‘फोटो खिच्दिनु, जे गर्न ’नि तयार छु भन्नेहरु धेरै आए’

बिहिबार, ०२ साउन २०७६, ०४ : ०५ अनिल यादव
‘फोटो खिच्दिनु, जे गर्न ’नि तयार छु भन्नेहरु धेरै आए’

नेपालको फेसन फोटोग्राफीमा स्थापित नाम हो– राजभाइ सुवाल । तीन दशक बढी भयो उनले फोटो खिच्न थालेको । तीन पुस्ताका कलाकारको फोटोसुट गरिसकेका छन् उनले । काठमाडौंका पाँचवटा कलेजमा फोटोग्राफीसमेत पढाउँछन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

३७ वर्षअघि क्यामेरा चलाउने मोह कसरी जाग्यो ? 
फोटोग्राफीलाई नै पेशा बनाउँछु भनेर क्यामेरा चलाउन थालेको थिइनँ । सानैदेखि एउटा बानी थियो मेरो– जे देख्यो त्यही गर्न मन लाग्ने । १३ वर्षको उमेर लुगा सिलाउन सिकेँ । १४ वर्षको उमेरमा स्वीटर बुन्न सिकेँ । १५ वर्षको उमेरमा सिलाईबुनाई, वाल पेन्टिङ, सोफामा खोल बनाउने, टेबल कुर्सी बनाउने धेरै कुरा सिकेँ । अरुले फोटो खिचेको देख्दा त्यो पनि सिक्न मन लाग्यो । त्यो बेला कसैसँग क्यामेरा हुनु भनेको त्यो धेरै ठूलो मान्छे हुन्थ्यो । एक दिन घरमा एकजना दाइले क्यामेरा लिएर आउनुभएको थियो । परिवारको फोटो खिच्ने कुरा भयो । अरुले खिच्दा भुइँचालो आएजसरी हल्लियो, मैले खिच्दा हल्लिएनछ । त्यसपछि सबैले मलाई फोटो खिचाउन थाले । यसरी पहिला घरको फोटोग्राफर भइयो, त्यसपछि बाहिरको । 

तपाईं आफैँले क्यामेरा किनेर ‘ठूलो मान्छे’ कहिले बन्नुभयो ?
धेरै पछि हो । धेरै समय भाडाकै क्यामेराले चलाएँ । त्यतिबेला भिडियो क्यामेरा लिएर बिहे खिच्न जान्थेँ । ५–६ हजार पारिश्रमिक पाइन्थ्यो । त्यो बेला त्यति पैसामा त एक तोला सुन पाइन्थ्यो तर  क्यामेराको भाडा, काम दिलाइदिने दलाललाई पैसा दिँदा हातमा त १५ सय, २ हजार मात्र पथ्र्यो । तर, त्यो पनि त्यतिबेला धेरै नै हो । 

फेसन फोटोग्राफीको सुरुवात कसरी गर्नुभयो ? 
त्योबेला फेसन फोटोग्राफी भन्ने नै थिएन । बिहे खिच्न जाने चलन थियो । चाडपर्वका बेला फोटो खिचाउने चलन थियो । २०४२ सालदेखि हो म स्टिल फोटोग्राफीमा लागेको । फेसन फोटोग्राफी त २०५० सालदेखि मात्रै सुरु गरेको हुँ । 

पहिलोपल्ट कुन कलाकारको फोटो खिच्नुभएको थियो, याद छ ? 
(एकछिन सम्झेर) त्यतिबेला म ‘कलाकार आवाज’ भन्ने पत्रिकाका लागि फोटो खिच्थेँ । सायद पहिलोपल्ट खिचेको फोटो अंशुमाला शाहीको हुनुपर्छ, ‘आदर्श नारी’को हिरोइन । त्यसपछि अभिनेत्रीहरु मौसमी मल्ल, नविना श्रेष्ठ लगायतको खिचेँ । गौरी मल्ल, मौसमी मल्ल, करिश्मा मानन्धर, राजेश हमाल सबै मभन्दा पछाडि आए । उनीहरु सबैको फोटो मैले खिचेँ । आजसम्म खिचिरहेको छु । खुशी लाग्छ । 

