प्रतिपक्षी पथिक

बुधबार, १९ साउन २०७३, १० : ३९ गुरुङ सुशान्त , Kathmandu
प्रतिपक्षी पथिक

लेख्नु, निरन्तर लेख्नु र उत्पीडितको पक्षमा लेखिरहनु सानो विश्वासको कुरो होइन । समाजमा व्याप्त विरूप विभेद, सदनको सनातनी सनक र नेतृत्वको निरीहतामाथि अनवरत प्रहार गर्नु कम जोखिमपूर्ण कर्म हुँदै होइन । सहज सडकमा बुर्कुसी मार्ने मनुवाहरू विकल्प लिएर बाँचेका हुन्छन् । संकटको समयमा तिनका विकल्प हुन्छन्; मौन रहनु, गुफावासमा जानु र सत्ताको सत्तलमा शरण पर्नु । तर, केही लेखकको छाती हावाहुरीले थर्कमान हुँदैन । सडकबाट खबरदारीको औँलो ठड्याउनु, निमुखाको पीडामा आवाज दिनु र बल्दो आवाजमा पाइन भर्नु नै आफ्नो परम कर्तव्य सम्झन्छन् ती । सत्ताको उन्मत्त सिङले फैलाएको जगजगीबाट ज्यान जोगाउने ध्याउन्नमा पनि लाग्दैनन्  । ती लेखिरहन्छन् निडर कलम च्यापेर । राज्यको हठधर्मी बाँझो बुद्धिविरुद्ध उत्रिने जोदाहा कलमको अर्को गहकिलो नाम हो– खगेन्द्र संग्रौला ।

        खगेन्द्र संग्रौला आख्यानको मोर्चामा पनि उज्यालो छन् नै । तर, आख्यानभन्दा निबन्धमा कैयौँ गुणा चम्किला छन् उनी । संस्मरणात्मक निबन्धमा ‘मास्टर’ नै हुन् संग्रौला । पछिल्ला दशकमा उनको आख्यानकर्म केही सुस्ताएको छ भने निबन्धयात्रा फस्टाइरहेको छ । तीन–चार वर्ष यताको अनुवादलाई पन्छाएर गनिल्याउँदा पनि सालिन्दा एक–एक थान निबन्धको पुस्तक प्रकाशित छ संग्रौलाको । उनका निबन्धको पर्खाइमा बसेका पाठकको धाराबाहिक प्यासलाई सम्बोधन गर्ने गतिलो खुराक हुनसक्छ, ‘उत्तरआधुनिक अन्तरेपथ’ ।
‘उत्तरआधुनिक अन्तरेपथ’ पनि संग्रौलाले आफ्नो ‘ट्रेडमार्क’ जोगाएका छन् । समय र परिस्थितिको सामयिकतामा पत्रिकाका रंगिन पृष्ठहरूमा झल्किएको बखत यी निबन्धको न्यानोपन धेरै पाठकले लिइसकेको हुनसक्छ । कति पाठकले संग्रौलाको नाम देख्नेबित्तिकै पाना पल्टाएको पनि हुनसक्छ । विचारको केन्द्रीयताकै कारण पाठक र अपाठकबीच उनको ख्यातिजति छ, बदनामी पनि उति नै छ सायद । तर, संग्रौलाले निर्माण गरेको संकथनसँग डराउनेहरू तर्क, तथ्य र बहसको मैदानबाट भाग्छन् । भाग्नेहरूले गालीको काँडाघारीमा मात्र आफूलाई सुरक्षित देख्छन् । यता संग्रौलाका पाठकहरू भने विचारप्रति असहमत भए पनि कमनीय भाषाको मोहनीमा फसेर ती पाठमा बारम्बार ‘इन्जोय’ गर्छन् । ‘इतर विचार’ माथि घोत्लिरहेका पाठकले यी निबन्धबाट थोरै भए पनि स्वाद फेर्छन् ।

