सिंगापुरले सिकाएको पाठ

आइतबार, १९ साउन २०७६, ०१ : ४२ शुक्रवार
सिंगापुरले सिकाएको पाठ

राजनीतिक तहबाट निराश आम नागरिकलाई खुसी बनाइरहेको क्रिकेटले यसपालि भने सोेचेजस्तो खुसी दिन सकेन। सिंगापुरमा टी–२० विश्वकपको एसिया छनोट खेलको प्रारम्भ हारबाट गरेको टोली बीचमा सम्हालिएको थियो। अन्त्यमा खेल क्षमतामा नेपालभन्दा कमजोर आँकिएको आयोजक सिंगापुरसँग फराकिलो रन अन्तरले पराजित भएपछि छनोट हुन सकेन।

नेपाली क्रिकेट टोली खराब टिम भने हैन। क्रिकेट टोलीले एक दिवसीयको मान्यता पाइसकेको छ। नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय क्लबहरुसँग अनुबन्ध हुने क्रम बढेको छ।

सगरमाथाको नामले परिचित नेपाल बिस्तारै क्रिकेटको देशको रुपमा पनि चिनिन थालेको समयमा क्वालिफायर राउन्डमा पुग्न खेलेको खेलमा तेस्रो भएर फर्कंदा पक्कै चित्त त दुख्छ नै। अहिले नेपाली क्रिकेटप्रेमी यही चित्त दुखाइको अवस्थामा छन्।

नेपाली क्रिकेट टोलीले जे जति उपलब्धि पाएको छ, त्यसका लागि कठिन यात्रा पार गरेको छ नै। एक दिवसीय खेलको मान्यता पाउनु क्रिकेटको भौतिक संरचना, राज्यको लगानी र क्रिकेट एसोसिएसन अफ नेपालको अवस्था हेर्दा उल्लेखनीय उपलब्धि हो।

तर बेलाबखत क्रिकेट टिममा गम्भीर समस्या देखिने गरेको छ। यसपालि सिंगापुरमा त्यही समस्याले टोलीलाई तेस्रो स्थानमा पु-यायो। यस पटक बलर, ब्याट्सम्यान र फिल्डर तीनै क्षेत्रमा नचल्नु गम्भीर संकेत हो। हालै नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिन पूर्व भारतीय क्रिकेटर प्रशिक्षकको रुपमा आएका छन्। बेलैमा उनको मूल्याङ्कन पनि आवश्यक पर्छ नै। कतै नयाँ प्रशिक्षकका कारण टोली अलमलमा परेको त हैन ?

तर मूल्याङ्कनको बहानामा एक प्रतियोगिताबाट सोचेजस्तो नतिजा नआउँदैमा खेलाडीको मनोवलै गिर्ने गरी कटु आलोचना आवश्यक छैन किनभने अहिले राष्ट्रिय टोलीमा रहेका खेलाडी सक्षम छन्, गुमेको नतिजा फर्काउन।

तर समीक्षा भने हुनुपर्छ। सामान्यतः कमजोर आँकिएका टोलीसँग कसरी हार भयो ? खेल रणनीतिको कमजोरी हो या लामो समयदेखि क्रिकेटमा जारी रहेको विवाद या वाहवाहीका कारण नेपाली क्रिकेट टोलीका खेलाडीले मिहिनेत गर्न छाडे ?

हारसँगै नेपाली क्रिकेट टोलीबारे बल्ल विश्लेषण शुरु भएको छ। यो राम्रो हो। यसले टिममा देखिएको समस्या समयमै पहिचान गरी अगाडि बढ्ने मार्ग प्रशस्त गर्न सहयोग गर्छ। त्यसैले सिंगापुरमा भएको प्रतियोगिताको हार सुखद् नभए पनि नेपाली क्रिकेट टोलीको संरचना, खेलाडीको क्षमताको पुनः परीक्षण, प्रशिक्षणको शैलीको पुनरावलोकनको अवसर पनि हो।

यससँगै क्रिकेटको भौतिक संरचना, नयाँ खेलाडी उत्पादन र क्रिकेट एसोसिएसन अफ नेपालमा जारी रहेको विवादको अन्त्य पनि आवश्यक छ। निलम्बनको अवस्थामा रहेको संघको निलम्बन फुकुवा गर्न जति प्रयत्न हुुनुपर्ने हो, त्यो हुन सकेको छैन। यसका लागि राष्ट्रिय खेलकुद परिषद्मा आएको नयाँ नेतृत्व गम्भीर र जिम्मेवार हुन आवश्यक छ।

समयमै नचेत्ने हो भने कठिन मिहिनेतबाट पाएको उपलब्धि सहजै फुत्कन सक्छ, जसरी सिंगापुरमा विजेता बन्न गएको टोली तेस्रो भएर चाउरिएजस्तै।

Leave A Comment