पानी जीवन रक्षाका लागि अत्यावश्यक तरल पदार्थ हो। अमृत हो। स्वच्छ तथा सफा पानीले जीवन रक्षा गर्छ। त्यही पानी भने कतिपय अवस्थामा प्राण घातकसमेत भइदिन्छ। दूषित पानीले व्यक्तिको ज्यानसमेत जाने जोखिम हुन्छ।
पानीमा मिसिएका ब्याक्टेरिया तथा भाइरसको संक्रमण भए व्यक्तिको ज्याने सम्भावना रहने फिजिसियन डा. देवराज घिमिरे बताउँछन्।
दूषित पानी सेवन गर्दा झाडापखाला, बान्ता, आउँ, हैजा, जन्डिस (हेपाटाइटिस), टाइफाइडजस्ता समस्या देखा पर्छन्। हावाको माध्यमबाट सर्ने फ्लुजस्ता रोग समेत वर्षात्को मौसममा हुन्छ। हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम पनि त्यत्तिकै हुन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन दूषित पानीले ब्याक्टेरिया भाइरस तथा किटाणुले झाडापखालाको जोखिम हुने बताउँछन्। त्यसैले पानी पिउँदा सजग हुनुपर्ने उनको सुझाव छ। टेकु अस्पतालमा दूषित पानीजन्य समस्याका कारण दैनिक २/३ जना टाइफाइड तथा झाडापखालाका बिरामी उपचारका लागि आइरहेको डा. पुन बताउँछन्। वर्षात्को मौसमा झाडापखाला तथा टाइफाइड देखिने मौसम हो।वर्षात्को समयमा पानी दूषित हुनाले यस्ता समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन्।
हैजाले लैजाला
हैजाले व्यक्तिको ज्यानै जाने जोखिम हुन्छ। दूषित पानीले हैजा हुन सक्छ। डा. पुनका अनुसार ‘फिब्रियो कलेरा’ ब्याक्टेरियाका कारण हैजा हुन्छ। हैजा भएमा शरीरको पानी तथा लवण अत्यधिक मात्रामा दिसाको माध्यमबाट शरीरबाहिर जाँदा मल्टिअर्गन फेलियर भएर व्यक्तिको ज्यान जान सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। यो प्राण घातक समस्या हो। तुरुन्तै उपचार नपाएको खण्डमा हैजाले केही घण्टामै व्यक्तिको ज्यान जाने चिकित्सक बताउँछन्।
कोलिफर्म ब्याक्टेरियाको समूह हो। कोलिफर्म भएको पानी अशुद्ध हुन्छ। कोलिफर्मलाई टोटल र फेकल जस्ता नामले चिनिन्छन्। टोटल जताततै वातावरणमा पाइने चिकित्सक बताउँछन्। फेकल भने दिसाबाट आउने डा. पुनले बताए। कोलिफर्म मानव स्वास्थ्यका लागि घातक हुन्छ।
भिब्रियो कलेरा नामक ब्याक्टेरियाले हैजा गराउँछ। उचित उपचार नभए हैजाले व्यक्तिलाई मृत्युको मुखमा पु-याउने डा. देवराज घिमिरे बताउँछन्। कलेराको संक्रमण भएको खण्डमा पाँच देखि १२ घण्टामा लक्षण देखिन्छ।
हैजा भएका सबै बिरामीमा हैजाको लक्षण देखिन्छ नै भन्ने छैन। सामान्यतः हैजा भएका दशमध्ये एक जनामा लक्षण देखिन्छ। त्यसैले कतिपयको स्वास्थ्य परिक्षण तथा उपचारै नगरी ज्यान जाने जोखिम हुन्छ।
हैजा भएको खण्डमा चौलानी जस्तो दिसा हुने, दिसा गर्दा नदुख्ने, बान्ता हुने, हात–खुट्टा बाउँडिनेजस्ता समस्या हुन्छन्। झाडापखाला तथा हैजा भएमा शरीरमा भएको सोडियम, पोटासियम, मिनरल, लवण लगायतका मात्रा कम हुँदै जाँदा बिरामीको ज्यान जान सक्छ। हैजाले शरीरका अंगले काम नगर्नेसमेत जोखिम हुन्छ।
विशेषगरी दीर्घ रोगी, गर्भवती, सुत्केरी, वृद्ध तथा बालबालिकामा दूषित पानीका कारण विभिन्न संक्रमणको जोखिम हुन्छ।
इकोलाईजस्तो ब्याक्टेरिया पनि दूषित पानीका कारणले हुने चिकित्सक बताउँछन्। यो पिसाबको संक्रमण गर्ने ब्याक्टे«रिया हो। डा.पुनका अनुसार इकोलाई भएको खण्डमा बान्ता हुने, हात—खुट्टा बाउँडिने समस्या हुन्छ।
