पुरुषले लेखे मन्थन, महिलाले लेखे गन्थन !

बुधबार, ११ असार २०७६, ०७ : ३६ प्रजु पन्त
पुरुषले लेखे मन्थन, महिलाले लेखे गन्थन !

२०५६ सालको राष्ट्रिय कविता प्रतियोगितामा साहित्यकार नीलम कार्की निहारीका तेस्रो भइन् । त्यतिबेला उनी भर्खरै साहित्यमा पाइला चाल्दै थिइन् । एक जना नाम चलेका साहित्यकारले उनलाई स्याबासी दिनुको साटो ‘नीलमले महिला कोटामा पुरस्कार पाएको’ भनेपछि उनको मन कुँडियो । उनले कोटामा पुरस्कार पाएकी थिइनन् ।

‘पुरस्कार पाएर फुरुक्क परेकी थिएँ, गन्यमान्यबाट नै महिला कोटामा भनेपछि खल्लो भयो,’ नीलमले पीडा पोखिन्, ‘त्यत्रो पुरस्कार जित्दा पनि फिटिक्कै रमाइलो लागेन ।’ 

नेपाली साहित्यमा प्रतिभाशाली महिला लेखकको कुनै कमी छैन । साहित्यको प्रारम्भिककाल होस् या अहिलेको आधुनिककाल दुवैमा लेखिकाले आफ्नो दरिलो उपस्थिति दर्ज गरी नै रहेका छन् । समाजको विकाससँगै सोचमा केही परिर्वतन नआएको भने हैन । 

अहिले पनि कुनै दमदार साहित्य या लेख आउँदा भाडामा लेखाएको, यस्तो लेख्नै सक्दिन, फलानो केटालाई लेखाई भन्ने उडन्ते दाबी सुनिने क्रम रोकिएको छैन । 

महिलाले लेखेका सिर्जनाको गुदी हैन, अझै पनि लैंगिकताको घेरामा बसेर गरिने मूल्याङ्कनको प्रथा हराइसकेको छैन । सामाजिक कुरीति र कुप्रथाबारे कलम चलाउँदा ‘घरेलु गन्थन लेखी छ’ भन्ने स्वनामधन्य लेखकहरुको संख्या केही पातलिए पनि स्वर चर्कै छ अझै पनि । 

महिला साहित्यकार र लेखिकाहरुसँगको संवादमा लेखकै कारण शाब्दिक तथा भौतिक आक्रमणको धम्की आउनु त सामान्य नै छ । महिलामाथि हुने र भइरहेका हिंसाबारे लेख्दा गतिछाडा र धर्म संस्कृति माथि प्रहार ठान्ने प्रवृत्ति अझै उस्तै छ । 

लेखिका रामेश्वरी पन्तले महिला हिंसाबारे लेख्दा भौतिक आक्रमणको धम्की नै खेप्नु पर्यो । उनले दुई वर्षअघि ‘धर्मको खोल भित्रको यौन शोषण’ नामक लेख लेखेकी थिइन् ।

सो लेखमा उनले देउकी र छाउपडी प्रथा तथा शेर्पा समुदायमा रहेको झुमा प्रथाबारे स्रोत उल्लेख गरेरै लेख लेखेकी थिइन् । झुमा प्रथा र त्यहाँ भित्रको यौन शोषणबारे लेखेकी पन्तलाई शेर्पा समुदायबाट धम्की आएको थियो । 

शेर्पा समुदायका एक व्यक्तिले ‘महिला भएर जोगिनु भएको हो नभए हामी छाड्दैनथ्यौँ, हाम्रो समुदायमा तपाईंले भन्नुभए जस्तो हुँदैन’ मात्रै भनेनन्, शेर्पा समुदायको संस्कृतिमाथि पर्न गएको आघातप्रति क्षमा चाहन्छु’ भनी पुनः पत्रिकामा लेख्न बाध्य गराए । 

पन्तले नै केही वर्षअघि ‘नारी गौरवको अपमान’ शीर्षकमा रजस्वलाबारे लेख्दा विद्वान भनिनेहरुबाटै हिन्दू धर्म संस्कारमाथि प्रहार गरेको आलोचना बेहोरेकी थिइन् । 

‘हरेक साँझ रक्सी पिई वेश्यालय धाउँछौ तिमी’ शीर्षकको गजल वाचन गर्दा २०५९÷६० सालमा विराटनगरमा कवि सीमा आभासमाथि भौतिक आक्रमणको प्रयास भएको थियो । उनका अनुसार केटाहरुले उनलाई घेरा हाले । त्यो घेराबाट उम्काउने काम साहित्यकार परशु प्रधानले गरेका थिए । 

त्यस्तै पत्रकार सरला गौतमले  २०६४ मा मधेसको बारेमा रिपोर्टिङ गरिन् । ‘पहाड–मधेस दुरी बढाउने ‘कार्ड’ एक साप्ताहिकमा छापिएपछि मधेसवादी अभियन्ताले ‘केटी मान्छेको कसरी राजनीतिक विचार हुन सक्छ ? यिनलाई कसैले सिकाउँछ ? यसले त लेखेकै हैन’ भन्ने टिप्पणी गरेका थिए । लेखनमा अविश्वास त भयो नै लेखेकै कारण मार्ने सम्मको धम्की आउँदा ६ महिनासम्म केही लेख्न नसकेको सरलाले बताइन् । 

