अपेक्षाको उचित नापतौल

शुक्रबार, १० साउन २०७६, ०१ : २० प्रकाश जंग थापा
अपेक्षाको उचित नापतौल

कुनै कार्य, योजना वा परियोजनामा संलग्न भएपछि अपेक्षा राख्नु नौलो कुरा होइन। एउटा संस्थामा केही वर्ष काम ग-यो, पारिश्रमिकमा बढोस् भनी अपेक्षा गरिन्छ। व्यवसायमा हात हाल्यो, त्यसमा आर्थिक लाभको अपेक्षा राखिन्छ। कुनै आकर्षक महिला वा पुरुष देख्दा गज्जबको सम्बन्धको होस् भनी चासो राखिन्छ। हरेक कुरामा अपेक्षा हुन्छ। यो व्यक्तिका रुपमा मात्र नभई मुलुकको पक्षमा पनि यही कुरा लागू हुन्छ। यद्यपि अपेक्षाअनुरुप कार्य सम्पादन नहुँदा सकारात्मक परिणामको कुनै ग्यारेन्टी हुँदैन। प्रायः सफलताभन्दा बढी असफलता नै हात लाग्छ। आखिर किन ? यसको कारण हो, अपेक्षाको गलत नापतौल। कुनै पनि कार्य, योजना वा परियोजना सम्पन्न हुन कति समय लाग्छ ? कति ऊर्जा चाहिन्छ ? कति संख्यामा जनशक्ति आवश्यक पर्छ ? कुल खर्च कति हुन सक्छ ? कति मात्रामा भावनात्मक श्रम लाग्छ ? यावत्बारे हामीले कम अनुमान गरेका हुन्छौँ। जसका कारण हामी असफल हुन पुग्छौँ।

गलत अपेक्षाको नतिजाः तपाईं कत्तिको धैर्यवान हुनुहुन्छ ? कस्तो रणनीतिक सोच राख्नु हुन्छ ? कसरी योजना बनाउनु हुन्छ ? कति मिहिनेत गर्नुहुन्छ ? कामको विषयलाई लिएर कस्तो अनुभूत गर्नुहुन्छ ? आफ्नो क्षमता र प्राप्त उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यी सबै कुराको निर्धारण तपाईंले राख्ने अपेक्षामा भर पर्छ। गलत अपेक्षा राखियो भने के हुन्छ ? केही उदाहरणबाट प्रष्ट हुने कोसिस गरौँ। मानौँ तपाईं एक वर्षमा चिकित्सक बन्ने अपेक्षा राख्नुभयो ! के यो सम्भव होला ? हुँदैन। चिकित्सा पढाइ सक्न नै दशदेखि पन्ध्र वर्ष लाग्छ। चिकित्सा पेशामा अनुभवी विशेषज्ञ हुन झन् थप वर्ष लाग्छ। त्यसैगरी तपाईं एक वर्षमा विश्वस्तरीय सङ्गीतकार, कलाकार वा खेलाडी बन्ने अपेक्षा राख्नुभयो भने पनि त्यो सम्भव हुँदैन। त्यसैगरी एक पलको जागृति अनुभूतिले जीवन बुझ्न र महारत हासिल गर्न सकिने अपेक्षा राख्नु व्यवहारिक मान्न सकिँदैन। गलत अपेक्षा राख्नाले निराशा बढ्छ। चाँडै हार मान्नुपर्ने परिस्थिति आइपर्छ। जीवनमा कुनै ठूलो प्रगति गर्न सकिँदैन।

एकल परियोजना र अपेक्षाः खासगरी एकल परियोजनामा अपेक्षा व्यवस्थापनले निकै ठूलो महत्व राख्छ। नयाँ डकुमेन्ट्री भिडियो बनाउनु, एल्बम कम्पोज गर्नु, किताब लेख्नु, सानो व्यवसाय सुरुवात गर्नु, व्यक्तित्व विकास कार्यमा संलग्न हुनु, जागृति बढाउने अभियानमा सरिक हुनु आदि कार्य सोलो प्रोजेक्ट श्रेणीमा पर्छन्। यसमा स्वयं अग्रसर हुनुपर्छ। सही अपेक्षा राख्न सकिएन भने निराशाबाहेक केही प्राप्त हुँदैन। उदाहरणको लागि ६ महिनामा एउटा पुस्तक लेखेर सक्ने अपेक्षा राख्नु सही हुन सक्दैन। ६ महिनामा किताब लेख्न नसकिने होइन तर मुख्य कुरा गुणवत्ता कायम हुन्छ या हुँदैन भन्ने हो। एउटा वजनदार किताब तयार पार्न कम्तीमा दुई वर्ष लाग्छ। तपाईंले लिएको लक्ष्य वा प्रोजेक्टको कार्यक्षेत्र तपाईंको इच्छाशक्ति र स्रोतसँग मिलान हुनु आवश्यक छ।

सही अपेक्षाको निर्धारणः गलत अपेक्षा राख्नोस्, गलत परिणाम प्राप्त हुनेछ। सही अपेक्षा राख्नोस्, सही परिणाम प्राप्त हुनेछ। सिधा–सिधा भन्दा सही अपेक्षा राख्न सकिएन भने जीवनमा केही पनि उपलब्धि हासिल गर्न सकिँदैन। सही अपेक्षा निर्धारण गर्नको निमित्त निम्न टिप्सहरु अवलम्बन गर्न सकिन्छ।

