‘निर्माताहरु नबुझी फिल्म क्षेत्रमा आउँछन्’

आइतबार, २९ असार २०७६, ११ : १७ शुक्रवार
‘निर्माताहरु नबुझी फिल्म क्षेत्रमा आउँछन्’

वरिष्ठ कलाकार रवि शाहका छोरा फिल्म सम्पादक ‘एडिटर’ बनिष शाहसँग नेपाली मात्रै हैन बलिउड भनिने भारतीय फिल्म सम्पादनको अनुभव समेत छ।  २५ वर्षदेखि फिल्म एडिटिङमा व्यस्त उनले मुम्बईमा अजय देवगनको ‘दिवाने’ देखि भोजपुरी फिल्मका हिरो रवि किशनलाई स्थापित गराउने फिल्मसम्म सम्पादन गरेको अनुभव छ। अहिले नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका उनको मुम्बईदेखिको फिल्म सम्पादन यात्रा अनि नेपाली फिल्ममा उनको संलग्नता लगायतका विषयमा रीना मोक्तानले गरेको अन्तरंग कुराकानीः

अहिले कुन फिल्म सम्पादन गर्दै हुनुहुन्छ ?
‘साइनो’ भन्ने छ।

एउटा मात्र फिल्म ?
अँ, अहिले फिल्म नै कम बन्न थाल्यो। पहिलाको तुलनामा कम हो तर राम्रो पनि हो। मार्केटमा जस्तो पायो त्यस्तै फिल्म धेरै आउन थाल्यो। त्यो भिडमा राम्रो फिल्म पनि बिग्रन थाल्यो। त्यो भन्दा कम भएर अलिकति सेलेक्टेड अनि मिहिनेत गरेर आयो भने त राम्रो नि !  (मुसुक्क मुस्कुराउँदै)

त्यस्तो हुँदा सम्पादकको भागमा थोरै फिल्म पर्दोरहेछ नि ?
भागमा थोरै परे पनि राम्रो बन्न थाल्यो भने राम्रो हो। १० वटा बराबर १ वटा भयो भने किन १० ओटा गर्नुप-यो र ?

‘साइनो’अघि कुन सम्पादन गर्नु भयो ?
अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ अभिनित ‘प्रेमदिवस’। त्यो भन्दाअघि ‘वीर विक्रम २’। पोहोर १०/१२ वटा रिलिज भा’थ्यो। (हाँस्दै)

वर्षमा १०/१२ वटा फिल्म सम्पादन गर्न गाह्रो हुन्न ?
अब एक्लैले गर्ने भा’ भए गाह्रो हुन्थ्यो। टिममा गर्छौं। टिममा मिलन श्रेष्ठ, भूपेन्द्र अधिकारी भाइ छन्। हामी मिलेर गरेपछि एक समयमा तीन वटा फिल्म सक्छौं। अनि १०/१२ वटा सक्न गाह्रै भएन नि ! म उनीहरुलाई एउटा–एउटा फिल्म जिम्मा दिन्छु। दुई जनाले वनलाइनदेखि मिलाएर राख्छन्। उनीहरुले दुई वटा गर्छन्, म एउटा। अनि एकचोटीमा तीन वटा फिल्म सकिन्छ। कहिले मिलन र म मिलेर फिल्म एडिट गर्छौं। कहिले भूपेन्द्र र म एउटै प्रोजेक्टमा काम गर्छौं। 

कहिलेबाट सुरु गर्नु भएको हो, फिल्म एडिटिङ ?  
सिकेको त २०४८ सालमा ‘चोखो माया’ फिल्मबाट हो। त्यो बेला १६ वर्षको थिएँ। एसएलसी सकिनासाथ सिकेँ। त्यो फिल्ममा निर्देशक राजविक्रम शाह अनि कलाकार विजय लामा, सरोज खनाल, कृष्टि मैनाली हुनुहुन्थ्यो। सम्पादक पप्पु शर्मा मुम्बईबाट आउनु भएको थियो। त्यही फिल्ममा एडिटिङ भन्या के रै’छ भनेर सिक्न छिरेको थिएँ। त्यसपछि २०५१ सालमा मुम्बई गएँ, सम्पादन सिक्न। मलाई उहाँले नै मुम्बई बोलाउनु भएको थियो। त्यहाँ तीन वर्षसम्म सम्पादन सिकेँ। ०५५/५६ मा फर्केर आएर ‘मजदुर’ भन्ने फिल्मबाट पूर्ण रुपमा आफैँले सुरु गरेँ। त्यतिखेर २१ वर्षको थिएँ। फस्ट एडिट गरेको फिल्म ‘मजदुर’ भए पनि रिलिजको हिसाबले ‘नाता रगतको’ पहिलो भयो। त्यो फिल्मको निर्देशक प्रकाश थापा हुनुहुन्थ्यो।

