सम्झनामा यादव दाई: हेडलाइन किङ

मङ्गलबार, २४ असार २०७६, १० : ३० केपी ढुंगाना
सम्झनामा यादव दाई:  हेडलाइन किङ

उनी नाइट डेस्क चिफ, म सुरक्षा संवाददाता । नागरिक दैनिकको न्युज रुममा उनको टेबल र मेरो लगभग जोडिएझैँ थियो । उनले कम्प्युटरमा कुन समाचार हेरिरहेका छन्, कुर्सीमै बसेर देख्थेँ ।

एकै मिडिया हाउसमा काम गर्दा सकेसम्म त्यो समाचार यादव दाइ (यादव थपलिया) ले नै हेरिदिऊन् भन्ने लाग्थ्यो मनमा । कारण, उत्कृष्ट सम्पादन कला । उनले हेरेपछि बिग्रने चान्स नै छैन । ढुक्क !

त्यसैले त कहिले मुखै फोडेर ‘मेरो समाचार हेरिदिनु न’ भन्थेँ । अधिकांश समय नबोली नै मनको कुरा पूरा हुन्थ्यो ।

जब उनले समाचारको फाइल खोल्थे, बिस्तारै कुर्सी नजिक लैजान्थेँ र मिहिनेतसाथ लेखिएको आफ्नो समाचारमाथि उनको औँलाको निर्मम प्रहार टुलुटुलु हेरिरहन्थेँ । 

१५ सय शब्दको समाचार त्यस्तै परे ५ सयमा झारिदिन्थे । तापनि दुःख लाग्दैनथ्यो । काँटछाँटले बडो आकर्षक बनेको हुन्थ्यो समाचार । त्यसैले उनका औँला की–बोर्डमा जति नाच्थ्यो, खुसी लाग्थ्यो ।
समाचार सम्पादन गरेको हेर्दा सम्पादन शैलीको ज्ञान पनि हुने, ‘म जत्तिको गतिलो कसले लेख्छ र ?’ भन्ने भ्रम पनि तोडिने । उनले ज्ञान दिइरहे, मेरा भ्रम तोडिरहे ।

की–बोर्डमा औँला नाच्न छोड्यो भने चाल पाउँथेँ, हेडलाइन जुर्ने पालो आयो । लेख्ने मेट्ने गरिरहे समाचार सोचेजस्तो राम्रो लेखिएनछ भन्ने लाग्थ्यो । जब उनको औँला फरर्र चलेर टक्क अडिन्थ्यो गजबको हेडलाइनको जन्म हुन्थ्यो, भर्खर जन्मिएको बालकझैँ क्युट ।

उनीसँग काम गरेकाले पत्रिकाको हेडलाइन हेरेरै चाल पाउँथेँ, समाचार शीर्षक यादव दाइले राखेको हो या हैन । उनी ‘हेडलाइन किङ’ नै थिए ।

काम शब्द काँटछाँटको गरे पनि उनमा नेपाली भाषाको अब्बल ज्ञान थियो । साहित्यशिल्प गज्जबको थियो । पुस्तक ‘मृत्युचुम्बन’ पढ्दा उनको शब्दशक्ति ज्ञान हुन्छ । त्यो शब्दको शक्ति समाचारमा खनिदा पुस्तकार सिर्जनाको संख्या थपिन पाएन । 

000

कुमारी हल साइडतिर थियो ‘खोजतलास’ दैनिकको कार्यालय । राजधानी दैनिकमा परिचय भएको राजु बस्नेत थिए त्यहाँ । त्यसैले बाटो पर्दा प्रायः म छिर्ने गर्थें  ।
होचो–होचो, मोटोघाटो व्यक्ति यता र उता गरिरहन्थे । कार्यकारी सम्पादक भन्थे राजु तर बोलचाल खुल्दैनथ्यो ।

मिति ठ्याक्कै याद भएन । कमलपोखरीमा रहेको ‘नयाँ पत्रिका’को कार्यालयको भ¥याङ ओर्लदै गर्दा उनै व्यक्ति भर्याङ उक्लिरहेका थिए ।
‘ज्वाला सरको कोठा कहाँ हो ?’ 
‘तेस्रो तला ।’

