चौथो बिहे पनि टिकेन छविको

शनिबार, ०४ साउन २०७६, ११ : ३० शुक्रवार
चौथो बिहे पनि टिकेन छविको

तीन वर्षअगाडि विवाह गरे पनि लुकाउँदै आएका फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले विवाह गरेको स्वीकारेको तीन महिना मात्रै भयो। लुकिछिपी गरेको विवाहको मिति थियो २०७३, असार २९।

मितिले २०७६ असार २९ गते उनीहरुको विवाहको तेस्रो वर्षगाँठ थियो। तर अफसोच त्यही दिन अभिनेत्री शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै काठमाडौं जिल्ला अदालतमा डिभोर्सको केस फाइल गरिन्।

छविविरुद्ध उनी खुलेरै मिडियामा सार्वजनिक भइन्। तीन वर्षको बीचमा छविले गरेको शारीरिक तथा मानसिक हिंसा एक–एक सार्वजनिक गरिन्। उता छवि भने उनलाई फकाउन सक्रिय थिए। फोनमार्फत् फकाउने प्रयास असफल भएपछि सामाजिक सञ्जालमा लेखे, ‘न्याय खोज्न संसारको कुनै अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईँले न्याय पाउनुहुन्छ।’

शिल्पाको अभिव्यक्ति हेर्दा उनी छविसँग कानुनी लडाइँका लागि पूरै तयार छिन्। छवि सकेसम्म मुद्दा अदालतबाट भन्दा घरेलु सल्लाहबाटै सल्टाउने मुडमा छन्। त्यसैले उनी मिडियामार्फत् अभिनेत्री शिल्पालाई अनुनय गरिरहेका छन्, ‘म अन्तिम साससम्म पनि शिल्पासँगै बस्न चाहन्छु। मेरो अन्तिम विन्दु शिल्पा नै हो।’

तेस्रो श्रीमती नछुट्दै अफेयर्स
शिल्पा–छविको भेट भएको २०७२ तिर हो। फिल्ममा अभिनय गर्न विराटनगरबाट शिल्पा काठमाडौं आएपछि उनीहरुको भेट जुरेको थियो।

त्यो बेला छविकी पत्नीका रुपमा अभिनेत्री रेखा थापा थिइन्। घर झगडा चुलिएपछि रेखा र छवि छुट्टै बस्न थालेका थिए र पनि डिभोर्स भइसकेको थिएन। छविले फिल्म ‘लज्जा’मा शिल्पालाई ब्रेक दिएर उनको फिल्म खेल्ने सपना पूरा गरिदिए। ब्रेकसँगै यी दुवै निकट हुन थाले।

छवि गौरिघाटमा बस्थे। रेखा मित्रपार्कको अपार्टमेन्टमा। दुवै छुट्टै बस्ने गरेको सार्वजनिक भए पनि डिभोर्स नदिएको बताउँथे उनीहरु। तर सार्वजनिक कार्यक्रमहरुमा छविसँग सधैँ शिल्पा देखिन थालिन्। यसैबीच २०७३ वैशाखामा रेखा र छविको डिभोर्स भएको खुल्यो। रेखाले पनि सो कुरा स्वीकार गरिन्।

स्रोतका अनुसार, छुट्टै बसे पनि रेखा–छवी डिभोर्सको मुडमा पुगिसकेका थिएनन्। तर शिल्पाले ‘मसँग बस्ने भए रेखा दिदीलाई डिभोर्स दिनुस्’ भनेपछि छविले रेखालाई रिक्वेस्ट गरेका थिए। छविको मुड बुझेर रेखा पनि पारपाचुकेका लागि राजी भइन्।

रेखासँग डिभोर्स भएको तीन महिनामै २०७३ असार २९ मा छवि र शिल्पाले गुपचुप बिहे गरे। शिल्पाले दाइ मानेका विकास रौनियारले शिल्पाको कन्यादान गरेका थिए।

तर लामो समयसम्म यी दुवैले विवाह गरेको अस्वीकार गरिरहे। दुवै गौरीघाटमा रहेको घरमा बस्थे तर आफ्नो सम्बन्धलाई फिल्म चलाउने हतियार बनाइरहे। फिल्म क्षेत्रमा दुवैको विवाह भइसकेको ओपन सेक्रेट नै थियो। तापनि छविले बनाएको, शिल्पाले खेलेको फिल्म रिलिज समय नजिक आएपछि शिल्पा छविबारे भन्थिन्, ‘उहाँ मेरो केयर गर्नुहुन्छ तर विवाहबारे निर्णय गरिसकेकी छैन।’ छवि पनि यस्तै पाल्सी कुरा गर्थे।

