टिकटकको मोहनी

आइतबार, १५ असार २०७६, ०१ : ४० रीना माेक्तान
टिकटकको मोहनी

कक्षा कोठा, विवाह मण्डप, भान्साकोठा मात्रै हैन बेडरुमको गोप्यतासमेत हातहातमा पु-याइसक्यो, सामाजिक सञ्जाल टिकटकले। जो हे-यो, उही मोबाइलमा व्यस्त।

न निश्चित उमेर समूह छन्, न निश्चित शैली। आ–आफ्नै पाराका भिडियो बनाएका छन्, पोस्टिएका छन्। कोही नाचिरहन्छन्, कोही आँशु झार्छन्, कोही बोल्दै बोल्दैनन्, इशारा मात्रै गर्छन्। कसैकसैमा अभिनयको चरम भोक देखिन्छ। सार्वजनिक भएको तीन वर्षमै साँच्चिकै अजिबको क्रेज बनाइसक्यो टिकटकले।

शुक्रवारकर्मी केही दिन टिकटकमा बरालिँदा फेला परेका केही दृश्य पढौंः
विवाहको मण्डप तयार छ। दुलहीका परिवार दुलाहाको पर्खाइमा देखिन्छन्। आफन्त आउने क्रम जारी छ। रातो साडी अनि रातै चुरामा रहेकी एक युवती भिडियोमा देखिन्छिन्। गीत आउँछ ‘सुन चाँदी लाइदिन्छ रे, दाइजो नि चाहिँदैन रे, भन्दैछन् घरकाले त यस्तो केटा पाइँदैन रे, तर यो मनमा घर बनायो त्यही मोरोको आनीबानीले।’

ती न पाहुना थिइन्, न दुलहीकी संगी। सक्कली विवाहको मण्डपमा सक्कली भिडियो बनाउने युवती आफैँ दुलही थिइन्। यो त भयो मण्डपको दृश्य। अब अर्को प्रयोगकर्ताको टिकटकको दृश्य यस्तो छः दृश्यले नवविवाहितको सुहागरातका लागि सजाएको कोठा भएको प्रस्टै देखिन्छ। खाटमा दुई जना नवविवाहित जोडी बेहुला–बेहुलीकै पहिरनमै छन्। दुवै टिकटक भिडियो बनाउन जुर्मुरिन्छन् अनि गीत बज्छ, ‘मुझसे दुर कहीँ ना जा, बस यहीँ कहीँ रेह जा, मँै तेरी दिवानी रे’। अनि भिडियोमा दुलाहाले दुलहीलाई आफूतिर तान्दै फननन घुमाएर अँगालोमा बेर्छन्।

अर्को एउटा भिडियोमा त ६० वर्षकी आमा मोबाइल क्यामरा अगाडि छम्मछम्म नाच्छिन्। उनी कहिले लुङ्गीमा, कहिले दाह्री–जुङ्गा टाँसेर पुरुषको भेषमा टिकटक बनाउँछिन्।

हालै टिकटक प्रयोग गर्न थालेकी सुजता गुरुङ रमाइलोका लागि टिकटक चलाउन सुरु गरेको बताउँछिन् तर अहिले यो एउटा एडिक्सन नै भइसक्यो। ‘अरुले टिकटक बनाएको देख्दा बनाउँ–बनाउँ लाग्छ,’ उनले भनिन्, ‘भिडियो बनाउन थालेपछि यसमै व्यस्त हुन थालियो।’

मनोविद् डा. पशुपति महत यसरी टिकटक जस्ता सामाजिक सञ्जालले मानिसलाई भर्चुअल वल्र्डमा रम्न आकर्षित गर्ने बताउँछन्। भर्चुअल वल्र्डमा रमाउन थालेपछि समाजलाई यसले सामाजिक एकाङ्कीपनातर्फ लैजाने र मानिसमा शरीरिक तथा मानसिक तनावसमेत बढाउने उनले जानकारी दिए।

‘टिकटकमा जे पनि राख्न थालेपछि अरुले हेर्न छोड्छन्,’ उनले भने, ‘प्रयोगकर्ताले अर्को भिडियो बनाएर हाल्छ। त्यसमा लाइक कमेन्ट नआउन सक्छ। आफ्नो भिडियोमा कति लाइक आयो भनेर गन्दै बस्ने र अपेक्षाअनुसार नआउँदा मानिस निरास हुन थाल्छन्। यसले मानसिक समस्या बढाउँछ।’

