लिबियामा छोरा गुमाएका बाबुको बयानः ‘पापीले फसायो, न लास, न सास’

शनिबार, १८ साउन २०७६, १२ : ०२ प्रजु पन्त
लिबियामा छोरा गुमाएका बाबुको बयानः ‘पापीले फसायो, न लास, न सास’ सोमप्रसाद श्रेष्ठ, मृतक सन्तोष श्रेष्ठका बाबु । तस्बिरः कृष्पा श्रेष्ठ

प्लस टुसम्म गाउँमै पढ्यो। सक्काएपछि विदेश जान्छु भन्यो। मध्यम वर्गको परिवार। कमाई घर चल्ने खालकै थियो। म प्राविको शिक्षक। घरको जेठो छोरो। विदेशै त नजाओस् भन्ने लागेको थियो तर उसले ‘राम्रो हुन्छ’ भनिरह्यो।

घरमा पैसा थिएन। सरसापट मागेर मलेसिया पठाइदिएँ। मलेसियामा राम्रै गरेको थियो। खै के भयो, मलेसियाबाट फर्कियो। लागेको ऋण तिरिसकेको थियो। 

फेरि ‘बा कतार जान्छु’ भन्यो। लौ त नि, जा भने। फेरि कतारको लागि उड्यो। कतारमा १८ महिना बस्यो र दशैँ मनाउन आइपुग्यो। अघिल्लो साल सँगै दशैँ मनाउन पाइएको थिएन। यो साल आयो भनेर रमाइलो लाग्यो। घरका सबै खुसी भए। दशैँ पनि मानियो, तिहार  पनि मानियो।

तिहार मानेको केही दिनपछि छोराले ‘बा यसरी हल्लिएर बसेर हुँदैन’ भन्दै पोखरा गयो। पोखरामा मोबाइल पसलमा काम गरेछ। महिनाको २५ हजार भयो बुबा भनेको थियो। त्यही पैसा लिएर घर आयो। छोराले यतै काम गर्ने भएछ क्यारे जस्तो लागेर ढुक्क भएको थिएँ तर ऊ विदेश जाने सोचमै रहेछ। एक साँझ भन्यो, ‘बुबा म फेरि बाहिर जान्छु।’
‘कहाँ जान्छस् बल्ल त आएको छस् !’ भनेँ।
‘कमाउनुप-यो नि बा ! मिलाएर राम्रै देश जान्छु हजुरले पीर नमान्नू। महिनाको डेढ लाख कमाइ हुन्छ रे !’
छोरालाई सोधेँ, ‘साथी को छ बाबु ?’ 

‘बस्नेतगाउँको दिनेश (बस्नेत) छ, ऊ र म सँगै जाने हो। नआत्तिकन बस्नू, लैजाने मान्छे पनि लमजुङकै भार्तेको हो,’ उसले भन्यो। लौ, चिनेकै मान्छेले लाने रहेछ भनेर ढुक्क भएँ। लौ त नगई छाड्ने भो भन्ने लाग्यो।

लौ त नि बाबु, राम्रोसँग जा भनेँ। अरुको धेरै विश्वास नगर है भनेर सम्झाएँ पनि। मैले जति पटक यसो भन्थेँ, ऊ त्यति पटक नै पीर नलिनू न भन्थ्यो। राम्रै रहेछ क्यार भन्ने भो।

जागिरबाट ५ लाख जति जम्मा गरेको थिएँ। पैसा चाहिन्छ भनेपछि त्यही दिएँ। ऊ त्यही पैसा बोकेर काठमाडौँ आयो।

काठमाडौँ आएको केही दिनपछि फेरि छोराले ‘बा, भार्तेको मान्छेले पैसा भनेको छ अरु ५ लाख पठाइदिनू’ भन्यो। अब कसरी पठाउने मैले ? भएको त दिइसकेको थिएँ। बेशीसहर बजारमा सात आनाको घडेरी थियो। काम परेको बेलामा त चहिने हो भनेर जग्गा बैंकमा धितो राखेर ५ लाख निकालेर पठाइदिएँ।

पैसा पठाएको भोलिपल्टै ‘बुबा उड्न लागेँ है’ भनेर फोन ग-यो। ‘म गएँ है बा’ भन्यो। ...कहिल्यै फर्केर नआउन पो रै’छ !

