जसिता अब कता

बिहिबार, २६ असार २०७६, ११ : ५४ शुक्रवार
जसिता अब कता

बेला बेलामा जसिता गुरुङ र प्रदीप खड्काको प्रेम चर्चा बाहिर नआउने होइन। उनीहरुबीच निकटता छ भन्ने कुरा फिल्मको प्रेस मिट होस् या अन्य कुनै दुवै जनाको हाउभाउले धेरै कुरा बताउने गरेको थियो। ‘लिलिबिली’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री जसिता गुरुङले प्रदीप खड्कासँग दुई वटा फिल्ममा अभिनय गरिन्। दुवै फिल्मले सोचे अनुसारको सफलता प्राप्त नगरेपछि उनको मन कुँडिएको छ। अझ ‘लभ स्टेसन’ फिल्म चोरिएको चर्चा चल्दा त उनको मन नकुँडिने कुरै भएन।

अरु फिल्ममा अफर आउँदा फिल्ममा अभिनय नगरेकी जसिता प्रदीपले जे भने त्यहीअनुरुप चल्दै आएकी थिइन्। फिल्मका कार्यक्रममा मिल्ने साथी भएका कारण आफूले सुझाव लिने गरेको जवाफ दिने गरेकी जसिता पछिल्लो समय गुपचुप नै बसिन्। प्रदीपले कसको फिल्ममा अभिनय गर्ने, कसको नगर्ने भनेर जसितालाई सुझाव दिने गर्थे। प्रदीपका सुझावले समेत काम गर्न छाडेपछि अहिले यी दुईको सम्बन्ध चिसिएको हल्लाले बजार गर्माएको छ।

यतिबेला उनी अर्का नायक धीरज मगरसँग सहकार्यमा रमाउन थालेको हल्ला पनि उत्तिकै सुनिदैछ। उनले ‘आई एम् ट्वन्टीवन’मा धीरज मगरसँग फिल्म गर्ने मौखिक सहमति भइसकेको छ। फिल्मलाई रेनेशा वान्तवा राईले निर्देशन गर्दै छिन्। ‘रातो टीका निधारमा’ फिल्ममा पैसाका कारण अभिनय गर्न नमानेकी उनी धीरज मगरसँग पैसाकै कारण जोडी बन्न तयार भएकी हुन् कि धीरजको जोडी आफूलाई फाप्ने आँकलनले ? रहस्य त गर्भमै छ।

Leave A Comment