पहिलेभन्दा अहिले फेसन फोटोग्राफीमा केही परिवर्तन भएको छ ? 
पहिले सिधा उभिएको ठाउँमा हल्का बांगिएर पोज दियो भने त्यो फेसन फोटोग्राफी हुन्थ्यो । हल्का खुट्टा उचालेर पोज दियो भने त्यो पनि फेसन फोटोग्राफी ! नर्मल ड्रेसको ठाउँमा हल्का लुगा माथि तानेर खिचायो भने त्यो ग्ल्यामर फोटोग्राफी हुन्थ्यो । तर अहिले अवस्था फेरियोे ।

जस्तो ?
पहिले अलि लजालु टाइपको फेसन फोटोग्राफी थियो, अहिले अलि छाडा भइदियो । त्यो बेलाको हिसाबले सोचेर भनेको है फेरि ! अहिलेको हिसाबले सोचेर भन्ने हो भने त्यो बेला सामाजिक कारणले अलि संकुचित थियो । अहिले अलि खुला भयो भन्नुपर्ला । त्यो बेला अहिलेकोजस्तो बिकिनी फोटो, क्लिभेज देखिएको फोटो खिचेको भए त सिधैँ जेलमा हाल्थे । 

त्यस्तो कडा समयमा पनि तपाईले ओपन फोटो खिच्न ट्राइ त गरेकै हो नि, हैन ? 
हैन, म त्यस्तो क्रान्तिकारी फोटोग्राफर कहिल्यै थिइनँ (हाँस्दै)। मार्केटको डिमान्ड जे जे हुँदै जान्छ, त्यो अनुसार चल्दै, मिलाउँदै, खिच्दै जाने भन्ने सोचको मान्छे परेँ । 

कोही त आफैँ ओपन खिचाउन चाहने पनि हुन्थे होलान् ?
धेरै हुन्थे । फोटो खिचाउने भनेर आउँथे । आउँदा त नर्मल नै कुरा हुन्थ्यो । तर जब सुट हुने दिन हुन्थ्यो, त्यतिबेला उनीहरुले ल्याउने कपडा देखेर मै तर्सिन्थेँ । स्टुडियोमा आइसकेपछि म सोध्थेँ, कपडा खोइ ? झोलाबाट निकालेर जब देखाउँथे, कपडाभन्दा पनि कपडाको टुक्राजस्तो लाग्थ्यो । 

त्यस्तो बेलामा सबैभन्दा ओपन हुन हिम्मत गर्ने कलाकार को थिए त ? 
सुरुवाती चरणमा तुलसा सिलवालको फोटोले हंगामै मच्चाएको थियो । भित्र पहिरन लगाए पनि तस्बिर पुरै ओपनजस्तो देखिन्थ्यो । त्यसले बजारमा हंगामा पिटेको थियो । ‘साधना’का लागि मसाजमा ससाज भन्ने स्टोरीका लागि मैले मोडलिङ गराएर खिचेको तस्बिरले पनि हंगामा मच्चाएको थियो । अहिले धेरै साप्ताहिक पत्रिकाले मोडलिङमा आधारित तस्बिर भनेर खिचाउने गर्छन् । नेपालमा त्यसको अभ्यास मैले नै सुरु गरेको हुँ । ‘साप्ताहिक’ सुरुका केही वर्ष ब्लोअप पनि खिचेँ । बिकिनी र ओपन टाइपको फोटो दिँदा छिटो छापिने, अलि नर्मल खालको फोटो भयो भने लाइनमा राखिदिन्थे । पछि यस्तो फोटो कति खिच्नु भनेर दिक्क लाग्यो । दुई चार जनाको गाली पनि खाइयो । त्यसपछि बेकारको कन्ट्रोभर्सीमा किन पर्नु भनेर पछि खिच्नै छाडेँ । 