उसले दुबई पुगेर पनि फोन ग-यो। सबै राम्रो छ भनेको थियो। छोराले केही दिनपछि भिसा लाग्छ भन्यो। को–को छौ भनेँ। हामी ४/५ जना छम् भन्यो। जेठको १७/१८ सम्म छोरासँग कुरा भइरहेको थियो। लिबिया पुगेपछि फेरि पैसा पठाइदिनू बा भन्यो। यहाँ काम गर्न सकिएन बा, अब इटाली जानुपर्छ भनेको थियो।

ऋण खोजेर दुई लाख पठाइदिएँ। पैसा पठाएको २/३ दिनपछि छोरो सम्पर्कमै आएन । अत्यास लाग्न थाल्यो। कहाँ गयो होला ? के खायो होला ? मनमा डर पसिरहेको थियो। गाउँतिरकोलाई सोधेँ, ‘लुकेर काम गरेर सम्र्पकमा नआएको होला’ भने।

लुकेर काम गरेकाहरु सम्पर्कविहीन हुन्छन् रे, ३/४ महिनापछि त्यहीँको पिआर कार्ड पाउँछन् रे’ भने। पछि लमजुङका चार जना पानी जहाजमा अड्किए रे भन्ने हल्ला चल्यो। आंतककारीले हात खुट्टाको नङ तान्दिए रे भन्ने समाचार आयो। जब टिभीमा लिबियाबारे समाचार आउँथ्यो, मेरो नौ नाडी गलेर आउँथ्यो। मेरो छोरा पनि आतंककारीको फन्दामा प-यो कि भनेर चिन्ता लाग्थ्यो। पछि त निद्रै लाग्न छाड्यो।
कहाँ फोन गर्ने कसलाई ? अत्तोपत्तो थिएन।

लिबियामा एक नेपाली मारियो भन्ने खबर आएछ। गाउँमा त खबर आएन। काठमाडौंमा यस्तो खबर आएपछि उसकी माइजूलाई शंका लागेछ। उनले परराष्ट्र मन्त्रालय गएर पासपोर्ट नम्बर दिइछन्। लिबियामा मारिने मेरै छोरो रहेछ !

असार १८ गते आफन्तले फोन गरेर भने, ‘सन्तोष त बितेछ !’
आँखा वरिपरि अँध्यारो भयो, मुख सुक्यो। अब उसकी आमालाई छोरा बित्यो भनेर कसरी भन्नु ?

छोरा बित्यो। अनुहार हेर्न पाए हुन्थ्यो भनेर उसलाई लैजानेहरुलाई खोज्न थालेँ। असार २५ गते सरस्वती अधिकारी  (माइकल अधिकारीकी आमा) काठमाडौँमा आइन्। म पनि आएँ।  मेरो छोरालाई सरस्वतीको छोरा माइकल लगायतकाले लगेका रहेछन्। बल्ल थाहा भयो।

मृतकका बुबा सोमप्रसाद श्रेष्ठ र माइकलकी आमा सरस्वती अधिकारीले २५ लाख दिन सहमति गरेको तमसुक।

उनीहरु आएर नराम्रो घटना भयो। यस्तै हो। भन्दै सम्झाउँदै गाउँको कुरा गाउँमै मिलाउँ भने। लिबिया गएर फर्किएका माइकलको भाइ पूर्ण पनि सँगै आएका रहेछन्। म पनि तपाईंको छोरा जस्तै हो भने।

उनीहरुले मिल्न कर गरिरहे। मलाई जसरी हुन्छ, छोराको शव नेपाल ल्याउनु थियो। १५ लाख डुबिसकेको थियो। छोराको शव ल्याउन ५ हजार अमेरिकी डलर लाग्छ भनेका थिए। पैसा थिएन, छोराको अनुहार हेर्न पैसाको जोहो नगरी भएन।

२०/२५ जनाको उपस्थितिमा सरस्वतीले पैसा दिने कुरा गरिन्। उनीहरुले २५ लाख दिन्छु भने। छोराको अनुहार झल्झली सम्झिएँ। साससहित नआए पनि लाश भए पनि ल्याउनुपरो भनेर सरस्वती र मैले कागजमा हस्ताक्षर गरेँ। प्रथम किस्ता साउन ५ मा दिन्छु भनेका थिए। त्यो पैसा आए शव ल्याउने प्रक्रिया अगाडि बढाउँछु भन्ने लागेको थियो तर दिएनन्।

पैसा लिन काठमाडौं आएको थिएँ तर सधैँ मिटिङ, मिटिङ भनेर टारिरहे। उनीहरुको दाउ मेरो छोराको शव ल्याउन सघाउने हैन रहेछ। प्रहरीकोमा नजाओस् भनेर भुलाइराख्न यस्तो गरेका रहेछन्।

जसले लगेको हो, ऊ विदेशमा रहेछ। यहाँ रहेको उसको भाइ पूर्ण अनेक–अनेक कुरा गर्छ। म केही बुझ्दिनँ। म गएँ है भनेर गएको छोरो जिउँदो देख्न नपाए पनि लाश हेर्न पाए हुन्थ्यो। खै, कसले ल्याइदेला र मेरो छोराको लाश ?

