फिल्म ‘वीर विक्रम–२’को व्यंग्यात्मक शैलीमा भिडियो समीक्षा गरेकै कारण साइबर अपराधको अभियोगमा हिरासत पुगेपछि धेरैको चासोमा परे प्रनेश गौतम । फिल्म निर्देशक मिलन चाम्सले कलाकारको ‘अपमान’ र ‘मानमर्दन’ गर्ने गरी समीक्षा गरेको आरोप लगाएपछि उनी आठ दिनसम्म प्रहरी हिरासतमा परे । विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चल्यो । अदालतले साधारण तारेखमा रिहा गरेपछि अहिले उनी घरमै छन् तर मुद्दाको अन्तिम फैसला बाँकी छ । आइतबार रिहा भएका उनीसँग सोमबार उनको कोठा (भक्तपुर, बालकोट)मै पुगेर पक्राउ प्रकरण र हिरासत अनुभवबारे अनिल यादवले गरेको अन्तरंगः
आठ दिनको प्रहरी हिरासतपछि अदालतबाट साधारण तारेखमा छुट्दा कस्तो लाग्यो ?
आदेश आउनेबित्तिकै मेरो दिमागमा बिटल्सको ‘फ्रि एज अ बर्ड’ र लिनेड सिनेडको ‘फ्रि बर्ड’ गीत बजिरहेको थियो । हलिउड मुभी ‘ब्रेभ हार्ट’को याद आइरहेको थियो । त्यो फिल्मको अन्तिममा जब मेल गिब्सन (कलाकार) लाई मार्न लागेको हुन्छ, त्यतिबेला उसलाई सोधिन्छ, ‘तँलाई मर्नुअघि केही भन्नु छ ?’ उसले त्यतिबेला ‘फ्रिडम’ भनेर चिच्याएर मर्छ । मलाई पनि त्यसैगरी ‘फ्रिडम’ भनेर ठूलो स्वरले चिच्याउन मन थियो तर त्यो अदालत थियो, भित्रै चिच्याउन मिल्दैनथ्यो । तैपनि दिमागभित्र त्यसैगरी चिच्याइरहेको थिएँ ।
रिहा भएको खुशीले हिरासतमा भोगेको पीडा पनि बिर्साइदियो त ?
त्यो त कसरी बिर्सिनु ! बाबा, ममी रोएको म कहिल्यै बिर्सन सक्दिनँ । म पुलिसको गाडीमा छु, हातमा हत्कडी छ र बयान दिन अदालत गइरहेको छु । मेरो बाबा कतै कुनामा उभिएर रुमालले आँखाको आँसु पुछिरहनुभएको छ । त्यो दृश्य मैले कसरी भुल्न सक्छु र !
आफ्नै शैलीमा फिल्मको समीक्षा गरेकै कारण हिरासत पुग्नुभयो । कति सकसपुर्ण भयो हिरासत बसाई ?
महानगरीय अपराध महाशाखाले बुधबार मिलन चाम्स, मिम नेपाल र मलाई छलफलका लागि बोलाएको थियो । संयोगले त्यो दिन इदको बिदा परेछ । त्यसपछि भोलि भेटौँ भन्ने कुरा आयो । छलफल गरेरै टुंग्याउने कुरा थियो । बाबाले मलाई लिएर जानुभएको थियो । बाबाले कुरा मिलाउन खोज्नुभयो । मिम नेपालले पनि प्रयास ग¥यो । उता चाम्सको टिम भने यो क्राइम हो, यसलाई सजाय हुनुपर्छ भन्नेमा थिए । त्यसपछि प्रहरी छलफल टुंगोमा पुग्न सकेन, अदालतबाट पक्राउ पुर्जी जारी भएको छ, अब हिरासत बस्नुपर्छ भन्नुभयो ।
अनि ?
त्यसपछि हिरासतमा लगियो । जुवा, चेक बाउन्स, साइबर क्राइम, ड्रग्स लगायतका केसमा परेकाहरु धेरै थिए । हिरासतभित्र डरलाग्दो अवस्था थिएन । एकदुई महिनाअघि त्यहाँ धेरैजसो ड्रग्सकै केसमा परेका मात्रै हुनुहुन्थ्यो रे ! त्यतिबेला एकदमै डरलाग्दो अवस्था थियो रे ! फिजिकल यातना नै दिइन्थ्यो रे ! म जाँदा धेरै सुधार भइसकेको रहेछ । वेल–म्यानेज्ड कस्टडी थियो । प्रहरी झर्केर बोल्नु त नर्मल नै हो, त्यसको त के कुरा गर्नु !
