अरु कति निर्मला कुर्ने ?

शुक्रबार, १० साउन २०७६, ११ : ०० शुक्रवार
अरु कति निर्मला कुर्ने ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी अबोध किशोरी निर्मलाको बलात्कारी र हत्या पत्ता नलागेको साउन १० मा एक वर्ष टेक्यो। राज्यको सुरक्षा संगठनको क्षमता देखाइदिएको यो घटनाले एक वर्ष छुन तीन दिन बाँकी रहँदा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दा भेला भएका पत्रकारले निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धान प्रक्रियाबारे सोधे।

यस्तो अवस्थामा गृहमन्त्रीबाट जिम्मेवार जवाफको अपेक्षा हुनु स्वभाविकै हो तर एक वर्षअघिको मानसिकता त्यागेका रहेछन् थापाले। उनले निकै हचुवामा लिए यत्तिको गम्भीर घटनालाई र भने, ‘निर्मलाजस्तो घटना हिजो पनि भएका थिए, आज पनि हुन्छन् र भोलि पनि हुनेछ।’

निर्मला प्रकरणमा हिजोको जस्तो दबाबमा छैन अहिले सरकार। प्रदर्शनकारी गलिसके। सामाजिक सञ्जालमा ‘जस्टिसफरनिर्मला’ भन्ने ह्यासट्याग पनि हराइसक्यो। यससँगै राज्यको विवेक पनि हराएको देखियो गृहमन्त्रीको हचुवा भनाइले।

राज्यको अनुसन्धानमा भएको त्रुटिले निर्मला घटनाको पहेली नसुल्झिएको कतै लुकेको छैन। घटनापछि थापाबाट आएका हचुवा घोषणा पनि आर्काइभबाट मेटिएका छैनन्।

हिजो भएका नमिता सुनिता काण्डको पहेली सुल्झिएको छैन। सायद त्यसैलाई पृष्ठभूमिमा राखेर उनले हिजो पनि भएको थियो भनेका हुन सक्छन्। उनको बोलेको ‘भोलि पनि हुनसक्छ’ भन्ने वाक्य निकै गम्भीर छ। उनको यो भनाइलाई निर्मला घटनासँग दाँजेर हेर्ने हो भने यसले बलत्कार र हत्याजस्तो गम्भीर पाटोको अनुसन्धानमा अझै राज्य गम्भीर नहुने देखाउँछ। यो भन्दा लज्जास्पद अरु के हुनसक्छ ?

अपराधको पूर्वानुमान सम्भव छैन। अपराधको मात्रा शून्य पनि सम्भव छैन। जबसम्म समाज रहिरहन्छ, आपराधिक घटना घटिरहन्छ। अपराध समाजको अभिन्न अंग हो, जसलाई पूर्ण नियन्त्रण गर्न सकिन्न तर सचेतना बढाएर अपराधको मात्रा भने घटाउन सकिन्छ।

हिजो भएका नमिता सुनिता काण्डको पहेली सुल्झिएको छैन। सायद त्यसैलाई पृष्ठभूमिमा राखेर उनले हिजो पनि भएको थियो भनेका हुन सक्छन्। उनको बोलेको ‘भोलि पनि हुनसक्छ’ भन्ने वाक्य निकै गम्भीर छ। उनको यो भनाइलाई निर्मला घटनासँग दाँजेर हेर्ने हो भने यसले बलत्कार र हत्याजस्तो गम्भीर पाटोको अनुसन्धानमा अझै राज्य गम्भीर नहुने देखाउँछ। यो भन्दा लज्जास्पद अरु के हुनसक्छ ?

राज्यको दायित्व अपराध नियन्त्रण र अपराधमा संलग्नको पहिचान र अपराधको प्रकृतिअनुसार कानुनी सजाय नै हो। राज्यबाट कहिल्यै त्रुटि नहुने पनि हैन, हुनसक्छ।

अपराध नियन्त्रणमा तदरुकता र भएका त्रुटिको समीक्षा र आगामी दिनमा त्रुटि दोहोरिन नदिने तत्परता भने राज्यमा हुनुपर्छ। नत्र किन राज्य चाहियो ?

तर गृहमन्त्रीले मन्त्रालयमा पत्रकारलाई डाकेर जे घोषणा गरे, त्यसले राज्य न अपराध नियन्त्रणमा तत्पर देखियो, न एक किशोरीको बलत्कारपछि हत्या घटनाको अनुसन्धानमा भएको त्रुटि सच्याउन नै प्रतिबद्ध।

गृहमन्त्रीको भनाइअनुसार राज्य अझै नयाँ निर्मलाहरुको प्रतीक्षामा रहेको देखियो। यो भन्दा लज्जास्पद केही हुनसक्छ ? ‘हिजो पनि निर्मलाहरु थिए, आज पनि निर्मला छन् र भोलि पनि हुन्छन्’ भन्ने वाक्यले निर्मलाहरुको संख्या कति पुगेपछि राज्य ब्युँझने हो ? रामबहादुर थापाहरु नै जानून्।

Leave A Comment