दोस्रो दिन बेलुकातिर सम्पादन विभागको कोठामा उनै व्यक्ति समाचारको कुँडाकर्कट सफा गरिरहेका थिए ।उनी यादव दाइ नै थिए । 

१० वर्ष अगाडि वैशाख ११ मा निस्किएको नागरिकमा म मंसिर १५ मा आइपुगेँ । त्यसको केही समयमै यादव दाइ पनि नागरिकको सम्पादन कक्षमा आइपुगे । 

सहकार्यको प्रारम्भ त ‘नयाँ पत्रिका’बाटै भएको थियो । नागरिकको यात्राले सहकर्मीको सम्बन्ध दाजुभाइमा पुर्याइदियो । ६ वर्षको सहकार्यमा डेस्क चिफ र रिपोर्टरको सम्बन्ध कतिखेर दाजुभाइसम्म आइपुग्यो, पत्तै

पाइएन ।
हँसिमजाक गरिरहनुपर्ने । प्रायः मुस्कानमय नै हुन्थ्यो उनको मुहार । ९ वर्षको संगतमा उनी रिसाएको विरलै देखियो । 

जतिखेर पनि काममा मग्न । कार्यालयमा उस्तै, घर पुगे उस्तै । कम्प्युटरको की–बोर्डको खटरखटर आवाजसँग उनको डिप लभै परिसकेझैँ लाग्थ्यो । धैर्यवान् । साँझ ७ बजेतिर कुर्सीमा बसेका उनी, १० बजेसम्म हलचलै नगरी पनि काम गर्न सक्थे । 

समाचार सम्पादनमा यति ध्यानमग्न हुन्थे कि लाग्थ्यो कुनै संगीतकार मीठो धुनमा सिर्जनामा मग्न छ । राजनीतिक होस् कि सामाजिक, समाचार सुँघ्ने शक्ति गज्जबको थियो ।

000

२५ सय शब्द जतिको एउटा फिचर थियो, नेपालमा मारिइरहेका मुस्लिमहरुबारे । सम्पादन गर्दागर्दै यादव दाइले भने ‘समाचार लामो भयो क्या, कति लेखेको !’

मैले भनेँ, ‘२५ सय त हो दाइ ! मज्जाले लेखे त २५ हजार हुन्छ ।’

‘२५ हजार थपेर किताब लेखे भइगयो त, के समाचार लेखेर बसिरा’को ?’  

कुनै कुरा चित्त नबुझे घुमाएरै दनक दिन्थे । समाचार सम्पादन गर्दागर्दै दिक्क लागेर भने कि, फ्रेस मुडमै सुझाव दिए, खुट्ट्याउन सकिनँ । मुड ठीक रै’नछ कि भनेर चुप लागेँ ।
तर त्यसले दिमागको बत्ति बाल्ने काम भने गर्यो मेरालागि ।

युनुस अन्सारीको हत्या प्रयास, जमिम साहको हत्याको रिर्पोटिङसँगै आवश्यक डकुमेन्टहरु भेला पारिरहेको थिएँ । यही श्रृंखलामा मिर्जा दिलसाद बेगदेखि जम्मा भएका डकुमेन्ट जोडिँदै गए । ती सबै रिर्पोटहरु  समाचारकै लागि संकलन गरेको थिएँ ।
‘किताब लेख्न सकिन्छ कि क्या हो !’ मनमा लागिरह्यो ।

तर पुस्तक लेख्ने ‘समाचार’ लेखेझैँ त पक्कै हैन ! किताबको लेखन शैलीबारे छेउटुप्पै थाहा थिएन । 
कुमारी हलको गेटको विपरीतको घरमा डेरामा बस्थे उनी । सम्पादन कक्षबाट जोगिएको समयमा काम गर्न ‘मिडिया मेट प्रालि’को कार्यालय पनि त्यतै खोलेका थिए । 
दिउँसो मोबाइल डायल गरेँ ।
‘दाइ भेट्न पर्यो, अति जरुरी छ ।’
‘आऊ न त ।’

कमलपोखरीतिर बराल्लिँदै थिएँ । उनको कार्यालय पुग्न पाँच मिनेट पनि लागेन । उनी कम्प्युटरको की–बोर्ड बजाएर बसिरहेका रहेछन् खटर.... खटर ।

‘दाइ अस्ति समाचार लामो भएकाले मज्जैले कस्सेर हान्नुभयो, किताब लेखे भइहाल्यो भन्नु भा’थ्यो । ‘सटायर’ हान्या कि साँच्चै हो ?’

