कपडा आयात सतप्रतिशत बढ्यो

आइतबार, ०५ साउन २०७६, ११ : ०२ दिलीप पौडेल
कपडा आयात सतप्रतिशत बढ्यो

बजारको मागअनुसार स्वदेशमा कपडा उत्पादन गर्न नसक्दा विदेशबाट तयारी कपडाको आयात ह्वात्तै बढेको छ। गत वर्षको तुलनामा यो वर्ष कपडा आयात एक सय १३ प्रतिशत बढेको छ।

व्यापार तथा निकासी केन्द्रका अनुसार यो वर्षको ११ महिनामा ३० अर्ब ३१ करोड रुपैयाँको तयारी कपडा आयात भएको छ। सरकारले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्न नसक्दा विदेशबाट कपडा आयात बढेको व्यवसायी बताउँछन्।

सरकारले कपडा व्यवसायीलाई दिँदै आएको सुविधा कटौती गर्दा उद्योग निरुत्साहित भएर आयात बढेको कपडा उत्पादक संघले जनाएको छ।  संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानका अनुसार कपडा उद्योगीलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत हटाउने सरकारको निर्णयपछि आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेको उद्योगी बताउँछन्। कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष ०७५/७५ को बजेटबाट यो व्यवस्था हटाउने निर्णय गरेको थियो। कटन कपडाको भ्याट शतप्रतिशत समायोजन र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे।

उक्त व्यवस्था हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा आयात बढेको उनले बताए। ‘स्वदेशी उद्योगलाई सहुलियत नदिँदा विदेशी कपडाको आयात बढ्यो,’ प्रधानले भने, ‘सकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिन सक्नुपर्छ।’

स्वदेशी उत्पादनले १० प्रतिशत मात्र थेगेको प्रधानले बताउँछन्। तयारीबाहेक अन्य कपडाको आयातको मात्रा पनि ठूलो छ। कपडा उद्योगका लागि उपयुक्त वातावरण नहुँदा उत्पादन वृद्धि हुन नसकेको व्यवसायी बताउँछन्। विगतमा स्वदेशी बजारमा राम्रो हिस्सा जमाएका र भारतमा समेत निर्यात गर्दै आएका कपडा उद्योग बन्द भएकाले आयात बढेको हो।

भन्सारबाट न्यून बिजकीकरण, खुल्ला सीमाबाट चोरी निकासी भएर आउने कपडासँग प्रतिस्पर्धा गर्न नसकेको कारण पनि उद्योग फस्टाउन नसकेको संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले बताए। यसले उद्योगको उत्पादन लागत बढ्ने भएकाले विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकिने संघका उपाध्यक्ष लोहियाले बताए। ‘न्यूनबिजकीकरण र खुल्ला सीमाबाट आएका कपडा नियन्त्रण नगर्ने ? उनले भने, ‘दिँदै आएको सुविधा कटौती गर्दा उद्योग थप धराशयी भएका छन्।’

संघका अनुसार करिब अर्बौं रुपैयाँको कपडा गैरकानुनी रुपमा आयात हुने गरेको छ। कपडा आयातमा करिब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ।

कपडा उद्योगमा ठूलो लगानी छ। उद्योगलाई प्रोत्साहित गरे बन्द अवस्थामा रहेका करिब एक सय कपडा उद्योग सञ्चालन गरेर निर्यातसमेत गर्न सकिने कपडा उद्योगी बताउँछन्। स्वदेशी कपडा पनि गुणस्तरीय भए पनि ब्रान्डिङ गर्न नसक्दा उपभोक्ताले विदेशी नै रोज्ने गरेका छन्। कपडा उद्योगमा करिब ३५ हजारले रोजगारी पाएको संघले जनाएको छ। रोजगारी बढाउन सकिने अवसर पनि छ।

Leave A Comment