सहरी जीवनशैलीसँगै व्यक्तिमा भिटामिन ‘डी’ को अभावले त्यतिकै गाँज्न थालेको छ। भिटामिन ‘डी’ को कमीले शारीरिक मात्रै हैन मानसिक असर पनि पर्छ।
भिटामिन ‘डी’ को कमीले शारीरिक रुपमा मुख्यतः हड्डी कमजोर हुने वीर अस्पतालका उपप्राध्यापक तथा फिजिसियन डा. भवेश थापाले बताए।
भिटामिन ‘डी’ को कमीले सबै उमेर समूहका व्यक्तिमा नकारात्मक असर पुग्छ। बालबालिकामा भिटामिन ‘डी’ को कमी हुँदा हड्डीको राम्ररी विकास हुन नसक्दा बालबालिका लुला हुने, बांगा खुट्टा हुने जस्तो समस्या हुन्छ। जुन समस्यालाई चिकित्सकीय भाषामा ‘रिकेट्स’ भनिन्छ भने वयस्क व्यक्तिमा यो भिटामिनको कमीले हड्डी नै कमजोर हुनाले सामान्य ठोकिँदासमेत हड्डी भाँचिने जोखिम हुन्छ।
‘भिटामिन ‘डी’ को कमीले हड्डी खिइने जोखिम त हुन्छ नै’, डा. थापाले भने, ‘सामान्य ठोकिँदासमेत हड्डी कमजोर भएर भाँचिन सक्छ।’ डा. थापाको तर्कमा डा. अरुणा उप्रेती पनि सहमत छिन्। भिटामिन ‘डी’ एक प्रकारको हर्मन हो। शरीरमा क्याल्सियमलाई चलायमान बनाउन भिटामिन ‘डी’ को आवश्यकता हुने डा. उप्रेतीले बताइन्। भिटामिन ‘डी’ ले शरीरमा क्याल्सियमको मात्रा सन्तुलित गर्छ।
भिटामिन डी’ को कमीले हड्डी दुख्ने, शरीरका हाडजोर्नी दुख्नेजस्ता समस्या हुन्छन्। शरीरको हड्डी नै कमजोर भएपछि शारीरिक रुपमा अस्वस्थ हुने नै भयो। शारीरिक मात्रै हैन मानसिक समस्याको त्यतिकै जोखिम हुने चिकित्सक बताउँछन्। भिटामिन ‘डी’ को अभावमा डिप्रेसन, एन्जाइटि, डिमेन्सिया (बिर्सिने समस्या) जस्ता मानसिक समस्या हुने मनोविद् गोपाल ढकालले बताए। विशेषगरी जाडो मौसममा घामको कमीले डिप्रेसनको बढी समस्या हुने मनोविज्ञको तर्क छ। जसलाई सिजनल डिप्रसेन भनिन्छ। ‘सूर्यको प्रकाशले शरीरमा सेरोटोनिन हर्मनको उत्पादनमा सहयोग गर्छ,’ ढकालले भने ‘यसको अभावमा व्यक्तिमा डिप्रेसन देखापर्छ।’
उमेरअनुसार आवश्यकता
भिटामिन ‘डी’ को आवश्यकता उमेर समूहअनुसार फरक–फरक हुन्छ। बालबालिकाको तुलनामा वयस्क व्यक्तिमा भिटामिन ‘डी’ स्वाभाविक रूपमा बढी आवश्यकता हुन्छ। भिटामिन ‘डी’ को मात्रा सामान्यतः वयस्क व्यक्तिमा दैनिक ६ सय देखि ८ सय आइयू (इन्टरनेसनल युनिट) आवश्यकता हुने चिकित्सक बताउँछन्।
रगत परीक्षण गर्दा प्रतिमिलिलिटर ३० नेनोग्रामभन्दा कम भिटामिन ‘डी’ भए त्यस्तो व्यक्तिलाई भिटामिन ‘डी’ को कमी भएको मानिने डा. थापाले बताए।
भिटामिन ‘डी’ कलेजोमा सोसिएर बस्छ। लामो समयसम्म भिटामिन ‘डी’ शरीरमा सोसिएर बसिरहन नसक्ने भएकाले दैनिक १५ मिनेट घाममा बस्नाले शरीरमा भिटामिन ‘डी’ को मात्रा सन्तुलित रहन सक्ने चिकित्सकको सुझाव छ। ३/४ दिन घाममा नबस्दैमा भने चिन्ता लिनु पर्दैन। दैनिक घाम नताप्दा हड्डी कमजोर हुने भएकाले यसमा ध्यान दिनु पर्छ।
घाममा बसौँ
भिटामिन ‘डी’ को भरपर्दो स्रोत घाम नै हो। ‘८० प्रतिशत घामबाट भिटामिन ‘डी’ पाइन्छ,’ डा. उप्रेतीले भनिन्, ‘खाद्यपदार्थबाट २० प्रतिशत मात्रै पाइन्छ।’ दैनिक घाममा बस्नाले शरीरमा भिटामिन ‘डी’को सन्तुलन मिल्छ। त्यसैले भिटामिन ‘डी’ को सन्तुलनका लागि दैनिक १५ मिनेट घाममा बस्न चिकित्सकको सल्लाह छ।
घाम त प्रमुख स्रोत भयो नै। त्यसबाहेक भिटामिन ‘डी’ पाइने खाद्यपदार्थ खान चिकित्सकको सुझाव छ। दूध, दही, अण्डा, माछा (विशेषगरी ट्राउट माछा), कलेजो, चिज, च्याउ (मसरुम) जस्ता खाद्यपदार्थमा भिटामिन ‘डी’ पाइन्छ। सुन्तलालगायतका फलफूलमा यस्तो भिटामिन पाइन्छ। यस्ता खाद्यपदार्थ खानाले भिटामिन ‘डी’ को अभाव भई हुने मानसिक समस्याबाटसमेत छुट्कारा पाउन सकिने ढकाल बताउँछन्।
