स्ट्रिमिङ इज् कमिङ

बुधबार, २५ असार २०७६, १० : २४ अच्युत काेइराला
स्ट्रिमिङ इज् कमिङ

जसै पृथ्वीनारायण शाहले फिरङ्गीले ‘हिन्दुस्थान’ निल्दै गरेको देखे, त्यसबाट जोगाउन नेपाललाई एकीकरण गर्नुपर्ने आवश्यकताबोध गरे। अनि, जसै फिरङ्गीले सिन्धुली आक्रमण गर्ने तयारीका साथ कुच गरे, थाहा पाउने गोर्खालीले चिच्याउँदै जनाउ दिए– ‘फिरङ्गी आउँदो छ।’

यही फिरङ्गी आउँदो छ भन्ने घोषणाले नै सबै कुरा फरक पारिदियो। नेपाली इतिहासमा जे छ, त्यसपछि सबैलाई ज्ञात नै छ। नेपाली संस्कृति अहिले त्यही मोडमा उभिएको छ र चिच्याउँदो छ– ‘स्ट्रिमिङ इज् कमिङ।’ तर यो चिच्याहट कसैले पनि सुनिरहेको छैन। यस्तो लाग्छ, हरकोही मुग्ध छन्, आफ्नो किल्ला दह्रो भएकोमा हरकोही विश्वस्त छन्।

के हो स्ट्रिमिङ ?
तपाईंलाई युट्युब थाहा होला। अनलाइन बसेर कुनै भिडियो हेर्नुलाई स्ट्रिमिङ भनिन्छ। तपाईं–हामीले युट्युबमा नेपाली, भारतीय या अन्य विदेशी कार्यक्रम, गीत, फिल्म वा कार्टुन हेरेका हौँला। युट्युब हामीले सित्तैमा हेर्न पाउँछौँ। अन्य स्ट्रिमिङहरु भने केही रकम तिर्नुपर्छ। सामान्यतः ८ डलरबाट शुरु भएर १२ डलरसम्मका प्याकेज प्रतिमहिना यसमा तिर्नुपर्छ। यस्ता स्ट्रिमिङ एपहरुले विश्व स्तरीय कन्टेन्टहरु दिन्छन्। चाहे ती हास्य विधाका होऊन् या एक्सन, हरर होस् या अन्य।

युट्युब एउटा सामाजिक सञ्जालजस्तै हो। हरकोहीले कन्टेन्ट बनाएर त्यहाँ हाल्न सक्छ तर स्ट्रिमिङ एपले भने तपाईंले खोजेजस्तो स्तरीय कन्टेन्ट हाल्छन्। यो काममा यतिबेला नेटफ्लिक्स सबैभन्दा अगाडि छ। त्यसपछि उसलाई पछ्याइरहेको छ, अमेजन प्राइम।

सन् १९९७ मा एउटा भिडियो रेन्ट गर्ने कम्पनीका रुपमा अमेरिकामा स्थापित नेटफ्लिक्सले गएको वर्ष बजारबाट १० अर्ब डलर उठायो। संसारभर १४८ मिलियन ग्राहक भएको नेटफ्लिक्सले यो रकमबाट आफूलाई टेलिभिजनको विकल्पका रुपमा स्थापित गर्ने महत्वाकांक्षा पालेको छ।

गलाकाट प्रतिस्पर्धा
२०१८ मा दुई वर्षअघि भारतमा सैफ अली खान र नवाजुद्दीन सिद्दिकीजस्ता स्टार मात्र होइन, फिल्म उद्योगमा नाम चलेका निर्देशक अनुराग कश्यपलाई लिएर ‘सेक्रेड गेम्स’ बजारमा ल्याएको थियो। १२ घण्टा लामो यो शृंखला निस्कनेबित्तिकै हिट मात्र भएन, भारतमा नेटफ्लिक्सको बजार ह्वात्त बढ्यो। यसपछि निस्किएको ‘दिल्ली क्राइम’ले त उसलाई कसैले टक्कर दिन सकेन।

हुन त यसले भारतमा कति ग्राहक कमायो, आँकडा खुलाएको छैन तर यसका लागि करण जौहर लगायतका चर्चित निर्देशकहरुको भिडले छोटा कथाहरुको संग्रहात्मक ‘लस्ट स्टोरिज्’ फिल्म बनाउनुले धेरै कुरा बताइरहेको छ। यतिबेला हरकोही नेटफ्लिक्ससँग जोडिन चाहिरहेका छन्।

भारतको मात्र कुरा होइन, इजिप्टमा यसले ‘जिन्न’ बनाएर त्यहाँको बजार कब्जा ग-यो भने ‘द प्रोटेक्टर’ बनाएर टर्कीको मनोरञ्जन उद्योगलाई धक्का दियो।

