नेपाली संगीत क्षेत्रमा परिचित नाम हो– योगेश्वर अमात्य। तर ‘जब सन्ध्या हुन्छ’, ‘रातो र चन्द्र सूर्य’, ‘लैजा चरी मेरो खबर’ लगायत थुप्रै हिट गीत दिएका उनी स्वयम् आफूलाई गायक भन्न रुचाउँदैनन्। पछिल्लो समय संगीतमा निष्क्रिय देखिएका उनी एकसाताअघि गुठी विधेयकविरुद्ध माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा प्रहरीलाई फूल बाँडेर मिडियामा छाए। उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
गुठी विधेयकविरुद्धको आन्दोलनमा खटिएका सुरक्षाकर्मीलाई तपाईंले फूल बाँड्नुभयो। यस्तो गर्नुको खास कारण ?
पहिलो कुरा त यो आन्दोलन नै होइन। आन्दोलन भएको भए कडा हुन्थ्यो। हामी त्यहाँ विरोध जनाउन मात्र गएका थियौँ। हामी शक्ति प्रदर्शन गर्न गएका थियौँ। त्यो ठूलो संख्याको प्रदर्शनले ‘यति धेरै मान्छेलाई विधेयक चित्त बुझेको छैन’ भन्ने जनाउ दिन्थ्यो। अब फूलको कुरा गरौँ। म हिन्दुको बच्चा हुँ। मेरो लागि फूल, नेवारीमा ‘स्वा’ भन्छ, एकदमै महत्वपूर्ण हुन्छ। यो सिम्बोलिक पनि छ। त्यो स्वच्छ नभएको भए हामी देवीदेउतालाई चढाउने पनि थिएनाैँ। प्रहरी दाजुभाइहरुलाई फूल बाँडेर भाइचारा देखाउने कोसिस गरेको हो। उहाँहरुले पनि स्वीकार्दिनुभयो। खुशी लाग्यो।
तपाईंको त्यो काम सामाजिक संजालमा भाइरल भयो, चौतर्फी चर्चा भयो। कस्तो लाग्यो ?
अरुले खिच्ला, प्रशंसा गर्ला भन्ने आधारमा फूल बाँडेको थिइनँ। तैपनि सबैलाई धन्यवाद ! मेरो नियत प्रहरी दाजुभाइसँग विशुद्ध भाइचारा देखाउने मात्रै थियो। उहाँ र हामी सबै एउटै ड्याङ्गका मुला हौँ।
विधेयकको समस्या के हो त ?
गुठी विधेयकको ‘ग’ पनि नजान्नेले विधेयक लेख्यो, खाली जग्गा मात्रै देख्यो। यसको ऐतिहासिक र सांस्कृतिक पक्ष हेरिएन। खासमा यहाँ भूमाफियाहरुको खेल भयो। भूमाफिया नेपालमा धेरै छैनन्, तीन जना होलान्। यो उनीहरुको खेल हो।
को तीनजना रहेछन् ?
नाम लिन मिल्दैन। त्यो त तपाईंले खोज्नुप-यो।
तपाईलाई राजावादी भन्छन् नि ?
म राजसंस्था हुनुपर्छ भन्ने पक्षको मान्छे हुँ। यो भन्नु पक्कै अपराध होइन। यो मेरो मौलिक अधिकार भित्रको कुरा हो। बरु एकपल्ट जनमत संग्रह भइदिए पनि हुन्थ्यो। सरकारले पनि थाहा पाओस् न, कतिलाई राजा चाहिएको छ भनेर। धेरै दाल, भात, तरकारी खान मन लागेको होला, जबर्जस्ती पिज्जा खुवाएर हुन्छ ? त्यसैले क–कसलाई के–के खान मन लागेको छ भनेर जनमत गर्नुप-यो। डाटा लिनु त सरकारको कर्तव्य नै हो नि ! जनमत त राजाको पक्षमा आउँछ, आउँछ।
राजा नै किन चाहिने हो तपाईंलाई ?
म नेवारको बच्चा हो। पृथ्वीनारायण शाह आउँदा पनि कुमारी दिदीलाई ढोगेर सत्ता सञ्चालन शुरु गरेको हो। हामीलाई भोटेजात्रा, इन्द्रजात्रा सबैमा राजै आएको राम्रो हो। सेरेमोनियल किङ, कन्स्टिच्युसनल मोनार्की। संवैधानिक राजा क्या !
