्को कारण हो । धेरै पर जान पर्दैन, तीन महिनाअघि रिलिज भएको अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’कै कुरा गरौँ न । 

यो फिल्म फुटबल खेलमा आधारित थियो । फुटबल सामूहिक खेल हो जहाँ ११ खेलाडीको सामूहिक प्रयास र मिहिनेतले मात्रै राम्रो नतिजा ल्याउन सक्छ । तर, ‘क्याप्टेन’ हेर्दा त्यस्तो लाग्दैन । फिल्मको मैदानमा ११ खेलाडी उतारिएको त छ तर खेल भने अनमोल केसीको मात्रै देखिन्छ ।

अपवादमा कहिलेकाहीँ एक खेलाडी विपक्षीमाथि हावी हुँदा पनि खेल जित्न सकिन्छ तर त्यो चामत्कारिक र विश्वसनीय हुन्छ । स्क्रिप्टले अनमोललाई न चामत्कारिक फुटबलरको रुपमा स्थापित गर्न सकेको छ न उनको खेल कौशल विश्वसनीय देखाउन नै । 

फिल्म हेरेपछि फुटबल खेलका सामान्य नियम र सर्तप्रति पनि फिल्मका स्क्रिप्ट राइटर र निर्देशक गम्भीर नभएको देखिन्थ्यो । 

अर्को उदाहरण फिल्म ‘ब्याच नम्बर १६’ को हो । नेपालमा चार तहको सुरक्षा संगठन छन्, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग । सेना राष्ट्रिय सुरक्षामा खटिन्छ, सशस्त्र अद्र्धसैनिक बल हो, जो आन्तरिक विद्रोह र सीमा सुरक्षामा खटिन्छ । प्रहरीको जिम्मेवारी अपराध अनुसन्धान हो भने विभागको काम गोप्य रुपमा सूचना संकलन हो ।

सो फिल्मका कलाकारले पूरै सशस्त्र प्रहरी बलको पोशाक प्रयोग गरेका थिए तर जिम्मेवारी भने अपराध अनुसन्धानको थियो । जसले लेख्यो, उसमा कुन सुरक्षा संगठनले के काम गर्छ भन्ने जानकारी नै नभई स्क्रिप्ट लेखेको देखियो ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डित फिल्मको कथामा मिहिनेत गर्ने स्वभावै नभएको बताउँछन् । 
‘सिधै भन्दा खिल्ली उडाएजस्तो लाग्ला तर नेपाली फिल्मको महत्वपूर्ण समस्या नै कथा नहुनु हो,’ उनी भन्छन्,  ‘हामी त्यही पुरानै कथा तोडमोड गरेर फिल्म बनाइरहेका छौँ । फिल्ममा थुप्रै घटनाक्रम र घटना हुन्छ तर कथा हुँदैन ।’

सीमित समयावधि 
धेरै फिल्मकर्मीसँग स्क्रिप्टबारे कुराकानी गर्दा फिल्मको पटकथा कमजोर हुनुको प्रमुख कारण सीमित समयअवधि देखियो । 

उदाहरणका लागि हालै रिलिज भएको फिल्म ‘वीर विक्रम–२’लाई नै लिऊँ । यो फिल्म निर्देशकको विशेष आग्रहअनुसार स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले एक महिनामा नै तयार पारेका हुन् । 

त्यसको असर फिल्ममा देखियो नै । फिल्म निकै कमजोर थियो । फिल्म कमजोर हुनुमा धेरैले फिल्मको पटकथामै खोट देखाएका थिए । 

‘निर्मातामा तोकिएको समयमा फिल्म सक्नुपर्ने बाध्यता हुन्छ,’ फिल्म लेखक भारद्वाजको अनुभव छ, ‘छायाँकन लम्बियो भने फिल्मको बजेट बढ्छ । त्यही डरले निर्माताले बाध्य भएर निर्देशकलाई चाँडो फिल्म सक्न दबाब दिन्छन् । स्वतन्त्र भएर छायाँकन गर्नुपर्ने निर्देशकलाई समय सीमाले पिरोल्छ । उनीहरु समयमै सक्नुपर्ने दबाबले जसोतसो हतारमै फिल्म सकाउँछन् । कहिलेकाहीँ त निर्देशकको हातमा सुटिङ स्थलमा स्क्रिप्टसमेत हुँदैन ।’

