भारतमा नेपालीभाषी रहेको दार्जिलिङ क्षेत्रलाई गोर्खाल्याण्ड बनाउनुपर्ने मागसहित भइरहेको आन्दोलनलाई पृष्ठभूमि बनाएर छुदेन काबीमोले लेखेको ‘फातसुङ’ उपन्यासले नेपालमा प्रशंसा पाइरहेको छ भने भारतमा रहेका नेपालीभाषीले ‘गद्दार’ भन्दै आलोचना गरिरहेका छन्। नेपालमा गोर्खाल्याण्ड आन्दोलनलाई राम्रोसँग बुनिएको भन्दै प्रशंसा गरियो। उता नेपालीभाषी भारतीय लेखकहरुले उनलाई बंगाली शासकको चाकडी गरेको गम्भीर आरोप लगाए। यही सेरोफेरोमा रहेर अनलाइनमार्फत् शुक्रवारकर्मी प्रजु पन्तले काबिमोसँग गरेको संवाद।
पुस्तकको नाम अलि अनौठो छ। ‘फातसुङ’ भनेको चैँ के हो ?
यसको अर्थ ‘माटोको कथा’ हो।
पुस्तकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
उपन्यास लेख्नअघि मैले चुनौती महसुस गरेको थिएँ किनभने भारतमा नेपाली उपन्यासको अवस्था राम्रो थिएन। इन्द्रबहादुर राईको ‘आज रमिता छ’, मच्छेन्द्र प्रधानको ‘नीलकण्ठ’, लीलबहादुर छेत्रीका ‘बसाइँ’, ‘ब्रह्मपुत्रका छेउछाउ’ र विन्द्या सुब्बाका उपन्यास लगायतका एकाधबाहेक प्रभावकारी नयाँ उपन्यास आउन सकिरहेको थिएन।
कविताले बजार पिटिरहेको बेला भारतेली नेपाली पाठकले उपन्यासलाई कसरी हेर्लान् भन्ने डर लागेको थियो। त्यसैले उपन्यास लेख्नुअघि मेरो अघि निकै ठूलो खाल्डो छ भन्ने सोचेको थिएँ। ‘उफ्रिएर पार गर्न सके पारि पुग्छु, नत्र खाल्डोभित्रै जाकिन्छु’ भन्ने त लागेको थियो तापनि मैले हिम्मत गरेँ र ‘फातसुङ’ लेख्न थालेँ। रेस्पोन्स राम्रो आयो। लाग्दैछ, मैले खाल्डो पार गरेँ।
दार्जिलिङको राजनीतिको सेरोफेरोमा रहेर ‘फातसुङ’ लेख्नु भयो। ननफिक्सन सामग्रीलाई फिक्सनमा ढाल्नुभयो। कत्तिको गाह्रो हुने रहेछ ?
म जन्मिनु अघि आप्पाहरूले भोगेको र म जन्मिएपछि सुनेका पात्रहरूको कथा नै ‘फातसुङ’मा लेखेको छु। यो कथा भोग्नेहरूको निम्ति जति जटिल थियो, त्यति लेख्न परेन। कारण म दार्जिलिङमा जन्मिएँ। यहाँको माटोमा साक्षात्कार गर्न पाएँ।
यो सानो दार्जिलिङको कथा हो। यही ठाउँले मलाई हरथोक दियो। दार्जिलिङमा शुरु भएको गोर्खाल्याण्ड आन्दोलनमा मेरा आप्पाहरू रातदिन खटेका थिए। त्यो प्रत्यक्ष मैले देखेको थिएँ। भोगेको थिएँ। त्यसपछि जुन राजनैतिक परिस्थिति दार्जिलिङमा निर्माण गरियो, म त्यही परिस्थितिमा हुर्किएको मान्छे हुँ। त्यसैले यो पुस्तक लेख्न गाह्रो परेन।
यथार्थ पात्रलाई आख्यानमा ढाल्दा पात्रहरुमाथि न्याय भएको छ त ?
किताब लेख्नअघि जो–जो व्यक्तिहरु यो आन्दोलनसँग प्रत्यक्ष जोडिएका थिए, उनीहरुका कथा सुनेँ। त्यसपछि बल्ल उपन्यास लेख्न थालेको हुँ। किताबमा नोर्देन, नासिम र सूर्यको तीन वटा पात्रको प्रतिनिधित्वमा झण्डै साट्ठीभन्दा धेरै आन्दोलनकारीको कथा समेटिएको छ।
पुस्तक समीक्षा पढिरहनुभएको होला, कस्तो लागिरहेको छ ?