मुम्बईमा एडिटिङ सिक्न कत्तिको दुःख गर्नुप-यो ?
पप्पु शर्माले धेरै नेपाली फिल्म एडिट गर्नु भएको थियो। उहाँले मलाई मुम्बईमा अन्य एडिटरसँग काम गर्ने अवसर दिनु भयो। जस्तै अशोक श्रीवास्तव, नन्दकुमार श्रीवास्तवसँग ‘दावा’, ‘इन्साफ’, ‘सर उठा के जिओ’, ‘दण्डनायक’, कुलदीप मेनन र सुबोध श्रीधरसँग ‘दीवाने’मा पनि असिस्टेन्ट भएर काम गरेँ। ‘सर उठा के जिओ’ र ‘दण्डनायक’को निर्देशक सिकन्दर भारती, ‘इन्साफ’को दयाल निहलानी थिए। सुबोध श्रीधरले ५० भन्दा बढी नेपाली फिल्म एडिट पनि गर्नु भएको थियो अनि नेपालमा रजनीनाथ पन्तसँग ‘दाइजो’मा काम गरेँ। त्यो बेलामा रिलमा काम हुन्थ्यो। अहिले डिजिटलमा काम गर्न अप्सन धेरै हुन्छ। रिलमा धेरै अप्सन हुन्थेन।

त्यो बेला एडिटर कम थिए। फिल्म पनि कम बन्थे। राम्रै हुन्थ्यो। अहिले अप्सन पनि धेरै भए। निर्देशक पनि धेरै भए। एडिटिङमा नयाँ भाइहरु आएका छन्। उनीहरु सिकेर र पढेर आएका छन्। त्यो बेला पढ्न पुणे इन्स्च्यिुट जानु पथ्र्यो। अहिले त नेपालमै कलेज खुलेका छन्।

‘दिवाने’ त अजय देवगनको फिल्म हो। त्यसमा नाम पनि छ ?
अँ, छ। असिस्टेन्टको नाममा बनिश शाह भनेर नै छ। अरु फिल्ममा त बन्टी शाह छ। बनिश भनेको इंग्लिसमा ब्यानिस, यसको अर्थ देश निकाला हुन्छ।  त्यसैले काकाले मेरो नाम बन्टी राखिदिनु भएको थियो। पूरानो मेकरहरुले अहिले पनि बन्टी नै भनेर बोलाउँछन्। घरमा पनि बन्टी नै हो। खास फिल्ममा भने नागरिकताको नाम नै राख्नुपर्छ भनेर बनिष राख्न थालेको हो। बनिष बुबाले राखिदिनु भएको नाम भएकाले मलाई यही प्यारो लाग्छ।

मुम्बईमै जमिसकेको ब्यक्ति नेपाल किन फर्कनु भयो नि ?
खास त्यो बेलामा फर्कँदा मेरो साथीको दिदीको बिहे परेको थियो। बिहा सकेर फर्कन्छु भन्ने सोचेको थिएँ। फर्केर त्यो बेलाको साउथको हिट निर्देशक बर्दनसँग फिल्म निर्देशनमा असिस्टेन्ट गर्ने कुरा भएको थियो। उहाँलाई ‘दावा’को निर्माता नितिनले हिन्दी फिल्मको लागि बोलाउनु भएको थियो। सबै कुरा फिक्स भइसकेको थियो। बिहा सकेर अब मुम्बईको लागि तयार गर्नुपर्छ भनेर बसिरहेको बेला बिहानै फोन आयो नितिनको। उसले सोध्यो, ‘तिमीहरुकोमा स्टार न्युज आउँछ ?’ मैले आउँछ भनेर टिभी हेरेको त निर्देशक बर्दन मुटुको व्यथाले बितेछ। नितिनले त्यसपछि फिल्म त बनाउँछु त्यसको लागि निर्देशक खोज्नुपर्छ, समय लाग्छ भनेपछि म यतै बसेँ। अनि मलाई जानै मन लागेन।