लेख्दा मानसिक तनाव
सामाजिक कुसंस्कारबारे लेख्दा महिलावादीको ट्याग लगाइदिने त छँदैछ, पूरै नपढी शीर्षककै आधारमा समाज भँडुवीको आरोप खेपेका साहित्यकार र लेखिकाको संख्या उल्लेख्य नै छ ।

‘महिलाका मुद्दा उठाएर लेख्न थालेको १५ वर्ष भयो,’ पन्तले भनिन्, ‘मेरा लेखलाई लिएर शाब्दिक हिंसा मात्र होइन, भौतिक आक्रमण गर्नेसम्मका धम्कीहरु आए । खासगरी सामाजिक कुरीति र कुपरम्पराको बारेमा लेख्दा निकै मानसिक तनाव झेल्नु परेका अनुभव छन् ।’

महिला भएका कारण विचारमा हुनुपर्ने बहसलाई व्यक्तिगत अपमानमा झारिने गरिएको लेखिका सरला गौतमको बुझाइ छ । 

‘केही लेखका कारण बीच सडकमा बलात्कार गर्ने र मारिदिनेसम्मका धम्की आए,’ गौतमले भनिन्, ‘मानसिक रुपमा गलाएर बहस भन्दै सामाजिक सञ्जालमा आक्रमण हुन थाल्यो । अझै पनि अवस्था सुध्रिएको छैन ।’

महिलाले लेखेको भन्नेबित्तिकै ‘महिलावादी’ ट्याग भिराइदिने गरेको सीमा आभासको बुझाइ छ । साहित्यिक लेखनमा पनि महिलाले लेखेको कुरालाई महिलावादको ट्याग भिराइदिने गरेको उनले बताइन् । 
‘पुरुषले पुरुषको अनुभव मात्रै लेख्यो भने त्यो मूलधारको साहित्य हुन्छ,’ सीमाले आक्रोश व्यक्त गर्दै भनिन्, ‘महिलाले महिलाको अनुभवबारे लेखेको छ भने त्यो मूलधारको साहित्य नमान्ने ठूलै वर्ग छ ।’ 
के अवस्था उही हो त ?

२०१६ सालदेखि निरन्तर लेख्दै आइरहेकी साहित्यकार हिराण्यकुमारी पाठकको अनुभवमा  पछिल्लो समय केही परिर्वतन आएको छ । उनको अनुभवमा २०६० को दशकपछि लेखनमा परिर्वतन भएको छ । पहिलेका लेखकहरुले महिलालाई होच्याएर लेख्थे, अहिले त्यो अवस्था छैन । 

सरिता तिवारीलाई पनि पछिल्लो समय लेखनको दृष्टिकोण बद्लिएको आभाष हुन थालेको छ । पहिले महिलाले अन्य विषयमा लेखे पनि अवमूल्यवन गरेको अनुभव हुन्थ्यो तर अहिले पाठक अलि सतर्क भएको उनको अनुभव छ ।

‘तथ्य र ठोस आधार राख्न सकियो भने औँला उठ्दैन,’ उनले भनिन्, ‘पहिले त एकदमै होच्याउने, उपेक्षा गर्र्ने, लेख्दै नलेखे हुन्थ्यो भन्ने ठान्थे । अचेल भने अवस्था अलि सुध्रिएको छ ।’ 

अधिकांश पुरुषका सिर्जनामा महिलालाई हीन दृष्टिले प्रस्तुत गर्ने, कमजोर तथा निरीह पात्रको रुपमा प्रस्तुत गर्ने गरिए पनि तिनै सिर्जना पुरस्कारको उत्कृष्ट सूचीमा सूचीकृत हुँदा भने पन्तलाई चित्त दुख्छ ।

‘हामीले लेख्दा समाजको कुरीतिमाथि लेख्छौँ,’ हिरण्यकुमारीले भनिन्, ‘महिलाले लेख्ने कथामा महिला–पुरुष दुवैको कुरा आएका हुन्थे । पुरुषहरुले लेखे पनि होच्याएर अथवा कमजोर पात्र बनाएर लेखिन्थ्यो । अचेल भने बोल्ड लेख आउन थालेका छन् । पाठकले पनि महिलाको सिर्जनालाई गन्थन ठान्ने सोच हराउँदै गएको देखिन्छ ।’

साहित्यकार नीलम कार्की निहारिकाको मत अलि भिन्न छ । यस विषयमा उनी पहिला पनि महिलाको लेखलाई महत्व नै नदिएको तर्कमा सहमत देखिइनन् । 

‘पारिजातले मदन पुरस्कार पाएकै हुन्,’ उनले भनिन्, ‘मुद्दा उठेको विषयमा बहस हुनु स्वाभाविक हो ।’
 

Leave A Comment