प्रहरीको जागिर छाडेर ‘मानव तस्करी’मा, मकाउँमा मुख्य याेजनाकार

शुक्रबार, १० साउन २०७६, ०८ : ०९ प्रजु पन्त
प्रहरीको जागिर छाडेर ‘मानव तस्करी’मा, मकाउँमा मुख्य याेजनाकार

नवीन अधिकारी सशस्त्र प्रहरी बलमा सई पदमा कार्यरत थिए । उनले अवकाश लिए । अहिले उनै नवीनको नाम गम्भीर अपराधमा जोडियो, ‘मानव तस्करी’ ।

उनी मात्रै हैन, हङकङमा बसोबास गरिरहेका उनका दाइ माइकल भनिने नारायष्ण अधिकारी, दुबई पुगेका उनका साला सतीश घिमिरेको नाम पनि मानव तस्करीमा जोडिएको छ । 

यी तीनै जनाको नाम पोलिएको घटना हो, लिबिया प्रकरण । इटाली लैजाने भन्दै लिबिया पुर्याइएका तीन नेपालीले बल्लतल्ल ज्यान जोगाएर स्वदेश फर्किए । एक जनाको त ज्यानै गयो । स्वदेश फर्किएका तीन जनामध्ये ‘शुक्रवार’को सम्पर्कमा आए दिनेश बस्नेत । उनैले नवीन र माइकल लगायतको मानव तस्करीमा संलग्नता खुलाए । 

दिनेशको दाबीअनुसार उनलाई मकाउमा रहेका माइकलले चोर बाटोबाट इटाली पुर्याउने आश्वासन दिएका थिए । जसबापत दिनेशको १० लाख खर्च भयो । सशस्त्रका पूर्व सई नवीन र सतीशले इटाली पुर्याए बापतको शुल्क भन्दै दुबईमा तीन हजार अमेरिकी डलर लिएको उनको दावी छ । नवीनका भाइ पूर्ण अधिकारी पनि उनीहरुसँगै लिबियासम्मै पुगे । उनी दिनेशहरुसँगै लिबिया पुगेका थिए र सँगै स्वदेश फर्किए । 

अहिले दिनेश नेपालमा छैनन् । उनी भारत पुगिसकेका छन् । उनलाई माइकलले मकाउबाटै  पैसा फिर्ता गर्नै आश्वासन दिँदै प्रहरीमा उजुरीका लागि नजान फकाइरहेका  छन् । दिनेशका अनुसार नवीन र सतीश पनि उजुरी नगर्न फकाइरहेका छन् । 

शुक्रवार साप्ताहिकको छापा संस्करणमा समाचार प्रकाशित भएपछि फेसबुकको म्यासेन्जर मार्फत सम्पर्कमा आएका नवीन र माइकले आफूहरु घटनामा संलग्न नरहेको दावी गरेका थिए ।

माइकलले पठाएको अडियो क्लिपमा आफेै पीडित भएको दावी गर्दै अर्केैको नाम लिए। नवीनले आफ्नेै पैसा फसेर भारत आएर बस्नु परेेको दावी गरे। 

तर दिनेशको बयान र शुक्रवारले प्राप्त गरेको प्रमाणमा भने इटली पूर्याउने प्रलोभन दिएर उनीहरुले लिविया पूर्याएको देखिन्छ ।

शुक्रवारले प्राप्त गरेको अडियो क्लिपमा माइकलले लिबियामा बस्दा खान नपाएको दुख पाएको बारे परिवारलाई नभन्न फकाउँदै ‘ अब तिमिहरु आफ्नो भविष्य आफैं विगार्छौ भने मैले के गर्न सक्छु र । मैले त खुल्ला ह्दयले सहयोग गर्दिन्छु भनेको हो । अब घरतिर फोन गर्ने, फोन गर्न लगाउने हो भने आफैं रेन्पोन्सिवल हुनुपर्छ । यति राम्रो गरिरहेको छ । इटली, माल्टा या टर्की तीनवटा देशको अप्सन दिएको छ’ भनेका छन् ।

अर्को क्लिपमा माइकलले तत्काल १५ सयको माग गरेका छन् । दिनेशका अनुसार १५ सय भनेको अमेरिकी डलर हो । इटली जान थप २ हजार ५ सय अमेरिकी डलरको माग गरेपछि उनले आफन्त मार्फत माइकलकी श्रीमतीको नविल बैंकमा रहेको खातामा एक लाख रुपैंया हालिदिएका थिए । 