संसारभर नेटफ्लिक्सको बढ्दो सामथ्र्य देखेपछि यसका प्रतिद्वन्द्वी कम्पनीहरुले यसको विकल्पका रुपमा आफूलाई अघि बढाउन खोजेको पनि निकै भइसक्यो। संसारकै सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी डिज्नेले आफ्नै स्ट्रिमिङ शुरु गरेको छ, डिज्ने+। डिज्ने लगायतका अन्य कम्पनी मिलेर यसअघि ‘हुलु’ शुरु गरेका थिए। यसलाई अहिले डिज्नेले नै किनेको छ। डिज्ने नेटफ्लिक्सबाट कतिसम्म डराएको छ भने उसले अर्को ठूलो हलिउड कम्पनी ट्वेन्टीथ सेन्चुरी फक्स किनेको छ। यससँगै ऊ संसारकै शक्तिशाली फिल्म पावर हाउस बन्न पुगेको छ। यसको पछाडि उसको उद्देश्य नेटफ्लिक्सजस्ता कम्पनीलाई सुकाउने र आफ्नो एकाधिकार बचाउने नै हो।

स्ट्रिमिङ अहिले आकर्षक बजार बन्न पुगेको छ। त्यसैले हरकोही यो बजारमा आफ्नो आधिपत्यका लागि संघर्ष गरिरहेका छन्। दर्शक बाँध्न आवश्यक पर्ने कन्टेन्ट विकास गर्न र कन्टेन्टलाई स्थानीयकरण गर्न कम्मर कसेर लागिपरेका छन्। यसैको फलस्वरुप नै हो, सन् २०१८ मा फिल्म हेर्नेभन्दा अनलाइनमा स्ट्रिमिङ खोज्ने दर्शकको संख्या बढ्यो। घरैमा बसेर सपरिवार रमाउनेले ४२.६ बिलियन डलर खर्च गरे। यो सिनेमा हलमा किनिएको टिकटभन्दा बढी हो। स्ट्रिमिङमा सन् २०१७ मा खर्च गरेको रकम ३२.९ बिलियन डलर थियो।  सिनेमाको टिकटका लागि सन् २०१८ मा ४१.१ बिलियन खर्च गरिएको थियो। सन् २०१७ मा भने ४०.५ बिलियन डलर रहेको हालै वाल स्ट्रिट जर्नलले लेखेको थियो।

भारतीय मनोरञ्जन उद्योगमा पनि कम पैसा भने छैन। यो अकुत सम्पत्ति हत्याउन के भारतीयहरु पनि हातमा दही जमाएर बसेका भने छैनन्। डिज्नेले किनेको स्टार इन्डियाअन्तर्गतको हटस्टार होस्, स्टारलाई नै टेलिफिल्महरु बेचेर अर्बपति भएकी एकता कपुरको बालाजी अल्ट, जिटिभीको स्ट्रिमिङ सर्भिस जि–फाइभ नै किन नहोस्, आफ्नो दाबी छाडेका छैनन्। यसमा बाजी मार्ने कम्पनी अमेजन प्राइम बनेको छ। यसका १ करोड २५ लाख ग्राहकले वर्षेनी १३ बिलियन रुपियाँ तिरिरहेका छन्। दोस्रो नम्बरमा हटस्टारले ५० लाख ग्राहकबाट ५ बिलियन रुपैयाँ उठाइरहेको छ। ग्राहक बनाउने मामिलामा नेटफ्लिक्स भने पछाडि नै छ तथापि ५ लाख ग्राहकबाट मात्र पनि ३ बिलियन कमाइरहेको छ। यसको पछाडि उसको स्तरीय कन्टेन्टले भूमिका खेलिरहेको छ।

नेपाल कहाँ छ ?
अमेरिका र छिमेकी भारतमै पनि यति गलाकाट मनोरञ्जनको प्रतिस्पर्धा भइरहँदा नेपालमा के भइरहेको छ ? स्ट्रिमिङ इज् कमिङ ! यसले जसरी हिजोका दिनमा विदेशी फिल्मको दबदबा कहिल्यै नउकासिने गरी दबेर बस्नु प-यो, त्यही अवस्था अब स्ट्रिमिङमा पनि आउँदैछ। न त नेपाली मनोरञ्जन उद्योगले उनीहरुको जस्तो अर्बौं लगानी गर्न सक्छ, न त तिनलाई टक्कर दिन दर्शकलाई अड्याएर राख्न सक्छ।

हिजोका दिनमा जसरी नेपाली दर्शक स्तरीय कन्टेन्टको अभावमा नेपाली फिल्म जबरजस्ती हेरिरहेका थिए र जसै राम्रा विषयवस्तुमा बनेका हिन्दी फिल्म हेर्न अभ्यस्त भए, ठीक त्यही कुरा टेलिभिजनको सन्दर्भमा पनि लागू भएर आयो। नेपाली टेलिभिजनले दिएका हल्काफुल्का मनोरञ्जनबाट टेलिभिजनमा अभ्यस्त हुन थालेका नेपाली दर्शकका लागि विदेशी स्याटेलाइट च्यानलहरु मनोरञ्जनको प्रमुख माध्यम बन्न पुगेका छन्। मनोरञ्जनको दीक्षाका लागि मात्र नेपाली टेलिभिजन हेर्ने र यसबाट अघाएपछि राम्रा कन्टेन्ट खोज्ने मनोवृत्ति यतिबेला हिन्दी सिरियलमा पुगेर अडिएको छ।

