पीडित मानसिकताको उन्मूलन

शुक्रबार, २० असार २०७६, ११ : ३८ प्रकाश जंग थापा
पीडित मानसिकताको उन्मूलन

जीवनमा छलाङ मार्न नसक्नु, उपलब्धि हासिल गर्न अक्षम हुनु वा फँस्नुको एउटै कारण हुन सक्छ, पीडित मानसिकता। अर्को शब्दमा भन्नुपर्दा पीडितले जस्तो सोच राख्नु र सोहीअनुरुप व्यवहार देखाउनु। कसलाई पीडित भन्ने ? जो व्यक्ति जीवनमा अनपेक्षित घटनाक्रम आइपर्दा कुनै पनि प्रतिक्रिया जनाउन सक्दैन र सन्तुलन गुमाउन पुग्छ भने उसैलाई पीडित भनिन्छ।

यस्तो व्यक्तिले परिस्थितिअनुसार चल्ने ल्याकत राख्दैन। उल्झनमा पर्न, पीडा सहन र अरुको अधिनमा रहन बाध्य हुन्छ। एक हिसाबले भन्नुपर्दा जीवन उनको नियन्त्रणमा हुँदैन। यस्ता व्यक्तिमा चाहेको भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वासको पनि कमी हुन्छ। उसो भए आफूलगायत अरु व्यक्ति पीडित मानसिकताबाट ग्रसित भएको नभएको अथवा पीडित रहेको नरहेको कसरी थाहा पाउने ? यसका लागि हामीले निरन्तर बोल्ने वाक्यांश वा भनाइ टिपोट गर्न सकिन्छ। पीडित व्यक्तिले निम्न भनाइ वा विचार सामान्य रुपमा राख्ने गर्छन्ः

# म सक्दिनँ

# यो असम्भव छ

# त्यसमा जटिलता धेरै छन्

# जीवन सोचे जस्तो छैन÷हुँदैन

# त्यो मैले कहिल्यै गरेको छैन, असफल भएँ भने ?

# त्यो त उसको गल्ती हो

# प्रयास गरौँला, हेरौँ के हुन्छ !

# त्यो मैले गरिसकेँ

# व्यक्तित्व विकास गर्नुको औचित्य नै के छ र ?

# त्यो तिम्रो लागि सहज छ, मेरो लागि छैन

# व्यवसाय त गर्ने, तर कसरी ?

# त्यो काम जवानहरुका लागि हो, हामीजस्तो बूढाका लागि होइन

# अब ढिला भइसक्यो

# सायद त्यसले काम गर्न सक्छ आदि।

यस्तो सोच राख्नेहरू सबै पीडित हुन्।

पीडित किन ?
पीडित व्यक्ति सम्भवतः जीवनभर पीडित नै रहन्छ। आफूलाई परिवर्तन गर्नै सक्दैन। यस्तो हुनुमा केही कारण छन्। पहिलो कारण, बाह्य संसार प्रतिको दृष्टिकोण। पीडित व्यक्ति वाह्य संसारलाई सफलताको बाधा ठान्छ। आन्तरिक संसार यानि मनोविज्ञानको महत्व बुझ्न सक्दैन। प्रत्येक असफलताको दोष बाहिरी संसारलाई लगाउँछ। बजार अवस्थाअनुकूल थिएन। प्रतिस्पर्धा चरम विन्दुमा थियो। आर्थिक स्थिति मजबुत थिएन। संस्था प्रमुख विषाक्त थिए। सहकर्मी साथीहरु पनि सहयोगी थिएनन् भन्ने जस्ता तर्कहरू उनको हुने गर्छ। आफ्नो पीडित मनोविज्ञानमा फिटिक्कै समस्या देख्दैन। त्यसलाई सच्याउनुपर्ने आवश्यकता महसुस गर्दैन। स्वयं बाधा रहेको स्वीकार्न चाहँदैन।

दोस्रो कारण, रक्षात्मक हुनु। पीडित व्यक्तिमा संकुचित सोच हुन्छ। आफ्नो जीवनस्तर आफ्नै हातमा रहेको विश्वास गर्न सक्दैन। कसैले रचनात्मक सुझाव दिए पनि सुन्न तयार हुँदैन। नियतमा खोट देख्छ। कृतज्ञता प्रकट गर्दैन। उल्टो अनेकन लाञ्छना लगाउँछ। आफूलाई होच्याएको बुझ्छ। सोच परिमार्जन गर्ने अवसर प्रयोग गर्दैन। त्रुटिहरू सच्चिने त सम्भावनै रहेन। जसकारण पीडित व्यक्ति सधैँ पीडित अवस्थामा रहिरहन्छ।