पुलुक्क अनुहारतिर हेरेर उही परिचित शैलीको मुस्कान छर्दै यादव दाइले भने, ‘किन ? लेखिसकियो कि क्या हो ?’

‘ह्या नजिस्कनु न बूढा, साँच्चै भनेको हो भने लेख्छु तर तपाईंले सहयोग गर्नुपर्छ ।’
यादव दाइ अलि गम्भीर देखिए, भने, ‘ल लेख, सम्पादन मेरो जिम्मा । राम्रो प्रकाशक पाए अन्त दिउँला नत्र छाप्ने काम पनि मेरै भो !’

कसरी लेख्ने, फ्रेमवर्क कस्तो बनाउने सबै पढाए । उनकै मार्गदर्शनका आधारमा तीन वर्षमा तयार भयो– ‘ओपन सेक्रेट’ । सम्पादन यादव दाइले नै गरिदिनुभयो । 
पुस्तक चल्नेमा उनी ढुक्क थिए । मैले ‘मिडिया मेट’बाटै निकालौँ भने । भाइ लेखक, दाइ प्रकाशक  । दाम आए दुवैलाई हुने ! 

तर ‘फाइनप्रिन्ट’ छाप्न राजी भएको सुनेपछि यादव दाइ आफू छाप्न मान्दै मानेनन् ।
‘पहिलो पुस्तक चलेको प्रकाशन गृहबाट छाप्दा राम्रो हुन्छ,’ उनले मलाई उल्टै सम्झाउँदै भने, ‘दाम त दोस्रो किताब छापेर कमाउँला नि !’ 
र, छापियो फाइनप्रिन्टमै ।
ला !

किताबको पहिलो प्रिन्टमा सम्पादकको नामै छुटेछ । लाग्यो– ‘रिसाउने भए बूढा ।’
तर, विमोचन कार्यक्रममा म भन्दा बढी खुसी थिए यादव दाइ ।
आफ्नो उन्नतिमा त जो पनि रमाउँछ ! पहिलो पुस्तक आउँदा म बिछट्टै रमाउने नै भएँ तर उनको मुहारको उज्यालोले मेरो मुहारको उज्यालोलाई पराजित गरिरहेको थियो ।
कति शुद्ध आत्मा ! कति निष्कपट माया !

000
उनी ‘कान्तिपुर’ दैनिकमा डेरा सरे । ‘नागरिक’ दैनिकबाट मेरो सरुवा ‘शुक्रवार’ साप्ताहिकमा भयो । प्रत्यक्ष भेटघाट अलि पातलिए पनि फोन संवाद जारी थियो ।
‘खै, सम्पादक भएको कफी पनि खान पाइएन !’ यादव दाइले गुनासो रुपी जिस्क्याटको झटारो हानिरहन्थे ।
‘खानुपर्छ दाइ अब ।’ 
तर खै किन हो, त्यो जुर्दै जुरेन । 
पछि फेरि फोन गरेर कफी निम्तो दिएँ, भने, ‘म त चित्लाङ हिँडेँ, फर्किएर आएर खाउँला !’ 
कफी पसलको साटो अकस्मात हुर्रिदै पशुपति विद्युत् शवदाह गृह पुग्नुपर्यो । वरिपरि निन्याउरो मुहारका परिचित । कुनामा गंगा भाउजू अद्र्धबेहोस ।
भित्र यादव दाइ सुतिरहेका । 

पिन्चे नै हुँ म । फिल्मी करुण दृश्यमै बग्छन् आँशु तर किन हो भिडभाडमा बग्न मान्दैन, एकान्त खोज्छ । 
तर यादव दाइको परलोक यात्रामा आँशुले भिडभाड देखेन । बगिरह्यो । बगिरह्यो ।
 

Leave A Comment