हिमाल चढ्दै लामखुट्टे

सोमबार, ३० असार २०७६, १२ : २० उपेन्द्र खड्का
हिमाल चढ्दै लामखुट्टे

डेंगु मुख्य त भित्री मधेसको समस्या थियो जहाँको वातावरण अली तातो हुन्थ्यो। चिसो ठाउँमा डुेंगु फैलाउने लामखुट्टे बाँच्न सक्दैनथे। त्यसैले पहाड र हिमालवासी ढुक्क थिए डेंगुबाट।

तर अहिले अवस्था त्यस्तो छैन। बदलिँदो मौसमसँगै पहाडी र हिमाली क्षेत्रका मानिस पनि डेंगुग्रस्त छन्। डुेंगु फैलाउने लामखुट्टे मधेसबाट पहाड र हिमाली क्षेत्रमा समेत पुगिसके। धरानवासी त डेंगुबाट पीडितै भइसके। काठमाडौंमा समेत डेंगुको संकेत देखिन थालिसक्यो।

गत वर्ष कात्तिकमा काठमाडौंको बालाजु क्षेत्रमा एक दर्जन बढी व्यक्तिमा डेंगु फैलिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार यो पालिको गर्मी मौसममा काठमाडौं पनि डेंगुको जोखिममा छ। मधेस–काठमाडौं आवत–जावत गर्ने व्यक्ति र सवारीसाधनमार्फत डेंगु फैलाउने लामखुट्टे काठमाडौं भित्रिएको चिकित्सकको निष्कर्ष छ। उनीहरुका अनुसार एडिस जातका लामखुट्टे पाइने पहाडी र हिमाली क्षेत्रमा पनि डेंगुको जोखिम बढिरहेको छ।

मनसुन अगाडि नै संकेत
सामान्यतः नेपालमा मनसुन सकिएपछि असोज/कात्तिकमा डेंगुको संक्रमण देखिने भए पनि पछिल्लो समय भने मनसुन अगावै डेंगुको समस्या देखिन थालेको छ।

नेपालमा असोज/कात्तिकमा पानी परिसकेपछि गर्मी हुने र जमेको पानीमा डेंगु लामखुट्टेले फुल पार्ने उपयुक्त वातावरण भएको डा. पुनले बताए। लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने निर्देशक विवेक बताउँछन्।

बढ्दो संक्रमण
नेपालमा आधिकारिक रुपमा सन् २००४ मा पहिलोपटक डेंगुको संक्रमण खुलेको हो। तराईमा एक विदेशीलाई डेंगुको संक्रमण भएको थियो। त्यसपछि नेपालमा हरेक वर्ष डेंगु देखिँदै आएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २००६ पछि नेपालमा लगातार डेंगुको संक्रमणले सताइरहेको छ। २००६ मा चितवनमा स्वास्थ्य जाँच गर्नेमध्ये ३२ जना डेंगु संक्रमित बिरामी भेटिएका थिए।

लामखुट्टेले टोकेको चारदेखि १० दिन भित्र डेंगुका लक्षण देखिन सुरु हुन्छ। सुरुमा शरीरका हाडजोर्नी दुख्ने, मांशपेशी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन्।

२००६ देखि २००९ सम्म लगातार वर्षेनी चितवनमा डेंगुको संक्रमण भेटिएको थियो। चितवनपछि पहाडी र हिमाली जिल्लासमेत डेंगुको संक्रमणबाट अछुतो रहन सकेका छैनन्। सन् २०१० मा त ६ जिल्लामा ९ सय २७ जनामा डेंगुको संक्रमण भेटिएको थियो। त्यही वर्ष पाँचजनाको ज्यानसमेत गयो।

२०१० मा तराई मात्रै हैन पहाडी क्षेत्रमा समेत डेंगु देखिएको थियो। चिकित्सकका अनुसार सन् २०१० मै आधिकारिक रुपमा पहिलोपटक काठमाडौंमा डेंगुको संक्रमण देखिएको थियो। संक्रमित ती व्यक्ति टेकु अस्पतालमै भर्ना भएर ठिक भएको पनि डा. पुनले अनुभव सुनाए।

