निःशुल्क छोडी बास्नादार कन्डम

मङ्गलबार, १४ साउन २०७६, ०३ : ३८ शुक्रवार
निःशुल्क छोडी बास्नादार कन्डम

प्रायः हरेक स्वास्थ्य संस्थाअगाडि देखिने निःशुल्क कन्डम बाकस दोलखाको विकट गाउँ दूधपोखरीस्थित स्वास्थ्य चौकीले अहिले हटाइदिएको छ। कन्डम लिन सर्वसाधारण आउन छाडेका र स्वास्थ्य चौकीमा सञ्चित कन्डमको म्याद गुज्रिन लागेपछि बाकस नै हटाइएको हो। ‘निःशुल्क कन्डम स्वास्थ्य चौकीमा पाइन्छ भनेर धेरैजसो सर्वसाधारणलाई थाहा छ,’ स्वास्थ्य चौकीका इन्चार्ज श्यामसुन्दर यादवले भने, ‘तर कोही पनि लिन आउनुहुन्न, त्यसैले यो नयाँ भवन बनेपछि कन्डम बाकस बाहिर राखेका छैनौं।’

शैलुङ गाउँपालिका–१ मा पर्ने यो स्वास्थ्य चौकीमा गाउँपालिका कार्यालयको स्वास्थ्य शाखाले दुई वर्षअघि पठाएको कन्डमको मौज्दात जस्ताको तस्तै छ। ‘स्वास्थ्य चौकीको तर्फबाट गाउँघरमा हुने कार्यक्रम र क्लिनिकमा कन्डम प्रयोगबारे जानकारी दिन्छौं,’ उनले भने, ‘तर पनि लिनै आउनुहुन्न।’ उनले स्वास्थ्य संस्थामा मौज्दात कन्डमको म्यादसमेत गुज्रिन थालेको बताए।

दूधपोखरी स्वास्थ्य चौकीमा जस्तै जिल्लाभरका स्वास्थ्य संस्थामा उस्तै अवस्था छ। कन्डमको माग र खपत ह्वात्तै घटेको छ। सरकारले विभिन्न स्वास्थ्य संस्थामार्फत औषधि तथा यौनरोग नियन्त्रणका साथै परिवार नियोजनका अस्थायी साधनको रूपमा कन्डम निःशुल्क बाँड्दै आएको छ। स्थानीय तहमा रहेका स्वास्थ्य शाखामार्फत जिल्ला सदरमुकाममा औषधि माग पठाउँदा प्रायः स्वास्थ्य चौकीले कन्डम माग गर्नै छाडेका छन्।

प्रदेश सरकारअन्तर्गत सदरमुकाम चरिकोटस्थित स्वास्थ्य कार्यालयका प्रमुख डम्बर थोकरले समेत गाउँबाट कन्डमको माग आउन छाडेको बताए। ‘तल स्वास्थ्य संस्थाबाटै माग आउन छाड्यो,’ उनले भने, ‘माग नआए पनि भएको स्टक पठाइदिने गरेका छौं।’ कन्डमको माग घटे पनि महिलाले प्रयोग गर्ने पिल्स र डिपोको माग अत्यधिक रहेको थोकरले सुनाए। ‘महिलाले प्रयोग गर्ने तीनमहिने सुई र पिल्स चक्कीको मागचाहिँ असाध्यै बढी छ,’ उनले भने।

कालिञ्चोक गाउँपालिकास्थित १० ओटा स्वास्थ्य संस्थामा निःशुल्क कन्डम पाइन्छ। तर तीमध्ये गाउँ पठाइएका प्रायः संस्थामा रहेका कन्डमको म्याद गुज्रिसकेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले अघिल्लो आर्थिक वर्षमा ल्याएका ११ हजार पिस कन्डम त्यसै छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुशील श्रेष्ठका अनुसार उपयोग कम भएका कारण गाउँका स्वास्थ्य संस्थाबाट कन्डमको माग असाध्यै न्यून छ। ‘बजारमा किनेरै प्रयोग गर्ने बानीले हो या किन हो,’ उनले भने, ‘कारण जे भए पनि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क कन्डम लिएर जानेहरू असाध्यै घटेको देखिन्छ।’

मानिसमा यौन तथा एचआइभीका साथै गर्भ बस्न नदिनेसम्बन्धी चेतना बढ्दै जानुका साथै बजारमा पाइने डटेड र बास्नादार कन्डमका कारण सरकारी स्वास्थ्य संस्थाका निःशुल्क कन्डमप्रति आकर्षण घटेको हुनसक्ने स्वास्थ्यकर्मीको ठम्याइ छ। ‘यो कन्डममा चिप्लोपन अलि कम हुन्छ,’ स्वास्थ्य कार्यालय चरिकोटका प्रमुख थोकरले भने, ‘बजारमा चिप्लोपन बढी भएका बास्नादार डटेड कन्डम किनेर प्रयोग गर्नेहरू बढेका कारण पनि स्वास्थ्य संस्थाबाट कन्डम नगएको हुन सक्छ।’ यस्तै गोपनीयताका कारणसमेत स्वास्थ्य संस्था गएर कन्डम लिन अप्ठ्यारो मानेको हुनसक्ने थोकरको आँकलन छ। प्रस्तुति: रमेश खतिवडा

Leave A Comment