नेपाल आउनअघि मसँग सबैभन्दा ठूलो समस्या आफ्नै नामको थियो। यहाँका पाठकले नामै नसुनेका लेखकलाई पढ्लान् ? तर किताब बजारमा पुगेपछि पाठकले प्रेम गरिदिए। लेखक नै नचिनी, नभेटी जब कसैले किताबलाई प्रेम गरिदिन्छ, त्यो प्रेम आफैँमा विशेष हुँदोरहेछ।
अब समीक्षामा आएका विषयवस्तुबारे कुरा गरौँ। दार्जिलिङको राजनीतिलाई नजिकबाट बुझेका साहित्यकार मनोज बोगटीले आफ्नो समीक्षामा दार्जिलिङको भाषा, शैलीको मिठास आयो तर गोर्खाहरूको पहिचान संकट र मर्मलाई मारियो, बंगाली सरकारको षड्यन्त्रमा परेर आन्दोलनको अपव्याख्या गर्ने काम भयो भन्ने आरोप लगाएका छन् नि !
दार्जिलिङभित्रै पनि साना–साना दार्जिलिङहरु छन्। यसलाई टुप्पाबाट होइन, जराबाट हेरिन जरूरी छ। किनकि यो साधारण मान्छेको कथा हो। जसले आफ्नो सपनाको निम्ति हरथोक गुमाएका छन्, जसलाई अनुभव गर्न तपाईँले कुनै सोफा वा चौकीमा होइन, भूइँमा केही क्षण बस्न जरूरी हुन्छ। जराको कथालाई टुप्पाको कथा सम्झेर पढिए कुरा बुझिँदैन, अप्ठ्यारो लाग्नसक्छ। यो सपना देख्नेहरूको कथा हो, सपनालाई व्यापार सम्झिनेहरूको होइन।
उसै त, उपन्यास इतिहास होइन, न यो तथ्य र घटनाहरूको वर्णन नै हो। सन् १९८० को दशकको आन्दोलनलाई लाखौँ मान्छेले भोगेका छन्। भोग्नेहरूको कथा फरक–फरक छन्। जातीय संकट र परिचयको आन्दोलन जातीय एकता र संघर्षकै उत्कर्ष थियो र छ। त्यसमा तपाईं हेजिमोनिक पोलिटिक्सको न्यारेटिभ निर्माण गर्नुहुन्छ भने त संघर्षमै कृत्रिमता थप्न पुग्नु हुनेछ। यस्ता न्यारेटिभमा त झनै दार्जिलिङकै समाजको मौलिकता र पहिचानको अभाव सधैँ खट्किरहनेछ।
दार्जिलिङको माटोको कथा होला तर गोर्खाल्याण्डको कथा होइन। तपाईँले पुस्तकमार्फत् गोर्खाल्याण्डको कथा ल्याउन सक्नु भएन भन्ने छ नि ?
ओह्रान पामुकले भनेका छन्, उपन्यास पढ्ने तरिका अलग अलग हुन्छ। कहिले हामी मनबाट पढ्छौं। कहिले दिमागबाट। कहिले हामी आफूलाई जे चाहिएको छ, त्यो खोज्दै पढिरहेका हुन्छौँ। त्यसैले उपन्यास माथिको पठन र हेर्ने दृष्टिकोण आ–आफ्नै हुनसक्छ। ‘फातसुङ’ले भारतीय गोर्खा समाजको साझा मनोभाव, भावना र सान्निध्य प्राप्त गरिरहेको पाएको छु।
एकाध समीक्षकहरूले कुनै कोणबाट उपन्यासमाथि नियोजित व्याख्या र न्यारेटिभ्स निर्माण गर्नेबित्तिकै भारतीय गोर्खा समाज त्यसको पछि लाग्छ भन्ने होइन। यस्ता न्यारेटिभ्सले आम पाठकलाई निरीह सम्झिने भूल गरिरहेको हुन्छ।
गोर्खाल्याण्डको आन्दोलनलाई खराब देखाएर सन् २००६ मा किरण देसाईले सत्ताको भाषामा पुस्तक लेखेकी थिइन्। तपाईंले उनकै शैली पछ्याउँदै नेपाली भाषामा उस्तै निष्कर्ष निस्कने किताब लेख्नुभयो भन्ने गम्भीर आरोप पनि छ। गोर्खा आन्दोलनको वास्तविकतालाई छोप्दै जनताको कुरा लेख्नुको सट्टा सत्ताको भाषा लेख्नु भयो र दोस्रो देशाई बन्नु भयो भन्ने छ नि ?