सहज लाग्यो त पहिलो हिरासत ?
पहिलो तीन दिन त म पूरै ‘ब्रोकन’ थिएँ । त्यो मेरो लागि हिरासतै थियो । पुलिसको अन्डरमा थिएँ म । हत्कडी लगाएर लगिएको थियो । एउटा ठूलो हल, एक सय ७० जनाले सेयर गर्नुपर्ने अवस्था थियो । भुइँमा सुत्नुपर्थ्यो । निकै चित्त दुखेको थियो ।
दिमागमा कस्ता–कस्ता कुराहरु खेल्थे, कसरी बित्थे हिरासतका दिनहरु ?
उठेर बस्न पनि मन लागेन । खान पनि केही मन नलाग्ने । दिनभर सुतेरै मात्रै बस्थेँ । मैले क्राइम गरेको हो त ? ए, त्यसोभए भोलिदेखि अब नबोल्ने त ? अब मैले स्ट्यान्डअप कमेडी पनि गर्न पाउँदिनँ ? जोक लेख्न पाउँदिनँ ? यत्रो काण्डपछि अब बाले कसरी दिनुहुन्छ स्ट्यान्डअप गर्न ? अब के हुने हो ? मलाई फँसाएर यहाँ ल्याइएको हो कि ? वकिलले त केही नै क्राइम गरेको छैनस् भन्थ्यो । केही क्राइम थिएन भने किन यहाँ हिरासतमा बस्नुपथ्र्यो होला र ? यस्तै कुरा दिमागमा खेलिरहन्थ्यो । वरिपरिका अरु साथीहरुसँग कुरा गर्दा साइबर क्राइममा आको हो भने त २४ दिन ढुक्कै राख्छ भन्थे । २४ दिन नबसी त अप्सनै छैन भन्थे । घडी हेर्थें । दुई घण्टा मात्रै बितेको हुन्थ्यो अनि सम्झिन्थेँ, दुई घण्टा त यति लामो हुन्छ, २४ दिन कसरी काट्नु ! २४ दिनमा कतिवटा घन्टा हुन्छ ? कति घण्टा सुत्दा मेरो दिन कट्छ ?
अदालत पुग्नुअगाडि नै कुरा मिल्न खोजेको थियो हैन ?
म शुक्रबार पक्राउ परेँ । सोमबार केस सल्टाएर छोडिदिनेजस्तो कुरा थियो । धेरैमा तीन दिनका लागि तँ कस्टडी बस्नुपर्छ भनेका थिए सबैले । धेरैले २४ दिन भन्दै गर्दा पनि म भने सोमबार छुट्छु भन्नेमा ढुक्क थिएँ । जब बल्ल सोमबार आइपुग्यो, मलाई हत्कडी लगाएर महानगरीय अपराध महाशाखाको साइबर क्राइम पिलरमा लगियो । बाहिर निराश भएर म बसिरहेको थिएँ । मिम नेपाल र चाम्सको समूहबीच छलफल भइरहेको थियो । विश्वास थियो, आज कुरा मिल्छ अनि म छुट्छु भन्नेमा तर मिलेन ।
किन मिलेन ?
उहाँहरुको डिमान्ड मिम नेपालको युट्युब च्यानल बन्द गर्नुपर्ने, फेसबुक पेज बन्द गर्नुपर्ने र मिम नेपाल भन्ने ब्रान्ड नै बन्द गर्नुपर्ने थियो । अनि, केटाहरुले आएर मलाई त्यो कुरा सुनाए । संस्था नै बन्द गर्ने मन पक्कै थिएन । तर बिना कुनै अपराध तीन दिन हिरासत बिताएको म त्यो कुरा सुनेपछि झन् भत्किएँ । रुन थालेँ । मेरो बालाई देख्छु, मामुलाई देख्छु, उस्तै रुन मन लाग्ने । मामुको आँखा रातो देख्छु, पक्कै रोएरै त होला ! मेरो अगाडि ङिच्च दाँत देखाउँदै म रोको छैन, रोको छैन भन्नुहुन्थ्यो तर मलाई थाहा थियो उहाँ कति रुनुभएको छ । म त्यो महसुस गर्न सक्थेँ । त्यो देखेर म झन् रोएँ । बा आएर सम्हाल्न खोज्नुभयो, म सम्हालिनँ । मामु आएर सम्हाल्न खोज्नुभयो, सम्हालिनै सकिनँ । आयुष श्रेष्ठ लगायत अरु कमेडियन आएपछि आफूलाई कन्ट्रोल गरेँ । रुन छोडेँ । जसरी भए पनि कुरा मिलाओ, मिम नेपाल बन्द गर्न परे गर तर मलाई अब एक घण्टा पनि बढी यो हिरासतमा बस्नु छैन भनेँ । किनभने मलाई साँच्चिकै गाह्रो भएको थियो । उनीहरु पनि तयार भए । हुन्छ, हामी मिम नेपाल बन्द गर्दिन्छौँ, प्रनेसलाई छोड्दिनु भन्न थाले । तैपनि खोई के भएर हो, सहमति हुन सकेन ।
अनि ?