यी दुवैले विवाह गरिसके पनि दर्शकलाई ढाँटिरहेको ‘शुक्रवार’ले २०७५ असार २९ मा खुलासा गरेको थियो। उनीहरुले विवाह गर्दा पनि ६ महिना अगाडि मात्र गरेका थिए। प्रमाणसहित दुवैले विवाह गरिसकेको सार्वजनिक गरे पनि उनीहरुले स्वीकार भने गरेनन्। एक्कासि शिल्पाले घरेलु हिंसाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेपछि मात्रै दुवैको सम्बन्ध सार्वजनिक भएको थियो।

आरोप प्रत्यारोप
शिल्पाले असार २३ मा प्रहरीमा उजुरी दिएकी थिइन्। बुधबार मात्र शिल्पा–छवि लफडा मिडियामा आयो। विहीबार दुवैजना प्रहरीकोमा गए। छलफलमा छविले माफी मागे। सहमति भयो। शिल्पाको उजुरी फिर्ता भयो तर घटना त्यत्तिमै रोकिएन, अगाडि बढ्दै गयो। शिल्पाले मिडियामार्फत् छविकी दोस्री श्रीमती गीताञ्जली सुनारले आत्महत्या नगरी हत्या भएको हुनसक्नेसम्मको अभिव्यक्ति दिइन्। तेस्री श्रीमती रेखाले पनि आफूले जस्तै हिंसा ब्यहोरेको तर उनले सार्वजनिक नगरेकोसम्म भनिन्।

छवि भने शिल्पाझैँ एग्रेसिभ मुडमा देखिएनन्। उनी फकाउने मुडमै देखिए। ‘उमेरका कारण आफूले केही कम्प्रोमाइज गर्ने र शिल्पाले पनि प्रेमिकाझैँ व्यवहार नगरी विवाहिताझैँ व्यवहार गर्नुपर्ने’ बताइरहे।

शिल्पाले घरेलु हिंसाको फेहरिस्त सार्वजनिक गरिरहिन्, छवि आफू त्यस्तो नभएको तर श्रीमान्–श्रीमतीबीच ठाकठुक त परिहाल्छ नि भनिरहे। शिल्पाले एकपछि अर्को आक्रमण गरिरहेपछि विस्तारै उनको पनि टोन बदलिन थाल्यो।

‘सुरुमा भेट्दा त यत्रो फिल्म गरेको निर्माता, ठूलो लाग्यो होला,’ छविले भनेका छन्, ‘अब छ वर्षदेखि संगत गरेपछि सानो लाग्यो होला, अब अरु नै कोही ठूलो लाग्यो होला।’

शिल्पाले आफू जोसँग बोले पनि सम्बन्ध भएको शंका गर्ने गरेको, जीवन लुइँटेल, सविन श्रेष्ठसँग बोल्दा ‘प्लेब्वाई हो’ भनेको खुलासा गर्दै गइन्।

छविले पनि मुख खोल्न थाले। शिल्पा फिल्मको लोभले गर्दा नै आफूसँग नजिक भएको अनि फिल्म कम बनाउन थालेपछि तर्कने बहाना खोजेको बताउन थाले।

५५ वर्षको उमेरमा आएर आफू अन्यायमा परेको भन्दै उनले भनेका छन्, ‘मलाई अन्याय प-यो। एउटा पुरुषलाई कतिसम्मको अन्याय परेको छ, त्यो त सबैले बुझ्दिनु प-यो नि त !’

श्रीमान् श्रीमती वाक युद्धमा छन्। दुनियाँलाई रमाइलो छ अहिले। दुवैको मुडले देखाउँछ, यी दुवैको सम्बन्ध अब अदालतमा पुगेर मात्र टुंगिन सक्छ।

शिल्पाको दोस्रो, छविको चौथो
सार्वजनिक भएकै विषय हो, २६ वर्षीया शिल्पा छविकी चौथी श्रीमती हुन्। हेमा ओझासँग छविले १९ वर्षको उमेरमा बिहे गरेका थिए। हेमाबाट उनका दुई छोरासमेत छन्। त्यसपछि ‘नाता’ फिल्मबाट उनी अभिनेत्री गीताञ्जली सुनारसँग नजिकिए। उनीसँगै दोस्रो बिहे गरे।

गीताञ्जलीका तर्फबाट एक छोरा छन्। गीताञ्जलीले आत्माहत्या गरिन्। छविले ‘हिरो’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा रेखा थापालाई ब्रेक दिए। दुवै नजिक हुँदै गए र विवाह नै गरे। २०७२ मा शिल्पासँग भेटे र ०७३ मा विवाह गरे।

