पब्लिक हेल्थ र जनप्रशासनमा स्नातकोत्तर गरेका रामबहादुर श्रेष्ठ राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स कलेज) का प्रिन्सिपल हुन्। श्रेष्ठले भारतको एक विश्वविद्यालयबाट पब्लिक हेल्थमा विद्यावारिधि (पिएचडी) गर्दैछन्। १९ वर्षअघि स्थापना भएको नाम्स स्वास्थ्य प्राविधिक विषय अध्यापन गराउने मुलुककै पहिलो निजी कलेज हो। प्रिन्सिपल श्रेष्ठसँग कलेजले प्रदान गर्ने सेवा, स्वास्थ्य प्राविधिक शिक्षाको महत्वलगायतका विषयमा शुक्रवारका लागि गरिएको कुराकानी :
यहाँको कलेजमा के कस्ता कार्यक्रमहरु सञ्चालन गर्नु भएको छ ?
स्वास्थ्य विषयमा प्राविधिक शिक्षा दिँदै आएका छौं। सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यसँग सम्बन्धित चारवटा प्रोग्राम छन्। सिटिइभिटीअन्तर्गत प्रविणता प्रमाण पत्र तहका डिप्लोमा फार्मेसी र हेल्थ असिस्टेन्ट चलाएका छौं। यी एकेडेमिक कोर्ष हुन्। एसइई पढाइ सकाएका विद्यार्थीले अध्ययन गर्न सक्छन्। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा बीपीएचको अध्यापन गराउँछौं।
प्राविधिक शिक्षा किन लिने ?
अरु विषयभन्दा प्राविधिक विषय तुलनात्मक रुपमा रोजगारीको सम्भावना भएको क्षेत्र हो। पहिला जस्तो जताजतै अवसर नभए पनि प्राविधिक क्षेत्रमा रोजगारीको ग्यारेन्टी हुने भएकाले अभिभावक र विद्यार्थी आकर्षित छन्। स्वास्थ्यका प्राविधिक विषय अध्ययन गरेको जनशक्तिले स्वरोजगार पाउँछन्।
कस्ता अवसर छन् त ?
बीएस्सी नर्सिङको स्वदेश र विदेशमा अवसर छ। अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापानलगायतका विकसित मुलुकमा मुलुकमा स्कोप छ। हाम्रो कलेजमा विएस्सी अध्ययन गरेका ६० प्रतिशत विद्यार्थी विदेश गएका छन्। पब्लिक हेल्थमा सरकारी, गैर सरकारी क्षेत्रमा अवसर छ। पछिल्लो समय डिप्लोमा फार्मेसी र हेल्थ असिस्टेन्ड (एचए) को अवसर झन् बढेको छ। सरकारले सहरी क्लिनिक खोल्दैछ। संघीयतासँगै गाउँ नगरमा जनस्वास्थ्यको जनशक्तिको माग बढिरहेको छ। औषधि व्यवस्था विभागले सामान्य तालिम लिएकै भरमा औषधि पसल राख्ने अनुमति दिन्थ्यो। तर, अहिले पसल राख्न न्यूनतम फार्मेसी कोर्ष पढेको हुनुपर्ने बाध्यात्मक अवस्था छ। पढेर रोजगारी नपाए पनि आफँैले फार्मेसी सञ्चालन गर्न सकिन्छ। हेल्थ असिस्टेन्ट त मिनी डाक्टर नै हो। हेल्थ असिस्टेन्ट पढाइ सकाएपछि गाउँघरमा हुने बिरामीका धेरै समस्या समाधान गर्छ। कहीँ जागिर नै पाएन भने पनि आफैँ क्लिनिक खोलेर जीविकोपार्जन गर्न सक्छ। आफैँले गर्ने व्यवसाय बाहेक जागिरको अवसर पनि छ।
बजारमा स्वास्थ्य प्राविधिक विषय अध्यापन गराउने कलेज प्रशस्त छन्, नाम्समा विद्यार्थी किन आउने ?