मृतक सन्तोष श्रेष्ठ

‘हस्पिटलमा भाँडा माझ्नु पर्‍यो भन्नुहुन्थ्यो’: पार्वती श्रेष्ठ, सन्तोषकी माइजू
सन्तोष दुबई पुगेपछि बाहिर गएको थाहा पाएँ। लिबिया पुगेपछि कुरा भएको थियो। लिबियाको हस्पिटलमा भाँडा माझ्ने गरेको बताउनु भएको थियो। मोबाइल पसलमा काम गर्ने भनेर लगेको तर भाँडा माझ्नु प-यो भन्नु हुन्थ्यो।

जेठ १९ गतेसम्म सन्तोषसँग सम्पर्क भइरहेकै थियो। त्यसपछि भने भएन। एकाएक भाञ्जा सम्पर्कविहीन भएपछि उहाँसँगै रहेका दिनेशलाई म्यासेज गरेँ। उनले माल्टा अथवा इटाली पुगेको होला भने।

मैले खोजी गर्न प-यो भनेँ। दिनेशले नआत्ती बस्न भनेपछि अलि ढुक्क भयो। असार १७ गते एक नेपालीको विद्रोहीको कब्जामा परी मारिएको खबर आयो। पासपोर्ट चेक गर्दा सन्तोषकै निधन भएको पुष्टि भयो।

‘मिलेर जाऊँ मात्र भन्छन्’: शिव जोशी, स्थानीय
गाउँकै मान्छेको निधन भएपछि के भएको रहेछ भनेर बुझ्दा माइकल अधिकारी सम्पर्कमा आए। माइकलले बारम्बार कल गरेर मिलेर जाऊँ भनेका थिए। सुरुमा २५ लाख दिने भनेर कागज गरेका थिए। पछि १८ लाख र पछि १२ लाख दिने भनेर झुलायो। अहिले दिन्न भन्छन्।

उनीहरुले शव ल्याउन सघाउलान् जस्तो लागेन। बरु सरकारले सहयोग गर्छ कि भनेर परराष्ट्र मन्त्रालयमार्फत प्रयास गरिरहेका छौँ। खै के हुन्छ, भन्नै सकिन्न।

(कुराकानीमा आधारित)

रिपोर्टरको डायरी 

लिबिया पुर्‍याउने तस्कर सञ्जाल पछ्याउँदा

-प्रजु पन्त
असार दोस्रो हप्तादेखि नेपाली सञ्चार माध्यममा लिबियामा तीन नेपाली अलपत्र, एक नेपालीको मृत्यु भन्ने खबर फैलियो। उनीहरुको उद्धार होस् भनेर सामाजिक सञ्जाल  फेसबुक ट्वीटरहरु भरिन थाले।

मिडियामा पनि त्यही अनुसारका समाचारहरु आइरहे। नभन्दै अलपत्र परेका तीन नेपाली अन्तर्राष्ट्रिय आप्रवासी संगठनको पहलमा असार २० मा नेपाल फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लमजुङका राज गुरुङ, दिनेश बस्नेत र नेत्र भट्टराईले लिबियामा रहँदाको दुःख कहे। विद्रोहीको कब्जामा पर्दाको त्रास उनीहरुको मुहारमा झल्किएको थियो। जिउँदै नेपाल फर्कन सकेकोमा भने उनीहरुमा सन्तोष पनि थियो।

दुःख त बताए तर सरकारले नै प्रतिबन्ध लगाएको मुलुकमा कसरी पुगे ? कसले लग्यो उनीहरुलाई ? कतैबाट पनि सो कुरा खुलेन।