यीबाहेक चिकित्सकीय जाँचपछि शरीरमा भिटामिन ‘डी’ को कमी भएको पाइए चिकित्सकको सल्लाहमा औषधि खाएर भिटामिन ‘डी’ सन्तुलनमा ल्याउन सकिन्छ। चिकित्सकको सल्लाहविना औषधिका रुपमा तयार गरिएका भिटामिन खान हुँदैन यदि त्यस्ता भिटामिन खाइयो भने नकारात्मक असर गर्ने जोखिम हुन्छ।
भिटामिन ‘डी’ का लागि घाम बरदान नै हो। घामको प्रभावका कारण शरीरमा रहेको कोलेस्ट्रोल (चिल्लो) ले भिटामिन ‘डी’ बनाउने चिकित्सक बताउँछन्। ‘सुरुमा कलेजोले भिटामिन ‘डी’ बनाएपछि मृगौलाले यसलाई सक्रिय बनाउँछ,’ डा. थापाले भने, ‘त्यसैले कलेजो तथा मृगौलाको दीर्घ रोगीलाई भिटामिन ‘डी’ को कमी हुने जोखिम हुन्छ।’
शरीरको छालाको वर्णले पनि प्रभाव पार्छ। चिकित्सकका अनुसार कालो वर्ण तथा मोटोपन भएका व्यक्तिमा भिटामिन ‘डी’ को अभाव हुन सक्छ। शरीरको कालोपन र बढी बोसोले शरीरमा राम्रोसँग घामको प्रभाव नपर्ने भएकाले भिटामिन ‘डी’ को समस्या हुन सक्छ।
आन्द्रामा कुनै समस्या भई शरीरमा भिटामिन ‘डी’ नसोसिएको अवस्थामा पनि भिटामिन ‘डी’ को कमी हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। त्यसैले आन्द्रामा कुनै खराबी भए जति सक्दो चाँडै उपचार गर्नुपर्छ।
कोलेस्ट्रोललगायतका औषधि सेवन गर्ने व्यक्तिमा भिटामिन ‘डी’ को कमी हुन सक्ने भएकाले त्यस्ता व्यक्तिले भिटामिन ‘डी’ खानुपर्ने हुनसक्छ। यस्ता व्यक्तिमा भिटामिन ‘डी’ बन्ने रसायनको कमी हुन सक्छ।
शरीरमा हुन सक्ने इन्फेक्सन, मुटुरोग, क्यान्सर हुनबाट जोगाउन भिटामिन ‘डी’ को आवश्यकता हुन्छ भनिए पनि यस्तो तर्क प्रमाणित भने नभएको चिकित्सकले बताए।
मनोविद्का अनुसार घामको कमीले डिप्रेसनको समस्या भएका व्यक्तिमा नैरास्यता हुने, अल्छी लाग्ने, निद्रा बढी लाग्ने, थकान लाग्ने, बढी खाना रुच्ने,जोश–जाँगरमा कमी आउनेजस्ता लक्षण देखिन्छ। यस्तो समस्या भएको अवस्थामा शरीरमा भिटामिन ‘डी’ पाइने स्रोत पहिल्याई उपचार गनुपर्ने ढकालले सुझाए।
घर भित्र बसिरहनु बेठीक
गाउँमा बस्ने व्यक्तिको तुलनामा सहर–बजारमा बस्ने व्यक्तिमा भिटामिन ‘डी’ को अभाव बढी हुन सक्ने चिकित्सकको धारणा छ। बालबालिका तथा पाको उमेर समूहका व्यक्तिमा यसको जोखिम बढी हुन्छ। पाको उमेरका व्यक्ति सामान्यतः घरभित्रै बस्ने तथा घाममा कम निस्किने भएकाले उनीहरुमा भिटामिन ‘डी’ को कमी हुने सम्भावना बढी हुन सक्ने डा. थापाले बताए।
विशेषगरी अफिसमा बसेर काम गरिरहने, घरमै, बसिरहने व्यक्तिमा भिटामिन ‘डी’ कमी हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। त्यसैले अफिसियल काम गर्ने व्यक्ति दैनिक करिब १५ मिनेट घाममा बस्नु पर्छ।
कालो वर्णको छाला हुने व्यक्तिमा भिटामिन ‘डी’ को कमी हुन सक्ने भएकाले त्यस्ता व्यक्ति गोरा व्यक्तिको तुलनामा बढी घाममा बस्नुपर्ने डा. उप्रेतीको सुझाव छ। धेरै गोरो छाला हुने व्यक्ति घाममा बस्दा क्यान्सरको जोखिम बढी हुने भए पनि नेपालीको सामान्यतः गहुँगोरो छाला हुने भएकाले घाममा बस्दा क्यान्सरको जोखिम खास नहुने चिकित्सकको तर्क छ।
घाममा हिँड्दा कालो भइन्छ कि भनेर सन्सक्रिम लगाएर हिँड्दा शरीरमा आवश्यक मात्रामा भिटामिन ‘डी’ नपुग्ने जोखिम हुने डा. थापाले बताए। मोटोपना भएका व्यक्ति एक त मोटोपना घटाउन आवश्यक हुन्छ भने उनीहरुले घामको राम्रै ताप लिनु पर्छ। भिटामिन ‘डी’ को पूर्तिका लागि घाममा बसेर तेल लगाउन सकिन्छ।
Leave A Comment