त्यो बेलाको फिल्म एडिटिङ र अहिलेकोमा के फरक छ ?
त्यो बेला एडिटर कम थिए। फिल्म पनि कम बन्थे। राम्रै हुन्थ्यो। अहिले अप्सन पनि धेरै भए। निर्देशक पनि धेरै भए। एडिटिङमा नयाँ भाइहरु आएका छन्। उनीहरु सिकेर र पढेर आएका छन्। त्यो बेला पढ्न पुणे इन्स्च्यिुट जानु पथ्र्यो। अहिले त नेपालमै कलेज खुलेका छन्। धेरै राम्रो भएको छ। राम्रो हुनेवालामा छ।

प्रविधिको हिसावले ?
पहिला रिलमा गर्दा नेगेटिभमा सुट हुन्थ्यो। नेगेटिभबाट रस प्रिन्ट भनेर पोजेटिभ बनाइन्थ्यो। त्यो रस प्रिन्ट कलर पनि हुन्थ्यो र ब्ल्याक एण्ड ह्वाइट पनि हुन्थ्यो। कलरमा गर्दा अलि महँगो पथ्र्यो। साउण्ड स्पुलमा हुन्थ्यो। त्यो स्पुलबाट स्ट्राइप टेपमा ट्रान्सफर गरिन्थ्यो। त्यो पिक्चर र साउन्ड म्याच गर्न सुटिङमा क्ल्याप हानिन्छ। यस्तोमा सम्पादन गर्नु एउटा लामो प्रोसेस हुन्थ्यो।

त्यो बेला फिल्म एडिट गर्न कति दिन लाग्थ्यो ?
त्यो फुटेज र डाइरेक्टरको कन्फिडेन्टमा भर पथ्र्यो। १० दिनमा पनि सकिन्थ्यो। अहिले त एउटा ठाउँमा बिग्रियो भने भिएफएक्स या कतै मिलाउँछु भन्ने हुन्छ।  अहिले त अनेक अप्सन छ। त्यो बेला त सबै काम मुम्बईमा गर्नुपथ्र्यो। त्यताबाट कतिपय कुरा आउञ्जेलसम्म कुरेर बस्नुपर्ने हुन्थ्यो। अहिले त फिल्म रिलिज भन्दा तीन दिनअघिसम्म पनि काम गर्नुपर्ने हुन्छ। मुम्बई जाने अघिल्लो दिनसम्म काम गर्नुपर्छ। त्यसरी प्रेसरमा काम गर्दा धेरै ठाउँमा धेरै कुरा छुटिरहेको हुन्छ। जस्तो कतिपय ठाउँमा साउण्ड फाइनल गर्न पाइँदैन, कलर फाइनल गर्न पाइँदैन, एडिटिङ फाइनल गरेको ठाउँमा रिप्लेस भइरहेको हुँदैन। हतार भएर, कति ठाउँमा त मैले फाइनल गरेर पठाएको रिलै रिप्लेस हुँदैन। अब त्यो पुरानो रिल आइदिन्छ। कति चिज बिग्रिरहेको हुन्छ। अन्तिम समयसम्म प्रेसर अनि हतारमा काम गर्दाको नतिजा हो त्यो।

अहिले पनि नेपाली फिल्म मुम्बई नै पठाउनुपर्छ ?
फिल्मको इन्कोडिङ गर्न मुम्बई जानुपर्छ। क्युबको च्यानलमा फिल्म लगाउन इन्कोडिङ गर्न त्यता जानुपर्छ। डिसिएन (डिजिटल सिनेमा नेपाल)को यतै हुन्छ। हार्डडिस्क इन्डिया पठाएर उताबाट इन्कोडिङ भएर आउँछ। अब यहीँ पनि इन्कोडिङ सुरु गर्ने कुरा सुनेको छु।

इन्कोडिङ भन्नाले ?
फाइनल फिल्म। सजिलो भाषा फाइनल प्रिन्ट आउट। लक राखेर उनीहरुले त्यो डिस्क पठाएको हुन्छ। बाहिर जहाँ पायो त्यो खुल्दैन तर त्यो त नेपालमै गर्न सकिन्छ जस्तो लाग्छ।

प्रेसरमा काम गर्दा बिग्रेको फिल्म ?
हलमा गएर फिल्म हेर्दा, ला यस्तो भएछ भन्ने हुन्छ। धेरै फिल्ममा हुन्छ यस्तो (हाँस्दै)। त्यो मेरो मात्र अनुभव होइन, अरुको पनि त्यस्तै हुन्छ। यो भन्दा राम्रो हुँदैन भन्यो भने त अगाडि बढ्ने नै हुँदैन नि ! काम गर्दै जाँदा ह्याङ भइसकेको हुन्छ।