दुबई–ट्युनिसिया, लिबिया हुँदै इटाली बोर्डर

(नवीन र माइकल । तस्बिर स्राेत : दिनेश )

दिनेशका अनुसार फेसबुकबाट सम्पर्कमा आएका माइकलले उनीसहित राजीव गुरुङ र नेत्र भट्टराईलाई विभिन्न देश हुँदै इटली पुर्याउने आश्वासन दिएका थिए । इटली पुग्दा १० लाखसम्म खर्च हुने बताएपछि उनीहरु राजी भएका थिए ।
सहमतिअनुसार उनीहरु गत माघ २ गते काठमाडौंबाट दुबईका लागि उडे । दुबईमा एक महिना बसेपछि फेरि ट्युनिसिया पू¥याइयो । ट्युनिसियाबाट समुद्री मार्ग हुँदै इटाली जान सकिन्छ तर उनीहरुले त्यताबाट इटाली लगेनन् । ट्युनिसियामा केही दिन राखेपछि उनीहरुलाई इटाली जान सजिलो हुन्छ भनेर द्वन्द्वग्रस्त मुलुक लिबियाको राजधानी त्रिपोली पुर्याए ।

त्रिपोली पुगेसम्म पनि माइकल सम्पर्कमै थिए । इमो एप्सबाट उनले कल गरिरहन्थे र ढुक्क भएर बस्न आश्वासन दिन्थे । जब उनीहरु त्रिपोली पुगे, बल्ल आफूहरु फँसेको चाल पाए । एक अस्पतालमा साढे २ महिना काम लगाइयो र इटाली लैजाने भन्दै भगाइयो ।

करिब २ दिनको नाउ यात्रापछि इटालीको बोर्डर नजिक त पुगे तर इटलीमा छिर्न भने सकेनन् । तेल सक्किएर अलपत्र परेका उनीहरुलाई पानी जहाजले उद्वार गरेर लिबियामा छाडिदियो । त्यसपछि उनीहरु लिबियाको विद्रोहीको कब्जामा परे । ३६ दिन विद्रोहीको क्याम्पमा यातना पाएर बसेका उनीहरु बल्लतल्ल अन्तर्राष्ट्रिय शरणार्थीसम्बन्धी संस्थाको सहयोगमा ट्राभल डकुमेन्टको आधारमा स्वदेश फर्किए ।

‘यहाँ आएपछि पनि माइकलसँग कुरा भएको छ,’ दीनेशले शुक्रवारलाई भने, ‘एक महिनापछि म आउँछु कतै नभन्नू, म पैसा तिर्छु भनेको छ । लिबिया जानकै लागि झण्डै १० लाख गुमेको छ । अब कानुनी बाटो नै रोज्ने निर्णय गरेको छु ।’


‘समुद्रको बीचमा झण्डै मरिएन’

( पासपाेर्ट नपाएपछि नेपाल अाउन प्रयाेग भएकाे सरकारी पत्र )

इटाली जाने लोभमा द्वन्द्वग्रस्त मुलुक लिबिया पुगेँ, लमजुङको सदरमुकाम बेशीसहरका दिनेश बस्नेत । २६ वर्षका उनले जे जति यातना भोगे, त्यसको कुरा गरी साध्य छैन । विद्रोहीको कब्जा अनि कारागार, समुद्रको बीचमा तेल बिनाको डुंगा यात्राको दुःस्वप्न, कपडा नहुँदा बोरा ओढेर सुत्दाको सकस ! पाउनसम्म यातना पाएपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा नेपाल आइपुगेका उनले शुक्रवारकर्मीसँग बाँडेको ज्यानै सिरिङ्ग बनाउने ६ महिना लामो यातनाको इतिवृत्तिः
००००
घरको आर्थिक अवस्था ठीकै थियो । प्लस टुसम्म पढेको थिएँ । विदेश जाने हुटहुटी थियो । नेपालमा नबस्ने नै सोच थियो । दाइहरुको काममा सहयोग गर्दै विदेश जाने उपाय खोज्दै बसेँ । विदेश गए ड्राइभिङ गर्नुपर्ला भनेर ड्राइभिङ सिकिसकेको थिएँ । 

