अठार महिनामा ‘डढेलो’

सोमबार, १७ साउन २०७३, १० : ३७ शुक्रवार , Kathmandu
अठार महिनामा ‘डढेलो’

पछिल्लो समय लोकप्रिय रहेका गायक विपुल क्षत्रीलाई सुन्नुभएको छ ? यदि सुन्नुभएको छ भने उनको ‘वाइल्ड फायर’ अर्थात् ‘डढेलो’ बोलको गीत त पक्कै सुन्नुभएको होला । गीतले यतिबेला चौतर्फी प्रशंसा पाइरहेको छ । यसको कारण विपुल मात्र होइनन्, गीतको भिडियो पनि हो ।
गीतको म्युजिक भिडियोे नेपालमा प्रचलित तरिकाभन्दा एकदमै  फरक ढंगले निर्माण गरिएको छ । ‘ह्यान्ड एनिमेटेड’ छ । युट्युबमा १ लाख ३५ हजारभन्दा बढीले भिडियो हेरिसकेका छन् । सम्भवतः नेपाली गीतमाथि पहिलो पटक यसरी भिडियो बनेको हो । र, गीतलाई यसरी भिडियोमा ढाल्ने प्रतिभाशाली व्यक्ति हुन्, आशिष राई । ‘यसखाले एनिमेसनलाई रोटोस्कोप भनिन्छ,’ आशिषले भने, ‘यो सुटिङ र चित्रकलाको मिश्रण हो । अहिले थ्रीडी एनिमेसनको प्रयोग एकदमै धेरै छ । तर, हातले कोरेर बनाउँदा छुट्टै फिल हुन्छ । कम्प्युटरले पोलिस्ड गरेकोभन्दा पनि मान्छेले बनाएको जस्तो देखिन्छ । मलाई यसरी नै साधारण तरिकाले असाधारण कुरा गर्न मन लाग्छ ।’

यो गीतको भिडियोका दृश्य हेर्दा लाग्छ– सादा पानामा पेन्सिलले कोरिएका हुन् । भिडियो निकै कलात्मक छ । भिडियोमा विपुल र मोडल अरुण राई पनि देखिन्छन् । ‘अरुण चाहिँ मेरो भाइ हो । स्केचिङका बेला प्रायः मसँगै भइरहने हुनाले उमाथि नै स्केच गरेको हुँ ।’ भिडियोमा ठूलो भीडका माझ विपुलले गरेको कन्सर्टदेखि पहाडमाथि अँगालोमा बाँधिएर प्रेम गर्दै गरेका दृश्य छन् । ‘आठ महिनामा भिडियो बनाइसक्ने योजना थियो,’ हाल युकेमा रहेका आशिषले सुनाए, ‘तर, १८ महिना लाग्यो । भिडियोमा करिब छ हजार चित्र छन् । दैनिक २५–३० वटा कोरिन्थ्यो ।’

विपुलसँगको संयोग
विपुलको ‘डढेलो’ अडियोमा हिट भइसकेको थियो । भिडियो बन्न बाँकी थियो । संंयोगले उनको त्यो भिडियो बेलायतमा बस्दै आएका आशिषको हातबाट बन्न पुग्यो । कसरी त ? उनले एकदिन आशिषले बनाएको ‘ब्रेक थ्रो’ भिडियो युट्युबमा देखेका रहेछन् । ‘मैले पनि यस्तै खाले भिडियो बनाउनेबारे सोचिरहेको छु भन्दै उहाँले कमेन्ट गर्नुभएको थियो,’ आशिषले सम्झिए, ‘त्यसपछि मैले विपुल दाइलाई म्यासेज गरे र प्रोजेक्टको कुरा हुन थाल्यो । यही क्रममा यो भिडियो बन्न पुगेको हो ।’
‘१८ महिनाको मेहनत सफल भएकोमा खुशी छु,’ उनले थपे । चार वर्षयता आशिषले बेलायतमा पोल्का स्टुडियोज नाम दिएर एउटा टिम खडा गरेका छन् । जसका व्यवस्थापक नीरज खड्का नेपालमा छन् । आशिषले बनाउने भिडियोको सम्पादन सहशील राईले गर्छन् । स्क्रिप्टमा दिया गुरुङ र विधाता सिंहले सघाउँछन् ।

सानदैखि दृश्यका सोखिन
आशिष आफू सानैदेखि एनिमेसन र आर्टसको सोखिन रहेको बताउँछन् । ‘बाबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘मलाई बेलायतबाट आउँदा ‘लायन किङ’, ‘ब्युटी एन्ड त बिस्ट’ जस्ता वाल्ट डिज्नीको भीसीआरका टेप ल्याइदिनुहुन्थ्यो । जसले ममा भिज्युअल माइन्डको विकास भयो ।’ त्यसपछि पढाइमा पनि भिज्युअल भए मात्र रुचि लाग्ने गरेको उनले सम्झिए । भने, ‘म त कक्षामा पनि चित्र कोरर बसिरहेको हुन्थँे । भिज्युअलाइज गर्न नसक्ने विषयमा खासै मलाई रुचि लाग्दैनथ्यो ।’ सन् २००५मा आफ्नो भिज्युअल माइन्डलाई झन् परिष्कृत बनाउने उद्धेश्यले उनी युके पुगेका हुन् । ‘फाइन आर्टस विषयमा युनिभर्सिटी सकाए,’ उनले भने, ‘त्यसपछि जागिर गर्न मन लागने । अनलाइन टूडी एनिमेसन सिक्न थालेँ । र, यही माध्यमबाट आफूलाई लागेको कुराहरू कम्युनिकेट गर्न थालेँ । ’

आशिषले ‘पोल्का स्टुडियोज’मार्फत ‘राइजिङ विथ नेसनालिज्म’, ‘ह्याप्पी दसैँ’ लगायत थुप्रै एनिमेटेड भिडियो बनाइसकेका छन् । ‘राइजिङ विथ नेसनालिज्म’मार्फत सबै जातजाति धर्म र संस्कृतिका मानिस एकजुट भएर बसौँ भन्ने सन्देश दिन खोजेको आशिषले बताए । ‘हाम्रो कामले सामाजिक परिवर्तनका लागि पनि सघाओस् भन्ने हो,’ उनले भने । राजधानीका कलेजकलेजमा आशिषले स्केचिङ गरेका भिडियो देखाउँदै हिँडिरहेका छन्, म्यानेजर नीरज खड्का । ‘राजधानीको १९ वटा कलेजमा निःशुल्क देखाइसक्यौँ,’ नीरजले भने ।  

आशिषले अहिलेसम्म यो कामलाई आफ्नो रुचिका रूपमा मात्र अघि बढाइरहेका छन्, व्यावसायिक रूप दिइसकेका छैनन् । ‘अब व्यावसायिक हुनुपर्ला,’ उनले भने, ‘यसरी काम गर्नुमा मेरो कुनै खास उद्देश्य भन्ने छैन । म सबै प्रोजेक्टलाई समान ढंगले हेर्छु । हरेक नयाँ प्रोजेक्टलाई सकेसम्म राम्रो र स्तरीय बनाउने मेरो चाहना हुन्छ । ’
 

Leave A Comment