तेस्रो कारण, व्यक्तित्व विकासमा ध्यान नदिनु। व्यक्तित्व विकास आजको भोलि नै हुँदैन। यो एउटा वृहत क्षेत्र हो। ३५ भन्दा बढी त उपक्षेत्र छन् यसमा। यस क्षेत्रमा विज्ञता प्राप्त गर्न समय लाग्छ। भावनात्मक पीडासँग लड्नुपर्ने हुन्छ। उदाहरणका निम्ति, व्यक्तित्व विकासको एउटा उपक्षेत्र लिउँ, भावनात्मक महारत। एक अध्ययनले २७ वटा मानवीय भावना हुने देखाएको छ। जस्तैः रिस, चिन्ता, हर्ष, ईष्र्या, भ्रम, उदासी, सहानुभूति आदि। यी सम्पूर्ण भावना बुझ्न, त्यसमा महारत प्राप्त गर्न कम्तीमा पाँचदेखि दश वर्ष लाग्न सक्छ। यो व्यक्तिमा निर्भर हुने कुरा पनि हो। कतिलाई त जीवन भरको समय पनि अपुग हुन सक्छ। प्रायः व्यक्ति यो स्तरको मिहिनेत गर्न चाहँदैन। अन्ततः पीडित रहन्छ। अनि यस्तो व्यक्तिको कसरी हुन्छ स्तरीय जीवन !

उन्मूलनका केही उपाय
पीडित मानसिकता यथावत् रहेसम्म जीवनमा कुनै उपलब्धिमूलक कार्य गर्न सकिँदैन। जेनतेन जीवन धान्न सकिएला तर गुणस्तरीय जीवन जीउनु भने असम्भव रहन्छ। केवल बाँच्नका लागि भागदौड र संघर्ष गर्नुपर्ने हुन्छ। यस्तो परिस्थितिबाट बाहिर आउन पीडित मानसिकताको उन्मूलन महत्वपूर्ण हुन्छ। यसको लागि निम्न टिप्स र उपाय अवलम्बन गर्न सकिन्छ।

(क) शतप्रतिशत जिम्मेवारी लिनेः मुख्यतः ६ वटा क्षेत्रमा शतप्रतिशत जिम्मेवारी लिनुपर्ने हुन्छ। ती हुन्ः सफलता, असफलता, भावना, अप्रत्याशित घटना, जीवन परिस्थिति र सम्बन्ध। सफलताको जिम्मेवारी लिन गाह्रो हुँदैन। सबै सफल हुनेले भन्न सक्छ, ‘क्षमता थियो, मिहिनेत गरेँ, चुनौती मोल्न डराइनँ अनि त्यसैले सफल भएँ।’ अब रह्यो असफलता। जो कोहीलाई असफलताको जिम्मेवारी लिन भने कठिन हुन्छ। मेरै कारण यस्तो हुन गयो, असफल हुनुमा म आफैँ जिम्मेवार छु भन्न सक्दैन। अरुलाई दोषारोपण गर्न मान्छे तल्लीन रहन्छ। फलानोले गर्दा, अनुकूलता नहुँदा असफल भएको तर्क गर्छन्। त्यसैगरी शरीरमा उत्पन्न हुने भावनाको कुरा गरौँ। भावनाहरु हामी आफैँले उत्पन्न गराउने हो न कि अरुले। त्यसैले शरीरमा जे जस्तो भावना उत्पन्न हुन्छ, त्यसको जिम्मेवारी लिने गरौँ। त्यसैगरी अप्रत्याशित घटनाको चर्चा गरौँ। जीवनमा अनेकौँ घटनाको सामना गर्नुपर्ने हुन्छ। मानौँ सेयर बजारमा लगानी गर्नुभयो। वित्तीय संकट आइप-यो भने ? सेयर बजार धराशायी भयो भने ? यस्तोमा जिम्मेवारी लिन सक्नुपर्छ। यहाँ जिम्मेवारी लिनु भनेको त्यस्तो संकटमा कस्तो प्रतिक्रिया दिइन्छ भन्ने बुझिन्छ।