फोटोसुटका बेला क्यामेरालाई राम्रोसँग फेस गर्न सक्ने अभिनेत्री को थिइन् ? 
त्यो बेला क्यामेरालाई ह्यान्डल राम्रोसँग गर्न सक्ने जल शाह थिइन् । पूजा चन्द, सारङ्गा श्रेष्ठको पनि राम्रै थियो । मान्छे जेजस्तो भए पनि फोटो खिच्ने भएपछि मुड निकालेर टकटक आफ्नो एक्सप्रेसनमा आउन सक्थे उनीहरु । 

तस्बिर खिचाउँदा फोटोमा अलि ग्ल्यामर खोज्ने को हुन्थे ?  
त्यस्तोमा त बिपना थापा अगाडि थिइन् । तुलसा सिलवाल पनि ओपन हुन खुब रुचाउँथिन् । त्यसपछि आ’को भनेको रेखा थापा नै हो । रेखालाई पहिलोचोटि श्याम खेतान र नरेश पौडेललाई मैले नै चिनाइदिएको हुँ । मिस नेपालमा भाग लिन आएकी थिइन्, त्यतिखेर । मिस नेपालमा आइसकेपछि मैले नै उसको मिस ट्यालेन्टको फोटो र भिडियो बनाइदिएको थिएँ । त्यही हेरेपछि नमस्ते फिल्म्सले रेखालाई फिल्मका लागि अन्तर्वार्तामा बोलाएको थियो । त्यसपछि के के भयो सबैलाई थाहै छ । 

फोटो खिचेकै आधारमा मौका पाउने कलाकार पनि छन् है ?
धेरै छन् । जलको पहिलो फोटो सेसन मैले नै गरेको हो । वसन्त श्रेष्ठ (वरिष्ठ नृत्य निर्देशक)ले डान्स सिकाउँदै गर्दा नजिकै भएकाले मकहाँ पठाइदिनु भएको थियो । वसन्त दाइले त्यो फोटो यादव खरेल (निर्देशक)कोमा पठाइदिनु भयो । अनि त्यसपछि फिल्म खेल्ने अवसर पाइन्  । दीपाश्री निरौलाको पनि पहिलोचोटी विराटनगरबाट आउँदा मैले नै फोटो खिचेको थिएँ । मैले खिचेको फोटोबाट नै टेलिफिल्म खेल्या हो, लय संग्रौलाको । साम्राज्ञी (राज्यलक्ष्मी शाह)को फस्ट पोर्टफोलियो मैले नै गरेको हो । मेरो फोटो हेरेर रिकमेन्ड गरेपछि उनले फिल्मको अफर पाएको रैछिन् । पारमिता (राज्यलक्ष्मी राणा)को पनि फस्ट पोर्टफोलियो मैले नै गरेको हो । 

तपाईंसँग पोर्टफोलियो खिचाउन त नयाँ–नयाँ मोडलहरु मरिहत्ते गर्दा हुन् ? 
अहिलेको १६÷१७ वर्षको बच्चाहरु पनि राजभाइ सुवालसँग फोटो खिचाउने भनेर आइरहेका हुन्छन् । कोही सम्बन्धको आडमा आउँछन् । कोही निर्देशक÷कलाकारको अप्रोचमा आउने हुन्छन् । 

कलाकारको फोटो खिच्दाखिच्दै कहिले आफैँलाई हिरो बन्न मन लागेन ?  
लाग्छ ’नि, किन लाग्दैन ? मलाई पहिलादेखि नै गायक बन्ने रहर थियो । आफ्नै ब्याण्ड पनि खोलेको थिएँ । म आफैँ गितारिस्ट थिएँ र कुनैबेला डान्सर पनि हो । शंकर होटलमा डान्स गर्थेँ ।  

कलाकारितामा लाग्न केले रोक्यो त ?  
त्यतिखेर गायक बन्न रेडियो नेपालमा भ्वाइस टेस्ट दिनुपथ्र्यो । गाह्रो प्रोसेस थियो । अहिले जस्तो मोबाइलमा रेकर्ड गरेर युट्युबमा हालेर गायक बनिँदैनथ्यो नि ! 