फेरि मलाई कस्टडी लगियो । त्यसपछि त पूरै खसेजस्तो महसुस भयो । सोमबार निस्कन्छु भन्ने ठूलो आशा थियो । अब त २४ दिनलाई भित्र थुनिने पक्काजस्तो लाग्न थाल्यो । त्यो रात कटाउन झन् गाह्रो भयो । त्यसपछिका दिनहरु बानी पर्न थाल्यो । मसँग अप्सन छैन । म बस्नैपर्ने रहेछ भन्ने महसुस हुन थाल्यो ।
खाना रुच्थ्यो ?
खाना रुचेको होइन तर भोक मेट्नकै लागि चार–पाँच गाँस खान्थेँ, आधा भाग छाडिदिन्थेँ । त्यहाँको खाजा कहिल्यै खाइनँ । अन्तिम दोस्रो दिन एकपल्ट खाएँ ।
भित्र हिरासतमा हुँदाहुँदै बाहिर तपाईंकै चर्चा थियो । तपाईंको केसलाई अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भन्दै मिडियादेखि सर्वसाधारण सबैले विरोध जनाइरहेका थिए । थाहा थियो यो ?
भेट्न आउने साथीहरुले ‘बाहिर आगो लागिरा’छ’ भन्नुहुन्थ्यो । आगो पनि एक किसिमले आगो लागिरहेकै रहेछ । विदेशी कमेडियनहरुले तँलाई सपोर्ट गरिरहेको छ, गगन थापाले तेरोबारे ट्विट गर्नुभएको छ भन्थे । यसरी साथीहरुले बाहिर सपोर्ट भइरहेको खबर लिएर आउँदा बेग्लै खुशी दिन्थ्यो । त्यसपछि बिहान जब हिरासतमा पत्रिका आइपुग्थ्यो, हिरासतभित्रकै कसैले ‘ओई प्रनेश, पत्रिकामा आएछ तेरो’ भनेर सुनाउँथ्यो । मेरै सपोर्टमा लेखेको देख्थेँ । मलाई जसरी जेल हालियो, त्यो कानुनको दुरुपयोग भनेर लेखिएको हुन्थ्यो । थ्याङ्क गड, कोही त रहेछ मेरो सपोर्टमा भन्ने महसुस हुन्थ्यो । तर जति हल्ला गरे पनि मभित्रै छु, हल्ला गरेर त म निस्किने होइन भन्ने पनि लाग्थ्यो अनि सुतिन्थ्यो ।
तपाईंको केसलाई लिएर प्रहरी र हिरासतका अन्य अभियुक्तहरुले के भन्थे नि ?
हिरासतका साथीहरुले पत्रिकाको समाचार देखेर, ‘तँ त हिरो हुने भइस्, कम्तीमा तँलाई सपोर्ट रै’छ’ भन्थे ।
साताँै दिन हाजिरी जमानीमा छुटेपछि फेरि आठाैँ दिन हिरासत फर्कनुपर्दा कस्तो लाग्यो ?
मैले नसोचेको भयो । म विहीबार राति निस्किएको थिएँ । शुक्रवार अदालतमा बहस छ भनिएको थियो । शुक्रवार नै केस सल्टिन्छ भन्ने थियो । त्यही भएर ढुक्कसाथ घरमै आएर सुत्या हो म तर निन्द्रा लागेको थिएन । केस के होला भन्ने मनमा खेलिरहेकै थियो । शुक्रवार मलाई हिरासत राख्दा पनि हत्कडी लगाएर लानुभएन ।
पक्राउ परेकै दिन तपाईले गरेको समीक्षालाई लिएर प्रहरीले कस्तो टिप्पणी गरेको थियो ?
