सोसल मिडियामा भारतको विरोध

बिहिबार, ०६ जेठ २०७३, ०३ : २७
सोसल मिडियामा भारतको विरोध

भारतले गरेको अघोषित नाकाबन्दीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भयो । सार्वभौम नेपाललाई भारतले हस्तक्षेप गर्न नमिल्ने भन्दै संसारभरिका नेपालीले समाजिक सञ्जाल फेसबुक, ट्वीटरमा आक्रोश पोखे । असोज ३ गते नेपालको संविधान जारी भएलगत्तै भारतले पटक–पटक विज्ञप्ति जारी गर्दै कूटनीतिक मर्यादा उल्लंघन गरेको थियो । तर, नाकाबन्दी गर्ने आशयको विज्ञप्ति आएपछि भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नेपालीहरू आक्रोशित बने ।


ट्वीटर प्रयोगकर्ताले ‘ब्याक अफ इन्डिया’ ह्यासट्यागमा वल्र्डवाइड ट्रेन्डिङ पनि गरे । ट्रेन्डिङ गर्न पाकिस्तानी प्रयोगकर्ताले सघाएका थिए । यसअघि पनि भूकम्पका बेला भारतीय मिडियाले मानवीयता बिर्सेर जथाभावी रिपोर्टिङ गरेको भन्दै ट्वीटर प्रयोगकर्ताले ‘गो होम इन्डियन मिडिया’ भन्दै वल्र्डवाइड ट्रेन्डिङ गरे ।


नाकाबन्दी गरेर पट्रोलियम पदार्थलगायत उपभोग्य सामग्रीको आपूर्ति ठप्प बनाएको र नेपालीको सार्वभौमसत्तामै हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा नेपालीले आक्रोश पोखेका थिए । ‘ब्याक अफ इन्डिया’ ह्यासट्यागमा दिनहुँ हजारभन्दा बढी ट्वीट हुन्थे । अधिकांश प्रयोगकर्ताले नाकाबन्दीलाई डटेर सामना गर्नुपर्ने र भारतसामु कहिल्यै नझुक्ने प्रतिबद्धता जनाएका हुन्थे । केहीले त ‘हामी बाघको डमरु हौँ, सिनो खाने कुकुर नसम्झिनू’ भन्दै भारतलाई चेतावनीसमेत दिए ।

Leave A Comment