किरण देशाईको ‘इन्हेरिटेन्स अफ लस’ नेपालीमा अनुवाद भएको छैन। मैले त्यो पुस्तक पढेको पनि छैन। खासमा यो पुस्तक गोर्खा समाजका थोरै प्रबुद्ध पाठकहरूले मात्र पढेका छन्। तर उनीहरूले पनि यसमाथि ठोस समीक्षा गरेका छैनन्। सन् २००६ मा यसले बुकर पुरस्कार पाउँदा एकाध समान्य टीकाटिप्पणी पत्रपत्रिकामा देखिएको थियो।
सतही स्रोतका आधारमा समीक्षा गरिएको हो या पुस्तकै पढेर गरिएको हो थाहा भएन तर आम पाठकले किरण देशाईको मूल कृति नपढेको अवस्थामा दोस्रो देशाईको न्यारेटिभ निर्माण गर्दा समीक्षकलाई सहज त होला तर त्यो लामो टिक्दैन। मोती बिन्दु लागेको बेला घरेलु पंक्षीलाई पनि माइग्रेटेड बर्ड देख्ने दृष्टिकोण हुन्छ रे नि, हैन ? यो खासमा त्यस्तै पो भएको हो कि !
देशाईले गोर्खाल्याण्ड नचाहने बंगाली सरकारको पक्षमा लेखेको टिप्पणी त पहिला पनि आइरहेको हो। त्यसैसँग ‘फातसुङ’ पनि जोडियो नि त !
‘फातसुङ’ आएपछि देशाईको नाम फेरि चर्चामा आएको पक्का हो। अंग्रेजी पढ्ने समीक्षकहरूले फेसबुकमा नै लेखे– ‘इन्हेरिटेन्स अफ लस’को काउन्टर न्यारेटिभ हो फातसुङ।
‘इन्हेरिटेन्स अफ लस’मा चैँ के छ खासमा ? ‘फातसुङ’सँग केही मिल्छ ? प्रश्नहरु आएपछि सिक्किममा बसेर समालोचना लेख्दै आइरहेका पेम्पा तामाङलाई सोधेँ। उनी अंग्रेजीका ज्ञाता हुन् र नेपालीका राम्रा समालोचक। मेरो प्रश्न सुन्नसाथ उनले भने, ‘इन्हेरिटेन्स अफ लस’ धनीहरूको कथा हो। जसले आन्दोलन गर्ने नेतालाई हेरेर उपन्यास लेखे। ‘फातसुङ’ दार्जिलिङे जनताको कथा हो, जो राजनीतिबारे नै नबुझी आन्दोलनमा होमिए। अब कसरी ‘फातसुङ’ सत्ताको भाषा भयो ?
उसो भए ‘फातसुङ’ सत्ताको भाषा हैन, गोर्खाल्याण्डकै कथा हो त ?
देशाईको कथामा गोर्खाल्याण्ड केन्द्रमा होइन, जीवन केन्द्रमा छ। ‘फातसुङ’मा कसैको जीवन होइन, आन्दोलन केन्द्रमा छ। त्यसैले यो गोर्खाल्याण्डको कथा हो। देशाईले घुम्न आउँदा बाहिरबाट देखेको कथा लेखेकी छन्, ‘फातसुङ’मा दार्जिलिङेले भोगेको भित्री कथा लेखिएको छ। धुरीमा बसेर लेखिएको कथालाई भुईंमा बसेर लेखेको कथासँग तुलना गर्न मिल्छ जस्तो मलाई त लाग्दैन।
भनेपछि समीक्षकले बुझेनन् भन्ने आरोप हो ?
पढ्ने तरिका आ–आफ्नो हो। उहाँहरुले कुन एंगलबाट पढ्नुभयो र समीक्षा गर्नुभयो मलाई थाहा भएन।
सन् १९८० मा नरमपन्थीमा सुवास घिसिङ र चरमपन्थीमा छत्रे सुब्बालाई राखियो, तपाईँले पनि उपन्यासमा पनि स्पष्ट दुई समूह बनाउनु त भयो। आन्दोलनकै क्रममा दुई समूहको विवादकै कारण आन्दोलनको सुस्ताएको कथा लेख्नु भयो तर सत्ताले गरेको दमनमाथि मौन रहनु भयो। उपन्यास पढ्दा नै थाहा हुन्छ, किन यसो भएको त ?
सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलन हिंसात्मक आन्दोलन हो। जसको घोषणा सुवास घिसिङले गरेका हुन्। शुरूमै घिसिङले गोर्खाल्याण्ड ल्याइनँ भने आफ्नै टाउको छिनाउने घोषणासम्म गरेका थिए। उनको घोषणा सुनेर हजारौँले ज्यान दिए। पछि नेताहरूले भाका फेरे। कुरा फेर्न नसक्ने आम मान्छेको संघर्षको कथा मैले ‘फातसुङ’मा लेख्ने कोशिश गरेको हुँ। अब भन्नुस्, यसो गर्नु भनेको स्टेटको न्यारेटिभ हुनु हो र ?
सत्ताको चरित्रलाई उदाङ्गो नपार्नु भएकै हो नि ?
तपाईँको प्रश्न सुनेर म यतिबेला मुसुमुसु हाँसिरहेछु। जुनसुकै पार्टीभित्र पनि अन्तर्विरोध हुन्छ। त्यही अन्तर्विरोधको कारण आन्दोलन टुङ्गियो। ममाथि सत्ताको विरोध नगरिएको र सत्ताको पक्षधरताको आरोप लगाइएको छ, त्यो निकै हाँस्यास्पद छ। आरोपका लागि लगाइएको आरोपको इन्साइड स्टोरी पनि छ तर म यहाँ अहिले भन्दिनँ।
भन्नु न, किन हो ?
हैन, अहिले नभनौँ। अहिले यति बुझ्नुस् कि गोर्खाल्याण्ड आन्दोलनको दमनमा जहिल्यै राज्य र केन्द्र सत्ता एक हुन्छन्। चाहे त्यहाँ जुनसुकै पार्टी किन नहोस्। केन्द्र र राज्यका पार्टी र सत्ताबीच जतिसुकै विरोधाभाष किन नहोस्, आन्दोलन दमन गर्ने प्रश्नमा उनीहरू जहिल्यै एक भइहाल्छन्।
अहिले फेरिएको परिस्थितिमा आफूलाई सहज हुने गरी ममाथि राज्यको न्यारेटिभ निर्माण गरिएको जुन आरोप लगाइएको छ, तिनले भोलि फेरिएको परिस्थितिमा केन्द्रको पक्षधर बताउनेछन्। वास्तवमा केन्द्र र राज्यको पक्षधरता मेरो होइन, उनीहरूको समस्या हो। म जहिल्यै माटोको पक्षधर हुँ। त्यो माटो जसलाई कुनै राजनैतिक पूर्वग्रहबिना म आफ्नो ठान्छु।
ममता बनर्जीको सरकार रहेको बेला जात अनुसारको संगठन बनाएर गोर्खाहरूलाई फुटाउन खोजियो भन्ने आरोप पनि छ। यो कुरा पुस्तकमा मौन छ किन ?
यो चाहिँ काँकरभित्ताबाट काठमाडौं जाने गाड़ीको टिकट काट्ने, त्यसपछि चालकले पोखरा पु-याइदिएन भनेर रोइकराइ गर्ने जस्तै प्रश्न भएन र ? ‘फातसुङ’को कथा सन् १९८० को दशकको कथा हो। किताबको बाल्यकाल ९० को दशक हो। यहीबीच कथा टुङ्गिएको छ।
पहिलो चरणको आन्दोलन सकिएर दार्जिलिङ गोर्खा हिल काउन्सिल बनेको पनि त्यही बेला हो। अब ममता सरकार भनेको सन् २०११ पछिको कुरा हो। तृणमूल सरकार आउँदा दागोपापको दुई दशक लामो सत्ता पल्टिएर दार्जिलिङमा नयाँ राजनीति सुरू भइसकेको थियो। दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलन सकिएर जिटिए बनिन लागेको समय हो त्यो। अब मैले कुन सन्दर्भमा दोगापाप जन्मिएको कथालाई जिटिए जन्मिएको कथासँग जोड़्ने ? बरु ‘फातसुङ २’मा लेखौँला नि कुनै दिन। हुन्न र ?
Leave A Comment