साइबर क्राइमका पिल्लरका अफिसरले ‘तैँले यसरी बोल्न पाउँछस् ? अर्काको फिल्ममा जे पाए त्यही बोल्ने हो ? मुख छाड्ने हो तैँले ? चक्कु देखाउन पाउँछस् तैँले’ भन्दै गाली गर्नुभएको थियो । म त पूरै डराइसकेको थिएँ । मलाई हिरासत बस्नु नै थिएन । त्यसैले म मौन थिएँ । मलाई पुलिसको झमेलामा पर्नु थिएन । यतिसम्म कि म सार्वजनिक रुपमा माफी माग्न पनि तयार थिएँ । मैले मिलन दाइलाई भनेको पनि थिएँ, ‘मैले के गर्नुपर्छ, म गर्छु, माफी माग्नुपर्ने हो पनि माग्छु ।’ त्यतिबेला मैले सोचेको पनि थिएन, यो केस यति ठूलो होला भनेर । तैपनि उहाँहरु मान्नुभएन । भनिरहनुभयो, ‘अहँ, हुँदैन, तैँले गल्ती ग¥याछस्, तैले क्राइम ग¥या छस्, तैँले जानै पर्छ कस्टडी । त्यहाँ गएर बसिस् भने तैँले अलिकति चेत्छस्, चेतेपछि सबै ठीक हुन्छ ।’ त्यसपछि ‘ल हुन्छ’ भनेर म हिरासत बसेँ । तर हिरासत बसेको सातौँ दिनसम्म पनि मलाई सार्वजनिक रुपमा माफी मागेको खण्डमा छोड्ने सर्त राखिन्थ्यो भने त्यसका लागि तयार हुन्थेँ होला । किनभने हिरासतभित्र बस्दा मैले मानसिक रुपमा कति पीडा खेपिरहेको थिएँ, त्यो मैले जति कसैले महसुस गर्नै सक्दैन । एउटा बिन्दुमा अब म स्ट्यान्डअप कमेडी नै गर्दिन होलासम्मको निर्णयमा पुगिसकेको थिएँ ।
हिरासतमा हुँदा तपाईंविरुद्ध उजुरी गर्ने फिल्म निर्देशक मिलन चाम्सले तपाईंलाई भात खुवाउन गएको भन्ने खबर पनि सुनिएको थियो, सही हो ?
पक्राउ परेको तेस्रो दिन आइतबार बेलुका उहाँ आउनुभएको थियो । आएर उहाँले के छ, कसो छ भनेर सोध्नुभएको थियो । मैले ठीक छ, केही छैन, स्याड छ भनेर भनेँ । उहाँले खाना खाइरा’छ कि छैन भनेर सोध्नुभएको हो, भात नै लिएर आउनुभएको हो । मैले खाएको छैन भनेँ । उहाँले ‘भाइ खानुपर्छ, खाऊ, मर्द हो तिमी, दह्रो होऊ’जस्ता शब्द प्रयोग गरेर सान्त्वना दिन खोज्नुभयो । मैले ‘ठीकै छ’ भनेर भित्र छिरेँ । खासमा म बोल्ने मुडमा पनि थिइनँ ।
समर्थन मात्रै हैन, समीक्षामा निकिता चाण्डक, अशोक दर्जी, सरिताराज भण्डारी लगायत कलाकारलाई जसरी टिप्पणी गरिएको थियो, त्यो गलत हो भनेर आलोचना पनि भयो । तपाईंलाई गल्ती महसुस भयो कि छैन ?