जसरी पनि विदेश जान चाहने युवाहरुको मनोविज्ञान पढ्न चतुर मानव तस्करहरुले विभिन्न प्रलोभनमा पारेर सरकारले प्रतिबन्ध लगाएको देश पु¥याउँदै आएका छन्। कतिको उतै ज्यान जान्छ। कोही फर्कन्छन्। तर ती मानव तस्कर को हुन्, कहिल्यै खुल्दैन। र, सधैँ सक्रिय हुन्छन्। यी युवालाई लिबिया पु¥याउने को थिए ? पहिल्याउने मौका यही थियो। र, खोजी शुरु ग-यो ‘शुक्रवार’ले।

कसरी गए ? कसले लग्यो ?
यो पहिल्याउन पीडित नभेटी सम्भव थिएन। ठेगाना आफ्नै जिल्लाको थियो। खोज्दै जाँदा तीन जनामध्ये एक दिनेश बस्नेतको आफन्तको नम्बर फेला प-यो। बेलुका भेट्न चाहेको र कारण खुलाएर म्यासेज पठाएँ।

बिहान म्यासेज आएको रहेछ। दिनेशका आफन्तलाई पुनः भेट्न खोज्नुको कारण सुनाएँ, ‘मानव तस्करको पहिचान।’

दिनेश लगायतका अन्य दुई जनाको भाग्य बलियो रहेछ, दुःख पाएपछि ज्युँदै नेपाल फर्किन सके। तर वैदेशिक रोजगारीको प्रलोभनमा पारेर मानव तस्करीमा सक्रिय थिए, उनीहरुको पर्दाफास नगर्ने हो भने भोलिका दिनमा अन्य दिनेशहरु लिबिया पुग्नेछन् उसैगरी। र, सकुशल फर्कन्छन् या फर्कन्नन् ठेगाना हुने थिएन।
आफन्त तर्कमा सहमत भए र नम्बर दिए। डायल गरेँ। उठ्यो।
‘नमस्कार म प्रजु।’
उनले नमस्कार फर्काए। उनको आफन्तसँगको सम्बन्ध र आफ्नो गाउँबारे बताएपछि उनी केही फेमिलिएर भए।
‘युट्युबमा तिम्रो अन्तर्वार्ता हेरेको थिएँ, के भयो भाइ ?’
‘बल्ल बल्ल बाँचेर आइयो नि !’ उनले भने।
‘भेटौँ न त !’
उनी तत्काल भेट्न राजी भएनन्। काम सकिएपछि उनले फोन गर्ने बताए। म उनको फोनको प्रतीक्षा गर्न थालेँ।

लिबियामै बम पड्कँदा लमजुङका सन्तोष श्रेष्ठ मारिएका थिए। उनी को होलान् ? के उनलाई लैजाने र दिनेशहरुलाई लैजाने व्यक्ति एकै हुन् ? या अन्य समूह पनि सक्रिय छन् ?
प्रश्नहरु खेलिरहे। प्रश्नको उत्तर पाउन दिनेशलाई नभेटी सम्भव थिएन।
दिनभर फोन आउँदा दिनेशकै हो कि झैँ लाग्थ्यो। एक, दुई गर्दै दिन बित्यो। फोन आएन।
बल्ल एक हप्तापछि दिनेशको कल आयो। त्यही दिन साँझ भृकुटीमण्डपतिर भेट्ने तय भयो।
तोकिएको समयमा पुग्दा उनी आफन्तसँगै आएका रहेछन्।
‘यत्रो दिन किन फोन नगरेको ?’
‘पत्रिकामा नछापौं कि भनेर।’
‘अब तयार हो त ?’
‘अँ।’

एक घण्टा लगातार उनले नेपालबाट दुबई हुँदै लिबिया पुग्दासम्मको कहानी सुनाए। कतै उनी उत्साहित देखिन्थे, कतै मलिन। लिबियामा विद्रोहीको कब्जामा पर्दाको दुःख, चोर बाटोबाट इटाली जाँदा समुद्रमा बोटको तेल सकिएर अलपत्र पर्दाको मृत्यु भय खुलाउँदा उनले तुरुक्कै आँशु नै झारे। एक महिना दुःख पाएर ज्युँदै नेपाल फर्कंदाको खुसी उनको मुहारले बोलिरहेको थियो।

कुरैकुरामा उनलाई लिबियासम्म पु-याउनेहरुको नाम बीचबीचमा लिइरहेका थिए। नाम नोट गरिरहेकी थिएँ। मानव तस्करीजस्तो गम्भीर अपराधमा पीडितले नाम लिए पनि प्रमाण नभई कसरी नाम लेख्ने ?
‘केही प्रमाण छ ?’ रहेछ।
एजेन्टको अडियो क्लिपहरु सुनाए। केही रकम दुबई र लिबियामा दिए पनि एक लाख भने एजेन्टको श्रीमतीको नाममा रहेको नबिल बैंकको खातामा राखिदिएका रहेछन्। भौचर भाञ्जासँग रहेछ। उनले देखाएका प्रमाणमा शंका गर्नुपर्ने देखिएन।

