पछिल्लो समय अखबारका पाना पल्टाउने हो भने अध्ययनशीलता घट्दै गएकामा चिन्ता व्यक्त गरिएका आलेख पढ्न पाइन्छ।
चर्चित साहित्यकार मार्क ट्वाइन भन्छन्, ‘अध्ययन नगर्ने व्यक्ति अध्ययन गर्न नसक्ने व्यक्ति भन्दा क्षमतावान् हुन सक्दैन अथवा अध्ययन गर्न नसक्नेको तुलनामा बढी लाभ उठाउन सक्दैन।’
अध्ययन अत्यावश्यक छ तर सबै मानिस अध्ययनशील भने हुन सक्दैनन्। अध्ययन गर्नुपर्छ भन्ने जानकारी हुन्छ तर प्रक्रिया मिलिरहेको हुँदैन। जस कारण प्रायः विद्यार्थी शैक्षिक क्षेत्रमा छलाङ मार्न असक्षम हुन पुग्छन्। अध्ययन प्रक्रियामाथि प्रकाश पार्नु पहिले केही विषय वर्णन गरौँ।
मानवीय मानसिकता
स्टानफोर्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक क्यारोल डोएकको ‘माइन्डसेट’ पुस्तकमा दुईवटा मानवीय मानसिकताबारे चर्चा गरिएको छ। एक, स्थिर मानसिकता र अर्को, विकास मानसिकता। यिनै दुई मानसिकताले विद्यार्थीको शैक्षिक उपलब्धि निर्धारण गर्छ। प्राध्यापक क्यारोलका अनुसार स्थिर मानसिकता भएका विद्यार्थी बुद्धि, क्षमता र प्रतिभा निश्चित विशेषता रहेको र त्यसैलाई बढाउन नसकिनेमा विश्वास गर्छन्।
उनीहरु सधैँ बुद्धिमानी देखिन चाहन्छन्। अरु सामु मुर्ख, अनपढ देखिन्छु कि भन्ने डर उनीहरुमा हुन्छ। अन्त्यमा उनीहरु असफल हुन पुग्छन्। यद्यपि विकास मानसिकता राख्ने विद्यार्थी बुद्धि, क्षमता र प्रतिभा लगायत विशेषता प्रयास, दृढता र अध्ययनको सहायताले बढाउन सकिनेमा विश्वास गर्छन्। सबै व्यक्तिमा फरकफरक स्वभाव र व्यक्तित्व हुनेमा उनीहरु एकमत हुन्छन्। सोहीअनुरुप व्यवहार गर्दै सफलता प्राप्त गर्छन्। त्यस कारण म गणितमा राम्रो छैन, म अरु जत्तिकै बुद्धिमानी छैन, म चाँडै बुझ्न सक्दिनँ भन्ने जस्ता स्थिर मानसिकता हटाउनुस्। विकास मानसिकता बोकेर अध्ययन प्रक्रिया अगाडि बढाउनुहोस्।
आन्तरिक भर्सेज वाह्य प्रेरणा
अध्ययनको प्रभावकारिता प्रेरणाले निक्र्योल गर्छ। प्रायः विद्यार्थीहरु वाह्य प्रेरणाले सञ्चालित हुन्छन्। जस्तोः उनीहरु ज्ञानको दायरा फराकिलो बनाउन होइन कि ग्रेड ल्याउन संघर्षरत हुन्छन्। आफ्नो शिक्षकको प्रिय हुन, महिला वा पुरुष साथीलाई प्रभावित गर्न साथै छरछिमेकमा बुद्धिमानी ठहरिन अध्ययन गर्ने गर्छन्। हातमा पुस्तक लिँदैमा अध्ययनशील भइने होइन। यस्तो प्रवृत्तिका विद्यार्थी भाइबहिनीहरू अनपेक्षित परिणाम भोग्नुपर्ने परिस्थिति निर्माण भए हार मान्छन्। अध्ययन गर्न बन्द गरिदिन्छन्। आन्तरिक प्रेरणाले निर्देशित विद्यार्थीहरु भने फरक प्रकृतिका हुन्छन्। उनीहरु अरुलाई देखाउन भन्दा पनि जीवनमा केही गरेरै देखाउनमा तल्लिन हुन्छन्। आफूलाई रोचक लाग्ने विषय बढी अध्ययन गर्छन्। आकर्षित हुन नसकेको विषयवस्तुमा पनि दिलचस्प कुराको तीव्र खोजी गर्छन्। अन्ततः सफल हुन पुग्छन्। यसर्थ, आन्तरिक प्रेरणाले निर्देशित हुने विद्यार्थीले शिक्षामा सफलता पाउँछ भने बाह्य प्रेरणाले निर्देशित विद्यार्थीले असफलता। तपाईंको आन्तरिक प्रेरणा के हो ? त्यसमा स्पष्ट रहेर अध्ययन सुरुवात गर्नोस्। कहिल्यै पनि अध्ययन प्रक्रियामा ब्रेक लगाउनु पर्दैन।