त्यो भिडियोमा कसैमाथि गालीबेइज्जती छँदै छैन । निकिता चाण्डकज्यूले ‘मिम नेपाललाई तिमरुले मलाई पटकपटक जिस्काइरहेका छौँ, प्लिज मलाई यसरी नजिस्काओ’ भन्नुभाको मलाई थाहा थिएन । उहाँको मिम्सहरु बनेकोमा उहाँ निराश हुनुभएको थियो भन्ने मैले कतै सुनेको थिएँ । त्यही भएर मैले त्यो भिडियोमा उहाँको फोटो प्रयोग गरे पनि नामलाई सेन्सर गरेको थिएँ । कतिपयले त्यसमा मैले रंगभेद गरेको भनेर टिप्पणी गर्नुभएको रै’छ तर मलाई त्यस्तो छ जस्तो लाग्दैन । जस्तो, तपाईं या म गहुँगोरो वर्णको छौँ भने गहुँगोरो वर्ण हुनु त समस्या होइन नि ! तर, गहुँगोरो भएकै कारण तँ म भन्दा खत्तम भन्नु गलत हो । तर, मैले त्यो भिडियोमा त्यसरी होच्याएको छैन । मैले पल शाह र रक्की सुपरस्टारको स्माइल तुलना गरेको मात्रै थिएँ । त्यस्तै निकिता चाण्डकको एउटा भाइरल भएको फोटोलाई फिल्मको पात्र सरिताराज भण्डारीसँग मिलेको भनेर तुलना मात्रै गरेको थिएँ । र, यो रंगभेद होइन । त्यो भिडियो पनि राम्रोसँग हेर्नुभयो भने मैले रिग्रेट गरेको दृश्य पनि समावेश छ । मैले निकिताज्यूको नाम लिनासाथ मैले ‘ला’ भनेर हातले मुख छोपिसकेको थिएँ । त्यही भएर नाम सेन्सर गरिएको थियो ।
तपाईंले गल्ती अस्वीकार गरे पनि धेरैले त्यसमा गल्ती देखे । फिल्म समीक्षक समाजले तपाईंको पक्राउप्रति असहमति जनाएर विज्ञप्ति निकाले पनि निकिता, पल लगायतका कलाकार प्रतिको टिप्पणीमा भने समर्थन जनाएन । फेरि पनि सोध्छु, तपाईंले त्यो भिडियोमा केही गल्ती महसुस भएन ?
कलाकारहरुको तस्बिर राखिएकोलाई जसरी रंगभेद भनिएको छ, म त्यो स्वीकार गर्दिनँ किनभने त्यो रंगभेद होइन । तर ‘एज अ ह्युमनबिइङ’ उहाँ (निकिता)को कुरा थाहा नपाएर मैले उहाँलाई जिस्काएको हो भने त्यसमा त ‘आइ एम भेरी सरी’ तर त्यो रंगभेद होइन । त्यसैले ‘एज अ जोक’, ‘एज अ स्टेटमेन्ट’, म त्यसमा पछुतो मान्दिनँ तर मैले बनाएको भिडियोले निकिता चाण्डकको चित्त दुखेको हो भने त्यसमा त माफी माग्छु । कसैको चित्त दुखाउने मेरो नियत थिएन । मेरो उद्देश्य मान्छेहरुलाई हँसाउने थियो । मैले हँसाउन खोज्दा चित्त दुखेछ ! यसका लागि त ‘आइ एम सरी’ ।
त्यसरी बाहिरी कलाकारको तस्बिर प्रयोग गर्न आवश्यक थियो त ?
थिएन । मिम नेपालका साथीहरुसँग म हलमा फिल्म हेरिरहेका बेला त्यो इमेजवाला सिन जब आयो, त्यतिबेला हलभित्रै एउटा मान्छेले ‘ओइ, निकिता चाण्डकजस्तै देखियो’ भनेको थियो । यो वास्तविक घटना हो, नत्र मसँग हलमा गएका अरु साथीहरुसँग पनि सोध्दा हुन्छ । त्यो भिडको कसैले त्यसरी टिप्पणी गर्दा हलभित्रका ३०–४० पर्सेन्ट मान्छे गलल हाँसेका थिए । यसो हेरेको, मलाई पनि मिल्दो लाग्यो । त्यो भएर मात्रै मैले त्यो मेन्सन गरेको हो । हुनसक्छ, त्यो एकदमै सस्तो जोक हो । आइ एम नट ग्रेट कमेडियन त्यसैले के राम्रो÷के नराम्रो जोक, त्यो मलाई थाहा भएन पनि होला । अँध्यारोमा हानेको तिरजस्तै भयो होला । त्यसैले त्यसो गर्नु आवश्यक नै थियो त म भन्दैभन्दिनँ ।
तपाईंले त्यहाँनेर प्रयोग गरेको चक्कुले पनि अपराध प्रोत्साहित गरेको भन्ने आरोप लाग्यो है ?