तपाईं काठमाडौंभन्दा बाहिरबाट आएका मान्छेहरुले यहाँको संस्कार, संस्कृतिलाई बिगारे भन्नुहुन्छ रे, हो ?
मैले भनेको छैन। बरु मैले काठमाडौंलाई बुझ्नका लागि पहिला काठमाडौंभन्दा बाहिर जानुपर्छ भनेको हो। बाहिर गएपछि तपाईंले महसुस गर्नुहुनेछ, काठमाडौंको जस्तो समाज कतै रहेनछ। वीरगञ्जे समाज, धराने समाज, बुटवले समाज पाउनुहुन्छ तर काठमाडौं समाज पाउनुहुन्न। काठमाडौंले हात फैलाएर नेपालभरिका मान्छेहरुलाई स्वीकारेको हो। हामीले कहिल्यै पनि उनीहरुलाई बाहिरको ठानेका छैनाैँ। बाहिर जिल्लामा गएर यसरी नै फोहोर ग-यो भने लखेटेर खेदाउँछन्, हामीले कहिल्यै पनि त्यस्तो गरेनौँ। काठमाडौं उपत्यकाको समुदाय त मन्दिरकै पुजारीजस्ता हौँ। अहिलेसम्म यहाँ ५० लाख मान्छे भइसके। काठमाडौंका मान्छेले अस्वीकार गरेको भए यत्रो जनसंख्या हुन्थ्यो ?
संगीत क्षेत्रमा बितेको दुई दशक यात्रालाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ?
म जीवनमा केही प्लान गर्दिनँ। न युट्युबमा मेरा गीतहरुको भ्यु नै भयंकर छ। मलाई अनावश्यक पैसा लगानी गरेर दुनियाँभरलाई इन्भाइट गरेर मलाई लाइक, कमेन्ट गर्दे भन्नु छैन। आजसम्म मैले कुनै पत्रकारलाई मेरो इन्टरभ्यु लिइदे भनेको छैन। आजसम्म कुनै टिभी एफएमलाई मेरो गीत बजाइदे भनेको छैन।
अनि, दुई दशक यात्राको समीक्षा गर्नुप-यो भने ... ?
मैले आफूलाई कहिल्यै गायक÷संगीतकार ठान्दै ठानिनँ। ठानेको भए पक्कै उनीहरुले गरेजस्तै गीत चलाउनलाई अनेक फन्डा गर्नुपथ्र्यो। म हुन पनि रुचाउँदिनँ। यो पनि अरु क्षेत्रजस्तै फोहोरैफोहोरले भरिएको छ।
गीत केका लागि गाउनुहुन्छ त, त्यसोभए ?
मेरा लागि संगीत थेरापी हो। म श्रोताका लागि भन्दा पनि आफ्नै लागि गाउने हो। एल्बम पनि ‘करैकर’ले निकालेको थिएँ।
संगीत क्षेत्रमा फोहोरैफोहोर छ भन्नुभयो। के–के पाउनुभयो त्यस्तो ?
कहाँ छैन फोहोर ? तपाईंको जर्नालिज्म सोसाइटी सफा छ ? तपाईंको टोल सफा छ ? वडा सफा छ ? धार्मिक संघसंस्था सफा छन् ? जताततै फोहोर छ क्या !
डिटेलमा जान नचाहनुभएको ?
हैन, डिटेलमा जान्छु म। नेपाली गीतबाट कलाकारलाई ठगेर अनेक कम्पनीहरुले विदेशी डलर कमाइरहेका छन्। गायक–गायिका एकदमै पीडित छन्। त्यो तपाईंहरुले अनुसन्धान गर्नुस् न। मेरै गीत पनि विदेशमा आइटियुन्समा पैसा तिरेर हेरिरहेका हुन्छन् तर मैले एक पैसा पाएको छैन। यस्ता धेरै समस्या छन्।
धेरै भयो गीत ननिकालेको। किन होला ?
जाँगर नै चलेको छैन हौँ। अरुतिर इच्छा धेरै भयो, गीततिर भएन। गीत पनि सेक्सजस्तो भयो क्या ! सेक्स पनि जतिखेर भने त्यतिखेर गरिदैन नि, मुड चाहिन्छ नि, हैन ? मेरो लागि गीत पनि त्यस्तै भइदियो। म रातदिन गीतसंगीत भनेर सोच्दिनँ। यो मेरो लागि प्रोफेसन होइन।
भनेपछि अब तपाईको नयाँ गीत सुन्न नपाइने भो ?