त्यसैगरी २०११ मा १५ जिल्लामा ७९ जनामा डेंगुको संक्रमण भेटियो। २०१२ मा १० जिल्लामा एक सय ८३, २०१३ मा २५ जिल्लामा ६ सय ४२, २०१४ मा २१ जिल्लामा ३ सय ३६ व्यक्तिमा डेंगुको संक्रमण भेटियो।

२०१५ मा २५ जिल्लामा प्रभावित भयो। एक सय ३५ जनामा संक्रमण मात्रै भेटिएन एक जनाको त ज्यानै गयो। २०१६ मा ३० जिल्लाका १५ सय २९ जनामा डेंगुको संक्रमण भेटियो भने दुईजनाको ज्यान गयो। २०१७ मा २८ जिल्लामा डेंगु फैलिँदा २१ सय ११ जना व्यक्ति संक्रमित भए भने चारजनाको डेंगुले ज्यानै लियो। सन् २०१८ मा ४३ जिल्लामा डेंगु फैलियो। जसमा आठ सय ११ व्यक्तिमा डेंगुको संक्रमण भेटियो भने तीनजनाको ज्यानै गयो।

रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले विशेषगरी राजमार्ग क्षेत्र र पहाडी भेगको नयाँ बस्ती क्षेत्रमा डेंगुको संक्रमण बढ्न थालेको बताए।

हिमाल चढ्दै लामखुट्टे
२०१८ को तथ्याङ्कअनुसार गत वर्ष प्रदेश १ मा पर्ने ताप्लेजुङजस्तो हिमाली जिल्लामा एकजना व्यक्तिमा डेंगु देखिएको थियो। त्यसैगरी धनकुटा, इलामजस्ता पहाडी जिल्लामा डेंगु देखिनुले प्रमाणित हुन्छ कि लामखुट्टे अब पहाड मात्रै हैन हिमाल चढेर डेंगुको संक्रमण फैलँदैछ। प्रदेश २ का सबैजसो जिल्लामा गत वर्ष डेंगुको संक्रमण देखिएको थियो।

प्रदेश ३ मा पर्ने दोलखाजस्तो हिमाली जिल्लामा समेत डेंगुको संक्रमण देखियो। काठमाडौं उपत्यका, धादिङ, काभ्रेजस्ता पहाडी जिल्लामा गत वर्ष डेंगुको संक्रमण देखियो। गतवर्ष काठमाडौंमा १७ जनामा डेंगुको संक्रमण देखिएको थियो। यो वर्ष समेत काठमाडौंमा डेंगुको जोखिम रहेको महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलले बताउँछन्। तर सतर्कताका उपाय भने अपनाइएको देखिँदैन।

गण्डकी प्रदेशको मुस्ताङजस्तो हिमाली जिल्लामा गत वर्ष डेंगु देखिएको थियो। यस प्रदेशको अधिकांश पहाडी जिल्लामा गत वर्ष डेंगु देखिएको थियो। पर्यटकीय क्षेत्र कास्कीमा ५ सय ५३ डेंगु संक्रमित भेटिएका थिए।

प्रदेश पाँचका अधिकांश तराई तथा पहाडी जिल्लामा संक्रमण भेटिएको थियो। त्यसैगरी सुदूर पश्चिम प्रदेश (क्षेत्र) दार्चुला जस्तो हिमाली जिल्लामा गत वर्ष डेंगु संक्रमित व्यक्ति भेटिएका थिए।

यसरी हुन्छ संक्रमण
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो। एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि त्यही लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु सर्छ। लामखुट्टे  आफैँलाई भने संक्रमण नहुने डा. पुनले बताए।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग डेंगु ज्वरो हो।