अँ, अटेम्ट टु मर्डरमै केस लाउने कुरा सुनेको थिएँ । अलिकति डर लाग्दै कुरा थियो । यद्यपि त्यो अटेम्ट टु मर्डर थिएन, के उद्देश्यका लागि थियो भिडियो हेर्दा प्रस्टै भइन्थ्यो । फेरि मैले डिस्क्ेलमरमा पनि प्रस्टै लेखेको थिएँ, यो चक्कु फेक हो, यसले मुस्किलले तरकारी मात्रै काट्न सक्छ । धेरै त्यो व्यंग्यात्मक शैलीमा प्रयोग गरेको नै बुझेनन् । हुन त त्यो ‘अब्सर्ड’ शैलीको कमेडी थियो । नेपालमा त्यसरी अब्सर्ड र नाहिलस्टिक शैलीको कमेडी त्योभन्दा अघि भएको मैले देखेको छैन । सायद त्यही भएर पनि सबैलाई बुझ्न गाह्रो भयो । तर, म यो शैलीको ठूलो फ्यान भएकाले नेपालमा मलाई यो शैली चिनाउन पनि थियो । तर, यति वाइल्ड तरिकाले चिनिएला भन्ने लागेको थिएन (हाँस्दै) । अब्सर्ड र नाहिलस्टिक कमेडी त कतिसम्म हुन्छ भने त्यसको एउटा मात्रै क्लिप हेर्नुभयो भने त ‘यो त पागल हो’ भनेर तपाईंले घोषणै पनि गर्दिन बेर लाउनुहुन्न । चार–पाँचवटा भिडियो हेरेपछि ‘ए, यो यस्तो शैलीको रैछ’ भनेर तपाईंलाई हाँसो लाग्न थाल्छ ।
तपाईंले ‘वीर विक्रम–२’को जसरी समीक्षा गर्नुभयो, त्यसलाई निर्देशक चाम्सले साइबर अपराधको आरोप लगाउनुभयो । यो खबर तपाईंले हिरासत पुगेपछि नै थाहा पाउनुभयो या त्योभन्दा अघि ?
समीक्षा मैले शुक्रवारको दिन गरेको थिएँ । शनिबारको दिन म घरमै सुतेर बसेँ । जब आइतबार उठेर युट्युब खोलेँ, जताततै चाम्सको इन्टरभ्यु देखेँ । यो अपराध हो, त्यसलाई साइबर क्राइममा केस हाल्देको छु भन्ने खालको उहाँको प्रतिक्रियाहरु देखेँ । ला...साँच्चिकै पो हो कि ! मनमनै डराएँ ।
त्यसअघि निर्देशक चाम्ससँग चिनजान थियो ?
थिएन । कहिल्यै बोलचाल नै भएको थिएन । उहाँले केस हाल्देको भनेपछि त म आत्तिएँ । कतै त्यो भिडियोभित्र केही गैरकानुनी काम नै पो गरेँ कि ! नेपालमा त्यस्तो गर्न नपाइने पो थियो कि ! म डराएँ । त्यसपछि धेरै वकिलहरुसँग सम्पर्क गरियो । विशेषगरी युट्युबर ¥यान्डम नेपालीका लयर राष्ट्रिय विमोचन तिमल्सिनालाई सम्पर्क गरेँ । उहाँबाट थाहा भयो, यसले साइबर क्राइम लाग्दैन । अरु पनि धेरै लयर्ससँग सम्पर्क गरेपछि थाहा भयो, यो साइबर क्राइम हुँदै होइन । अधिवक्ता बाबुराम अर्याललाई पनि भिडियो देखाएर सोध्यौँ, ‘यहाँ केही गल्ती छ त, केही अपराध भएको छ ?’ त्यतिञ्जेल मिम नेपालले भिडियो अनपब्लिस गरिसकेको थियो । धेरैजना वकिल र कानुनविद्सँग सल्लाह गरेर यो अपराध होइन भन्ने निक्र्यौल भइसकेपछि पुनः भिडियो पब्लिस भएको थियो । त्यसपछि अलिकति आत्मविश्वास बढेको थियो तर फेरि कस्टडीमा परेपछि एकाएक त्यो आत्मविश्वास ‘डाउन’ भयो ।
कति भयो तपाईंले स्ट्यान्ड अप कमेडी गर्न थालेको ?
ठ्याक्क १ वर्ष दुई महिना भयो ।
स्ट्यान्डअप कमेडी गर्न कसरी थालियो ?