धेरैलाई लाग्न सक्छ, छवि शिल्पाका पहिला श्रीमान् हुन् तर हैन। छवि शिल्पाका दोस्रा पति हुन्। उनको पहिलो विवाह विकास क्षेत्रीसँग भएको थियो। उनीहरु पाँच वर्षसँगै बसेका थिए। पहिलो श्रीमान्सँग पारपाचुकेपछि उनी छविसँग निकट भएकी थिइन्।
शिल्पा यसबारे पटक्कै बोल्न चाहन्नन्। छविले भने, ‘मैले रेखासँग डिभोर्स लिएपछि यसका बारेमा थाहा पाएँ। हिमचिम बढेपछि अरुले मलाई भनेका थिए, शिल्पाको पहिलो विवाह उति सुखद् थिएन।’

शिल्पालाई फकाउँदा फकाउँदै छविले भनेका छन्, ‘एक दुई गर्दागर्दै तपाईंका पनि धेरै होलान्, म जस्तै बदनाम हुनुहोला, आउनुस् सँगै बसौं।’

डिभोर्सको योजना पहिल्यै थियो ?
‘मैले घरेलु हिंसा गरिरहेको भए किन ६ महिना अगाडि विवाह दर्ता गरेको ?’ छविले पटक–पटक सोधिरहेका छन्। विवाह दर्ता भएको ६ महिनापछि नै घरेलु हिंसामा उजुरी दिनु आफ्नो सम्बन्धमा अरु कसैले खेलेको उनको आशंका छ।

उनले सिधै सम्पत्तिको लोभमा डिभोर्स दिन लागेको भनेका छैनन् तर संकेत गरिरहेका छन्, ‘रेखाले डिभोर्स दिँदा त उनको समेत पैसा परेको घर मलाई छाडेकी हुन्।’

शिल्पा तीन वर्षदेखि नै आफूले घरेलु हिंसा सहँदै आएको बताउँदै आएकी छन्। तर यसबीचमा किन उनी न्याय खोज्न हिँडिनन् ? प्रहरीमा उजुरी दिएपछि कानुनी कार्बाहीमा नगई किन निवेदन फिर्ता लिएको ? उनी मौन छिन्।

सम्पत्तिमा हकदाबीबारे शिल्पाको भनाइमा एकरुपता छैन। केही मिडियामा शिल्पाले आफू सम्पन्न परिवारको सदस्य भएको, हजुरबाको पालादेखिको केमिकल फ्याक्ट्री रहेको र आफू एक्लो सन्तान भए पनि बाबुको सम्पत्तिमा समेत लोभ नगरेको बताएकी थिइन्। फेरि उनको बोली फेरियो। अब कानुनले दिएअनुसार दाबी गर्ने बताउँदै आएकी छन्। न्युजफिल्मीसँगको कुराकानीमा उनले भनेकी छन्, ‘कानुनले जत्ति दिन्छ, त्यत्ति लिन्छु।’

अधिवक्ता स्वीकृति बरालका अनुसार मुलुकी देवानी संहिता ऐनअनुसार डिभोर्सपछि श्रीमान् र श्रीमती दुवैको सम्पत्तिमा ५० प्रतिशत हक लाग्छ।

‘अहिलेको नयाँ कानुनले श्रीमतीले कमाएको सम्पत्तिमा पनि श्रीमानको हक लाग्ने व्यवस्था गरेको छ,’ अधिवक्ता बराल भन्छिन्, ‘त्यसैले डिभोर्सपछि सम्पत्तिमा दाबी गरे श्रीमान्–श्रीमतीकै सम्पत्तिमा भागबण्डा हुन्छ।’

‘अब सँंगै बस्न सकिन्न : शिल्पा पोखरेल


अब हामी छुट्टिन्छौँ। सँगै बस्न  सकिँदैन। मैले डिभोर्स पनि फाइल गरिसकेँ। प्रहरीकोमा उहाँले आफ्नो गल्ती स्वीकार्नु भयो। हो, मैले गल्ती गरेको हो, आइन्दा गल्ती गर्दिनँ भनेर हस्ताक्षर गर्नुभा’छ। आइन्दा उहाँले मार्ने धम्की दिन्नँ, कुटपिट गर्दिनँ, दुव्र्यवहार गर्ने काम गर्दिनँ भनेर हस्ताक्षर गर्नुभएको हो।

उहाँले हिर्काएर मेरो कानमा समस्या आएको छ। भर्खर आलो भएकाले होला चिसो–तातो खाँदा दुख्छ। कानको जालीमा प्वाल परेको छ।

उहाँ (छवि)ले मेरो कानमा हानिसकेपछि घाँटी थिच्न आउनु भयो। घाँटी थिच्न आउँदा बच्नलाई खुट्टाले हानेर भागेकी हुँ। घाँटी थिच्दा अब म मर्छु नै भन्ने लागिसकेको थियो। मर्छु भनेपछि त आफैँ खुट्टा चल्दोरहेछ। हातले छुटाउन नसकेपछि लात्ताले हान्नै परो। त्यही भएर शान्ति सुरक्षाको निवेदन हालेकी हुँ। कुरा यत्रो अघि बढिसक्यो। अब सँगै बस्न सकिन्न। म अहिले दाइ–भाउजुसँग बस्दै आएकी छु।