यसले घरकै मानिसहरुसँग इरिटेट हुने, रिसाउने, सानो विषयमा पनि अनपेक्षित प्रतिक्रिया देखाउने, एक्लै घोरिएर बस्ने जस्ता समस्या देखिन सक्ने उनले बताए। तापनि टिकटको क्रेज उस्तै छ।

टिकटक भिजिट गर्नु भएको भए, थाहै होला, मुख बिगारेर भिडियो बनाउनेहरुदेखि साडी लगाएर पुरुष महिला बनेको र महिला पुरुषको भेषमा नाचेको। के–के देखिन्छन् के–के त्यहाँ ! यसमा चर्चित संवादको लिपसिङ, गीतमा नृत्य आदि गरेर सम्पादन गर्न सकिन्छ। ब्याकग्राउन्डमा म्युजिक बजाएर अभिनयसमेत गर्न सकिन्छ। १५ सेकेन्डकै भिडियो बनाउन पनि मरिहत्ते गर्नेहरुको संख्या भने अर्बौं  छ। एक तथ्यांकअनुसार हरेक महिना ३ अर्ब मानिस यो सञ्जालमा सक्रिय हुन्छन्। नेपालीको मात्र संख्या गन्ने हो भने सन् २०१८ जुनसम्ममा ५० लाख थियो।

यस्तो सुविधा दिने यो पहिलो डिजिटल प्लेटफर्म भने हैन। सुरुमा यस्तो विषेशता बोकेको डबम्यास एप प्रचलनमा आयो। यो केही समय चल्यो। त्यसपछि भाइन हुँदै म्युजिकल्ली आयो। म्युजिकल्ली चिनियाँ कम्पनी ‘वाइटडान्स’ले किनेपछि टिकटकमा बद्लियो। टिकटक मुख्यतः एसिया प्रशान्त क्षेत्रमा बढी प्रयोग हुने गरेको देखिन्छ। अमेरिका, युरोप र अफ्रिकी देशमा पनि यसको क्रेज राम्रै बढिरहेको देखिन्छ। यसका मुख्य प्रयोगकर्ता युवा नै हुन्। नेपालमा रहेका टिकटकको उमेर समूह खुलेको छैन तर अमेरिकामा भएको एक अध्ययनमा टिकटक प्रयोगकर्तामध्ये ६० प्रतिशत १६ देखि २४ वर्ष उमेर समूहका देखिएको थियो।

केहीका हकमा अभिनय कला देखाउने सजिलो माध्यमसमेत बनेको छ टिकटक। केहीका  लागि आम्दानीको स्रोत पनि। टिकटक फापेको पछिल्लो उदाहरण हुन् ट्वीनी गल्सले चर्चित प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा। टिकटकमा उनीहरुको फलोअर्स ५१ लाख छ।

यी दुवै जुम्ल्याहा दिदीबहिनी हुन्। टिकटकको अधिकांश क्लिपमा उनीहरु डान्स गरेका हुन्छन्। केहीमा डायलगको लिपसिङ पनि गरेका छन्। त्यही टिकटकमा देखेर उनीहरु म्युजिक भिडियोको दुनियाँमा आइसके। हिजोआज उनीहरु निश्चित रकम लिएर प्रमोसनल भिडियो बनाउन व्यस्त छन्।

रेश्मा घिमिरे अर्की त्यस्तै लक्की गर्ल हुन्, जसले टिकटकबाटै फिल्म क्षेत्रमा डेब्युको मौका पाइन्। टिकटकमा लिपसिङ डायलग गरेर नजरमा पर्दा पोखराकी अमृता गुरुङले पनि टिकटकबाटै म्युजिक भिडियो खेल्ने अवसर पाइन्। टिकटकमा प्रिन्सी र प्रिज्मापछि दीपा–दमन्ता पनि चलेकै जुम्ल्याहा हुन्।