म पुल्चोक इन्जिनियरिङ कलेजको विद्यार्थी । आर्किटेक्चर पढेको हो । मेरै कलेज पढ्ने सिनियर दाइ आयुष श्रेष्ठले ओपन माइक सुरु गरेर कमेडी टुकटुक कार्यक्रम सुरु गर्नुभएको थियो । कलेजकै दाइले गरिरहेको रै’छ, जाऊँ न त हेर्न भनेर एकदिन हेर्न गएको थिएँ । मेरो साथीको दिदी, आयुष दाइको साथी रै’छ । त्यो दिदीले खासमा मेरो गौरव भन्ने साथीलाई कमेडी गर्न बोलाइरा’को थियो । उसलाई मन थिएन, मलाई सोध्यो– तँ जान्छस् ? हेर्न जाम् न त कस्तो हुन्छ, के हुन्छ भनेर गएँ । फस्ड डे गर्नै सकिनँ । फेरि नेक्स्ट टाइम गएँ, त्यतिबेला ठस्कै गरेँ । चारदेखि पाँच महिनासम्म निरन्तर अभ्यास गरेपछि राम्रो हुँदै गयो । यसरी गर्दै गएको चार पाँच महिनापछि ‘अपडेटेड नेपाली ग्रामर’ विषयमा कमेडी गरियो । यसले मलाई अलि बढी दर्शकमाझ चिनायो । यद्यपि ‘वीर विक्रम–२’को रिभ्यु जति भने होइन ।
तपाईंले बोलेका केही छाडा शब्दहरुमा पनि दर्शकको आपत्ति सुनिएको थियो । दर्शक हँसाउन छाडा बोल्नैपर्छ र ?
त्यो उसको रोजाइ हो क्या ! कसैका लागि त्यो बोल्न जरुरी नै हुन्छ । जस्तो, म एकदमै प्रभावित भएका चर्चित कमेडियन हुनुहुन्छ, जर्ज कार्लिन । उहाँ त स्ट्यान्डअप कमेडीको लिजेन्ड नै हो । उहाँले एकपल्ट ‘सेभेन डर्टी वर्ड्स अफ इङ्ग्लिस ल्याङ्गवेज’ भनेर कमेडी गर्नुभएको थियो । बिच, कन्ट, मदरफकर, फक लगायत शब्दहरु थिए त्यहाँ । त्यो छाडा शब्दहरु के हो त र किन प्रयोग गरिन्छ भनेर उहाँले त्यहाँ बोल्नुभएको थियो । त्यही विषयमा छलफल गर्दा ती कुराहरु प्रयोग गर्नैपर्ने थियो । मैले पनि त्यसैगरी नेपाली छाडा शब्दबारे स्क्रिप्ट गरेको छु । स्टेजतिर त त्यो विषयमा बोलिरहेकै छु, युट्युबमा भने ल्याइसकेको छैन ।
फिल्म समीक्षा गरेकै कारण हिरासत बस्नुपर्यो । अब फेरि समीक्षा गर्नुहुन्छ या हुन्न ?
मिम नेपालले मलाई छुटाउन छलफल गरिरहेका बेला नै त्यो कुरा गरेको थियो, के अब हामीले मुभी रिभ्यु नै गर्न नपाइने ? जब म हिरासतभित्र थिएँ, जब मैले कसैको सपोर्ट देखेको थिइनँ, त्यतिबेला ममा डर सिर्जना भएको थियो । त्यतिबेला त मैले कमेडी छोड्ने निर्णयसम्म पुगिसकेको थिएँ । तर जब मैले थाहा पाएँ, मेरा लागि र अभिव्यक्ति स्वतन्त्रताका लागि लाखौँ मान्छे बाहिर लडिरहनुभएको रै’छ, त्यसपछि मलाई हौसला मिल्यो । म जे गरिरहको छु, त्यो रोकिनुहुन्न भनेर नै उहाँहरुले यो लडाईं लड्नुभएको थियो । उहाँहरुलाई म दुःखी हुन दिने छैन । झन् सशक्त भएर आउनेछु । अरुको कलाकारको तस्बिर प्रयोग गर्ने कुरामा बरु सचेत हुन्छु ।
अहिले छुटे पनि मुद्दा त ज्युदै छ । के लाग्छ सफाई पाइन्छ ?
मेरो लयरका अनुसार साधारण तारेखमा छुट्नु भनेको ९० प्रतिशत सफाई बराबर हो भनेका छन् ।
तस्बिर: कृष्पा श्रेष्ठ
Leave A Comment