विषादीबाट बच्ने उपाय

शुक्रबार, ०३ साउन २०७६, १२ : ३२ उपेन्द्र खड्का
विषादीबाट बच्ने उपाय

हाम्रो भान्सामा तरकारी फलफूलसँगै विषादी पनि भित्रन्छ भन्ने विषय अब नौलो भएन। विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्नेको भान्सामा तरकारी र फलफूलसँगै विषादी भित्रिने जोखिम बढी देखिन्छ। किनकि सहरमा विशेषगरी व्यावसायिक रुपमा उत्पादन गरिएका तरकारी तथा फलफूल भान्सामा पुग्छन्।

भान्सासम्म सहजै विषादी पुग्ने भएपछि त्यसको असर व्यक्तिको स्वास्थ्यमा पर्छ। विषादीयुक्त खानपानले स्वास्थ्यमा नकारात्मक असर पर्ने भएपछि विषादी खानबाट बच्ने उपाय अपनाउन चिकित्सकको सल्लाह छ।

छान्ने तरिका
विषादीबाट बच्नका लागि बजारमा तरकारी तथा फलफूल किन्दादेखि नै सजग हुनुपर्ने फुड टेक्नोलोजिस्ट डा. जितु उपाध्यायको सुझाव छ। बजारमा तरकारी तथा फलफूल किन्दा टलक्क टल्कने, हेर्दा राम्रा  छान्नु हुँदैन। डा. उपाध्यायले भने, ‘आकर्षक देखिने, चिल्ला, चम्किला र सलक्क परेका तरकारी तथा फलफूलमा विषादीको जोखिम बढी हुन्छ।’ डा. अरुणा उप्रेती पनि डा. उपाध्याएको तर्कमा सहमत देखिन्छिन्।

तरकारीमा कुनै किसिमका छिद्र वा प्वाल नदेखिए त्यस्ता तरकारीमा विषादी प्रयोग भएको हुन सक्छ। त्यसैले घिरौँला, लौका, भान्टा, काँक्राजस्ता तरकारी किन्दा बांगोटिङ्गो भएको छान्नु उपयुक्त हुन्छ।

वास्तविक रंग भन्दा अस्वाभाविक रंग देखिएमा त्यस्ता तरकारी तथा फलफूल भान्सामा नभित्र्याउनु नै ठीक। कीरा भएको तरकारी विषादी प्रयोग नभएको सूचकसमेत हो। तर, तरकारी वा फलफूल भित्रै कीरा मरेको छ भने त्यस्तोमा विषादी प्रयोग भएको हुन सक्छ। त्यो भने ख्याल गर्नुपर्छ।

‘विषादीका कारण क्यान्सरको संवाहक बोकेको डिएनए बुवा–आमाबाट बच्चामा सर्दा बच्चालाई क्यान्सर हुने जोखिम बढी हुन्छ।’

डा. उप्रेती बेमौसमको तरकारी तथा फलफूलमा धेरै विषादीको प्रयोग हुने भएकाले सिजनका तरकारी तथा फलफूल खान सुझाउँछिन्। भान्टा, भिन्डी, पर्बलजस्ता तरकारीमा बढी कीरा लाग्ने भएकाले यस्ता तरकारीमा बढी मात्रामा विषादी प्रयोग हुने विशेषज्ञ बताउँछन्। चिकित्सकका अनुसार पर्बल, करेलाजस्ता  हरियो रंग देखाउन र कुहिनबाट बचाउन निलोटुथोमा डुबाइएको हुन सक्छ। निलोटुथो विष हो। निलोटुथो हालेको छ वा छैन भनेर छुट्याउन तथा फलफूलको तरकारीको भेट्नोको खाल्टो भागमा हेर्नु पर्छ। तरकारीको खाल्टो भागमा असामान्य हरियो देखिएको खण्डमा ‘निलोटुथो’ जमेर बसेको हुन सक्छ।

पकाउनु अघि के गर्ने ?
व्यावसायिक रुपमा खेती गरी उत्पादन गरिएको च्याउमा समेत विषादी प्रयोग हुन्छ। त्यसैले च्याउ बफ्याएर मात्रै पकाएर खान चिकित्सकको सुझाव छ।

वर्षादको सिजनको काउली हल्का पखालेर उमालेर पकाउनु उचित हुन्छ। विषादीबाट बच्नका लागि तरकारी पकाउनुपूर्व धारामा बगेको पानीमा पखाल्नुपर्ने डा. उप्रेतीको सुझाव छ। तातोपानीमा भिजाएर, नुनपानीमा आधा घण्टाजति डुबाएर र अमिलोपानीमा पखाल्दा पनि विषादी कम गर्न सकिने चिकित्सक बताउँछन्।

तरकारी तथा फलफूल दुई दिन मात्रै फ्रिजमा राख्ने हो भने पनि चिसोका कारण विषादीको मात्रा घट्ने डा. उपाध्यायले बताए। सामान्यतः तरकारी तथा फलफूलको बाहिरी भागमा विषादी रहेको हुन्छ। यसरी खानुपूर्व नुन–पानीमा डुबाउँदा नुनमा भएको सोडियमले केही हदसम्म भए पनि तरकारी तथा फलफूलमा भएको विषादी काटिदिने विशेषज्ञको राय छ।

तरकारी राम्रोसँग पकाएर खानुपर्ने भए पनि धेरैबेर गल्नेगरी पकाउँदा भने भिटामिन उडेर जान सक्छ। स्याउलाई चम्किलो देखाउन मैन प्रयोग हुने भएकाले स्याउ ताछेर मात्र खानुपर्ने चिकित्सकको सुझाव छ।

विशेषगरी काँचैे खाने गाँजर, धनियाँ, मूलालगायतमा धेरै सावधानी अपनाउनुपर्छ। चाउमिनमा बन्दा, धनियाँ सलादको रुपमा प्रयोग गर्दा किटाणुको जोखिम हुन्छ। वर्षादको समयमा बन्दामा आँखाले नदेखिने प्रोटोजोवा जुकासमेत हुन्छन्। जुका शरीरभित्रै प्यारासाइटको रुपमा बस्न सक्छन्। जसले स्वास्थ्यमा गम्भीर असर पुग्ने जोखिम हुन्छ। त्यसैले बन्दा, गाजर राम्रोसँग केलाएर तातो पानीमा बफ्याएर खानु उपयुक्त हुन्छ।

यस्तो जोखिम
विषादी प्रयोग भएका फलफूल तथा तरकारी खाँदा फुड पोइजन हुने, वाकवाकी लाग्नेजस्ता समस्याको जोखिम त हुने नै भयो। क्यान्सरजस्तो घातक रोगको जोखिम त्यत्तिकै हुन्छ। वीर अस्पताल, क्लिनिकल अंकोलोजी विभागका विभागीय प्रमुख, (क्यान्सर रोग विशेषज्ञ) एशो.प्रो.डा. विवेक आचार्य विषादी प्रयोग भएका तरकारी तथा फलफूल खानाले क्यान्सरको जोखिम हुने बताउँछन्। क्यान्सर रोग विशेषज्ञ डा. आचार्य भन्छन्, ‘विषादी प्रयोग भएको खानाले छाला, पेट, मूत्रथैलीको क्यान्सर हुने जोखिम हुन्छ।’ नेपालमा विषादी प्रयोगको खानाकै कारण क्यान्सर लागेको हो भन्ने ठोस अध्ययन नभए पनि जोखिम भने रहेको आचार्यले बताए। विषादी प्रयोग भएका तरकारी तथा फलफूललगायतका खाद्यपदार्थ खानाले विषादी रक्तसञ्चारको माध्यमबाट शरीरको कोषमा छिर्छ। जुन विषादीले डिएनएलाई बिगार्छ। डिएनए बिगार्नुलाई चिकित्सकीय भाषामा न्युटेसन गर्ने भनिन्छ।

यसरी विषादीले डिएनए बिगारेपछि असामान्य हुन्छ। यस्तो अवस्थामा बुवा–आमालाई क्यान्सर नभए पनि बच्चामा क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्। डा. आचार्यले भने, ‘विषादीका कारण क्यान्सरको संवाहक बोकेको डिएनए बुवा–आमाबाट बच्चामा सर्दा बच्चालाई क्यान्सर हुने जोखिम बढी हुन्छ।’

शारीरिक मात्रै हैन, विषादीयुक्त खानपानले मानसिक समस्या पनि निम्त्याउन सक्छ। विषादीयुक्त खानपानले बच्चाको मस्तिष्क विकासमा असर पुग्ने मनोविद् गोपाल ढकालले बताए। ढकाल भन्छन्, ‘विषादीयुक्त खानपानले बालबालिकाको मन्द गति, सुस्त मनस्थिति हुने जोखिम हुन्छ।’ त्यसो त बालबालिका मात्रै हैन वयस्क तथा पाको उमेरका व्यक्तिलाई पनि विषादीयुक्त खानपानले डिप्रेसन हुने जोखिम हुन्छ। मनोविद्का अनुसार डिमेन्सियाजस्तो बिर्सिने रोगको त्यत्तिकै जोखिम हुन्छ। टाउको दुख्ने, निद्रा नलाग्ने, छटपटि हुने जस्ता समस्या देखिन्छन्।

बन्दा र टमाटरमा अत्यधिक विषादी
विदेशबाट आयातित तरकारी मात्रै हैन नेपालमै उत्पादित तरकारीमा पनि विषादीको प्रयोग भइरहेको छ। खुला रुपमा तरकारीमा प्रयोग गर्ने विषादी बजारमा पाइन्छन्। टमाटरमा टुटाएप्सुलुटालगायत कीराका लागि विषादीको प्रयोग हुन्छ।

त्यसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सय ६८ वटा तरकारी तथा फलफूलमा गरेको विषादी परीक्षणमध्ये २९ वटामा विषादी भेटिएको थियो। परिक्षणको क्रममा सबैभन्दा बढी विषादी बन्दा (काउली) र टमाटरमा भेटिएको थियो। बन्दामा ८० पिपिबि (विषादी मापनको एक विधि) सम्म विषादी प्रयोग हुँदा खान मिल्ने भए पनि १८४.११ पिपिबी थियो। त्यसैगरी टमाटरमा २०० पिपिबि सम्म विषादी प्रयोग भए खान मिल्ने भए पनि ३०६.१० पिपिबि रहेको थियो। विषादी धेरै प्रयोग हुने तरकारीमा काउली, सिमी, बोडी, काँक्राजस्ता तरकारी पनि पर्छन्।

मनलाग्दी विषादी
नेपालमा एक सय १६ वटा प्रयोग गर्न पाइने किसिमका विषादी सूचीकृत रहेको डा. उपाध्यायले बताए। यीमध्ये ५२ वटा सामान्य किसिमका कीटनाशक पर्छन्। ४० वटा भुसुना मार्न प्रयोग गरिने किसिमका छन्। दुईवटा मुसा मार्न प्रयोग गरिने किसिमका छन्। त्यसैगरी २२ किसिमका विषादी झारपात मार्न प्रयोग गरिन्छ। नेपालमा विषादी परीक्षण गर्ने मेसिन तथा प्रविधिको अभाव छ भन्ने विषय अब लुक्न सकेको छैन।

रातो, पहेँलो, निलो र हरियो लेभल गरी तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी चार किसिमले वर्गीकरण गरिन्छ। विशेषज्ञका अनुसार हरियो लेभलको  विषादी मात्रा मिलाएर प्रयोग गर्दा एक हप्ता पछि खान मिल्छ। निलो  लेभलको विषदी प्रयोग भएको २०/२५ दिन अघि खान हुन्न। पहेँलो लेभलको विषादी प्र्रयोग भएको ५० दिनसम्म खान हुन्न। रातो लेभलको विषादी भने प्रयोगै गर्न नहुने विशेषज्ञको सल्लाह छ।

जम्मा प्रयोग भएको विषादीमध्ये ३५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा रहेको खण्डमा खान मिल्ने उपाध्यायले बताए। ३५ देखि ४० प्रतिशतसम्म भए त्यस्ता तरकारी तथा फलफूल ४/५ दिन खुल्ला हावामा राखेपछि खान सकिन्छ। तरकारी तथा फलफूलमा ५४ प्रतिशतभन्दा बढी विषादी रहेको खण्डमा त्यस्ता तरकारी खान नमिल्ने विशेषज्ञ बताउँछन्।

अध्ययनअनुसार नेपालमा औसत एक हेक्टर जमिनमा १४ ग्राम विषादीको प्रयोग हुन्छ। भारतमा भने एक हेक्टरमा ३८ ग्राम विषादी प्रयोग भएको पाइन्छ। डा. उपाध्यायका अनुसार दक्षिण कोरियामा १६.५ किलो प्रतिहेक्टर विषादी प्रयोग हुन्छ भने जापानमा १०.८ किलो प्रतिहेक्टर विषादी प्रयोग हुन्छ। यसरी विषादीको प्रयोग हेर्दा दक्षिण कोरिया र जापानको तुलनामा नेपाल र भारतमा विषादीको कमै प्रयोग भएको देखिन्छ। नेपलामा सरकारले १५ वर्ष अघि नै स्वास्थ्यलाई असर पु-याउने विषादीको प्रयोग घटाउँदै लैजाने भने पनि कम नहुनु दुखद् भएको उप्रेतीले चिन्ता व्यक्त गरिन्।

Leave A Comment