त्यस्तो पनि हैन। ५–७ वटा गीत तयार छ। रेकर्ड गने मुड नचलेर हो। पहिले मलाई ह्विस्की, बियर खाँदा गीत गाउन मन लाग्थ्यो, अहिले इतिहासबारे कुरा गर्न र जान्न मन लाग्छ।
रक्सीकै कुरा निस्किहाल्यो। तपाईं रक्सीको पारखी त थाहा भएकै कुरा हो। सोध्न मन लागिहाल्यो– अनुमान गर्दा अहिलेसम्म कति पैसाको रक्सी पिउनुभयो होला ?
तपाईंले आजसम्म कति प्लेट मःम खानुभयो र कति पैसा खर्च गर्नुभयो होला ? मेरो प्रश्नमा तपाईंले दिने जवाफ नै मेरो जवाफ हो। रक्सीजस्तो महान् तरल पदार्थलाई कसरी जोखीजोखी खाइन्छ र ?
अनुमान मात्रै भन्न खोजेको ?
अनुमान गर्नै नसक्ने चिजको अनुमान नसोध्नुहोला। एक त म क्यालकुलेटिभ मान्छे नै होइन। म हिजो र भोलिबारे सोच्दिनँ, अहिलेको पलबारे मात्रै सोच्छु।
अहिलेसम्म पिउनुभएकोमध्ये सबैभन्दा महंगो रक्सी त याद होला ?
त्यस्तो कुरै नगरौँ क्या। जब पैसाको कुरा निस्किन्छ नि, त्यहाँ लक्ष्मणरेखा कोरिन्छ। पैसा भन्ने यस्तो दुर्गन्धित चिज...। पैसा पनि त दुर्गन्ध भएको छ नि, हैन ? पैसा कुनै आधार या थर्मोमिटर होइन क्या, यस्तो कुरा जाँच्ने। त्यस्तै कुरा गर्ने हो भने अब मैले मेरो श्रीमतीसँग यौन सम्पर्क गरेको स्केल कसरी नाप्ने ? कति रमाइलो भयो भनेर कुन आधारमा नाप्ने ? मैले यो भनिरहनुको अर्थ के भने कुनै कुनै चिज छुनुहुँदैन, नाप्नुहुँदैन क्या ! नाप्ने मान्छेलाई पनि गाली गर्नुपर्छ, ‘ए मुला के हो, नापीनापी रक्सी खाने ?’ रक्सीको मात्राको कुरामा मैले पहिलेदेखि भन्दै आएको हो, यो एक पेग खायो भने अमृत, दुई पेग खायो भने औषधी, तीन पेग खायो भने विष।
तपाईं के हुनेगरी पिउनुहुन्छ– अमृत, औषधी या विष ?
मैले अमृतजस्तो पिउन सुरु गर्छु तर हुन जान्छ औषधी।
विष भएको छैन ?
म पिएपछि झगडासगडा गर्न रुचाउँदिनँ। बरु पिएपछि इतिहासको कुरा गर्छु, कविता भन्छु, गीत गाउँछु तर लफडा गर्दिनँ। ख्याल गरेर पियो भने कुनै चिज नराम्रो होइन। झन् हाम्रो त पशुपतिनाथको देश, अब गाँजा पनि खानुपर्ला जस्तो भइसक्यो। म त धेरैलाई अहिले गाँजा खाउ भनेर सल्लाह दिइरहेको छु।
तपाईं पनि लिनुहुन्छ ?
अमेरिकामा पढ्दा लिन्थेँ, यहाँ लिन्नँ। मलाई बियर खान मन लाग्छ, बियरले अलि जोश दिन्छ क्या ! गाँजा खानेहरुलाई क्यान्सर हुँदैन भन्ने कुरा पनि आइरहेको छ। त्यसैले त होला, धेरै देशमा यो लिगलाइज्ड छ।
नेपालमा पनि यसलाई वैधानिक बनाउने कुरा उठिरहेको छ, भनेपछि यसमा तपाईको पनि समर्थन ?
हो नि ! केशव स्थापित (प्रदेश सांसद) ले भनेकै हो त नेपालमा गाँजा खेती गर्नुपर्छ भनेर। अब गाँजा खेती गर्न पनि एउटा अभियान नै चलाउनुपर्ला जस्तो छ (हाँस्दै)।
तपाईंको भोगाईमा के रहेछ त जिन्दगी ?
कुनै एउटा शब्द या वाक्यले यसको परिभाषा गर्न सक्दैन। जिन्दगी परिभाषा गर्ने चिजै होइन, यो त जिउनेमात्रै हो।
Leave A Comment