सकेसम्म पोर्चुगल या पोेल्यान्ड जाने सोच थियो मेरो । त्यता जान २ पटक भारत पुगेर अन्तर्वार्ता पनि दिएँ तर फेल भएँ । जति प्रयास गरे पनि नभएपछि आत्तिन थालेँ, ‘हुन्न कि क्या हो’ भनेर । 

एक जना आफन्त लिबिया गएका थिए । उनको कमाइ राम्रो छ भन्ने सुनेको थिए । हङकङ बस्ने लमजुङ भोटेओडारका माइकल अधिकारी भनिने नारायण अधिकारीले विदेश पठाउँछन् भन्ने सुनेँ । फेसबुकमा खोेजेको फेला परे । फेसबुकमै कुरा हुन थाल्यो । 

उनले सुरुमै ‘तिम्रो भविष्य मेरो जिम्मा भयो’ भने । ‘महिनामा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ । सबै व्यवस्था म मिलाउँछु’ भने । महिनाको डेढ लाख कमाइ भए पुगिहाल्छ भनेर म पनि ढुक्क भएँ । पैसा कति लाग्छ भनेर सोध्दा ८ लाख भए पुग्ने बताएपछि म पैसा जोहो गर्न लागेँ । 

एक हप्तामा नै सबै कुरा टुङ्गो लाग्यो । उनले हामीलाई ‘लिबियाको नजिकै इटाली पर्छ,  इटालीको अप्सन पनि छ, मिले उतै जानुपर्छ’ भने । माइकलको सालो सतीश घिमिरे दुबईमा बस्ने रहेछन् । माइकलले उनैले सबै काम गर्छन् भनेका थिए । सतीशको घर हेटौँडा रहेछ । 
माइकले भने, ‘पहिले तिमीहरु भिजिट भिषामा दुबई आऊ त्यहाँबाट लिबिया आउने हो ।’  


भिजिट भिषामा दुबई
एक हप्तामै एक महिनाको लागि दुबईको भिषा लाग्यो । इस्टवेस्ट ट्राभलबाट दुबईसम्म जाने भयौँ । १६ जनवरी, २०१९ (२०७५ माघ २) मा नेपालबाट उड्यौँ । दुबईको एयरपोर्टमा सतीश लिन आए । उनले सिधै दुबईको अल्याण्ड सिटीमा लगेर राखे । त्यहाँ एउटा सानो रुम थियो । बस्दाबस्दै खुल्यो, त्यो रुममा पहिलो ग्रुपमा ३०÷४० जना पनि बसेका रहेछन् । हामी भने ५ जना मात्रै थियौँ । माइकलका दाइ नवीन अधिकारी, साला सतीश घिमिरे र हामी ३ जना ।
दुबई पुगेको एक हप्तापछि माइकलले भिडियो कलमार्फत् पैसा माग्यो । हामीले उनीहरुले बोलेको रेकर्ड गरेका थियौँ । रेकर्ड गरेको माइकलले थाहा पाएछ ।

सायद दाइ र सालोले भने होलान् । माइकलले रेकर्ड गरेको सबै डिलिट गरेर फाल भनेर थर्कायो । मनमा चिसो पस्यो । कतै फँसाउने पो हो कि जस्तो लाग्यो । नत्र कुरा गरेको रेकर्डमा किन चिन्ता ?
कामको लागि लिबिया राम्रो छैन भन्ने त दुबई गएपछि नै थाहा भयो । भने जस्तो तलब नआउने रहेछ । दुबईका साथीहरुले पनि राम्रो छैन, नजा भने । 

त्यसपछि मैले सतीशलाई ‘लिबिया त राम्रो छैन रे’ भनेँ । उनले ‘अरुको कुरा नसुन, म वर्किङ भिसा लगाउँदैछु’ भन्थ्यो । उनी बिहान–बेलुका हामीसँग भए पनि दिउँसो हराउँथे । 

एक दिन ‘सतीशले भिषा आउन पैसा चाहिन्छ’ भन्यो । सुरुमा ५ सय डलर मागेको थियो । दोस्रो पटक १ हजार डलर र तेस्रो पटक १५ सय डलर माग्यो । माइकलले हामीलाई नेपालमै छँदा केही डलर बोक्नु भनेर सिकाएको थियो । नगदै दिएँ ।  