जोखिममा गर्भवती
हेपाटाइटिस ‘ई’ ले विशेषगरी गर्भवती महिलालाई बढी असर गर्छ। यसले गर्भवती महिलाको ज्यानै लैजान सक्छ। डा. पुनले भने, ‘गर्भवती महिलामा हेपाटाइटिस ई भएको खण्डमा करिब २५ प्रतिशत महिलाको ज्यान जान्छ।’ हेपाटाइटिस ‘ई’ प्राणघातक भएकाले विशेषगरी गर्भवती महिलाले पानी पिउँदा सजगता अपनाउनुपर्छ। सय जना हेपाटाइटिस ‘ई’ भएका गर्भवती महिलामध्ये २५ जनाको ज्यान जानु सामान्य हैन। डा. घिमिरे पनि गर्भवतीले पानी पिउँदा विशेष ध्यान पु-याउन सुझाउँछन्। हेपाटाइटिस ‘ई’ भएको व्यक्तिलाई खाना खान मन नलाग्ने, शरीर पहेँलो हुनेजस्ता लक्षण देखिन्छन्।
मुसाको संक्रमण
बाढी पहिरोका कारण पानीको मुहान दूषित हुन पुग्छन्। चिकित्सकका अनुसार वर्षाको मौसममा लेप्टोस्पाइरोसिस नामक ब्याक्टेरियाको जोखिम उत्तिकै हुन्छ। संक्रमित मुसाको पिसाबबाट बढी लेप्टोस्पाइरोसिसको सर्ने जोखिम हुन्छ। वर्षाको पानीमा संक्रमित मुसाको ब्याक्टेरिया बग्छ। शरीरमा भएको घाउ तथा चोट पटकबाट ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छ। मुखमा ब्याक्टेरिया परेको खण्डमा पनि व्यक्तिमा संक्रमण हुन सक्छ। सामान्यतः संक्रमण भएको पहिलो हप्तामै उपचार गर्नुपर्ने पुनको सुझाव छ। समयमै उपचार नगरेको खण्डमा व्यक्तिको ज्यानसमेत जान सक्ने चिकित्सक बताउँछन्।
लेप्टोस्पाइरोसिस ब्याक्टेरियाको संक्रमण भएको खण्डमा ज्वरो आउने, आँखा रातो हुने, शरीरमा डाबर आउने, पेट दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन्। आँखा रातो हुने, डाबर आउने, आँखा रातो हुनेजस्ता लक्षण पनि देखा पर्न सक्छन्।
कसरी हुन्छ पानी दूषित ?
काठमाडौँ उपत्यकाजस्तो सहरी क्षेत्रमा पानीमा कोलिफर्मको जोखिम हुने गर्छ। उपत्यकामा ढल र खानेपानीका पाइप सँगसँगै जोडिएका छन्। वर्षात्को पानीले दिसा–पिसाब पानीको मुहानमा मिसिने जोखिम त्यतिकै छ। विशेषगरी वर्षाको मौसममा इनार, ट्युवेल, बोरिङ, पम्पको पानी संक्रमित हुने जोेखिम रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी सह–प्रमुख मेडिकल टेक्नोलोजिस्ट ज्योति आचार्य बताउँछिन्। आचार्यका अनुसार, उपत्यकाका कतिपय बोरिङका पानीमा कोलिफर्म भेटिन्छन्। जार तथा मिनरल वाटर बोतलका पानी सुरक्षित छन् भन्ने निश्चित छैन। त्यसैले जथाभावी पानी नपिउन उनको पनि सुझाव छ।
वर्षाको सिजनमा सरुवा रोग फैलन उपयुक्त वातावरण हुने चिकित्सक बताउँछन्। त्यसैले पानीबाट बच्नु पर्छ।
आकाशे पानी करिब ५० देखि सय मिटर जमिनमा तल रसाएर जान्छ। सय मिटर तल जमिनमा वर्षात्को दूषित पानी पनि रसाएर जान सक्छ। त्यसैले विशेषगरी काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रमा इनार, पम्प, बोरिङको पानी शुद्धीकरण नगरी पिउँदा संक्रमणको जोखिम हुन्छ। जथाभावी फालिएको फोहोरमैलाका कारण संक्रमित पानी वर्षात्को पानीसँगै खानेपानीको मुहानसम्म पुग्दा पिउने पानी दूषित हुने जनस्वास्थ्य प्रयोगशालाका विज्ञ राजेशकुमार गुप्ताले बताए।
विशेषगरी उपत्यकामा एक सय फिटभन्दा कममा निकालेका पानी पनि अशद्ध हुने जोखिम भएकाले यस्तो पानी परिक्षण गरेर खान विशेषज्ञको सल्लाह छ। पानी खान योग्य छ वा छैन भन्ने जाँच गरेर मात्रै पिउनु पर्छ। एक सय फिटभन्दा माथिबाट निकालिएको पानी दिसाजन्य ब्याक्टेरियाको जोखिम हुन्छ।
