कमरेडको अक्षर आरम्भ

बुधबार, १९ साउन २०७३, ०९ : ४८ ईश्वर दाहाल , Kathmandu
कमरेडको अक्षर आरम्भ

कमरेड छक्क पर्नुभयो । हुन त छक्क पर्नु, भावुक हुनु र अति उत्तेजित हुनु कमरेडको स्वभावै हो ।
संसद्मा उभिएर कमरेडले भन्नुभयो, ‘संसदीय जोडघटाउ बल्लतल्ल बुझ्न थालेको छु ।’
थप उत्साहित हुँदै उहाँले थप्नुभयो, ‘तेस्रो दलललाई किन ललिपपको अवसर आइरहन्छ भनेर अलिअलि ठम्याउन थालेको छु । सूर्यबहादुर र लोकेन्द्रबहादुरजस्ता भुरेटाकुरे दलका नेता किन प्रधानमन्त्री भए भन्ने मेलोमेसो पाउन थालेको छु ।’
कमरेडको यो भनाइबाट अब स्पष्ट भयो– कमरेडले बुझ्न र ठम्याउन नसकेकैका कारण माओवादीले यो औधी हन्डर र ठक्कर खानुपरेको रहेछ । जे होस् ‘देर आए दुरुस्त आए’ भने झैँ ढिलै भए पनि कमरेडले कुरो बुझ्नुभएकोमा खुशी नै मान्नुपर्छ ।
संसारलाई नै नवीन क्रान्तिको पाठ सिकाउने संकल्प बोकेर माओवादी रक्तरञ्जित समरमा उत्रिएको थियो । संसारमा थकित हुँदै गएको कम्युनिस्ट क्रान्तिलाई ताजगी दिने अठोट उसले बोकेको थियो । संसदीय खेलले केही लछार्दैन भन्दै बन्दुक उठाएको थियो । तत्कालीन माओवादी गर्जनका धुमिल स्मृतिहरू टकटक्याउँदा अहिले अलमल्ल परिन्छ । खसीको मासु भनेर खसीकै मासु बेच्नुपर्छ, झुक्याएर अर्थाेकको मासु बेच्न पाइँदैन भन्ने उसको अठोट थियो । तर, सुप्रिमो कमरेड, जालझेलको मासु कारोबारसम्बन्धी हिसाबकिताब सिक्दै छु भनेर हुनसम्म रोमाञ्चित हुनुहुन्छ । सायद यसैलाई भनिन्छ, अग्रगामी छलाङ ।
माओवादीले सत्ता गठबन्धन किन तोड्यो भन्नेमा धेरैका धेरै थरी अनुमान छन् । सबैका आ–आफ्ना राय र दृष्टिकोण छन् । कसैले दक्षिण भनेका छन् । कसैले कुर्सी ठानेका छन् । कोही कोहीले भने युद्धकालीन मुद्दा–मामिला मानेका छन् । तर, कुरो अर्कै रहेछ । कमरेडलाई संसदीय हिसाबकिताबको मेलोमेसो नभएर हुनसम्म हैरानी भएको रहेछ । आखिर आफूलाई नआउने कुरा अरूसँग सिक्नैपर्छ । सिक्नका लागि योग्य गुरु नै चाहिन्छ । अयोग्य गुरुसँगको सिकाइले शुभ–लाभ हुँदैन । अर्काेतर्फ सरसंगत जस्तो हुन्छ त्यसको प्रभाव पर्छ । केपी ओली संसदीय गणितमा खासै उम्दा गणितज्ञ होइनन् । यसको अर्थ केपी ओली संसदीय राजनीतिका नादान मनुष्य पनि होइनन् । तर, शेरबहादुर देउवा जस्तो उनमा दख्खल छैन । किनकि, संसदीय राजनीतिको पहिलो मिलिजुली सरकारदेखि प्राडो, पजेरो, सुत्केरी भत्ता, विदेशको पिकनिकसम्मका महŒवपूर्ण अनुभव र सिकाइहरू शेरबहादुर देउवासँग छ । आखिर अब्बल गुरु पाइन्छ भने किन कमसल मास्टरसँग ज्ञान हासिल गर्ने ? तसर्थ कमरेडको नयाँ गठबन्धनलाई लिएर विभिन्न अनुमानको आवश्यकता नै छैन । कुरो सोझो–सोझो छ । संसदीय हिसाब सिक्नका लागि कमरेडले शेरबहादुर देउवासँग घाँटी जोड्नुभएको हो । नआएको कुरा सिक्न खोज्नु कुनै अपराध होइन । तसर्थ कमरेडको कदमलाई लिएर भइरहेका आरोप–प्रत्यारोपहरू खेदपूर्ण छन् ।