खुद्रा–मसिना, व्यक्ति–विम्ब र भूकम्प अध्यायमा बाँडिएका यी ३३ थान निबन्ध पढ्दा थाहा हुन्छ, वैचारिक तागतको जमिनमा फेरि पनि खरो र दरोसँग उभिएका छन् संग्रौला । दशकौँसम्म दुख्ने घाउ र दुःख थमाएर गएको छ भूकम्प । संग्रौलाले स्विकारेजस्तै भूकम्प त केवल धरतीको स्वभावको एउटा आयाम हो । सञ्चित विकारबाट मुक्ति पाउने चेष्टा हो धरतीको । भूकम्प कति विनाशकारी हुने÷नहुने प्रश्नले तानेर ल्याउने तर्कमा मानवीय विवेक र राज्यको नीति नै प्राथमिकतामा पर्ने यथार्थ हामीले बोध गरिसक्यौँ । भूकम्पपछाडि निर्मित भौतिक संरचनालाई मात्र हेरेर भन्न सक्छौँ, हामी नेपाली जाति साह्रै बोधो रहेछौँ ।
                    महाविपत्तिको चरमोत्कर्षमा सबैभन्दा ज्यादा माया आफ्नै जीउको लागेको कुरा स्विकारेका छन् संग्रौलाले । भूकम्पले कति जीवनका आशा र सपनालाई कंक्रिटको पहिरोले धुलोपिठो पारिदिएको छ । कतिका सपनाहरू आफ्नै आँखाअगाडि अर्धमृत भएका छन् । र, पलपल आफ्नै सपनाको मौन मलामी जान विवश जनको पीडा कुनै तथ्यांकको आरोह–अवरोहले बताउन सक्दैन । भूकम्पले तर्साएको मात्र मनमण्डलाका रङ र चित्र पनि कम उदेकलाग्दो छैन । बडेबडे घरका मालिक, डेरावासी र साना घरका मान्छेहरू एउटै पालमुनि संवाद–सहकार्य गरिरहेको दृश्यले सकारात्मक भाव पनि उमारिदिएछ संग्रौलाको मनमा । तर, त्यो दृश्य क्षणिक र स्वार्थी थियो । केही हप्तामै विशाल घरका साना मनहरूले सामाजिक ‘स्ट्याटस’ खूब ख्याल गरे । झुपडीवासी र डेरावासीसँगको संवादको तार काटे तिनले । घरबारविहीन मनुवाको पेटभित्र अग्लिरहेको भोकको धरहरा बेवास्ता गर्दै भीमसेन स्तम्भको चिन्ता गर्ने कुलीन व्यापारीहरूको अभिव्यक्तिले पनि पीडितहरूलाई बोनसमा पीडा दिएकै हो ।

           जनताको जीविकाको जिउँदो समस्या र मन्दिरजस्तो फुर्सदको मनोरञ्जनलाई हाराहारीमा तौलने सत्तालाई सरल शैलीमा व्यंग्य गर्छन् संग्रौला । लेख्छन्, ‘मानिसलाई घर अहिल्यै चाहिएको छ, देवी–देउतालाई बिस्तारै भए पनि हुन्छ । घरविहीन मानिस भय, असुविस्ता र असुरक्षाको शिकार बन्छ, देवी–देउतालाई केही फरक पर्दैन ।’ संग्रौलाको दर्शन सामान्य छ, मानिस पहिले–देउता पछि । उनी चाहन्छन्, सरकार र सरोकारवालाका आँखामा पनि ‘मानिस पहिले’ को चश्मा होओस् । पाठको रूपमा लिँदा भूकम्पले केही सिकाएर गएको छ पक्कै ।
  ‘उत्तरआधुनिक अन्तरेपथ’को क्यानभासमा केही व्यक्तिचित्रले आफ्नो पुष्ट कलाकारिता देखाएको छ । व्यक्तिचित्र कोर्दा संग्रौलाले कलाको ब्रस मात्र चलाएका छैनन्, वैचारिक रङ अझ गाढा बनाएका छन् । सामान्यतः यसमा आदर्शवादी चारित्रिक गुणयुक्त महान् व्यक्तिको याद, परिवेश र प्रभावशाली वर्णन गरिन्छ । स्वानुभूत विषयको अंकन र पुनर्सिजन पनि गरिने हुँदा व्यक्तिप्रति तटस्थ नहुने जोखिमपूर्ण सम्भावना रहन्छ नै । संग्रौलाले कुनै व्यक्तिको एकोहोरो प्रशंसा या आलोचना गरेका छैनन् । गोकुल जोशी, युद्धप्रसाद मिश्र, पारिजात, कृष्णचन्द्रसिंह प्रधान, अग्निशिखा, गोविन्द भट्ट, शैलजा आचार्य, मोहनविक्रम सिंह र भरत भूर्तेलमाथिको पोट्रटमा आफ्नो आलोचनात्मक चेत र व्यक्तिको आदर्श–पक्षलाई सराबरी घोलेका छन् उनले ।

