पर्दाका पुतली

बुधबार, १९ साउन २०७३, १० : ०६ माधव ढुङ्गेल , Kathmandu
पर्दाका पुतली

चलचित्र भवनको पर्दा एउटा ठूलो ऐना हो । त्यसमा हेर्दाहेर्दै दर्शक आत्मविस्मृत र मुग्ध हुन थाल्छ । त्यहाँ देखिने नायकनायिकाका अभिनय र दृश्यले उसका दबिएका इच्छाहरूलाई जगाइदिन्छन् । नायकका क्रियाकलापमार्फत उसैका अव्यक्त भावहरूले अभिव्यक्ति पाउँछन् । आफैँलाई, आफ्नै मन र शरीरलाई राम्ररी निहार्दा पैदा हुने स्वान्त सुखायको नौलो आनन्द दर्शकले चलचित्र भवनका पर्दामा प्राप्त गर्छ ।
नारीवादी चलचित्र समीक्षक लारा माल्वीका अनुसार यसरी निहार्नुको फाइदा पुरुषहरूले लिएका हुन्छन् । नारी शरीरलाई रुचिपूर्वक अवलोकन गर्नेहरूमा पहिलो व्यक्ति त नायक नै हुन्छ । अनेक अवसरमा उसले नायिकाका अंग–उपांगको अवलोकन गर्छ । उसले गरेको अवलोकन केवल उसले मात्रै गरेको हुँदैन, दर्शक पनि त्यसमा स्वतः सहभागी हुन्छन् । नायकको बहाना बनाएर दर्शकको भोगको लालसालाई सन्तुष्ट गराउनु निर्देशकको भित्री उद्देश्य हो ।
कतिपय निर्देशकले अलि ज्यादा नै उत्तेजनायुक्त र भद्दा दृश्यलाई आइटम गीतमा राखेका हुन्छन् । हेर्दा कुनै युवतीले मञ्चमा अर्धनग्न अवस्थामा नाचेर नायकको उदासीलाई मेटाउन खोजेको जस्तो देखिन्छ । कतिपय यस्ता नाचमा खलनायकको भोगवादी चरित्रलाई उद्घाटन गर्न खोजेको जस्तो पनि देखिन्छ तर दर्शकको हृदयमा सुषुप्त अवस्थामा रहेको यौनजन्य कामना र वासनालाई उद्दीप्त तुल्याउनु र उनीहरूलाई मानसिक उत्तेजनाबाट पैदा हुने वासनात्मक सुख उपलब्ध गराउनु यसको अभीष्ट हो । त्यसका लागि निर्देशकले त्यस्ती कामुक युवतीलाई कामोत्तेजक आचरण र भंगिमासहित मञ्चमा उतार्छ जो चलचित्रको कथासँग गाँसिएकी हुन्न । जो दोहोरो अर्थ लाग्ने भाषा बोल्न सक्छे, जसको शरीरका विभिन्न अंगमाथि निर्देशकले क्यामेराका अनेक भाँती प्रयोगहरू गर्न पाउँछ र नैतिक संकटविना नै दर्शकलाई कामोत्तेजनाको आनन्द दिलाउँछ ।
यौनकर्मलाई समाजले रहस्यमय बनाएका कारण व्यक्तिले अनेक कल्पना र अड्कल गर्ने अवसर पाउँछ । उसको कल्पना वास्तविक जीवनभन्दा भव्य, अतिरञ्जित र रोमाञ्चक हुन्छ । चलचित्रमा उसले त्यही स्तरको काल्पनिक आनन्द प्राप्त गर्छ जसलाई अनेक कारणले गर्दा वास्तविक जीवनमा उसले प्राप्त गर्न सकेको हुँदैन । त्यही अप्राप्य तर रोमाञ्चक स्वप्न सुखका लागि ऊ चलचित्र भवनमा जान्छ ।
चलचित्र भवनभित्र मिल्ने यो उत्तेजक मनोरञ्जन बाहिरबाट हेर्दा जति निर्दोषजस्तो देखिन्छ, खासमा सोचिएको जति निर्दोष त्यो हुँदैन । यस्ता कुनै पनि दृश्य स्वतःस्फूर्त भइराखेका घटना खिचेर देखाइएका विम्ब होइनन् बरु त्यस्तो दृश्यको कल्पना गरेर, बारम्बार टेक र री–टेक गरेर योजनाबद्ध रूपमा बनाइएका अर्थपूर्ण विम्ब हुन् । चलचित्र भवनको भीडमा यस्ता विम्ब हेरेर पुरुषले आफूलाई जति मनोरञ्जित भएको सम्झन्छ, महिलाहरू त्यसबाट त्यत्तिकै मात्रामा अपमानित भएका हुन्छन् । उनीहरूको अवस्था रक्षात्मक बनेको हुन्छ र मनोवैज्ञानिक रूपमा उनीहरूले आक्रामकताको सामना गर्नुपर्ने हुन्छ, त्रासदीपूर्ण समय बिताउनुपर्ने हुन्छ ।