नेपालबाट दुबईमा गएको एक जना दाइलाई भेटेँ । उहाँको रेस्टुरेन्टमा केही दिन काम पनि गरेँ । दुबईमा काम गरेर ८० हजार रुपैयाँ कमाएको थिएँ । हामी बसेको नजिकै पार्क र दुबई मल थियो । फुर्सदमा त्यता घुम्न निस्कन्थ्यौं ।
दुबईमा रहेका नेपाली दाइहरुले ‘लिबिया नजाऊ यतैबाट वर्किङ भिषा मिलाउनुपर्छ म सहयोग गर्छु’ भनेका थिए । मलाई पनि नजाम् क्यारे भन्ने लागेको थियो । साँझ माइकलसँग कुराकानी हुँदा उनले ‘अरुको कुरा नसुन, मैले भनेअनुसार काम गर राम्रो हुन्छ’ भन्थे ।

लिबियामा चुनाब हुन लागेकाले कामको संकट भएको र भिषा लाग्ने बेलासम्म त्यो अवस्था नरहने बताएका थिए । मलाई लाग्यो, दुबईमा वर्किङ भिसा लागे पनि त्यही ८० हजार, उता गए त डेढ लाख ! मौका पाए इटाली पनि जान सकिने ! म फेरि लिबिया जान राजी भएँ । 

एजेन्टको दाइलाई नचिन्दा 
दुबईमा गएपछि नवीन अधिकारीसँग भेट भएको थियो । २०÷२५ दिनसम्म केही चाइँचुइँ कुरा नभएपछि डर लाग्यो । एक दिन नवीनलाई सोधेँ, ‘दाइ, यो माइकल भनेको कस्तो मान्छे हो ? सबैले लिबिया राम्रो छैन भन्छन् उसले भने राम्रो हुन्छ भनिरहेको छ ।’
नवीनले भन्यो, ‘खै भाइ, मेरो घर पनि चितवन हो । म आफैँ पनि लिबिया जान लागेको हो । को हो त्यो म त चिन्दिनँ ।’  
नवीनले त्यसो भन्दा पूर्ण अधिकारी पनि साथमै थिए । 

लिबिया पुगेपछि पो पूर्णले नवीन हाम्रो दाइ हो भनेर खुलाए । मैले दुःख पोख्दै ‘आफूले त  धेरै पढेको पनि छैन, उता पनि काम पाइएन, यता पनि यस्तो हालत भो’ भनेको थिए । 
यति भनेपछि पूर्णले ‘हाम्रो दाइ नवीनले त नक्कली सर्टिफिकेट पेस गरेर पुलिसको सईबाट रिटायर भएको हो । नेपालाँ काम गर्न केको सर्टिफिकेट चाहिन्छ र ?’ पो भन्यो ! 

बल्ल थाहा भयो, दुबईमा माइकललाई चिन्दिनँ भन्ने नवीन त माइकलको दाइ पो रहेछ ! त्यो पनि पुलिसको सई भएर रिटायर्ड भएको ! उसले दुबईमा हामीले दिएको पैसा लिएर नेपाल फर्किएको रहेछ । 

करिब एक महिनाको दुबईको बसाइपछि फेब्रुअरी १६ (फागुन ४) मा लिबियाको भिसा आयो तर भिजिट भिषा । सतीशलाई सोधेँ ‘किन वर्किङ भिषा नआएको ?’ उनले ‘उतै गएर काम गरेपछि साहुले वर्किङ भिषा लगाइदिन्छ, ढुक्क हुनु’ भने । म ढुक्क भएँ । त्यही दिन प्लेनमा लिबियातिर लागियो ।

ध्वस्त लिबिया
चार घण्टाको यात्रापछि ट्युनिसियामा पुगियो । त्यहाँ २० घण्टाको ट्रान्जिट थियो । २० घण्टा यताउति टहलिएर समय कटायौँ । १८ घण्टाको प्लेन यात्रापछि लिबियाको मुसरता एयरपोर्टमा पुगियो । हामीलाई लिन त्यहाँको बोस आए । यसो एयरपोर्ट हेरेको त, गएगुज्रेको थियो । प्लेन अडाउने ठाउँ र टिकट काट्ने घर मात्रै थियो । वरिपरिको बस्ती देख्दा मनमा ढ्याङ्ग्रो नै ठोक्यो । एउटा घर पनि सद्दे थिएनन् ।