पानीमा कोलिफर्म किटाणुको जाँच गरिन्छ। एमुनिया, आर्सेनिक, आइरन, कोबाल्टजस्ता पानीमा हुने हानिकारक रासायनिक तत्वको परिक्षण गरेर पानी पिउनुपर्ने गुप्ताको सुझाव छ। पानीमा यी तत्वको मात्रा आवश्यकताभन्दा बढी भए स्वास्थ्यमा नकारात्मक असर पुग्छ।
माटोको बनोटअनुसार पानीमा रासायनिक तत्व हुने भए पनि संक्रमण भने वर्षाको पानीसँगै बाहिरबाट बगेर पानीको मुहानमा पुग्छ। मुहानै फोहोर भएको अवस्थामा पानीमा संक्रमणको जोखिम हुन्छ। तराईको तुलनामा पहाडी क्षेत्रमा भने बगेको मूलको पानीमा व्यक्तिलाई हानी पु-याउने किसिमका रासायनिक तत्व कम देखिने गरेको प्रयोगशाला विज्ञ गुप्ता बताउँछन्। यसको अर्थ उपत्यका तथा तराई क्षेत्रको तुलनामा पहाडको पानी शुद्ध हुन्छ। प्रयोगशाला विज्ञ गुप्ताले भने, ‘जहाँ मानवबस्ती धेरै हुन्छ, त्यहाँ पानी बढी दूषित भएर संक्रमण हुने जोखिम हुन्छ।’
गुप्ताले काठमाडौँ उपत्यकाको पानीमा एमुनिया र आइरनको मात्रा धेरै हुने गरेको पाइएको बताए। एमुनिया बढी भएको पानी गन्हाउँछ। आइरन र एमुनिया धेरै भएको पानीले दाँतसमेत बिगार्छ।
झाडापखालाको दूषित पानीका कारण बालबालिकाको त ज्यानै जान सक्नेसमेत चिकित्सकहरु सचेत गराउँछन्। त्यसैले बालबालिको विशेष ख्याल गर्नु पर्छ। दूषित पानीकै कारण छालामा दाद, लुतो आउने, एलर्जी हुने जोखिम पनि त्यत्तिकै हुने विज्ञ चिकित्सकहरु बताउँछन्।
यसरी बच्न सकिन्छ
विभिन्न रोग लाग्न तथा ब्याक्टेरयाबाट बच्न खानेपानीका मुहान सफा हुनुपर्छ। बगेको पानी भन्दैमा फोहोर नहुने हुँदैन। मुहानमा जनावर तथा मान्छेको दिसा हुन सक्छ। कुवाको जमेको पानी पनि दूषित हुने जोखिम हुन्छ। जनावर तथा कुनै वस्तु कुहिएर बस्न सक्छ। सहरी क्षेत्रमा भने खानेपानी तथा ढलको पाइप फरक–फरक दुरीमा राख्नु पर्छ वा राखे पनि पानी दूषित हुन नदिने उपाय अपनाउनु पर्छ।
पानी नउमाली पिउनु हुन्न। पानी उमालेर शुद्धीकरण गर्नु नै भरपर्दो विधि भएको चिकित्सक बताउँछन्। उमालेको पानीले शरीरलाई घाटा नपु-याउने डा. पुनको सुझाव छ। पानी भकभकी उमाल्नु पर्छ। उमालेको पानीमा किटाणु मर्छ र त्यसपछि मनतातो वा सेलाएर पिउनुपर्छ।
रुघा लागेको समयमा, पेटसम्बन्धी समस्यामा तातो पानी पिउनु उचित हुने चिकित्सकको सुझाव छ।
पानीको शुद्धीकरण
पानी शुद्धीकरण गर्ने विभिन्न विधि छन्। पानीमा क्लोरिनको झोल, व्लिचिङ पाउडर हालेर पानी शुद्धीकरण गर्न सकिने डा. घिमिरेको सुझाव छ। क्लोरिनले पानीमा भएका ब्याक्टेरिया मार्ने चिकित्सक बताउँछन्। बजारमा पीयूष, वाटरगार्डजस्ता पानी शुद्धीकरण गर्ने औषधि पाइन्छन्। एक लिटर पानीमा २/३ थोपा क्लोरिन हाल्न सकिने गुप्ताको सुझाव छ। पीयूष पाँच थोपासम्म हाल्न सकिने उनी बताउँछन्। यस्ता पानी शुद्धीकरण गर्ने औषधिको मात्रा कम भए किटाणु नमर्ने र बढी भए स्वास्थ्यमा असर गर्न सक्ने हुँदा मात्रा मिलाएर हाल्नु पर्छ। फिल्टर गरी पानी शुद्धीकरण गरेर पिउन सकिने मेडिकल टेक्नोलोजिस्ट आचार्यको सुझाव छ। फिल्टर भने गुणस्तरिय हुन आवश्यक छ।
मृगौला फेलियर, मुटु, फोक्सो आदिको समस्या भएका व्यक्तिले आवश्यकता भन्दा बढी पानी पिउन नहुने तथा चिनी रोगीले धेरै पानी पिउनु नहुने चिकित्सकको सुझाव छ।
Leave A Comment