दिनेशसँगै अन्य दुई जना स्वदेश फर्किएका थिए। उनीहरुसँग कुरा गर्न सके घटनाबारे थप पुष्टि गर्न हुने अवस्था थियो तर दुवै जनाको सम्पर्क नम्बर फेला परेन। दुवै गाउँ फर्किसकेका थिए। सूत्रसमेत फेला परेन।
उनले म्यासेन्जरमा रहेको एजेन्टको तस्बिर पठाए। हामी छुट्टियौँ।

दिनेशबाट खुलेका नाम थिए, माइकल भनिने नारायण अधिकारी। उनी मकाउमा थिए। जो लिबिया लैजानेमा मुख्य योजनाकार देखिए। दोस्रोमा नवीन अधिकारी, जो सशस्त्र प्रहरीको सई पदबाट राजीनामा दिएका थिए। तेस्रो, सतीश घिमिरे जो दुबईमा थिए। चौथो पूर्ण अधिकारी जो दिनेशहरुसँगै लिबिया पुगेर फर्किएका थिए।

बिहीबार पत्रिका प्रकाशित भएसँगै कार्यालयमा फोन आयो। फोन गर्ने व्यक्ति थिइन्, माइकलकी श्रीमती सुशन घिमिरे अधिकारी। फोन उठाएलगत्तै उनले भनिन्, ‘बिना प्रमाण किन समाचार छापेको ?’
फोन सम्पादकले उठाएका थिए। म छेउमै थिएँ।
‘तपाईंको नाम छापिएको छैन, जसको छापिएको हो उसैलाई फोन गर्न लगाउनु।’ फोन राखियो।

केहीबेरमा फेरि अर्को फोन आयो। फोनकर्ता थिए, पूर्ण अधिकारी। उनले ‘प्रमाणै नभई दाइको फोटो किन छापेको ?’ भने। उनको सरोकार पूर्व सई नवीनबारे थियो। माइकलबारे त्यत्ति बोलेनन्। भेटेर कुरा गरौँ भन्दा उनी सहमत भए तर पछि सम्पर्कमा आएनन्।

सशस्त्र प्रहरीमा नवीन अधिकारीको विवरण खोज्दा फेला परेन। उनको नामै अर्कै रहेछ ‘नवराज अधिकारी’। नवराजको विवरण भने फेला प¥यो। उनी २०५६ भदौ २० मा भर्ना भएको देखियो अनि २०७५ जेठमा राजीनामा दिएर हिँडेका रहेछन्।

सम्पादकको म्यासेन्जरमा माइकल र नवराजको सन्देश आयो। दुवैले आफूहरु यो घटनामा संलग्नै नरहेको, निर्दोष व्यक्तिको नाम र तस्बिर छापेको भन्दै धम्क्याउन थाले।

समाचारमा नवीन भनिने नवराज र सतीशले दुबईमा दिनेशसँग तीन हजार डलर लिएर हिँडेको उल्लेख थियो। नवराजसँग सम्पादकको म्यासेन्जरमार्फत् कुरा भयो। कुराकानीमा उनले आफू दुबई गए पनि लिबिया जान हिँडेको, दिनेशसँग आफूले पैसा नलिएको, दुबईमा भेट पनि नभएको दाबी गर्दै चरित्रहत्या भएको दाबी गरे। उनको दाबीअनुसार भारतमा थिए। विदेश जाँदा पैसा फँसेपछि भारतमा काम गरेर बसेको उनको तर्क थियो।

पछि पठाएको भ्वाइस म्यासेन्जरमा भने पीडित दिनेशसँग केही समय कुराकानी भएको स्वीकारे। उनको नाम नवीन नभई नवराज भएको खुलेसँगै उनीसँग यसबारे जिज्ञासा राख्दा उनले सन्देश त हेरे तर कुनै प्रतिउत्तर दिएनन्।

उता माइकलले भ्वाइस म्यासेज पठाएका थिए। उनले एक मिनेट जतिको २७ वटा भ्वाइस म्यासेज पठाएका थिए। जसमा उनले पत्रकारिता कसरी गर्ने भनी पाठ पढाउँदै आफू समाजसेवी भएको, गलत काम गर्दै नगरेको दाबी गरिरहे।