(क) गहन अनुसन्धान गर्नेः सफलताको लागि अनुसन्धान अत्यावश्यक छ। कुनै कार्य गर्नु पहिले त्यसबारे आवश्यक अनुसन्धान गर्नु फलप्रद रहन्छ। एक स्तरीय अनुसन्धानमार्फत् आफूमा रहेको अन्तर्निहित क्षमता र कमीकमजोरीबारे ज्ञान हुन्छ। निकट भविष्यमै प्राप्त हुन सक्ने अवसर र जटिलताबारे पनि स्पष्ट रहन सकिन्छ। तपाईं व्यावसायिक सफलता चाहनुहुन्छ भने सफल व्यवसायीबारे अध्ययन गर्नोस्। उनीहरुबारे बजारमा उपलब्ध पुस्तक पढ्नोस्। अडियो बुक सुन्ने वा भिडियो हेर्ने गर्नोस्। विशेषगरी उनीहरुको आत्मकथा किनेर अध्ययन गर्नोस्। यसो गर्नुका केही फाइदा छन्। तपाईं उनीहरुको सोच्ने शैली र मनोवृत्ति बुझ्न सक्नुहुन्छ। यति मात्र होइन, उनीहरुले जीवनमा के कस्ता समस्या सामना गरे ? कसरी योजना बुने ? आर्थिक पक्ष कसरी सशक्त राखे ? चुनौतीपूर्ण अवस्थामा कसरी धैर्य रहे भन्ने जस्ता विषयमा जानकार हुन सकिन्छ। यस अतिरिक्त तपाईं कुन विधामा सफल हुन चाहनुहुन्छ ? त्यस विधाको विशेषज्ञसँग भेट गर्नुस्, भेटलाई एउटा अन्तर्वार्ताको रुप दिनोस्। यसरी भएका अनौपचारिक कफी गफगाफले विशेषज्ञको सङ्घर्षबारे छर्लङ्ग हुनुहुनेछ। उनीहरुले भोगेका पीडा, दुःख, अवरोधहरु अध्ययनले उनीहरुको पर्दा पछाडिको कष्ट पनि हेर्ने कोसिस गर्नोस्।

(ख) द्रुत समाधान नखोज्नेः हरकोहीलाई द्रुत गतिमा परिणाम आओस् भन्ने चाह हुन्छ। हर समस्याको समाधान यथाशिघ्र होस् भन्ने आशा हुन्छ। कहिलेकाहीँ बजारमा यस्ता स्किम सुनिन्छन्ः यो ब्राण्डको डाइट पिल (आहार गोली) सेवन गर्नोस्, एक महिनामा स्लिम हुनुस्। यो मार्केटिङ टुल्स (विधि) प्रयोग गर्नोस् अनि एक वर्षमा करोड कमाउनुहोस्। यो तालिममा भाग लिनोस्, बौद्धिक स्तर दश गुणा बढाउनुहोस्। यो पुस्तक पढ्नोस्, चाहेको महिला/पुरुषसँग सम्बन्ध राख्नोस्।

यस्तै यस्तै स्किम अनगिन्ती भेट्न सकिन्छ। द्रुत समाधानले सबैलाई आकर्षित गर्छ। जसकारण नराम्रोसँग फस्न पुग्छन्। कुनै व्यक्ति, संस्थाले यस्तो समाधानको सिफारिस गर्छ भने त्यसलाई बेवास्ता गर्नोस्। चाँडो समाधान पाउने झुटो आश्वासनमा नफँस्नोस्।

आफूले नियन्त्रण गर्न सक्ने कुरालाई बढी महत्व दिनुहोस्। आफ्नो जीवन उद्देश्य के हो, त्यसमा केन्द्रित हुनोस्।

(ग) यथार्थवाद र व्यवहारवादको सोच राख्नेः हरेक कुरामा आशावादी रहेर, आदर्शको गफ चुटेर सफल भइँदैन। यथार्थको धरातलमा उभिनु पर्छ। व्यवहारिक हुन सक्नुपर्छ। अधिकांश मानिस जीवनभर स्वस्थ रहने अनुमान गर्छन्। कहिल्यै मर्न नपर्ने जस्तो व्यवहार देखाउँछन्। र, जीवनमा गर्नुपर्ने काम पछाडि धकेल्दै जान्छन्। अन्ततः मृत्युको मुखमा पुगेपछि मात्र बिउँझिन पुग्छन्। तथ्याङ्कअनुसार एक नेपालीको औसत आयु ७० वर्ष छ। तपाईंले ८० वर्ष बाँच्ने अपेक्षा राख्नु भयो भने ? तपाईंको जीवनस्तर गुणस्तरीय भए पनि के त्यो सम्भव होला ? मानिस ६० वर्ष कटेपछि शरीर पहिलेजस्तो ऊर्जाशील हुन सक्दैन। बौद्धिक क्षमता घट्दै जान्छ। विभिन्न रोग र चिकित्सा अवस्थाहरुसँग लड्नुपर्ने हुन्छ। तपाईं जीवितै रहे पनि सोच्न र हिँडडुल गर्न सक्नुहुन्न। संक्षेपमा भन्नु पर्दा ६० वर्षपछि जीउनको लागि पर्याप्त समय रहँदैन। तपाईंले ६० वर्ष बाँच्ने अपेक्षा राख्नु भयो भने ? मानौँ तपाईं अहिले ३० वा ४० वर्षको हुनुहुन्छ। अब तपाईं जीउन सक्ने समय भनेको ३० वा २० वर्ष हो। यस्तोमा तपाईं आफूले गर्न चाहेको काम पछाडि धकेल्ने गल्ती गर्नुहुन्न। जसकारण सफलता प्राप्त हुने सम्भावना बढेर जान्छ। यसर्थ ठूलो लक्ष्य लिनोस् तर त्यो रणनीतिक, यथार्थपरक र व्यवहारिक होस्।

Leave A Comment