सबै घरमा गोली लागेका, भत्किन लागेका जीर्ण थिए ।
जानेबित्तिकै साहुले पासपोर्ट माग्यो । पासपोर्ट बुझाइयो । विदेशमा पासपोर्ट साथै राख्नुपर्छ भन्ने थाहा थियो । उसले यस्तरी थर्कायो कि नदिई सुखै थिएन । एयरपोर्टबाट ३÷४ घण्टाको दुरीमा रहेछ राजधानी त्रिपोली । एयरपोर्टमा लिन आएकैले त्यता लिएर गए । हामीलाई लानेबित्तिकै ढोका थुनेर बाहिर ताल्चा पो लगायो ! अब त  रुनु न हाँस्नु ! विदेशमा काम गरेर टन्न सम्पत्ति कमाएर नेपाल फर्किउँला भनेको त युद्धग्रस्त ठाउँमा अपराधीलाई जस्तो थुनामा पो राखे । त्यो खासमा लेबर सप्लायर कम्पनी रै’छ । त्यहाँबाट धेरै देशका हामीजस्तै कामदार हुने रहेछन् । कामदारको माग आएपछि हामीलाई पठाउने रहेछन् । 

सतिश घिमिरे, तस्बिर : दिनेश बस्नेत

दुई हजार डलरमा बेचेछन्
साहुले पासपोर्ट, कागजात सबै राखिसकेका थिए । कामदार चाहिएका कम्पनीका प्रतिनिधि त्यहाँ आउँथे । अन्तर्वार्ता दिन लगाइन्थ्यो । वेटरको, झाडु लगाउने जस्ता कामको मात्र माग हुन्थ्यो । म ड्राइभरमा काम गर्ने भनेर गएको थिएँ । ५÷७ पटक अन्तर्वार्ता दिँदा पनि म जान मानिनँ । 

त्यो थुनामा २० दिन बस्यौँ । त्यहाँ एक जनालाई हप्तामा एक किलो मात्र चामल दिन्थ्यो । १२ जना भारतीय नागरिक र हामी ३ जना गरेर १५ जना थियौँ । एक जनालाई हप्ताको एक किलो चामलले के पुग्थ्यो र ?

२० दिनमा त्यही सप्लायर्स कम्पनीको साहु हाम्रो कोठामा आएर जंगिदै भन्यो, ‘म तिमीहरुले सोचेजस्तो काममा लगाउन सक्दिनँ । भनेजस्तो स्यालरी पनि हुँदैन । अब आज भन्दा बढी पाल्न पनि सक्दिनँ । जस्तो काम पाउँछौँ, त्यस्तै काम गर । मैले तिमीहरुको एजेन्टसँग २ हजार डलरमा किनेको हुँ । मैले भनेको गर्नुपर्छ ।’
यो सुनेर म त छक्क परेँ । स्कुल पढ्दा दासप्रथामा मान्छे किनबेच हुन्छ भन्ने पढेको थिएँ  । आज आफैँ बेचिएछु । नेपाल सम्झिएँ । आमालाई सम्झिएँ । तीन दाजुभाइको कान्छो म । दाइहरुको अनुहार झलझली याद आयो । चिच्चाएर रुन मन थियो, भाग्न मन थियो । भाग्ने कहाँ ? 

बाहिर बेलाबेला बन्दुक पड्किएको आवाज आउँथ्यो । जब बन्दुक पड्केको आवाज आउँथ्यो, म हात जोडेर भन्थेँ, ‘भगवान् यो ठाउँबाट छिटो उम्काइदेऊ ।’

केही सीप लागेन । भने अनुसारको काम पाइएन । एउटा अस्पतालमा वेटरको काम आयो । हुन्छ भनेँ । अस्पतालमाथि क्याफे थियो । अस्पतालको नाम सिजिएच थियो । युद्धमा लडेका सिपाही उपचार गर्न आउँथे । कसैको हात छैन, कसैको भुँडीमा, कसैको टाउकोमा चोट लागेको हुन्थ्यो । 