धेरै फेसन फोटोग्राफरहरु आफूलाई मोडलले खुब पछ्याउने गरेको सुनाउँछन् । झन् तपाईं त यो क्षेत्रको चर्चित । पछ्याउने त धेरै होलान् है ?   
थुप्रै छन् । अहिलेसम्म पनि त्यो जारी छ । ह्युमन नेचर हो, अपोजिट सेक्ससँगको आकर्षण हुनु । मेरो फोटो खिच्दिनु, जे गर्न पनि तयार हुन्छु भन्नेहरु पनि आए । यो मामिलामा नसम्हालिएको भए आज यो ठाउँमा पुग्दिन थिएँ होला । 

फोटोग्राफीको बहाना मोडललाई दुव्र्यवहार गर्ने फोटोग्राफर पनि धेरै छन् रे, हो ? 
त्यस्ता मान्छे हरेक क्षेत्रमा हुन्छन् । एउटा सत्य के हो भने पहिलेपहिले जो मान्छेले अरु काम गर्न सक्दैन, त्यो हिरो–हिरोइन बन्थे । उनीहरु नै सफल हुन्थे । एकदुई वर्ष इन्डस्ट्री हल्लाइदिन्थे । सिधैँ भन्नुपर्दा जो प्रोड्यूसर÷डिरेक्टरसँग सुत्न तयार हुन्थ्यो, उसैले लगातार फिल्म खेल्ने चान्स पाउँथ्यो । 

यसको अर्थ पहिले बिग्रिएको थियो, अहिले सप्रियो ?
होइन । सुरुमा सभ्य थियो । बीचमा बिग्रियो । अहिले फेरि ठीकै छ । 

‘साप्ताहिक’ पत्रिकाहरुमा खुब ब्लोअप खिच्नुभयो । डिजिटल मिडिया र इन्टरनेटको विकाससँगै अचेल प्रिन्टमा ब्लोअपको महत्व घटेको हो ?
डेफिनेट्ली हो । अहिले हिजोको जस्तो ब्लोअपको चार्म छैन । पत्रिकामा आएको ब्लोअप मोडलले आफ्नो फेसबुकमा राखेपछि मात्रै ‘ए, यसको आको रैछ’ भन्ने अवस्था भइदियो । पहिले ब्लोअपमा छापिन मोडलहरुको लाइन लाग्थ्यो । तर अहिले त्यो रहर फेसबुक÷इन्स्टाग्रामतिर डाइभर्ट भइरहेको छ । पत्रिकामा भन्दा इन्स्टामा फोटो राख्दा मोडलहरु रमाउन थालेका छन् । यद्यपि पत्रिकामा छापिने ब्लोअपको भ्यालु जीरोमा पुगिसकेको छैन । 

ब्लोअपका खिचाइदिनु भन्दै आउने मोडलहरु त्यतिबेला कतिसम्म ओपन हुन तयार हुन्थे ? 
जसरी हुन्छ, त्यसरी फोटो खिचाउन तयार हुन्छु भन्थे । 

टपलेस नै खिच्न पनि तयार हुन्थे ? 
त्यति नै त थिएन तर जुन बेलामा क्लिभेज देखाउन समाजले बन्देज गथ्र्यो, त्यो बेलामा क्लिभेज देखाउँछु भन्दै आउँथे । जुनबेला बिकिनी खिच्नु राम्रो मानिदैनथ्यो, त्यो बेला बिकिनी खिचाउँछु भन्थे । 

अहिले कतिसम्म खुल्न सक्छु भनेर आउँछन् ?
अहिले त मतलब छैन । टपलेस खिच्छु भन्नेहरु नै आउँछन् अहिले त ! 

अहिलेसम्म टपलेस फोटो कतिजनाको खिच्नुभएको छ ?
टपलेस त खिचेको छैन । नेपाली समाजले जुन कुरा पचाउँदैन, म त्यो गर्दिनँ । 

अफर आउँछ त ?
विदेशमा गएर डान्सबारमा काम गर्न रुचाउनेहरु त्यसरी फोटो खिचाउन आइरहेका हुन्छन् । 


 

Leave A Comment