‘नोट्स अन वुमन्स सिनेमा’ भन्ने लेखमा जोन्सटनले लेखेकी छन्, ‘बाहिरबाट निर्दोषजस्तो देखिने चलचित्रको आख्यानलाई सतही रूपमा स्वीकार गर्नु भूल हुनेछ । प्रकाश संयोजन, सम्पादन तथा क्यामेराको गतिमा हुने परिवर्तनमार्फत चलचित्रमा कुनै अदृश्य आख्यान पनि भनिएको हुन्छ जसमा गूढार्थ लुकेको हुन्छ ।’ यही गूढार्थले चलचित्रमा पितृसत्तालाई बचाइराखेको छ ।
सन् १९७५ को ‘स्क्रिन’ नामक पत्रिकामा ‘भिजुअल प्लेजर एन्ड न्यारेटिभ सिनेमा’ शीर्षकको लेखमा माल्वीले लेखेकी छिन्, ‘समग्र चलचित्र उद्योगमा पितृसत्ताको संसार यसरी बनाइएको छ कि पर्दामा देखिने महिला स्वतः यौनेत्तजना निर्माण गर्ने प्रतीक बनेकी हुन्छे र चलचित्र हेर्दाहेर्दै पुरुष दृष्टिबाट पैदा हुने यौनिकता प्रबल हुन्छ ।’
माल्वी वा जोन्सटनले गरेको विश्लेषण अमेरिकी र युरोपेली सन्दर्भको विश्लेषण हो जहाँ पितृसत्ताको स्वरूप हाम्रातिरको भन्दा केही भिन्न र कमजोर पनि छ । पुँजीवादी विश्वदृष्टिले सिकाएअनुसार नारी देहलाई उपभोगको वस्तुसरह व्यवहार गर्ने काम हाम्रामा झैँ त्यहाँ पनि छ । पुरुषको भोगवादी आँखाबाट सापेक्षतः कम सक्रिय महिलाको चित्रण गर्ने र यौनलाई व्यापारीकरण गर्ने प्रवृत्ति त्यहाँ पनि छ । तथापि, उनीहरूको र हाम्रोमा केही मौलिक भिन्नता पनि छन् ।
कथाभित्रका र बाहिरका सबैले नारीको देहलाई समान रूपले देख्न र त्यसबाट आनन्दित हुन पाउनु तथा दर्शकलाई आफूलाई अपराधबोधबाट मुक्त र निर्दोषझैँ तुल्याउँदै अन्ततः सम्पूर्ण यौनिक सुखको उपभोग गर्न पाउनु जस्ता विशेषता उता र यता समानझैँ छन् । तर, कौमार्यको महिमा मण्डन हाम्रोमा ज्यादा छ । दर्शकलाई औपचारिक तहमा नारीप्रति मर्यादाका आँखाले हेर्न सिकाएझैँ गर्दै तर अनौपचारिक रूपमा उनीहरूलाई शृंगारिक आनन्द प्रदान गर्ने रणनीतिक चातुर्य हाम्रोमा ज्यादा छ ।
यौनकर्मलाई नै छायांकन गर्ने खुला व्यवहारको साटो त्यसलाई रहस्यमय बनाउने, देखाउन खोज्ने तर नदेखाउने विधि हाम्राले अपनाउँदै आएका छन् । बच्चाले साथीलाई लोभ्याउन चकलेट देखाउने तर खान चाहिँ नदिने जस्तो कुटिलता हाम्रोमा ज्यादा छ । हाम्रामा यौनकर्मलाई महिलाका आँखाबाट हेरिँदैन बरु महिलालाई लजालु र शंकालु तुल्याइन्छ । उसलाई, उसको शरीरलाई र मनलाई पनि प्रस्ट नबुझिने गरी रहस्यमय बनाएर प्रस्तुत गरिन्छ । सामन्तवादले नारी देहलाई घुम्टोमा लुकाएर, सार्वजनिक जीवनबाट लुकाएर सुखभोगको साधन बनाएको थियो, पुँजीवादले बजारको अर्धनग्न ‘सो पिस’ बनाएर नयनसुखको साधन बनायो । हाम्रामा यी दुवै प्रवृत्ति उत्तिकै बलशाली छन् । लुकाउने र देखाउने दुवै विधिको प्रयोग गरेर हामी पश्चिमाहरूभन्दा पनि ज्यादा नै मनोरञ्जित भइराखेका छौँ ।
कुनै समीक्षकले लेखेका थिए, ‘चलचित्र हेर्न आउँदा बुद्धिलाई हामीले घरैमा थन्क्याएर आउनुपर्छ । नत्र, आफ्नै बुद्धिका कारण पीडा हुन्छ ।’ पीडा नहोस् पनि किन ? जब कलाको उदात्त सौन्दर्य चेतना चलचित्रमा आउँदा अमानवीय उत्ताउला विम्ब र आँखाको तिरिमिरीमा सीमित भएको देख्नुपर्छ । जब सौन्दर्यका रहस्य खोज्ने विवेकपूर्ण कल्पना शक्ति निर्देशकको आँखामा आउँदा कुनै कामुक युवतीको वक्षस्थल र मांसपिण्डमा सीमित भएको देख्नुपर्छ । त्यतिबेला पीडै त हुन्छ जब मानव जीवनका आत्मिक आवश्यकताको परिपूर्ति गर्ने कलाकार आफ्नै भौतिक आवश्यकता परिपूर्तिका लागि विवेकलाई बन्धकी राखेको अवस्थामा चलचित्रका पर्दामा फेला पर्छन् ।

 

Leave A Comment