त्यो बेला कसरी फिल्म एडिटर बन्ने मन भयो ?
पहिला त एक्टिङ नै गर्छु भन्ने थियो। बुबालाई भनेँ पनि। बुबाले एक्टिङ भनेको अनुहार चलुञ्जेललाई मात्र हो। टेक्निसियन भयो भने पछि बुढेसकालमा लौरो टेक्दा पनि कसैले कुर्सीमा राखिदियो भने काम गर्न सक्ने हुन्छ भनेर सुझाव दिनुभयो। पहिला क्यामेरामा जाने मन थियो। चस्माको पावर धेरै भएर काम गर्न सकिन्थेन। त्यसैले यतै लागेँ।

कति फुटेज सुटिङ गर्दा पुगेको हुँदैन। त्यो खिच्न नपाएको फुटेजलाई कसरी गर्दा राम्रो हुन्छ भनेर टेबुलमै काम गर्छौं। कति कलाकारले लुज पर्फमेन्स गरिरहेको हुन्छ, त्यो गयो भने त आर्टिस्टले गाली खान्छ। त्यो लुकाउने एडिटरले हो।

मुम्बईबाट सिकेर आएको भनेपछि त धाकै छुट्टै हुन्थ्यो होला नि ?
धाक दिन कहिल्यै आएन। मुम्बईबाट सिकेर आएकासँग मुम्बईको मिठो गफ हुन्थ्यो। त्यो बेला धेरैले भन्थे, तँ किन फर्केर आको, काम पाइराथिस् भन्नु हुन्थ्यो।

फिल्म एडिटिङ गर्दा पर्दामा पनि देखिने रहर जागेन ?
त्यस्तो त भएन। खेल्ने भन्ने रहर हराइसकेको हो।

‘तिमीसँग’मा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको बुबा बनेर खेल्नु भएको छ त। त्यसले त कताकता अभिनयको इच्छा देखायो नि ?
(अन्कनाउँदै) त्यो मजबुरी हो। आफूलाई देखेर लाज लागेर आउँछ। त्यो  आफ्नै भान्जाको फिल्म प-यो। भाञ्जाले गर्नुपर्छ भनेर कर गरेपछि गरियो। त्यो फिल्म मैले नै एडिट गरेको हो। आफ्नो दृश्य त काटौं काटौं जस्तो लाग्यो। युवराज लामाको ‘धर्मात्मा’ भन्ने फिल्ममा पनि खेलेको थिएँ। पछि फिल्मको लेन्थ बढी भएपछि मैले नै त्यो काटेँ। त्यस्तै आकाश अधिकारीको ‘काठमाडौं’ भन्ने फिल्ममा पनि म फसेँ। नेपालमा पहिलो पटक रेड क्यामेरा आकाश दाइले ल्याउनु भा’ थियो। क्यामेरा हेर्न आइज भन्नु भयो। क्यामेरा हेर्न गएँ। त्यही बेला भाउजू (आकाशकी श्रीमती क्लाउडिया फेजियो)ले यसपालि नेगेटिभ क्यारेक्टर त्यो जगल्टे टप लगाएको भन्दा पनि अलिक कपाल काटेको, हेर्दा पनि राम्रै देखिन्छ भनेपछि मैले, मजस्तै है भाउजू भनेको थिएँ। हो हो भनेपछि फँसियो।

त्यो त रहर नै हो नि ?
रहर होइन। रहर मरिसकेको थियो। एक्टिङ नै गर्ने भएको भए ट्रेनिङ गरेर आउँथे होला।

एडिटिङमा चिनाएको फिल्म कुन हो ?
प्रकाश थापाको ‘नाता रगतको’ ४९ दिनसम्म चल्यो। यो पहिलो फिल्म थियो। फिल्म इन्डस्ट्रीमा रविको छोरा भनेर पनि चिन्थे। पछि फिल्म एडिटरको रुपमा चिन्दै गएँ। चिनाउनलाई धेरै फिल्म गर्नु परेन। त्यसपछि २०६२ सालमा ‘बन्धकी’ गरेँ। त्यो फिल्मले ११ वटा नेसनल अवार्ड जित्यो। त्यो फिल्म अहिले हेर्दा पनि आनन्द लाग्छ। त्यसपछि ‘उपहार’, ‘मन मन्दिर’, ‘मुस्कान’, ‘हामी तीन भाइ’,  ‘मनले मनलाई छुन्छ’, ‘आर्मी’ आदि थिए। सम्पादन गरेका नेपाली फिल्म नै २०० भन्दा बढी भइसक्यो होला। भोजपुरीसमेत गन्यो भने त २५० नाघ्यो होला।