                  पुस्तकमा संगृहीत व्यक्ति–विम्बमध्ये स्वादिलो विम्ब हो, गोविन्द भट्ट । नेपाली माक्र्सवादी सौन्दर्य–चिन्तकमध्ये धुरी व्यक्तित्व मानिन्छन् भट्ट । चालीसको दशकमा ‘नेपाललाई बुझ्ने समस्याः एक लामो र कठिन प्रक्रिया’ लेखेर उच्च बौद्धिक व्यक्तित्वका रूपमा स्थापित भट्ट निर्भीक समालोचक पनि हुन् । ‘शिरीषको फूल’लाई सुन्दर तर गन्धहीन खोक्रो कागजको फूलसँग दाँज्ने  र ‘तीन घुम्ती’लाई छाडावादको स्वीकृति ठान्ने भट्टलाई आज पनि शीर्षस्थ चिन्तककै रूपमा ससम्मान चर्चा गरिन्छ । संग्रौलाले पनि भट्टको साहित्यिक र सांस्कृतिक योगदानलाई ससम्मान सम्झेका छन् । तर, भक्तिवादी चिन्तनप्रति संग्रौलाको कुनै लय मिल्दैन । र, त भट्टलाई तार्किक रूपमा आलोचना गर्छन् उनी ।
                वामपन्थी आदर्शका उच्च हिमाल मानिएका भट्ट शाही शासनकालमा वासुदेव त्रिपाठीको अगुवाइमा प्रज्ञा प्रतिष्ठानमा सगर्व छिरेको प्रसंगलाई संग्रौला सम्झन्छन् ,‘भट्टले त्यस जनद्वेषी तन्त्रलाई घ्याप्पै समर्थन गरे र जन्मिन लागेको गणतन्त्रलाई पनि छोडिदिए । त्यो क्षण, खुनी मकरतन्त्रको समर्थन गर्दाको त्यो कुरूप क्षण, गोविन्द भट्टको वैचारिक अवसानको त्रासद क्षण थियो त्यो ।’ एमाले विचार, निष्ठा र नैतिकतामा ओरालो लाग्दा पनि टुलुटुलु हेरिरहने उनै भट्टप्रति संग्रौलाको घोर विमति प्रस्ट हुन्छ ।  यही प्रस्टता, अडान, दरिलो प्रतिपक्षी पथले नै उनलाई आजसम्म खगेन्द्र संग्रौला बनाइराखेको हो ।
     तीखो कलम बोकेका भरत भूर्तेलले डा. रामवरण यादवमाथि पुस्तक लेखिसकेर अचानक आत्महन्ता रोजे । आत्महत्याको पक्ष–विपक्षमा व्यक्तिपिच्छे फरक मत आउनसक्छ । संग्रौलाको आशय छ, पारिवारिक आर्थिक संकटले ग्रस्त भूर्तेललाई चाहेको भए राष्ट्रपति कार्यालयले बचाउन सक्थ्यो । लेख्छन्, ‘बेहोशी वा करुणाहीनता प्रदर्शन गर्दै तिनलाई रस चुसिएको आँपको कोयोझैँ ठानेर शीतल निवासबाट गौशालाको उष्ण पशुपति गेस्ट हाउसमा चलान गरियो ।’ संग्रौलालाई राम्रोसँग थाहा छ, त्यो जीवनीभन्दा बढी फगत प्रायोजित स्वगाथा थियो । व्यंग्यको वाण चलाउने एउटा जुझारु कलम ऋण लाग्दैमा प्रशस्तिगान लेख्न सत्ताको पटांगिनी धाएको विकृत चित्रप्रति संग्रौलाको जाग्नुपर्ने आलोचनात्मक चेत निदाएकोमा चाहिँ उदेक लाग्छ । उनको कलम सत्ताका ठालु चिन्तनप्रति त बारम्बार बज्रिरहेकै छ । उनकै शब्दमा ‘राष्ट्रका निधि’ शासक–परिक्रमामा जुत्ता खियाइरहेको यथार्थलाई पनि प्रहार गर्नुपर्ने थिएन र ?