भद्दा हुँदै टिकटक
टिकटकमा भद्दा भिडियो बनाउनेहरु पनि प्रशस्तै छन्। कति भिडियो क्लिप हेर्दा लाग्छ ती टिकटक प्रयोगकर्ता आफूलाई पछ्याउनेको संख्या बढाउन जे पनि गर्न तयार छन्। तिर्सना बुढाथोकीको टिकटक भिडियो अक्सर भद्दा नै हुन्छन्। डबल मिनिङ र पोजिसन प्रयोगमा उनी निकै अगाडि देखिन्छिन्। यस्ता टिकटक प्रयोगकर्ताहरु पनि अन्य पनि छन्। प्रिन्सी र प्रिज्माको अनुभवमा टिकटक क्लिपमा अश्लीलता र भद्दापन देखिन थालेपछि आफूहरुलाई हेर्ने दृष्टिकोणसमेत फरक आउन थालेको छ। पछ्याउनेको संख्या बढाउन जे पनि गर्नेको संख्या बाक्लिदै जाँदा अहिले कतिपय टिकटक प्रयोगकर्तार्ले ‘चटके’, ‘नौटङ्की’ को उपमासमेत पाउन थालेका छन्।

टिकटकबाट चर्चामा आएकी अमृता गुरुङ टिकटकको नाममा जस्तो पायो त्यस्तो भिडियो हाल्न नहुने बताउँछिन्। उनले शुक्रवारसँग भनिन्, ‘जे गर्दा पनि टिकटक भनेर लागियो भने फाइदा हुन्न। भिडियो हाल्न पाइन्छ भनेर जे पनि हाल्नु पनि हुन्न। टिकटक रमाइलोको लागि बनेको हो। यसलाई त्यही रुपमा लिन सक्नु पर्छ। जतिखेर पनि टिकटक भनेर लाग्यो भने त खराब भइहाल्छ।’

बालबालिकामा क्रेज
टिकटकको स्वरुप वयस्क प्रयोगकर्ताका लागि हो तर यसमा झुम्मिनेहरुमा कलिला किशोर–किशोरीको संख्या पनि उस्तै छ। प्रवेशका लागि उमेर भेरिफाइ गर्ने सिस्टमको अभावमा बालबालिकाले सहज प्रवेश पाउने गरेका छन्।

यसरी निश्चित मापदण्डै नबनाई बालबालिकालाई टिकटकमा प्रवेश दिएकोमा टिकटक अमेरिकामा दण्डित भइसक्यो। अमेरिकी अदालतले दण्डित गर्दै ‘मापदण्ड बनाएर मात्र बालबालिकालाई प्रयोग गर्न दिन’ आदेश दिएको थियो। टिकटक कम्पनीले पनि निर्देशन पालना गर्ने वचन दिएको थियो।

उसले टिकटक प्रयोगकर्तालाई खाता खोल्न निश्चित कुनै मापदण्ड नै तोकेको छैन। मोबाइल नम्बरकै आधारमा सहजै टिकटक खाता खुल्छ। उमेरको समेत मतलब हुन्न। त्यसको असर नेपालमा समेत देखिएको छ। मैले के गरिरहेको छु भन्ने भेउ नै नपाउने साना बालबालिका अभिभावकको उक्साहटमा टिकटकमा सक्रिय देखिन्छन्।

चार वर्षीया एभेलिना खड्का टिकटकमा भाइरल छिन्। टिकटककै भरमा एभेलिनाले विभिन्न म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन्। अर्की  दुई वर्षीया शैलिन श्रेष्ठ उनका बुबा सजित श्रेष्ठले खिचिदिएको टिकटक भिडियोबाट भाइरल भएकी हुन्। शैलिनले त कति मिडियालाई अन्तरवार्तासमेत दिन थालेकी छन्। टिकटकमा बालबालिका पनि आकर्षित हुनुको कारण अभिभावकै देखिन्छन्। प्रारम्भमा आफ्नो सन्तान भाइरलहुँदा उनीहरुलाई रमाइलै लाग्ला तर यसले ल्याउने जटिलताबारे उनीहरु जानकार देखिन्नन्। डाक्टर महतका अनुसार भर्चुअल संसारमा रमाउने बालबालिकामा शारीरिक समस्या बढ्दै जान्छ।
‘भर्चुअल वल्र्डमा व्यस्त हुन थालेपछि विद्यालयमा बालबालिकाको फर्ममेन्स कमजोर हुन थाल्छ अनि पढाइमा पनि रुचि कम हुँदै जान्छ,’ उनले भने, ‘खेलकुदमा निस्क्रिय हुँदै जान्छन्। यसले फिजिकल हेल्थमा नकारात्मक प्रभाव पार्छ।’

टिकटकमा सेलेब्रेटी
यो त भयो अभिनयको भोक मेटाउने माध्यम पाएकाहरुको अवस्था। पेशा नै अभिनय गर्नेहरुको उपस्थिति पनि कम छैन टिकटकमा। नेपाली फिल्मका चल्तीका नायिका स्वस्तिमा खड्का हुन् या प्रियंका कार्की, पूजा शर्मा लगायतका कलाकार पनि टिकटकमा झुल्किरहेका भेटिन्छन्।