भोजपुरी कुन–कुन फिल्म गर्नुभयो ?
किशोर राना मगरले गर्नु भएको ‘कब हुई मिलनवा हमार’ गरेँ। त्यो फिल्मबाट रविकिशन भोजपुरीमा स्थापित भए। त्यसपछि ‘सजनवा अनाडी सजनिया खिलाडी’ गरेँ। निखिल र श्वेता तिवारी खेलेको ‘त्रिनेत्र’, विराज भट्ट अभिनित फिल्महरु, पछि आयुष रिजाल आउँदासम्म पनि भोजपुरी फिल्ममा काम गरियो।

भनेपछि सबै चलेका कलाकारको फिल्म काट्नु भयो ?
लगभग सबै। एकदम खर्च गरेर खिचेको दृश्य फिल्ममा लिंक छैन भने काटिदिन्थेँ। निर्देशकहरु कत्ति धेरै रिसाउँथे। पछि फिल्म हेर्दा ठीक गरिस् पनि भन्थे। ‘नाता रगतको’मा पनि एउटा यस्तो घटना भा’ थियो। फिल्म लामो भयो, दृश्य फाल्नुपर्छ भन्दा निर्देशक प्रकाश थापा रिसाउनु भयो। उहाँ त बाघ निर्देशक भनेर चिनिनु हुन्थ्यो। बुबाले पछि प्रकाश थापालाई सम्झाउनु भएछ। भोलिपल्ट गएर सम्पादनमा बस्नेबित्तिकै फिल्ममा लिंक नहुने दृश्य पहिले फालौँ अनि एडिटिङ सुरु गरौँ भनेर उहाँले नै भन्नुभयो। उहाँले कुन दृश्य हो भनेर सोध्नु भयो। मैले लिङ्क नभएको मेरै ड्याडीको सिन देखाइदिएँ र फ्यालिदिएँ। बाउको सिन त यसले बाँकी राखेन, अब बोल्नु ठीक छैन भन्ने लागेर होला उहाँ चुप बस्नुभयो। पछि फिल्म राम्रो पनि भयो। टेबुलमा बसेपछि फिल्म राम्रो बनाउने काम हाम्रो हो। त्यहाँ नाता चल्दैन। कसको सम्बन्ध राम्रो छ त्यसको दृश्य बढाइदिने गर्नुहुन्न। त्यो त आफ्नो काम प्रतिको गद्दारी हो।

फिल्ममा फिल्म एडिटरको मुख्य जिम्मा के हो ?
जे सुट भएर आएको छ त्यसलाई दर्शकसम्म राम्रो बनाएर पठाउने काम हो। सम्पादन भनेको सम्पादन टेबल भनौँ न। फिल्म टेबुलमा बन्छ भनिन्छ। कटिङ टेबलमा बसिसकेपछि सबैको गल्ती लुकाएर राम्रो बनाएर दर्शकसम्म पठाउने काम फिल्म सम्पादकको हो। सम्पादकलाई जादुगर नै भने हुन्छ। किनकि निर्देशकको गल्ती, कलाकारदेखि क्यामेराम्यानको गल्ती पनि टेबुलमा आएपछि लुकाउने हो। अब, एडिटरको गल्ती भयो भने केही पनि लुक्न सक्दैन।

गल्ती भन्नाले ?
कति फुटेज सुटिङ गर्दा पुगेको हुँदैन। त्यो खिच्न नपाएको फुटेजलाई कसरी गर्दा राम्रो हुन्छ भनेर टेबुलमै काम गर्छौं। कति कलाकारले लुज पर्फमेन्स गरिरहेको हुन्छ, त्यो गयो भने त आर्टिस्टले गाली खान्छ। त्यो लुकाउने एडिटरले हो। सिनेमेटोग्राफरको कति ठाउँमा ट्रली, क्रेन, जिप या लाइटिङ बिग्रेको पनि खिचेको होला। त्यो लुकाउने पनि त एडिटरले हो। सबैको गल्ती लुकाएर जादु गरेर फिल्म दर्शक कहाँ पठाउँछौं हामी। एटिडर नै प्रेसरमा काम ग¥यो भने एडिटरको गल्ती सिधै दर्शकले देख्छ।