लेख्दा एउटा, बनिसक्दा अर्को 
फिल्म निर्देशकले ओरिजनल स्क्रिप्ट बिगारिदिँदा पनि स्क्रिप्ट कमजोर हुने गरेको स्क्रिप्ट राइटर थापाको अनुभव छ । नाम नलेखिदिने सर्तमा उनले एक नाम चलेकै निर्देशक÷निर्माताले आफ्नो स्क्रिप्ट बिगारिदिएको आरोप लगाए । 

‘लेख्दा एउटा थियो, फिल्म बनिसक्दा अर्कै भएर आयो,’ उनले गुनासो पोखे, ‘धेरै महŒवपूर्ण सिनहरु हटाइए अनि फिल्म कमर्सियल बनाउने नाममा अनावश्यक सिनहरु थपिए । के गर्ने ? आफ्नो दालभात खाने बाटो नै यही लेखन हो । त्यही भएर निर्देशकसँग कुरा राखे पनि बाहिर केही बोलिनँ । बरु चुपचाप समीक्षकको आलोचना पढिरहेँ ।’ 

फिल्म लेखक अभिमन्यू निरवी पनि यो समस्याको भुक्तभोगी हुन् । उनी त फिल्म बनिसकेपछि फिल्मको ओरिजिनल स्क्रिप्ट कस्तो थियो र पर्दामा बनेपछि कस्तो भएर आयो, त्यसको ट्याली गरेरमात्रै स्क्रिप्ट राइटरलाई गाली गर्नुपर्ने तर्क राख्छन् । 

लेखक भारद्वाज त यो समस्याबाट आजित नै भइसकेका छन् । त्यसैले उनको अफिसको भित्तामा राखिएको एउटा सानो ह्वाइट बोर्डमा ठूलो अक्षरमा लेखेका छन्, ‘कम से कम स्क्रिप्टअनुसार सिनेमा खिच्नु हुन निर्माता निर्देशकज्यूहरुमा अनुरोध, डन्ट रेप ।’ 

नेपालमा धेरैजसो फिल्महरु स्क्रिप्टअनुसार नबन्ने गरेको उनको दाबी छ । ‘स्क्रिप्टको टाइममा जस्तो लेखिएको छ त्यस्तो फिल्म बनाउँछु भन्ने फिल्मकर्मीहरु मेकिङको क्रममा सजिलो बाटो रोज्न खोज्छन्,’ उनले भने, ‘स्क्रिप्ट लिन आउँदा भयंकर फिल्म बनाउँछु, जहाँ भन्यो त्यहीँ खिच्छौं भन्छन् तर छायाँकनसम्म आइपुग्दा त्यस्तो हुँदैन ।’

लेखक भारद्वाजको नजरमा पहिल्यै कन्सेप्ट बोकेर आउने निर्माता÷निर्देशक पनि स्क्रिप्ट कमजोर हुनु पछाडिका बाधक हुन् ।

‘पहिल्यै मलाई यो फिल्मजस्तो स्क्रिप्ट चाहियो भनेर पुरानै फिल्मको धङधङी बोकेर आउँछन्, अनि त्यस्तालाई नयाँ कन्सेप्ट दिएर के अर्थ ?,’ भारद्वाजले भने । 

दोष स्क्रिप्ट राइटरकै 
फिल्म कमजोर हुनुमा स्क्रिप्ट राइटर नै प्रमुख दोषी रहेको स्वीकार्छन्, लेखक थापा । निर्देशकसँग दबिएर काम गर्दा स्क्रिप्टमा छेडछाड हुन्छ । समयसीमामा बाँधिएर काम गर्दा स्क्रिप्ट पनि बिग्रन्छ । 