यहाँ विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन्। प्राविधिक विषयका लागि ल्याब आवश्यक हुन्छ। काठमाडौं भ्यालीमा भएका कलेजमध्ये हाम्रो ल्याब विशिष्ट प्रकारको छ। कलेजमा आवश्यक उपकरण, आफ्नै भवनसहित भौतिक पूर्वाधार पनि पर्याप्त छ। व्यवस्थापकीय पक्ष बलियो छ। प्रयोगात्मक कक्षामा फोकस गर्छौं। ज्ञान भएर मात्र हुँदै प्रयोगात्मक अभ्यासमा बढी केन्द्रित हुनुपर्छ। जनताको स्वास्थ्यसँग सिधै सरोकार राख्ने जनशक्ति भएकाले व्यवस्थित ढंगले आवश्यक ज्ञान, सीप प्रदान गर्छौं। विद्यार्थीको गतिविधिमा पनि शूक्ष्म निरीक्षण गर्छौं। विद्यार्थीलाई अध्यापन गराउन लामो अनुभव भएको अब्बल दक्ष जनशक्ति हामीसँग छ। कक्षा खाली पनि राख्दैनौं। यहाँ आएर विद्यार्थीले शिक्षकको कारण पढ्न पाएनौं भन्ने अवस्था सृजना हुँदैन।
कलेजको रिजल्ट कस्तो छ ?
हाम्रो कलेजमा पढेका विद्यार्थीहरु अब्बल भएर निस्किएका छन्। राम्रो शिक्षा पाएकै कारण प्रतिस्पर्धामा खरो उत्रिन सफल भएकैले सरकारी तथा गैर सरकारी क्षेत्रमा नाम निकाल्न सफल छन्। धेरै विद्यार्थी जनस्वास्थ्य अधिकृतलगायत विभिन्न पदमा पुगेर आफ्नो करिअरलाई उज्ज्वल बनाए। एनजिओ, आइएनजिओका उच्च नेतृत्वमा पुगेर काम गरिरहेका छन्। यहाँबाट निस्किएर काम गर्न नसकेको भन्ने छैन।
प्रतिस्पर्धा कस्तो छ ?
देशभरिका कलेजमा टप टेनभित्रमा पर्छौं। स्वाभाविक रुपमा प्रतिस्पर्धा त हुने नै भयो। हामी विद्यार्थीले कति प्रतिशत पाए भन्दा पनि विद्यार्थी जीवनको गोरेटोमा हिँड्न सिकाउन सक्नुपर्छ। यहाँबाट जानेले जीवनलाई सार्थक बनाउन सकून् भन्ने हाम्रो ध्येय हो। त्यसमा हामी सफल छौं। जिम्मेवार स्वास्थ्य कार्यकर्ता तयार गरेका छौं। व्यक्तिगत भन्दा जनताको पाइदाका लागि काम गर्ने बनाउनु पर्छ । त्यसमै केन्द्रित छौं।
नीतिगत समस्या केही छन् कि ?
सिटिइभिटी र विश्वविद्यालयका कार्यक्रम चलाएका छौं। सिटिइभिटीले धेरै कलेजलाई सम्बन्धन दिएको छ। तर, उनीहरुसँग ती कलेजलाई नियमन गर्ने क्षमता नै छ। प्राविधिक विषयको गुणस्तर सुधार गर्नका लागि जनशक्ति छैन। हेल्थ प्रोफेसनल, फार्मेसी, नर्सिङ काउन्सिलहरु छन्। ती काउन्सिलमा विज्ञभन्दा राजनीतिक नियुक्तिमा जाने परम्पराले गुणस्तर सुधार हुन सकेन। सरकार फेरिएसँगै काउन्सिलका मान्छे फेरिन्छन्। यसले विकृति सृजना गरेको छ। विज्ञ बाहिरै छन्। गुणस्तर अनुमगन गर्ने तरिका फितलो छ। यसलाई सुधार गर्नुपर्छ।
स्वास्थ्य प्राविधिक जनशक्ति धेरै उत्पादन भयो भन्ने छ नि ?
त्यस्तो होइन। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अझै हामीले स्वास्थ्य सेवा दिन सकेका छैनौं। सो मापदण्डअनुसार जनशक्ति पनि कम छ। धेरै भन्दा पनि राज्यले स्वास्थ्य क्षेत्रमा रोजगारी सृजना कम गरेको हो। मानौं सरकारले नीति ल्याएर हेरक कलेजमा हेल्थ पढेको जनशक्ति एकजना अनिवार्य राख्ने व्यवस्था गरे पर्याप्त खपत हुन्छ। सरकारको नेतृत्वमा बस्नेले उत्पादन गरेको जनशक्तिलाई काममा लगाउन सकेका छैनन्।
Leave A Comment