साढे दुई महिना अस्पतालमा काम गरेँ । 
त्यहाँ चल्ने अरबी भाषा रै’छ । हामीलाई भाषा नआउने । म्यानेजरले अलिअलि अंग्रेजी बोल्थ्यो । उसैसँग कुरा गथ्यौँ । वरपरको वातावरण हेरेर मन एकदमै त्रस्त हुन्थ्यो । बाहिर निस्कन पनि डर । त्यही अस्पतालमा बस्ने प्रहरीले हामीलाई बाहिर के भइरहेको छ भनेर भनिरहन्थ्यो । सुन्दै अत्यास लाग्थ्यो ।

कहिले मरिन्छ जस्तो लाग्न थाल्यो ।
फेरि माइकललाई इमोबाट म्यासेज गरेँ । उनले ‘अब केही दिनमा तिमीहरुको यात्रा इटाली हुन्छ, नआत्ती बस’ भन्यो । उनले अहिले मुसलमानहरुको रमादान छ । यो सकिएपछि इटालीको यात्रा शुरु हुन्छ भनेका थिए । 
माइकलले हामीलाई विश्वस्त पार्न उसैले पठाएको मान्छे इटाली कसरी आइपुगेँ भनेर भ्वाइस मेसेज पनि ग¥यो । जसमा एक जनाले राम्रोसँग इटाली आइपुगेको र शरणार्थी क्याम्पमा बसेको विवरण थियो । पछि पो थाहा भयो, त्यो म्यासेज नै नक्कली रहेछ । 

त्यही लिबियामा पूर्ण आयो । ऊ त एजेन्ट थियो । काम गर्ने ठाउँमा पनि कामदारको भन्दा एजेन्टको विशेष व्यवस्था हुन्थ्यो । उनले हामीलाई ‘३ हजार डलर दे र त्यो कम्पनीबाट भाग, म व्यवस्था गर्छु’ भने । मैले ५० हजारमा आइफोन पनि बेचेँ । नेपालबाटै भाञ्जाले पूर्णले भनेको खातामा एक लाख रुपैयाँ राखिदिए । अरु बाँकी उतै पैसा दिए ।
हामी राति भाग्यौँ । भाग्दा कसैले अवरोध गरेन । अस्पतालको प्रहरीले देखे पनि नदेखेजस्तै गरिदिए । 


भेडा बाख्रा जसरी गाडीमा कोचीदाँ 

( माइकलकाे श्रीमतीकाे नामकाे बै‌क खातामा एक लाख जम्मा गरेकाे भाैचर )

रातको चकमन्न अँध्यारो थियो । कता लगेको केही पत्तो पाइएन । जिपमा भेडाबाख्रा हुले जसरी राखेका थिए । बाहिरबाट पुरै त्रिपालले बेरेका थिए । सानो जीपमा १६ जना थियौं । करिब तीन घण्टा जति निस्सासिएर बसियो । 
तीन घण्टाको सकसपूर्ण यात्रापछि समुद्रको किनारामा पुगियो ।

आइफोन अस्पतालमै बेचेको थिए । मसँग सम्पर्क गर्ने केही साधन थिएन । केहीबेरपछि बोट आयो । बंगाली र हामी १६ जना थियौँ, अफ्रिकी मूलका २० जना । माइकलले पानी जहाजमा जाने भनेको थियो तर काठको डुंगामा पो हालियो । त्यहाँको एजेन्टले ४ घण्टापछि इटालीको बोर्डरमा पुग्छौँ, त्यहाँ उद्दार गर्न आउँछन् भनेको थियो तर बोटमा राखेको बिस्कुट र पानीले यात्रा लामै रहेछ भन्ने लाग्यो । नराम्ररी फँसियो भन्ने लागेकै थियो । शंका लागेर के गर्नु ? उनीहरुले जे भन्छन्, मान्नुको विकल्प थिएन ।