जे होस्, कमरेडकै भाषामा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल सञ्चालनसम्बन्धी परिपक्वताका लागि उहाँ दत्तचित्त हुनुभएको छ । त्यतिमात्र होइन, ज्ञान हासिलका लागि अनुभवी गुरुसमेत प्राप्त गरिसक्नुभएको छ । अब मुख्य कुरा के हो भने कमरेडले के, कसरी र कतिसम्म ज्ञान सिक्नुहोला ? सत्ता टिकाउनका लागि सिक्नुपर्ने सम्पूर्ण विधि सिक्नुहोला कि नहोला ? किनकि शेरबहादुर देउवाले त महाकाली सन्धिको समेत हिसाबकिताब मिलाएका थिए । अहिले पनि ‘फास्ट ट्र्याक’ लगायतका हिसाबहरू मिलाउनुपर्ने हुन सक्छ । यी हिसाबसँग सत्ताको सोझो–सोझो सम्बन्ध छ । कमरेडले सिकाइमा कुन ग्रेड प्राप्त गर्ने हुन् ? दुईचार महिनापछि सार्वजनिक होला नै ।
नेपालका कम्युनिस्टहरू जीवनको उर्बर समयभरि एकथरी पाठ पढ्छन् । तर, घर्कंदो उमेरमा आइपुगेपछि वर्षाैंवर्ष लगाएर सिकेको सिकाइलाई अपुरो ठान्न पुग्छन् । यो समस्या कमरेड सुप्रिमोको मात्र होइन । नेपालका कम्युनिस्टहरूको आदि युगदेखिकै हो । कमरेड केशरजंगले गरिबगुरुवा र सर्वहाराकै पाठ पढे । तर, यो पाठ पढेर उनले पढाइलाई पूर्ण बनाउन सकेनन् । पढाइलाई पूर्ण बनाउन उनले दरबारिया विश्वविद्यालयमा प्रवेश गर्नुप¥यो । राजा महेन्द्रीय विश्वविद्यालयबाट दीक्षित भएपछि मात्रै उनको पढाइले पूर्णता पायो । कमरेड मोहनचन्द्र अधिकारीले कम्युनिस्ट दर्शन, आदर्श र त्यागमा विद्यावारिधि गरेकै हुन् । तर, पनि उनी ज्ञान र सिकाइमा कमजोर नै रहेछन् । आखिरीमा ‘ब्रह्म सत्य जगत मिथ्या’को मार्गमा आइपुगेपछि मात्रै कामरेडको सिक्ने र बुझ्ने क्रम रोकियो । उनमा ज्ञान र सिकाइको परिपक्वता आयो । कमरेड आरकेले पनि ज्ञानेन्द्र चाकरीपथमा आफूलाई समाहित गरेपछि मात्रै जीवन र जगत्लाई बुझ्न पाए । आज कमरेड सुप्रिमो पनि संसदीय गेम सिक्ने बिन्दुमा आइपुग्नुभएको छ र शेरबहादुर देउवालाई मित्र, प्रिय र गुरुको रूपमा स्वीकार गर्नुभएको छ ।
भनिन्छ, पृथ्वी गोलो भएका कारण सबैले घुम्नुपर्छ र घुमीफिरी पुरानै ठाउँमा आइपुग्नुपर्छ । यो भनाइलाई माक्र्सवाद भन्ने सिद्धान्तले कहिल्यै स्वीकार गरेन । उसले भन्यो– संसार परिवर्तनशील छ । परिवर्तनका लागि जहिल्यै पनि संघर्ष हुन्छ । सृष्टिको उषाकालमा आदिम साम्यवाद थियो । त्यसपछि क्रमशः दास, सामन्तवादी र पुँजीवादी युगहरू आए । त्यसबाट पनि अगाडि बढेर संसार समाजवाद र साम्यवादसम्म पुग्छ । माक्र्सवादले देखाएको र बुझाएको सांसारिक नियम यही हो । नियमले स्पष्ट भन्छ– संसार कहिल्यै फर्कंदैन, निरन्तर अगाडि बढिरहन्छ र अगाडि बढाउने सामथ्र्य संघर्षले निर्धारण गर्छ । माक्र्सवादको यो नियम हाम्रा कम्युनिस्टहरूमा भने कहिल्यै फिट खाएन । संसदीय व्यवस्थाविरुद्ध गर्जिएका कमरेड, आज संसदीय व्यवस्थाको शिल्प सिक्न र बुझ्न पाउँदा बडो गद्गद् भएका छन् ।
हामी बबुरा नेपालीलाई लाग्थ्यो, त्यत्रो विद्रोह हाँकेर आएका कमरेडसँग दूरदूरसम्म पुग्ने योजना र सपना होला । उनले सबै कुरा जानेका र बुझेका होलान् । तर, त्यसो होइन रहेछ । कमरेड त भर्खरै संसदीय गणितको अक्षर आरम्भ गर्दै रहेछन् । हेरौँ, कमरेडले कुन लेभलसम्म अध्ययन गर्ने हुन् ?

gamghar9@gmail.com

 

Leave A Comment