कस्तो समयमा प्रेसर हुन्छ एडिटरलाई ?
रिलिज मिति तोकेर आएपछि। जस्तो १/२ महिनापछि रिलिज तोकेर आयो भने प्रेसर हुन्छ। किनकि एडिटिङपछि डबिङको काम सुरु हुने हो। कलर हुन्छ, ब्याकग्राउण्ड म्युजिक हुन्छ। त्यसपछि सबैतिर प्रेसर हुन्छ। मिक्सिङपछि इन्कोडिङमा पठाउन रातभर दिनभर काम गर्नुपर्छ।

रातदिन !
अँ, मुम्बईमा हुँदा पाँच दिन पाँच रात आँखा झिम्मिक्क नगरेर काम गरेँ। यता पनि एउटा फिल्मको एडिटिङ पाँच दिन पाँच रात गरेर फाइनल गरेर पठाइदिएको थिएँ।

त्यो फिल्मको रिजल्ट, फिल्म हलमा चल्यो ?
चल्यो हलमा। राम्रो भने भएन।

सामान्य भाषामा एडिटिङ त काट्ने र जोड्ने काम हो। फिल्म सम्पादनमा लाग्दा जीवनको के कुरालाई काट्नु प-यो त ?
यता काममा व्यस्त भएपछि न साथीभाइलाई समय भो, न परिवारलाई। सप्पै छुट्टिँदै गए। यता पनि साथी त बने तर पुरानो सर्कल भने छुटिँदै गयो। १६ घण्टा १८ घण्टा काम गर्नुपथ्र्यो। कहिले त २० घण्टा पनि हुन्थ्यो। कहिले त एकैचोटीमा तीन वटा काम भइरहेको हुन्थ्यो। ग्रुप मिलाएर काम गथ्र्यौं।

४०/५० दिन लगाएर खिचेको सिर्जनालाई त्यसरी न्याय दिन सकिन्छ त ?
(अक्मकिँदै) नेपाली फिल्म क्षेत्रमा अझै पनि एउटा फिल्म गरेर वर्षभरि पुग्ने अवस्था  छैन। अहिले केही सुधार आयो। त्यही भएर २/३ वटा त गर्नुपर्छ। कहिलेकाहीँ एउटा फिल्म ग-यो र दिमाग ह्याङ भयो भने अर्को फिल्ममा छिर्ने। त्यसमा फ्रेस हुन्छ !

दिनमा तीनवटा फिल्म गर्दा क्वालिटी आउँदैन होला नि त ?
त्यस्तो त हुँदैन। किनकि म एक्लैले फिल्म फाइनल हुने होइन नि ! साथमा डारेक्टर हुन्छ। डाइरेक्टरलाई चित्त बुझेपछि फाइनल हुने हो। सबैलाई चित्त बुझाएर पठाउने हो फिल्म। त्यसलाई बिग्रेको भन्न त मिल्दैन।

फिल्म एटिडिङमै बिग्रिन्छ भन्छन् नि ?
खोई त्यो थाहा भएन। मैले त फाइनल गर्नुअघि १० चोटी देखाएको हुन्छु। ठीक छ भनेपछि मात्र फाइनल हुने हो। बिगारिदिएछ भन्नेले त कहाँ, कसरी बिग्रियो भन्नुपर्छ, सुझाव दिनुपर्छ।
एडिटरको पारिश्रमिक कत्तिको हुँदोरहेछ त ?
(आङ तान्दै) पारिश्रमिकको कुरा त त्यस्तै हो। जे होस् बाँच्या छ।

न्यूनतम त होला नि ?
त्यस्तै २/३ लाख।

एडिटिङको हिसाबले कुन फिल्म चित्त बुझ्ने गरी एडिट गरियो त ?
‘पर्व’, ‘मनले मनलाई छुन्छ’, ‘बोबी’।

हिजोआज फिल्म चल्नै छोड्यो नि ?
मार्केटमा चाहिने भन्दा बढि फिल्म बनेर होला। हप्तामा ३÷४ वटा फिल्म जुधिरहेको हुन्छ। १५ दिनमा २ वटा फिल्म चल्नुपर्छ। एउटा फिल्म चलेपछि त्यही हिसाबले २० वटा फिल्म बन्छ। अनि मुर्गा बनाउने भन्ने छ, निर्माताहरु नबुझेर फिल्म क्षेत्रमा आउँछन्।


Leave A Comment