अब यही कुरा स्ट्रिमिङको सन्दर्भमा पनि लागू हुने दिन आउँदैछ। हिन्दी सिरियलका रोनाधोना र कहिल्यै अघि नबढ्ने कथाबाट दिक्क भएका दर्शकहरुलाई लक्षित गरेर निकालिएका चुस्त मनोरञ्जनका शृंखलाले दर्शक आकर्षित गरिरहेको छ। जसको उदाहरणका रुपमा ‘दिल्ली क्राइम’, ‘सेक्रेड गेम’देखि लिएर अन्डरवल्र्डका अनेकन कथा–उपकथा जोडिएका शृंखलाहरु छन्।

विकृति कम छैन
त्यसो त दर्शक कमाउने दाउमा अनेकन फण्डाहरु त्यहाँ हालिएका छन्। जिफाइभले दर्शक बटुल्ने बहानामा सन्नी लियोनको आत्मकथात्मक प्रस्तुति ‘करनजीत कौर’ बजारमा ल्यायो। सन्नी लियोन कसरी एउटी अबोध बालाबाट चर्चित पोर्न स्टार भइन् भन्नेबारे बनाइएको यो आत्मकथात्मक प्रस्तुतिमा कतै कहीँबाट पनि उनमा आफू पोर्न स्टार हुनुमा दुःखी भएको देखाइएको छैन। बरु जब अन्तरवार्ताकारले हेयको दृष्टिले हेरिरहँदा उनैकी छोरीले अटोग्राफ लिएको देखाएर पोर्न उद्योगको महिमामण्डन गरिएको छ।

बौद्धिक दरिद्रताको यस्तै उदाहरण एकता कपुरको स्ट्रिमिङ साइट बालाजी–अल्टले पनि देखाएको छ, ‘ट्रिपल एक्स अनलिमिटेड’मार्फत्। यसमा हामीले किशोर हुँदै गर्दा सुन्ने/सुनाइने गरेका अश्लील ठट्टाहरुलाई छोटा टेलिफिल्मात्मक रुप दिएर प्रस्तुत ग-यो। यसको तेस्रो सिजन आउने चरणमा छ।

उल्लुको ‘पाञ्चाली’ होस् या ‘राइट या रङ’ होस् या नेटफ्लिक्सको ‘लस्ट स्टोरिज्’ सबैको दाउ अनलाइनमा अभ्यस्त हुन थालेका किशोरकिशोरीलाई आफ्ना उत्तेजक कन्टेन्टमा बानी पारेर तिनलाई आफ्नो वशमा पार्नु छ।

यस्तो अवस्थामा नेपालका टेलिभिजनहरुसँग किशोरकिशोरीलाई अड्याउने कुनै पनि कन्टेन्ट छैनन्। न त बालबालिकाका लागि कुनै कार्यक्रम वा सोच नै छ। स्तरीय कन्टेन्टको अभावका कारणले नै युट्युबमा नचाहिँदा समाचार, भिडियोहरु ट्रेन्डिङमा परेका हुन्। त्यसमाथि पनि युट्युबको ट्रेन्डिङमा अधिकांश फिल्म, गीतहरु विदेशी (खासगरी दक्षिण भारतीय फिल्महरु) पर्नुमा त्यही समूहको ‘ओभर एक्साइटमेन्ट’को खोज हुनसक्छ। यसमा अध्ययन आवश्यक छ।

स्ट्रिमिङ इज कमिङ
हिज्जे (स्पेलिङ)को मात्र फरक हो, अंग्रेजीमा कमिङको दुई वटा अर्थ लाग्छ। एउटा, आउँदैछ। र, यो नै भविष्यको टेलिभिजनको विकल्पका रुपमा सबैलाई सखाप पार्ने उद्देश्यका साथ आउँदैछ। अर्को कमिङ चाहिँ यौन चरमोत्कर्ष हो। स्ट्रिमिङमा किशोरकिशोरीलाई भुल्याउने नाउँमा यतिबेला छाडा कन्टेन्टको भरमार छ। चाहे त्यो भाषाको आधारमा होस् या दृश्यको आधारमा। बेरोकटोक इन्टरनेटमार्फत् छिरेको यो कन्टेन्टको बाढीले भोलिका दिनमा कसकसलाई बगाउने हो, अहिले नै आँकलन गर्न कठिन छ। तर बहादुर नेपालीले त्यो पनि पचाउने छाँट छ किनभने यो बाढी रोक्ने न त नीति निर्माताहरुलाई चासो छ न त यसै क्षेत्रमा काम गरिरहेका टेलिभिजन वा कन्टेन्ट उत्पादकहरुलाई जाँगर।

यस्तो अवस्थामा हामीले सयौं सांस्कृतिक चिज जोगाऔँला तर हामीले फेरि पनि नयाँ शैलीको भाषा अतिक्रमण झेल्नेछौँ। यसमा गम्भीर भएर सोच्ने बेला भइसकेको छ।

Leave A Comment