त्यसैगरी जीवन परिस्थिति माथि चर्चा गरौँ। तपाईं कुन देशमा जन्मनुभएको छ ? पारिवारिक आर्थिक हैसियत के छ ? काम कस्तो चलिरहेको छ ? यी यावत् कुराहरुप्रति जिम्मेवार हुन सक्नुपर्छ। भनाइको मतलब तपाईंले स्वदेशमा प्रगति गर्न सक्नु भएन भने विदेश जान सक्नुहुन्छ। आफ्नो मातृभूमिलाई गाली गर्दै बस्नुको कुनै तुक छैन। त्यस्तै सम्बन्धको कुरा गरौँ। सम्बन्ध कस्तो निर्माण गर्ने त्यसको पनि जिम्मेवारी लिनोस्। सम्बन्ध बिग्रिएको खण्डमा अरुलाई आरोप लगाउने होइन आफ्नो गल्ती केलाउन थाल्नोस्। यसैलाई भनिन्छ जिम्मेवारी लिनु।

(ख) व्यक्तिगत स्तर बढाउनेः सधैँ एउटै स्तरमा रहनुको अर्थ हो पीडित हुनु। त्यसकारण व्यक्तिगत स्तर बढाउने गर्नोस्। यसका लागि व्यक्तित्व विकासको मोडेल बुझ्नु फलप्रद रहन्छ। यो मोडेलमा चार चरण छन्। ती हुन्ः पीडित, योद्धा, सर्जक र प्रबुद्ध। पीडित चरणमा रहने व्यक्ति सन्तुलित हुँदैन। सफल हुन सकिनेमा विश्वस्त हुन सक्दैन। कुनै कार्यमा उत्साहित देखिँदैन। योद्धा एक स्टेप माथिको चरण हो। यो चरणमा रहने व्यक्ति ‘जिरो सम गेम’मा विश्वास राख्छन्। यसको अर्थ, यदि म सफल भएँ भने अरु असफल हुन्छन्। म असफल भएँ भने अरु सफल हुन्छन् भन्ने सोच। उनीहरु बढी रिसाहा हुन्छन्। बाँच्न सङ्घर्ष गर्छन्। सफल हुने लोभमा दास हुन पुग्छन्।

सर्जक चरणका मानिस हरेक अवरोधको समाधानमा विश्वास राख्छ। आफूले गर्न लागेको सिर्जनामा स्पष्ट हुन्छ र त्यसैमा अत्यधिक समय र ऊर्जा लगानी गर्छ। ऊ अनावश्यक सङ्घर्ष र प्रतिस्पर्धा गर्नुलाई उपयुक्त रणनीति मान्दैन।

प्रबुद्ध चरणमा ज्ञानोद्दीप्ति प्राप्त गरेको व्यक्ति हुन्छ। यो चरणमा साधारण व्यक्ति सायदै पुग्न सक्छ। यहाँसम्म आइपुग्नु भनेको जागरणको उच्च विन्दुमा रहनु हो। पीडित चरणदेखि प्रबुद्ध चरणसम्म आइपुग्न ढिलासुस्ती नगर्नोस्। प्रबुद्ध हुन नसके पनि सर्जक त बन्नोस् !

(ग) मनोवैज्ञानिक संसारमा केन्द्रित हुनेः सफलता बाहिरी संसारमा होइन आन्तरिक संसारमा भर पर्ने कुरा हो। भन्नुको अर्थ मनोविज्ञान। बाहिरी संसार जतिसुकै परिवर्तन गरौँ न, त्यो पुनः उस्तै हुन पुग्छ। समस्या दोहोरिरहन्छ। बाहिरी संसार आन्तरिक संसारको प्रक्षेपण न हो ! मनोविज्ञान सही छ भने बाहिरी संसार उत्कृष्ट लाग्छ। यसलाई जतिसक्दो चाँडो बुझ्ने कोसिस गर्नोस्। बाहिरी संसार भन्दा पनि आफ्नो मनोवृत्ति, इगो, भावनात्मक प्रतिक्रिया, वास्तविकताको मोडेल, विश्वास प्रणाली, आनीबानी, मेन्टल फिल्टर, जागृति जस्ता विषयमा गम्भीर हुनोस् अनि तपाईं पीडामुक्त हुनुहुनेछ, पीडित मानसिकता त्याग्न सफल हुनुहुनेछ।

Leave A Comment