‘रअ’को शक्ति

शुक्रबार, १० साउन २०७६, १२ : ३३ शुक्रवार
‘रअ’को शक्ति

अहिले नेपाली पोलिटिक्समा नयाँ भाइरल छाएको छ, सामन्त गोयलको। सामाजिक सञ्जालमा ज्यादै हिट भएका सामग्रीलाई भाइरल भनिन्छ। उनी सामाजिक हैन, राजनीतिक सञ्जालमा भाइरल छन् मस्तसँग। जताततै चर्चा छ उनको।

उनको चर्चाको कारण उनको काम हैन है ! हाम्रा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री अनि देशभक्त नेताको कामको कारण हो। उनीसँगै अर्को शब्द पनि सँगसँगै भाइरल छ, ‘रअ’। यो ‘रअ’ शब्द संयोजक ‘र’ हैन नि फेरि ! यो र शब्द संयोजक नभई खुफिया संयोजक ‘रिसर्च एन्ड एनालाइसिस विङ्’ हो।

यो ‘र’ भारतीय खुफिया एजेन्सी हो। गोयल त्यसका चिफ। संगठन खुफिया भए पनि उनको नेपाल भ्रमण गुपचुप हुनुपर्ने हो तर उनले मसालका भूमिगत महामन्त्री मोहनविक्रम सिंहको स्टाइलमा शनिबारबाट नेपाल भ्रमण गरे। हाम्रा कम्रेड सिंह पनि आफूलाई भूमिगत नेता भन्न रुचाउँछन् तर चिया पसलदेखि जताजतै सहजै भेटिन्छन्। त्यसैगरी गोयल शनिबार नेपाल आएदेखि सोमबार स्वदेश नफर्किएसम्म नेपालमा के–के गरे सबै सार्वजनिक भयो। पद खुफिया संगठनका प्रमुख, नेपालमा चैँ खुल्लमखुल्ला !

उनी कुन समय बालुवाटार छिरेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनी भेट्न गए कि उनलाई भेट्न गए, पुष्पकमल दाहालको दैलोमै कतिखेर पुगे र बाहिरिए, मधेसवादी दलका नेता कसरी दर्शनार्थी बनेर सबै खुरुखुरु पुगे, सबैसबै खुलस्त भए। यत्ति मात्रै हैन, उनी कुन रेस्टुरेन्टमा गएर के खाए, कुन होटलमा बसे सबै छर्लङ्ग भए।

अचम्म, गोयल नेपालमा खुल्लमखुल्ला भए भन्ने हैन, नेपालका नेताको ताल अचम्मको हो। ठूलो देशको खुफिया एजेन्सीका प्रमुख भएकाले मान दिएका होलान्, नत्र उनको पदीय हैसियत हाम्रा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीलाई भेट्ने हो र ?

काम के छ हो, खुफिया एजेन्सीका प्रमुखसँग राजनीतिक नेतृत्वले भेट्ने ? सुरक्षाको कुरा गर्न आएका भए हाम्रो नेपालको ‘रअ’ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई भेटाइदिएको भइहाल्थ्यो। यसो क्रस बोर्डर क्राइमबारे छलफल गर्ने मुड बनाएको भए नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई भेटाइदिएको भए पुगिहाल्थ्यो ! बढी से बढी गृहमन्त्रीसम्मले भेटेको भए पनि ‘ए सुरक्षा सवालमा भेट भएछ’ भन्ने हुन्थ्यो।

गोयल आए, प्रधानमन्त्री, उपप्रधानमन्त्रीले दर्शकका लागि बिन्तिपत्र हाले, उनले भेटिदिए। यसमा उनको त के दोष भयो र ? उनका लागि त स्वदेशमा देखाउनलायकको भ्रमण भयो। उनले शक्ति देखाइदिए।

एउटा खुफिया एजेन्सीको प्रमुखलाई लाइन लागेर हाम्रै प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीले भेटेर एक महिना अगाडि नै गाईजात्रा देखाइदिए।

Leave A Comment