डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी,
विज्ञान तथा प्रविधिको युगमा विकासले जतिसुकै फड्को मारे पनि हातको विकल्प हुँदैन। हात मजबुत नभए दैनिकीमै असर पुग्छ। हातको कुमदेखि कुइनासम्म, कुइनादेखि हत्केलासम्म र हत्केलादेखि औँलाका टुप्पासम्म छुट्टा–छुट्टै प्रकृतिका हड्डी तथा हाडजोर्नी हुन्छन्।
विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिको जीवनशैली नै परिवर्तित छ। अव्यवस्थित जीवनशैली, शुद्ध खानपान तथा व्यायामको अभावमा सामान्य रुपमा ठोकिँदा तथा दुर्घटनामा पर्दा पनि पातो खुस्किने, कुइनो भन्दा माथिको हड्डी भाँचिने, हत्केला फर्किने तथा मर्किने, औँला भाँचिने, मर्किने जस्ता समस्या हुन्छन्।
रासायनिक तत्व मिसावटयुक्त खाद्यपदार्थको उपभोग बढ्दो छ। कीटनाशक विषादी र कृत्रिम रुपमा तयार गरिएका रासायनिक मलको प्रयोग गरी उत्पादन गरिएको खाद्यपदार्थ खानाले यस्तो समस्या निम्तिने जोखिम हुन्छ। हातको उपयुक्त व्यायामको अभावले हात कमजोर हुने, मर्किने, सड्किने, दुख्ने, खुस्किनेजस्ता समस्या हुन्छन्।
गाउँघरमा बस्ने तथा खेतिकिसानी गर्ने व्यक्तिमा खेतबारीको काम गर्दा, ढिकी, जाँतोलगायतका काम गर्दा स्वाभाविक रुपमा हात चलायमान भई लचिलो हुनुकासाथै मजबुत हुन्छ।
अफिसमा एकै प्रकृतिको काम गर्ने व्यक्तिमा हात कमजोर हुने जोखिम हुन्छ। त्यसैगरी एकोहोरो रुपमा कम्प्युटरमा काम गरिरहने व्यक्तिमा हातको समस्या देखिन्छ।
खानपान तथा हात धोएर मात्रै स्वस्थ हुँदैन हात स्वस्थ तथा मजबुत हुन व्यायामको त्यत्तिकै आवश्यकता हुन्छ। हात दुख्ने, मर्किने, भाँचिनेजस्ता समस्या हुनुपूर्व व्यायाम गरी सावधानी भने अपनाउन सकिन्छ।
पातो
हातको पातोमा ठूलो, चेप्टो हड्डी हुन्छ। पाताबाट कुइनोसम्म आउने गोलो–लाम्चो हड्डी हुन्छ। पातोलाई कुम पनि भनिन्छ। पातोमा विशेष प्रकारको मांशपेशीले हाडजोर्नी जोडिएको हुन्छ। शरीरसँग जोडिने पातोको मांशपेशी कमजोर हुँदा पातो (कुम) खुस्किने जोखिम हुन्छ।
हातको व्यायाम गर्दा सुरुमा पातोको व्यायाम गरिन्छ। दुवै हातलाई बिस्तारै सिधा गरी तन्काउँदै टाउको भन्दा माथि लैजानुपर्छ। त्यसपछि तल झारिन्छ। हातका पञ्जा भने खुल्लै गरिन्छ। हात तल–माथि गर्दा खुम्च्याउँदै तलमाथि गरिन्छ। पातोको यस्तो व्यायाम स्कुलमा बालबालिकालाई पिटी खेलेको शैलीमा गरिन्छ। हात तल झार्दा मांशपेशी खुम्चिने भएकाले हातलाई आराम मिल्छ।
यस्तो व्यायामले हात माथि लैजाँदा विशेषगरी कुमको मांशपेशी तथा हाडजोर्नी तन्किएर लचिलो हुन्छ। खुम्चिने र तन्किने प्रक्रियाले हाडजोर्नी मजबुत तथा स्वस्थ भई पातो दुख्ने, मर्किने, खुर्किने जस्तो समस्या हुन्न।
पातोको दोस्रो चरणको व्यायाममा हातलाई एकै पटक सिधा तेस्रो गरी कुमकै लेभलसम्म उचालेर अगाडिपछाडि गर्न सकिन्छ। पातोको तेस्र्रो चरणको व्यायाममा भने पूरै हात दायाँ–बायाँ र तल–माथि चक्र लगाउँदै हात घुमाउन सकिन्छ। जतिपटक दायाँ–बायाँ घुमाइन्छ त्यति नै पटक उल्टो–सुल्टो घुमाइन्छ।