त्यतिबेला बिहानको त्यस्तै २÷३ बजेको हुनुपर्छ । शंकैशंकामा समुद्रको बाटो लागियो । समुद्रमा हिँडेको १६ घण्टा भइसक्दा पनि बोर्डर आएन । समुद्रको एकोहोरो हिँडाइले मलाई सञ्चो भएन, उल्टी हुन थाल्यो । केहीबेरपछि त्यो बोटको त तेलै सकियो । हावाले जता लान्छ बोट उतै बत्तिन थाल्यो । त्यतिबेला लाग्यो, म यहीँ मर्न आएको रहेछु ।
केही समयपछि टाढाबाट एउटा ठूलो पानी जहाज आएको देखेपछि बाँच्ने आशा पलायो । उद्धार गर्न आएछन् जस्तो लागेको थियो ।

हामी उसको पछिपछि जान खोज्यौँ तर त्यो जहाज त भाग्यो । जति साझँ प¥यो उति समुन्द्रमा छाल आउने रहेछ । डुंगाभित्र पानी पस्न थाल्यो । साथीहरु रुन थाले । म भने वाकवाकी लागेर इन्तु न चिन्तु भएको थिएँ । त्यसमाथि नजिकै ह्वेल माछा ! त अब यसले निल्यो भनेर सात्तो जान्थ्यो । 

एक घण्टापछि एउटा पानी जहाज हामी भएकै ठाउँमा आयो । त्यो डुंगा सिंगापुरको रहेछ । उनीहरु डेनमार्क हिँडेका रहेछन् तर तेल सकिएर लिबिया फर्कन आँटेको थिए । मसहित तीन जना र बंगाली त्यसैमा बस्यौँ । अफ्रिकनहरु बस्न मानेनन् । 

लिबिया फर्किए त्यहाँ पक्राउ गर्छन् र कुटाई खाइन्छ भन्ने डर रहेछ । उनीहरुमध्ये लिबियाको जेलमा बसेर कुटाई खाएका केही पनि रहेछन् । हातखुट्टाको नङ निकाल्ने, टाउकोमा ताल्चाले हिर्काउने, सुम्ला बस्ने गरेर सिर्कनाले हान्ने रहेछन् । उनीहरु डराए । बाँचिने लोभमा म भने चढेँ ।

३६ दिन ‘ओसामा’ जेलमा
हो रहेछ ! लिबियाको समुद्री किनारामा आइपुगेपछि जहाजका व्यक्तिहरु तेल हाल्नतिर लागे । हामीलाई लिबियाका विद्रोही समूहका सदस्यले पक्राउ गरेर उनीहरुको क्याम्पमा लगे । 

विद्रोहीको क्याम्पको के कुरा गर्नु ! नर्क भन्या यही रहेछ भन्ने लाग्यो । 
त्यो जेललाई ओसामा क्याम्प भनिने रहेछ । क्याम्पमा दुई सय भन्दा बढी बन्दी थिए । विद्रोही सबैको हातमा बन्दुक थिए । 

त्यहाँको कोठासँगै बाथरुम थियो । पानी त्यही बाथरुमको खानु पर्ने । त्यो पनि नुनिलो ! त्यो ठाउँमा असाध्य जाडो रहेछ । मैले लगाएको ज्याकेट मात्रै थियो । फिलाको जुत्ता थियो । विद्रोहीले राम्रो कुरा देख्नै नहुने ! ज्याकेट र जुत्ता खोसेर लगिहाले । पहिलो दिन त कुटाई पनि खाइयो । मर्नेगरी कुटे तिनले । 

खानामा बिहान एउटा पाउरोटी दिन्थे । त्यसको १२ घण्टा पछि एक थाल म्याक्रोनी । त्यो पनि ५ जनाले बाँडेर खानु पर्ने ! त्यतिबेला थाहा पाएँ, भोक के हो ? तिर्खा के हो ?

विद्रोहीले हामीसँग तीन हजार डलर माग्यो । थिएन कसरी दिनु ? फोन गर्न मोबाइल थिएन । उनीहरुले एजेन्ट को हो भनेर सोधे । हामीले लिबियाकै मान्छेको नाम लिएपछि उनीहरुले  गर्ने व्यवहार फरक भयो । दोस्रो दिनबाट कुटेन । अफ्रिकनहरुलाई गर्ने व्यवहार भने त्यस्तै थियो । खाना खाने बेला कुट्थे । १२ दिनसम्म कुटाइ खाँदा चिच्याएको आवाज सुनेरै बित्यो । 

