घरजग्गा कारोबारमा लगानी बढ्यो

सोमबार, १७ साउन २०७३, ११ : ४८ दिलीप पौडेल , Kathmandu
घरजग्गा कारोबारमा लगानी बढ्यो

हरेक व्यक्तिका लागि गाँस, बास, कपास आधारभूत आश्यकता हुन् । नेपाली समाजमा जग्गाजमिन र घर भएन भने आफू सामाजिक तथा आर्थिक रूपमा कमजोर भएको महसुस गर्ने चलन छ ।
राज्यले नागरिकलाई सामाजिक सुरक्षा दिन नसकेकाले पैसा कमाउनासाथ लगानी गर्ने पहिलो प्राथमिकता घरजग्गामा पर्ने गरेको छ । विदेशमा पुँजी जम्मा गरेपछि उद्योगधन्दामा लगानी गर्ने प्रचलन भए पनि नेपालमा ठीक उल्टो छ । पैसा हुनासाथ जग्गा किन्ने, घर बनाउने ।
भूकम्पसँगै हाउजिङ व्यवसाय धरासायी भए पनि व्यक्तिगत घरजग्गामा लगानी गर्नेको लर्को लागेको छ । घरजग्गा सबैको आकर्षण बढेपछि बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा ठूलो लगानी गरेका छन् । चालु आर्थिक वर्ष ०७२÷७३मा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । व्यक्तिगत रूपमा गरेको लगानी खर्बौं रहेको छ । हुनेखाने मात्र नभएर सामान्य आम्दानी हुनेले पनि जग्गामा लगानी गरेका छन् । आफूसँग केही रकम जम्मा हुनासाथ थप रकम बैंकबाट ऋण लिएर जग्गा किन्ने गरेका छन् ।
२०६६ पुसमा घरजग्गा कारोबार आकासिएपछि नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाइका कारण यो व्यवसाय करिब चार वर्षसम्म शिथिल भएको थियो । अर्थतन्त्र नै प्रभावित भएपछि त्यपछि खुकुलो नीति ल्याइएको छ । पछिल्लो समय घरजग्गा क्षेत्रमा बैँकले ऋण बढाउँदै सहुलियतमा ऋण, रेमिट्यान्सको वृद्धि गरेपछि फेरि एकाएक बढेको हो ।
बैंकमा ब्याज कम, उद्योगधन्दामा लगानी गर्दा असुरक्षित ठानेर आम्दानी हुनेहरूको लगानी गर्ने सुरक्षित क्षेत्र जग्गा कारोबारलाई लिएका छन् । सरकारले आयस्रोतमा निगरानी बढाएपछि पनि आम्दानीलाई वैध बनाउन यसमा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेले सरकारी मूल्यांकनभन्दा केही बढी नै मूल्यमा कारोबार गरेको देखाएर राजस्व तिर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायहरूले पछिल्लो समय आयस्रोत खोज्न निगरानी बढाएपछि आयस्रोत खुलाउन नसकेर कारबाहीमा परिने डरले घरजग्गा किनबेच देखाउने पनि उत्तिकै रहेको सरकारी अधिकारी बताउँछन् ।
सीमित व्यक्तिले सेयर कारोबार गरे पनि पैसा हुने अधिकांशले जग्गामा लगानी गरेका छन् । अन्य क्षेत्रमा लगानी गर्न राजनीतिक अस्थिरतालगायत कारणले सुरक्षा नदेखेपछि घरजग्गामा लगानी गर्ने क्रम बढेको भूमि सुधार मन्त्रालयका सूचना अधिकारी नारायण पाण्डेले बताए । ‘बीचमा रोकिएको जग्गा कारोबार आर्थिक वर्ष ०७२÷७३मा निकै बढ्यो,’ पाण्डेले भने, ‘विदेशमा कमाएको रेमिट्यान्स पनि यही क्षेत्रमा लगानी गरेका छन् ।’
मुलुकभर जग्गा कारोबार बढेपछि राजस्व संकलन वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म रजिस्ट्रेसनलगायत घरजग्गा कारोबारबाट सरकारले १३ अर्ब ४ करोड राजस्व उठेको भूमि सुधार तथा व्यवस्थापन विभागले जनाएको छ । किनबेच बढेपछि अघिल्लो वर्षभन्दा धेरै राजस्व संकलन भएको विभागका निर्देशक सम्मर बहादुर सिंह ठकुरीले बताए । ‘अहिले जग्गा लगानी गर्ने उपयुक्त क्षेत्र बनेको छ,’ उनले भने, ‘यसले सरकारी राजस्व पनि वृद्धि भयो ।’ भूकम्प र नाकाबन्दीले विभिन्न क्षेत्रमा असर परेको थियो । अघिल्लो वर्ष करिब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
जग्गा कारोबार निकै बढेर नियन्त्रण बाहिर जाला भन्ने डरले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिएको छ । नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ । रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था गरिएको छ । रियलस्टेट कर्जामा हाल धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था छ ।
घरजग्गा कारोबार गर्नेले राम्रै आम्दानी गर्ने गरेका छन् । जग्गा किनबेच गराइदिए बापत जग्गा मूल्यको दुईदेखि पाँच प्रतिशतसम्म कमिसन पाउने भएकोले घरघरै ‘जग्गा दलाल’ सक्रिय भएका छन् । सर्वसाधारण, व्यापारीदेखि सरकारी कर्मचारीसम्म यसमा संलग्न छन् । ‘ग्राहकलाई जग्गावालासँग भेट गराइदिए बापत कमिसन आउँछ,’ एक कर्मचारीले भने, ‘एक करोडको जग्गा किनबेच गराउन सके वर्षभरिको आम्दानीभन्दा धेरै कमाइ हुन्छ ।’
भूकम्पपछि केही समय काठमाडौँ असुरक्षित रहेको भन्दै यहाँका रैथानेले पनि चितवनलगायत क्षेत्रमा गएर घरघडेरी किनेका थिए । ठूला हाउजिङ कम्पनीले साना घर बनाएर बेच्न थालेका छन् । भूकम्पपछि अग्ला घरमा बस्न डराएपछि स–साना अपार्टमेन्ट बनाएका हुन् । पछिल्लो समय काठमाडौँपछि चितवन, भैरहवा, पोखरालगायत क्षेत्रमा जग्गाको भाउ अचाक्ली बढेको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रम अघि बढेपछि त्यहाँ लगानी गर्न सबै उत्सुक भएका छन् । वैदेशिक रोजगारी घटेकोले रेमिट्यान्स घट्यो भने त्यसको असर जग्गा कारोबारमा पनि देखिने अर्थ क्षेत्रका जानकार बताउँछन् । सन् २०१७ मा आर्थिक मन्दीसमेत लाग्न सक्ने अनुमान गरिएको छ ।

 

Leave A Comment