विवाहपूर्व मलाई उहाँको यस्तो व्यवहारबारे खासै थाहा थिएन। उहाँले जहिले पनि रेखा दिदी मात्र नराम्रो हो भन्ने पार्नु भएको थियो। अफिसमै जान्थेँ, रेखा दिदीसँग भेट्ने अवसर नै जुटेन। जो अफिसमा आउने, रेखा दिदीको मात्र नराम्रो कुरा गर्नुहुथ्यो। रेखा दिदी नै नराम्रो हो भन्ने प-यो  मलाई त्यतिबेला। अनि छविजीले कति दुःख पाउनु भएको भन्ने बनाउनु भयो मलाई। अनि मलाई विचरा किन सबैले छोडेर गएको होला भन्ने भयो। माया लाग्दै गयो तर बिहे भएको दुई हप्तामै व्यवहार परिवर्तन भयो।

अहिले बल्ल मलाई थाहा भो। रेखा दिदीलाई त एसिड नै हालिदिन्छु भन्नु भएको रहेछ पहिला। दिदीले केटाकेटी नै भएकाले डरले पुलिसकोमा जान सकिनँ भन्नुभयो। दिदी तपाईँले नै बिगार्नु भएको रहेछ नि त ! तपाईँ नै त्यतिबेला पुलिसकोमा गा’को भए मलाई यतिबेला यो दुःख आइपर्थेन भनेर भनेँ। अब अर्को केटीलाई यस्तो नपरोस् भनेर म प्रहरीकोमा गएकी हुँ।

मेरो ठूलो माग थिएन। उहाँले कहिल्यै पनि आफ्नो गल्ती स्वीकार्नु भएन। उहाँकै मात्र ठूलो कुरा भयो सधैँ। यो एक पटक मात्र होइन, बारम्बार भएको छ। पिट्ने मात्र भएको भए पनि म जाँदिनँ होला। मलाई त अति नै भयो। म यसै पनि मर्ने रहेछु, उसै पनि मर्ने रहेछु, ठीकै छ उहाँले गल्ती गर्नुभएको हो माफी माग्नुपर्छ भन्ने मात्र थियो ममा।

उहाँले मलाई अरुको फिल्मको प्रमोसनमा हिँड्न नदिने गर्नुहुन्थ्यो। आफ्नो फिल्मको प्रमोसनमा हिँड्न लगाउनु हुन्थ्यो। प्रिमियरमा जान दिनु हुन्थ्यो। साथी बनाउँदा पनि मलाई नै नराम्रो भन्नुहुन्थ्यो। सबै हिरोहरुसँग नाम जोडेर शंका गर्ने गर्नुहुन्थ्यो। उहाँले मलाई कहिल्यै पनि बुझ्नु भएन। उहाँसँग लाइफ काट्न गाह्रै छ। उहाँको दोश्रो श्रीमती डिप्रेसनमा आएर आत्महत्या गर्नुभएको थियो। मेरो अवस्था त्यस्तो नहोस्।

‘नियत अर्कै देखियो’ : छवि ओझा


मैले डिभोर्स दिने भन्ने होइन, उहाँकै विचार हो। अब मैले उहाँलाई ललिपप देखाएर ल्याएको होइन। माया गरेरै ल्याएको हो। मलाई थाहै नदिई पुलिसकोमा जानु भयो। अदालत जानुभयो। प्रहरीकोमा छलफल पनि भयो। माफी मागेँ।

उहाँ झगडा गरेर असार ८ गते घर छोडेर निस्कनु भएको थियो। ८ गते घर छोडेर गएर बल्ल २२ गते उहाँले प्रहरीकोमा उजुरी दिनुभयो। १५ दिनपछि  उजुरी किन ?

उजुरी हाल्न कलाकार संघ या फिल्म क्षेत्रकै अन्य निकाय पनि छ नि ! अब एकैचोटी प्रहरी पुग्दा नियत त अर्कै देखियो। घरेलु हिंसा भन्दै पुग्नु भयो। अब दिनभर स्टार मलमा हुनुहुन्छ, घरेलु हिंसा कसरी भयो ? अब कतिले घर छोडेर गएपछि किन खोजी नगरेको भन्नुभयो। उहाँ त योजना गरेर प्रहरीकोमा जानुभयो। श्रीमान् श्रीमतीमा बहस त भइहाल्छ !

फिल्म गरेपछि उहाँ मसँग बिहे गर्न तयार हुनुभयो। अहिले नाटक गरेर हुन्छ ? मन गढन्ते कहानी सुनाइरहनु भएको छ उहाँले। क्यामरा देख्नासाथ रोएर नाटक गर्नुहुन्छ।

Leave A Comment