माइकल

उनको दाबी थियो, ‘यसरी हुँदै नभएको समाचार लेखेर साइबर क्राइम र मानहानि गर्नुभएको छ। म तत्काल नेपाल आउन नसके पनि दाइ (नवराज) लाई नेपाल जानू भनेको छु।’

भ्वाइस म्यासेज पठाउने क्रम जारी रह्यो। उनले अस्वीकार गरे पनि फेला परेका डकुमेन्टले भने लिबिया लैजाने क्रममा उनको प्रत्यक्ष सम्बन्ध देखाइरहेको थियो। ती प्रमाणबारे चासो राख्दा उनी अनेक तर्क गरिरहन्थे।
‘दिनेशलाई कसले लगेको हो त ?’
खै के लाग्यो कुन्नी उनले आफ्नै भाइ पूर्णको नाम लिए, ‘दिनेशलाई लिबिया लैजाने पूर्ण हो।’
पहिला हुँदै हैन भनिरहे। पछि भाइको नाम पोले। दिनेशसँगको कुराकानीमा खोजीमा खुलेका डकुमेन्टले पूर्ण लिबियासम्म सँगै गएको देखिएको थियो। उनी पनि दिनेशहरुझैँ इटाली जाने लोभमा त्यहाँ पुगेको देखियो तर उनकै दाइले एजेन्ट रहेको दाबी गरे।

‘लिबियामा मारिएका सन्तोष श्रेष्ठलाई पनि त्यही समूहले लगेको हो नि !’ नयाँ सूचना आयो। २७ वर्षका सन्तोष दुबई हुँदै लिबिया पुगेका थिए। लिबियामा काम गरेर परिवारको भरथेग गर्छु भनेका उनको ज्यान उतै गयो। यता परिवार उनको शव कुरेर बसेको छ तर शव आउँछ आउँदैन पत्तो छैन।

सूचना गम्भीर थियो। खोज्दै जाँदा खुल्यो, सन्तोषलाई पनि माइकलकै समूहले लिबिया पु-याएका थिए। सन्तोषको परिवार पनि लमजुङकै थिए। उनको परिवारको सम्पर्क खोज्दै जाँदा सन्तोषका बाबु सोमप्रसाद श्रेष्ठको नै फेला परे। उनी छोराको शव नेपाल ल्याउने प्रक्रिया मिलाउन काठमाडौँमा आफन्तको डेरामा बसेका रहेछन्।

छोरालाई पठाउँदा १५ लाख ऋण लागिसकेको थियो। छोराको शव ल्याउन थप पाँच हजार डलर (करिब ६ लाख) लाग्ने रहेछ। उता माइकलले फकाइरहेका थिए, ‘पैसा दिन्छु प्रहरीकोमा नजानू।’

अलिकति पैसा आए छोराको शव ल्याउन पाउँथेँ भनेर उनी माइकलको भर परिरहे तर ज्युँदैलाई बेच्ने बानी लागेका उनलाई एक वृद्ध बाबुको संवेदनाले के छुन्थ्यो ? झुलाइरहे। पहिला २५ लाख दिन्छु भनेर कागज गराए। उनका प्रतिनिधि बनेर उनको नेपालमा रहेकी वृद्धा आमाले औँठाछाप लगाइदिएकी थिइन्।  छोरा हो, बदमास भए पनि माया लागिहाल्छ !

२५ लाखबाट १८ मा आए, १८ बाट १२ लाख। छोराको मुहार हेर्ने आशमा रहेका बाबुको संवेदनासँग उनले खेलिरहे। उनको दाउ पैसा दिने देखिएन, अपराधको सजायबाट उम्कने मात्र देखियो।

पहिलो भेटमा त्यत्ति बोल्न नरुचाएका उनी मंगलबार भने बोल्न राजी भए। सामाखुसीमा बोलाए सन्तोषका बुबा सोमप्रसादले। उनीसँग आधा घण्टा कुरा भयो तर बडो सकसपूर्ण। रुँदारुदाँ उनको आँखा रातै भइसकेका थिए। के प्रश्न सोध्ने ? मन अमिलिइरह्यो। कार्यालय फर्किएर उनका वेदना शब्दमा उतार्दा कानमा उनको बुढ्यौली हिक्कहिक्क आवाज गुञ्जिरहेको थियो।(कुराकानीमा आधारित)

 

Leave A Comment