सायद उनीहरुलाई हामीबाट पैसा झर्दैन भन्ने लागेछ क्यारे, छोडिदिए । १२ दिनपछि बाहिर निस्कदा त युएनको क्याम्प देखेँ ! त्यसपछि मेरो आँखा रसायो । घर जान पाउँछु भन्ने लाग्यो । 

सिमेन्टको चिसो छिँडीमा बितेका थिए दिन । लगाएको जुत्ता र ज्याकेट पनि लगेपछि धेरै जाडो भएर ट्वाइलेटमा राखिएको बोरा ओडेर सुतेको थिएँ । अब भने त्यो पर्दैन भन्ने लाग्यो । 

बाहिर हामीलाई सबै कुरा सोधियो । मैले जेलको अवस्थाबारे सबै भनिदिएँ । ५ दिन जति त्यही क्याम्पमा बसियो । त्यहाँ भने पेटभरि खान पाइयो । 

५ दिनपछि युएनका मान्छेहरु कागजात मिलाउने भनेर गए । मैले कुरा लगाएको भनेर फेरि विद्रोहीको कब्जामा पुगेँ । १८ दिनसम्म कोचेर राखे । खानको पारा उही, बस्ने पारा उही । हाम्रो बारेमा किन भनिस् मार्दिऊँ भनेर तर्साउँथे । 
१८ दिन राख्दा पनि पैसा नझरेपछि विद्रोहीले राष्ट्र संघकै क्याम्पमा ल्याएर छोडिदिए । क्याम्पमा आइएमओ (अन्तर्राष्ट्रिय आप्रवासी संगठन)ले नेपाल फर्किने सबै चाँजोपाँजो मिलायो । 

घर आउने दिन मन गह्रौँ भयो । के सपना सोचेर गएको थिएँ, के भोगेर पुग्ने भएँ भन्ने लाग्यो । दुबईमा भएको दाइलाई ऊसँग छुट्टिएपछि के के भयो भनेर सबै बेलिबिस्तार लगाएको थिएँ । क्याम्पमा कम्तीमा मन र धक खुलेर बोल्न पाएको थिएँ । उसले नै असार १९ गते घरमा मेरो अवस्था सबै सुनाइदिएछ । 

यसपछि क्याम्पमा नेपाल फर्कने सबै चाँजो मिलाइयो । यसपछि असार २० मा टर्की हुँदै नेपाल आइपुगेँ ।
यहाँ आएपछि पनि माइकलसँग कुरा भइरहेको छ । एक महिनापछि म आउँछु कतै नभन म पैसा तिर्छु भनेको छ । लिबिया जानकै लागि झण्डै १० लाख गुमेको छ ।
अब कानुनी बाटो नै जाने निर्णय गरेको छु । त्यो पैसा उठाउन पाए यतै काम गर्छु भन्ने लागेको छ । 


बढ्दो तस्करी
मानव बेचविखन अनुसन्धान ब्युरोको ५ वर्षको तथ्यांकअनुसार मानव ओसारपोसारको तथ्यांक बर्सेनि बढेको छ । आर्थिक वर्ष २०७१÷७२ मा १ सय ८१ जना पीडित थिए । ०७२÷७३ मा २ सय १२ पुग्यो । ०७३÷७४ मा २ सय २७, ०७४÷७५ मा ३ सय ५ र ०७५÷७६ को ६ महिनासम्मको १ सय ९० पीडित देखिएका छन् । प्रहरीमा आएको उजुरीको संख्या मात्र हो यो त ! प्रहरीमा नआएकाको संख्या यो भन्दा भयावह छ ।

लोभको फन्दा
पीडितको बयानअनुसार लोभलालच, नक्कली विवाह, घुम्ने बहाना, आफन्त भेटाउने, ललाइफकाइ, धाकधम्की, जागिरको बहाना र विदेश जाने बहानामा मानव तस्करी हुने गरेको छ ।

महिलाको संख्या धेरै
ब्युरोको तथ्यांकअनुसार अहिलेसम्म भारत, कुवेत, किर्गिस्तान, इराक, लिबिया र केन्याबाट नेपालीहरु उद्धार गरिएको छ । उद्धार हुनेमा १ सय ९६ महिला, ५५ जना पुरुष छन् । यो तथ्यांक ०७÷११ ÷२०७५ देखि १÷४ ÷२०७६  सम्मको होे ।

Leave A Comment