टिकटकले सेलिब्रिटीको क्रेज घटेको दाबी पनि आइरहेको छ, नेपालमा। हलको पर्दामा देखिने कलाकार निःशुल्क मोबाइलको स्क्रिनमा देखिन पाइएपछि दर्शक हलमा जान छाडेको तर्क गरिए पनि टिकटकप्रति सेलिब्रिटीको मोह भने घटेको छैन।

चल्तीका नायक–नायिका प्रशस्तै छन् टिकटकमा
टिकटकमा सक्रिय अभिनेत्री मध्येमा पर्छिन्, वर्षा राउत। उनी रमाइलोका लागि टिकटक प्रयोग गर्छिन्। उनका अधिकांश क्लिप लिप्सिङ वाला देखिन्छ। अभिनय नै व्यवसाय भएको कलाकार पनि किन टिकटकमा ? वर्षमा एकपटक हलको स्क्रिनमा हेर्ने दर्शकले टिकटकमा सधैँ आफूलाई देख्न पाउने वर्षाले मत छ। ‘टिकटक भिडियोमा दर्शकले दिएको कमेन्टले पनि मोटिभेसन मिल्छ,’ उनले भनिन्, ‘स्क्रिनमा त वर्षमा १ एकचोटीमा देखिन्छ। सकेसम्म टिकटकमा अभिनय गर्दिनँ।’

‘फेसबुक, इन्स्टाग्राम अनि टिकटक चलाउन थालेपछि मान्छेलाई यसमा लत नै बढ्दै जान्छ,’ डा. महत भन्छन्, ‘यसको प्रयोगले ब्रेन स्टोर्मिङ गराए पनि अर्कातिर लागूपदार्थको झैं लत लगाउँछ। टिकटक हेर्न नपाए, चलाउन नपाए सकसक लाग्न थाल्छ। मान्छे वरिपरि छन् घरमा तर समय पाउनासाथ मान्छे टिकटक भिडियो बनाउँछन्। कारण, यसको लत नै हो। मोबाइल खोलिहाल्ने अनि त्यसमा व्यस्त भइहाल्ने त्यो एक किसिमको नशा नै हो। अहिले किशोरकिशोरीमा यस्तो समस्या देखिन थालेको छ।’

एक्लै रमाउनु जोखिमः डा. पशुपति महत
टिकटक बनाउने प्रवृत्ति, सोसल लर्निङ हो। यस्तोमा एउटाले गरेको देखेपछि अर्कोले पछ्याउने प्रवृत्ति हुन्छ। विशेषगरी यसमा रमाउनुको कारण व्यक्तिसँग अहिले अरुसँग अन्तरक्रिया गर्ने समय कम छ। इन्टरनेटको प्रयोगमार्फत् जहाँ बसेर पनि रमाउन मिल्ने, टाइम पास गर्न मिल्ने सुविधा आएपछि अधिकांश त्यसैमा झुम्मिन्छन् तर यसले एक्लोपनको डर बढाउँछ। पहिला जस्तो साथीभाइ भेटेर कुरा गर्ने भन्दा पनि त्यही डिजिटल प्लेटफर्ममा रमाउने क्रम बढ्छ।

भर्चुअल वल्र्डमै हराउँछन्। व्यक्तिको मस्तिष्क पनि भर्चुअल वल्र्डमा बढी लट्ठिन्छ। त्यसले धेरै मान्छे भर्चुअल वल्र्डमा भुल्दा सामाजिक एकाङ्कीपना अनि एकअर्कासँग भौतिक रुपमा हुने अन्तरक्रिया कम हुँदै गएको छ।

व्यक्तिसँग समय छैन भन्छन्, तर उनीहरुसँग समय नभएको होइन इन्गेज हुने माध्यम धेरै बढेको मात्र हो। गृहिणीदेखि वृद्धवद्धासमेत टिकटक लगायतका सामाजिक सञ्जालमा व्यस्त छन्। जुवाडेलाई पैसा नभए पनि अझै खेलौं भन्ने हुन्छ। सामाजिक सञ्जालले आफैँमा रमाउने संस्कृतिको विकास गराउँछ। अहिले त्यसको संकेत देखिन थालिसक्यो।

Leave A Comment