   वरिष्ठ कवि विमल निभाले कतै भनेका छन्, ‘जीवनको छ दशकसम्म कम्युनिस्ट र कवि दुवै हुनु कम उपलब्धि हो ?’ यो साँच्चै कठिन प्रक्रिया र साधना हो । संग्रौला आफैँमा सशक्त विम्ब हुन्, जो वामपन्थी र प्रतिरोधी कलम लिएर सडकको मोर्चामा छन् । सडकको तातो मोर्चामा  हातेमालो गरेका वामपन्थी नेता सदन हुँदै सत्तामा पुगेपछि पुरानै सत्ताको चरित्रमा कायाकल्प हुन्छन् । र, यता सडकमा फेरि संग्रौलाहरूको आवाज–आवश्यकता खड्किन्छ ।  संग्रौलाहरूको जीवनको साझा वृत्ति हो, राज्यप्रति सधैँ असन्तोष पोख्नु र पोखिरहनु । गोकुल जोशीलाई सम्झँदै संग्रौला लेख्छन्, ‘गोकुल जोशीको जीवन अधुरो क्रान्तिप्रतिको असन्तोष र निजी सन्तापको आगोमा मन्द गतिमा जलेर सकिएको एक त्रासद कथा हो ।’ हामी धारावाहिक त्रासद कथा पढ्न बाध्य छौँ ।
खुद्रा–मसिना भनिएका लेखहरूमार्फत राष्ट्रिय समस्याका पोयो फुकाउन सफल छन् संग्रौला । नारायणहिटी संग्रहालय घुमेको सामान्य वर्णनलाई घुमाउरो भाषामा गम्भीर स्वाद दिन्छन् संग्रौला । नारायणहिटीतिर चोर औँलो ठड्याउँदै कुर्सीका पुराना व्यापारीहरूले ‘ग्रान्ड डिजाइन’ को हाउगुजीबाटै अनेक मोलमोलाइ गरे । व्यापारमा नाफैनाफाको चुचुरो चुमे सायद । यता स्वतन्त्रताको शिक्षक संग्रौला कहिले ‘भतिज दीपेन्द्र’ लाई करुणाले सुमसुम्याउँछन्, कहिले ‘जनसाधारण महिला’को आवाजबाट रक्तखेल र गद्दीको सुुसंगठित साइनोको डोरी कस्छन् ।
   खगेन्द्र संग्रौला ससाना घटनात्मक विम्बलाई राष्ट्रिय सरोकारसँग जोडेर व्याख्या गर्न मात्र माहिर छैनन्, विगतका मानवीय कमजोरीलाई पनि आत्मालोचना गर्न सहजै तयार देखिन्छन् । आफ्नै नजरमा आफ्नो दुर्गति देख्नको लागि अहंकार र दम्भको चश्मा त फाल्नुपर्दो रहेछ । संग्रौलाको निबन्धले मनमोहक यात्रा गर्छ । तर, घुमिफिरी पुग्ने गन्तव्य हो राजनीति । हाम्रा जेजति बौद्धिक कर्म हुन्छन्, ती सबै राजनीतिक विमर्शका साधन हुन सक्छन् । संग्रौलाको लामो लेखनयात्रा वैचारिक बलमै अघि बढेकाले उनको विश्वास पनि यसैमा हुनुपर्छ । जनबोलीलाई आफ्नो लेखनीको रफ्तारमा बगाउने ‘स्ट्राइकर’ नै हुन् संग्रौला । आफ्नो ट्रेडमार्कसहित उभिएको छ, ‘उत्तरआधुनिक अन्तरेपथ’ ।

 

 

Leave A Comment