महाशाखाका अनुसार संसारका करिब पाँच करोड व्यक्ति डेंगु ज्वरोको प्रकोपबाट प्रभावित हुने गरेका छन्। आजकाल यो समस्या बढिरहेको छ। १६ डिग्रीभन्दा माथिको तापक्रममा डेंगु सार्ने एडिस जातको लामखुट्टेको राम्रो वृद्धिविकास हुने भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेल बताउँछन्। चिकित्सकका अनुसार एउटा लामखुट्टे करिब ४५ दिन बाँच्छ। एक पटकमा सय वटा फुल पार्छ। जीवनभर ९ पटक फुल पार्छ। संक्रमित लामखुट्टेको सबै फुलमा भाइरस हुन्छ।  बेलैमा नियन्त्रण नगर्ने हो भने डेंगु नियन्त्रण बाहिर हुन सक्छ। एडिस जातको लामखुट्टेले आफु बाँच्न र पोषणका लागि एकै व्यक्तिको मात्रै रगत चुस्दैन। छोटो समयमा धेरै व्यक्तिको रगत चुस्ने भएकाले डेंगु छिटो फैलिने प्याकुरेलले बताए।

डेंगु चार प्रकारका हुन्छन्। डेंगु– १, डेंगु–२, डेंगु–३ र डेंगु–४। स्वास्थ्य परीक्षणपछि मात्रै डेंगु वा अन्य सरुवा रोग हो भन्ने छुट्याउन सकिने चिकित्सक बताउँछन्।

डेंगुका लक्षण
लामखुट्टेले टोकेको चारदेखि १० दिन भित्र डेंगुका लक्षण देखिन सुरु हुन्छ। सुरुमा शरीरका हाडजोर्नी दुख्ने, मांशपेशी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन्’, डा. पुनले भने, ‘सुरुको यस्तो अवस्थालाई डेंगु फिबर भनिन्छ।’

अचानक एकहप्तासम्म हनहनी उच्च ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। ज्वरोको साथै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, टाउकाको पछाडिको भाग दुख्ने, छालामा राता स–साना बिमिरा देखिन्छन्।

रोगको संक्रमण लम्बिँदै जाँदा गिँजा र नाकबाट रक्तश्राव हुन्छ। पिसाब रातो हुने, दिसा कालो हुनेजस्ता लक्षण पनि देखिन सक्छन्। चिकित्सकका अनुसार यस्तोे लक्षणको अवस्थालाई ‘डेंगु हेमोरेजिक फिबर’ भनिन्छ। संक्रमणले सताएर अत्यधिक रक्तश्राव भएर बिरामी बेहोस हुन सक्छ। यस्तो अवस्थामा उपचारमा ढिलाइ गर्नु हुन्न।

उपचार सम्भव
डेंगुको संक्रमणले सताएको खण्डमा यसको उपचार सम्भव छ। डेंगुकै विरुद्ध दिइने कुनै विशेष प्रकारको औषधि भने नभएको महाशाखाका  निर्देशक डा. विवेकले बताए। उनका अनुसार लक्षणका आधारमा यसको उपचार गरिन्छ। अत्यधिक रक्तश्राव भए रगत चढाउने तथा रक्तश्राव हुनबाट बचाउने उपचार विधि अपनाइने चिकित्सक बताउँछन्। डेंगुले कडा रुप लिँदा मृगौला, कलेजो, मुटु, शरीरको स्नायु प्रणालीमा नकारात्मक असर गर्न सक्ने भएकाले लक्षण देखिनासाथ उपचार गर्नुपर्ने डा. पुनको सुझाव छ।

सावधानी राम्रो उपाय
डेंगुको संक्रमणबाट बच्न प्रथमतः लामखुट्टेको टोकाइबाट बच्नै पर्छ। डेंगु फैलिएको अवस्थामा नियन्त्रण गर्ने औषधि नभएकाले सावधानीमै जोड दिनुपर्ने निर्देशक डा. विवेकको तर्क छ।
धेरै डेंगु फैलिएको अवस्थामा विषादीको धुवाँ फालिन्छ। तर, यो धुवाँले व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले

सामान्यतः विषादीको धुवाँ फालिने अभ्यास नेपालमा नरहेको निरीक्षक प्याकुरेल बताउँछन्। डेंगुको संक्रमणबाट बच्न पानी जम्नै दिनु हुन्न।

Leave A Comment