चौथो चरणमा दुवै हातले डम्बेल उचालेर छातितिर लगेको जस्तैगरी कुमतिर हात लाँदै मुठ्ठी पार्दै छोडिन्छ। दुवै हात एकै पटक वा पालैपालो गर्न सकिन्छ।
सै चरणमा भने दुवै हात छातितिर लैजाँदै, हात पसार्दै मुठ्ठी खोलिन्छ। मुठ्ठी खोल्दा कुनै सामान फ्याके जस्तै गरिन्छ। जोडले भने फाल्नु हुन्न। यसरी झड्कारेर मुठ्ठी खोल्दा पातो तथा सम्पूर्ण हातका जोर्नी लचिलो र मजबुत हुन्छन्। प्रत्येक चरणको पाताको व्यायाम १०÷१० पटक गर्नु उपयुक्त हुन्छ।
कुइनो
कुइनो हातमध्येको कमजोर भागमा पर्छ। कुइनाको हाडजोर्नी मजबुद बनाउन एक हातले कुइनाको मुनिपट्टि थामेर थामिएको हातलाई ठाडो बनाइन्छ। त्यसपछि कुइनोबाट पञ्जापट्टिको भाग दायाँ–बायाँ गर्दै चक्र लगाउँदै घुमाइन्छ। उल्टो–सुल्टो घुमाउने चक्र भने बराबर लगाउनु पर्छ। यस किसिमको व्यायामले विशेषगरी कुइनाको जोर्नी मजबुत हुन्छ। हड्डी स्वस्थ तथा मजबुत भएपछि कुइनाको हड्डी खुस्किने जोखिम कम हुन्छ।
हल्केला
हत्केलाको व्यायाम गर्दा एउटा हातले अर्को हातको नाडी समातिन्छ। त्यसपछि नाडीमा समातिएको हातको हत्केलालाई दायाँ–दायाँ चक्र लगाउँदै घुमाइन्छ। उल्टोसुल्टो दुवैपट्टि बराबर घुमाउनुपर्छ। यसरी दुवै हातको हत्केलाको व्यायाम पालैपालो गरिन्छ। यस्तो व्यायामले हत्केलाको जोर्नी मजबुत हुन्छ। जसले सजिलै मर्किने, सड्किने जस्ता समस्याबाट बच्न सकिन्छ।
औँला
हातका औँलाकै मात्रै व्यायाम पनि गर्न सकिन्छ। औँला मुठ्ठी बनाउँदै छोड्दै गर्नाले विशेषगरी औँलाका जोर्नीको मांशपेशी लचिलो हुन्छ। औँलाको व्यायाम सहज रुपमा गर्न सकिने व्यायाम हो। मांशपेशी लचिलो हुँदा औँलाको नसा मजबुत भई औँला दुख्ने, बाउँडिने, सड्किनेजस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ। विशेषगरी चलाउँदा एकनासले हातका औँला चल्ने भएकाले कम्प्युटर चलाउने व्यक्तिले यस किसिमको औँलाको व्यायाम गर्नु आवश्यक हुन्छ।
औँलाको व्यायाम गरिसकेपछि तेल लगाएर वा नलगाई हल्का किसिमले हातका औँला मालिस गर्नुपर्छ। मालिस गर्दा गाई–भैँसीको दूध दुहुँदा थुन समातेर दूध दुहेको जस्तो गरी औँला समातेर हल्का किसिमले तान्दै मालिस गरिन्छ। औँलाको व्यायामले लामो समय लेख्नुपर्दा विशेषगरी औँला दुख्ने समस्याबाट बच्न सकिन्छ।
बिहान–बेलुकै व्यायाम
प्रत्येक किसिमको हातको व्यायाम १०/१० पटक गर्नु उपयुक्त हुन्छ। बिहान ३० मिनेट र बेलुका ३० मिनेट गरी दैनिक एक घण्टा हातको व्यायाम गर्दा उचित हुन्छ। यस्तो व्यायाम सबै उमेर समूहका व्यक्तिलाई आवश्यक हुन्छ। विशेषगरी वयस्क तथा पाको उमेर समूहका व्यक्तिले हातको व्यायाम गरेर हात दुख्ने, मर्किनेजस्ता समस्याबाट छुट्कार पाउन सकिन्छ।
पोषण
व्यायामले मात्रै हात स्वस्थ र मजबुत हुँदैन। खानपानमा त्यत्तिकै ध्यान दिनुपर्छ। सन्तुलित रुपमा पोषण तत्व तथा खाद्यपदार्थ खानु पर्छ। हात स्वस्थ तथा मजबुत बनाउन हरियो सागसब्जी, पहेँला फलफूल, गेडागुडी खानु पर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment