राष्ट्रपतिको घरमा कलाको अपमान

शुक्रबार, ०३ साउन २०७६, ०१ : २९ रीना माेक्तान
राष्ट्रपतिको घरमा कलाको अपमान

राष्ट्रपतिको सरकारी घरमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहको व्यवस्थापन कस्तो थियो, नायक सरोज खनालको कमोड तस्बिरले छर्लङ्गै पा-यो।

तीन वर्षको एकै पटक पुरस्कार वितरण गरेर चलचित्र विकास बोर्डले आफ्नो नालायकीपन त देखायो नै, राष्ट्रको सर्वोच्च पदमा आसिन व्यक्तिको निवासमा भएको आयोजनाको स्तर कस्तो थियो भन्नेसमेत छर्लङ्ग पारिदियो, खनालको तस्बिरले।

खनालले तस्बिरसहित लेखे, ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी ३५ जनालाई ८ बाई १० को कोठामा कोचेर राखे। म भने ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खिंबसेँ।’ हतारमै आयोजकले विज्ञप्ति निकालेर ‘हैन’ भन्दै कमजोरी लुकाउने असफल प्रयास ग-यो।

विज्ञप्तिमा सरोजले नियोजित रुपमा फोटो खिचाएको दाबी गर्दै भनियो, ‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ। शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्छ।’ तर उसको विज्ञप्ति आउनुअघि नै व्यवस्थापन पक्ष नाङ्गिइसकेको थियो।

निजी क्षेत्रले आयोजना गर्दै आएको चलचित्र सम्मान सेटिङमा चल्ने गरेको धेरै पटक पुष्टि भएकै थियो। विडम्बना, राष्ट्रले गर्ने सम्मानको स्तर पनि त्योभन्दा स्तर बढ्न नसक्नु पक्कै सुखद् पक्ष हैन।

खनालसँगै मिसिइन्, अभिनेत्री करिश्मा मानन्धर। उनले साहसका साथ भनिन्, ‘राष्ट्रपतिको निवासमा नाच्न जानु अपमान हो।’

‘एकादेशको कथा, पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन। बाहिर आउनुस्, तपाईं हाम्रो आमा हो। हामी तपाईंका लागि ज्यान दिन्छौं।’

राष्ट्रपतिको भ्रमण तालिका हेर्ने हो भने लाजमर्दो अवस्था छ। व्यक्तिगत बिहे, ब्रतबन्धदेखि निजी विद्यालयको सामान्य कार्यक्रम उद्घाटनसम्म पुग्ने गरेकी छन्। तर उनी कलाकारको सम्मानका लागि आयोजित राष्ट्रिय पुरस्कार वितरण गर्न निवासबाट बाहिर निस्कन मानिनन्। किन ?

उनलाई सेनाबाहेक अन्यको सुरक्षा घेरामा विश्वास थिएन भने नेपाली सेनाको हेडक्वार्टरमा रहेको पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेको भइहाल्थ्यो। विवाह, ब्रतबन्धमा सहजै उपलब्ध हुने सेनाको हेडक्वार्टरभित्र रहेको पार्टी प्यालेस विकास बोर्डले पक्कै भाडामा पाइहाल्थ्यो।

नायक सरोज खनाल

जसरी शितल निवासमा कार्यक्रम आयोजना गर्नुको औचित्य विकास बोर्डले खुलाउन सकेन, बोर्डले कार्यक्रम हलको भाडा जोगाएको हो कि राष्ट्रपतिले निवासबाहिर पाउकष्ट गर्न नमानेको, त्यो भने खुल्न सकेन।
राष्ट्रिय पुरस्कार आयोजना त भयो तर न पुरस्कृत हुनेले सम्मानको महसुस गरे, न कला क्षेत्रले नै।

नतिजा उस्तै विजोग
यी त भए कलाकारका गुनासो  र चित्त दुखाई। सेनाको बाक्लो सुरक्षा घेराभित्र आयोजित कार्यक्रम निजी क्षेत्रको स्वार्थप्रेरित अवार्ड कार्यक्रम भन्दा कम विवादित भएन। सम्मानित भएका फिल्मकर्मीले समेत सम्मानमा खुसी हुन सकेनन्। फिल्म समीक्षकले समेत चित्त कुँडाए।

शितल निवासमा २०७३, ०७४ र ०७५ को अवार्ड बाँडिएको थियो। ०७३ को पुरस्कार त्यत्ति विवादमा आएन। धेरैले ०७४ र ०७५ को अवार्ड नतिजामा चित्त बुझाएनन्, जुन जायज पनि देखियो।

फिल्म समीक्षक यज्ञशले अवार्डबारे ट्वीटरमा लेखे, ‘नेसनल अवार्ड पाउने सबैलाई बधाई छ। खाली एउटै कुरो बुझिनँ, पोहोर ‘हरि’ भन्ने फिल्म पनि बन्याजस्तो ला’थ्यो ! फिल्मको आफ्नै भाषा हुनुपर्छ भन्नेहरूले यसबारे गफ पनि निकै गरेजस्तो लाथ्यो। ‘बुलबुल’सँगै ‘हरि’लाई फिल्म भाषा र प्राविधिक पक्षमा अब्बल भन्याजस्तो ला’थ्यो ! हैन रै’छ क्यारे !’

निर्माता रवीन्द्रसिंह बानियाले त राष्ट्रिय अवार्डलाई ‘चलखेल अवार्ड’को उपमा नै भिराए। कतिले राष्ट्रिय अपमान अवार्ड भने। बानियाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘चलचित्र अवार्ड हुनुपर्ने, चलखेल अवार्ड पो भएछ ! चलचित्रलाई खेलकुद मन्त्रालयअन्तर्गत राखियोस् !’

०७४ र ०७५ को नतिजा देखेर धेरै अवाक् भए। ०७४ को उत्कृष्ट फिल्मको अवार्ड मिलन चाम्स निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’ले उचाल्दा शितल निवासभित्रै कानेखुसी चलेको थियो। सत्य घटनामा आधारित थियो फिल्म तर फिल्मको बनोट झुर। झुर फिल्मलाई राष्ट्रले उत्कृष्ट फिल्मभन्दा छक्क पर्नु सामान्य नै थियो। झुर फिल्म निर्देशन गर्ने चाम्स सोही फिल्मबाट उत्कृष्ट निर्देशकमा दरिए।

तर, ०७४ को अवार्डका जुरीहरु थिए लक्ष्मीनाथ शर्मा, सुचित्रा श्रेष्ठ, फूलमान बल, सबनम मुखिया र विष्णु सुवेदी। त्यही वर्ष ‘तान्द्रो’, ‘गाँजाबाजा’, ‘देश खोज्दै जाँदा’, ‘घामपानी’ र ‘धनपति’ प्रदर्शनमा आएका थिए। यी फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएका थिए र निर्माण पक्ष ‘ब्लाइन्ड रक्स’ भन्दा उन्नत थियो तर जुरीका नजरमा ती फिल्म परेनन्। उत्कृष्ट अभिनेत्री पनि ‘ब्लाइन्ड रक्स’बाटै बेनिशा हमाल पुरस्कृत भइन्। फिल्म ‘मंगलम्’बाट पुष्प खड्का पुरस्कृत भएपछि अवार्ड छनोट टोलीको ल्याकत सबैलाई थाहा भइहाल्यो।

०७५ का केही क्याटोगरीका अवार्डको अवस्था पनि उस्तै देखियो। नौलो विषयवस्तु र माटोको कथामा बने पनि निर्माणको गुणस्तर, कथा, पटकथाको स्तरका आधारमा ‘गोपी’ फ्लप फिल्म हो तर सोही वर्ष रिलिज ‘बुलबुल’को अगाडि ‘गोपी’ धेरै कोणबाट फिक्का थियो।

जुरीमा रहेका नीर शाह, गौरी मल्ल, केशव सुवेदी, ध्रुव लम्साल र  दिनेश डिसीले भने ‘गोपी’लाई उत्कृष्ट फिल्मबाट सम्मानित गरे। उत्कृष्ट कथा विधामा ‘गोपी’ हकदार थियो तर कमजोर पटकथामा पनि यही फिल्म पुरस्कृत भयो।

०७५ मै आएको ‘हरि’ व्यावसायिक रुपमा असफल भए पनि फिल्मको ग्रामरको रुपमा अब्बल थियो। त्यो फिल्म त कता हरायो कता ! ‘प्रसाद’ का विपिन कार्की उत्कृष्ट अभिनेताका हकदार थिए। ‘बुलबुल’की स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित हुनु नाजायज हैन तर चलचित्रको व्यापार बिस्तार तथा प्रवद्र्धन सम्मानमा छक्का पञ्जा ३ सम्मानित हुनु अर्को बिजोग थियो।

निजी क्षेत्रले आयोजना गर्दै आएका अन्य चलचित्र सम्मान सेटिङमा चल्ने गरेको धेरै पटक पुष्टि भएकै थियो। विडम्बना राष्ट्रले गर्ने सम्मानको स्तर पनि उही स्थानमा पुग्नु पक्कै सुखद् हैन।

Leave A Comment