‘यो लेखककै दोष हो,’ उनले भने, ‘हामी पनि बाध्य भएर लेख्छौं । हामी स्क्रिप्ट राइटर एकैपल्ट २ ÷४ ओटा फिल्म लेखिरहेका हुन्छौं । फिल्मकर्मीको दबाब स्वीकारिरहेका हुन्छाै। अनि दोष हाम्रो नभए कसको ? म त लेखकको हिसाबले भन्नुपर्दा फिल्म बिगार्नुमा शतप्रतिशत दोष लेखककै छ ।’  

याम निर्देशक पनि हुन् । उनले ‘राज्जारानी’ र ‘मेरी मामु’ निर्देशन गरेका छन् । भन्छन्, ‘निर्देशकको हिसाबले बोल्नुपर्दा मैले स्क्रिप्टलाई प्राथमिकतामा नराखेर गल्ती गरेको छु । अत्तालिएर काम गर्दा चिप्लिएको पनि छु ।’

कलाकारलाई पनि स्क्रिप्टकै चिन्ता
अचेल अभिनेता राजेश हमाललाई दिन बिराएर स्क्रिप्टको अफर आइरहेको छ । फिल्ममा कमब्याक गराउन फिल्मकर्मी जुटिरहेका छन् तर हमाल मानिरहेका छैनन् । भन्छन्, ‘स्क्रिप्ट नै चित्तबुझ्दो पाइँदैन । मलाई सुहाउँदो क्यारेक्टरमा काम गर्न नपाएसम्म म काम गर्दिनँ ।’ 

यस्तै समस्या अभिनेता सौगात मल्लको पनि हो । फिल्मको अफर आउनासाथ उनको आँखा सुरुमै स्क्रिप्टमा पुग्छ । गतिलो स्क्रिप्ट नपाएका कारण उनी हैरान छन् ।

भन्छन्, ‘यहाँ राम्रो स्क्रिप्ट पाउनै गाह्रो भयो । सिन राम्रो हुन्छ, कन्सेप्ट राम्रो हुन्छ, वनलाइन स्टोरी राम्रो हुन्छ तर स्क्रिन प्ले झुर भइदिन्छ ।’

स्क्रिप्टमा दिएको भूमिका चित्तबुझ्दो नभएपछि सौगात त आफैँ पनि त्यसलाई परिमार्जित गर्न लागिपर्छन् । ‘स्क्रिप्टमा केही नहुँदा मात्र मैले हाल्ने हो क्या ! स्क्रिप्ट हेर्यो, टक्क मिलेको हुँदैन अनि त्यत्तिकै गर्ने कुरा हुँदैन । त्यसैले म त्यसमा मोडिफाइ गर्न खोज्छु,’ उनले भने ।

छानेर मात्रै फिल्म खेल्छु भनेर दाबी गर्ने अभिनेता अनमोल केसी पनि राम्रो स्क्रिप्ट राइटरको अभाव देख्छन् नेपाली फिल्म क्षेत्रमा । ‘वन लाइनमा त जसले पनि राम्रै स्क्रिप्ट सुनाउँछ तर पुरै पढेपछि झुर लाग्छ,’ उनको अनुभव छ । 

पारिश्रमिक नै थोरै 
स्क्रिप्टलाई फिल्मको मेरुदण्ड मानिए पनि यसका लागि फिल्मकर्मीले कति बजेट छुट्टयाउछन् ? पारिश्रमिक सुन्दै लाजमर्दो छ । ‘पहिले त ५० हजार, १ लाखमै लेखाउँथे, अहिले ५ लाखसम्म दिन थालेका छन्,’ स्क्रिप्ट राइटर  थापाको दाबी छ, ‘एउटा कलाकारका लागि ४०–५० लाख दिन तयार हुने निर्माता लेखकका लागि न राम्रो पैसा दिन तयार हुन्छ, न राम्रो पारिश्रमिक । अनि कसरी हुन्छ त स्क्रिप्ट राम्रो ?’
 

Leave A Comment