चितलाङको विषयमा

सोमबार, १७ साउन २०७३, ०९ : २९ प्रा. दिनेशराज पन्त , Kathmandu
चितलाङको विषयमा

अंशुवर्माले आफ्ना उत्तराधिकारीको रूपमा राखेका उदयदेवको राज्यकालको अभिलेख नपाइएकोले धेरै कालसम्म उदयदेव राजा भएनन् कि भन्ने कुरा उठिरहेको थियो । चितलाङ गणेशस्थानमा रहेको वि.सं. ६७९ को शिलालेखबाट उदयदेव राजा भएका थिए भन्ने कुरा प्रामाणिक रूपमा बुझिन्छ । निकै खिइसकेकोले सो शिलालेख पूरा पढ्न सकिँदैन तापनि पढ्न सकिएको जति भागबाट अंशुवर्माले बाँधिदिएको स्थिति उदयदेवले थामिदिए भन्ने बुझिन्छ । यसरी लिच्छवीकालदेखि नै महŒवपूर्ण बस्तीको रूपमा चितलाङ प्रसिद्ध थियो भन्ने कुरा यस शिलालेखले एकातिर बुझाएको छ भने अर्काेतिर लिच्छवीकालको इतिहासमा निकै समयदेखि गाँठो परेर आएको रहस्य पनि फुकाइदिएको छ । चितलाङकोटमा रहेको पाटनका राजा विष्णु मल्लको पालाको वि.सं. १७९१ को शिलालेखबाट त्यसबेला चितलाङकोटको जीर्णाेद्धार भएको बुझिन्छ । त्यसैगरी चितलाङमा रहेका अरू शिलालेखबाट मल्लकालमा यो बस्ती पूर्ण रूपमा विकसित थियो भन्ने बुझिन्छ । चितलाङमा पाइएका ताडपत्रहरूबाट त्यसबेलाको चितलाङ भेकको आर्थिक इतिहासमा निकै प्रकाश पर्नुका साथै पाटन राज्यका शासक, तिनका उत्तराधिकारी, चितलाङ भेकका जातजाति आदि निकै कुरामा प्रकाश पर्छ । चितलाङमा एउटा चैत्यलाई देखाई यो अशोकचैत्य हो, यसको मुनि शिलालेख राखिएको छ, यससम्बन्धी पुस्तक पनि छ भन्ने चलन त्यहाँ पाइन्छ । यससम्बन्धी खोजी राम्रोसँग गर्न सकियो भने चितलाङ भेकको प्राचीनतामा बढी प्रकाश पर्नुका साथै त्यसको महŒव बढ्न जानेछ भन्ने कुरा निर्विवाद छ । चितलाङ वरिपरि रहेका टिस्टुङ, भटुवाल, तौखेल, पापुङ आदि ठाउँमा रहेका प्राचीन शिलालेख, मन्दिर आदिबाट त्यो भेक प्राचीनकालदेखि नै समृद्ध थियो भन्ने बुझिन्छ ।
 

 

Leave A Comment