पुनरावृत्तिको शक्ति
अध्ययनपश्चात् समग्र बुझाइको अवस्थामा पुग्न पुनरावृत्तिको विकल्प छैन। अर्थात् अध्ययन गरेको सामग्रीहरु स्पष्ट रुपमा बुझ्न दोहो-याउनै पर्छ। कतिपय अवस्थामा झन् पटकपटक दोहो-याउने काम गर्नुपर्छ। पुनरावृत्तिको चरणमा जानु अध्ययनलाई थप सशक्त बनाउनु हो। यसो गर्दा मस्तिष्कले डट्स कनेक्ट गर्न थाल्छ। भनाइको मतलब एउटा विषयलाई अर्को विषयसँग जोडेर हेर्न मद्दत गर्छ। कुनै पनि विषयमा महारत प्राप्त गर्न सकिन्छ। यति मात्र होइन, पुनरावृत्तिले अध्ययन गर्ने बानीको विकास गर्छ।
अध्ययन जति महत्वपूर्ण छ, आराम पनि त्यत्तिकै महत्वपूर्ण छ। अधिकांश विद्यार्थी वर्षभरि अध्ययन गर्दैनन् तर परीक्षा सञ्चालन हुने केही दिन अगाडिदेखि मात्र रातदिन अध्ययन गर्न थाल्छन्। पर्याप्त आराम र सुताइमा ध्यान दिँदैनन्। जसको नकारात्मक प्रभाव परीक्षामा देखिन्छ। त्यसैले आरामलाई पनि उत्तिकै महत्व दिनोस्। प्रत्येक दिन आठ घण्टा सुत्ने गर्नोस्। धेरै अनिदो बसेर अध्ययन गर्दा एक त स्वास्थ्य खराब हुन्छ नै अर्को तपाईंको शैक्षिक प्रदर्शन पनि त्यति आकर्षक हुन सक्दैन।
केही अध्ययन प्रक्रिया
हरेक व्यक्तिलाई एकैखाले अध्ययन प्रक्रिया उचित हुन्छ भन्ने छैन। एक व्यक्तिलाई उपयुक्त हुने प्रक्रिया अर्को व्यक्तिलाई उपयुक्त नहुन सक्छ। पुरै पुस्तकालय अध्ययन गर्दैमा सिकाइको स्तर बढ्ने सुनिश्चितता हुँदैन। अध्ययनबाट अधिकतम लाभ उठाउन आफ्नो व्यक्तित्वसँग मेल खाने वा व्यक्तिगत रोजाइमा आधारित अध्ययन प्रक्रिया पहिल्याउनु पर्ने हुन्छ। सामान्यतः प्रभावकारी अध्ययनका लागि निम्न प्रक्रिया र विधि अवलम्बन गर्न सकिन्छ।
१. अध्ययनका लागि छुट्टै ठाउँ छनोट गर्नोस्। सुत्ने कोठा र अध्ययन कोठा भरसक अलग बनाउन सके राम्रो। सुत्ने कोठामा अध्ययन गर्न नसकिने भन्ने होइन। प्रभावकारी बनाउन सकिन्छ वा सकिदैन भन्ने प्रमुख कुरा हो। प्रायः सुत्ने कोठामा अध्ययनका लागि पुस्तक लिएर बस्दा चाँडै निद्रा लाग्न सक्छ। विशेषगरी शैक्षिक पुस्तक अध्ययन गर्दा यस्तो परिस्थिति आउने गर्छ। त्यसैले अध्ययन कोठामा अध्ययन गर्ने गर्नोस्। महत्वपूर्ण कुरा तपाईंको अध्ययन कोठामा भने शान्त वातावरण कायम हुनु जरुरी छ। शोधअनुसार एकपटक ध्यान भङ्ग भएपछि पुनः अध्ययनमा केन्द्रित हुन ४५ मिनेट लाग्छ। त्यसकारण अध्ययन कोठामा कहीँकतैबाट ध्यान भङ्ग गर्ने चिजवस्तु प्रवेश हुनु हुन्न।
२. जतिबेला भन्यो त्यतिबेला अध्ययनलाई अघि बढाउनु सम्भव हुँदैन। एकाग्रता गुमेको हुन सक्छ। यस्तोमा अध्ययनका लागि आफूलाई उपयुक्त हुने समय तालिका तय गर्नोस्। अध्ययन सुरुवात गर्ने निश्चित समय तोक्नुहोस्। त्यो समय बिहान र बेलुका जुन समय पनि हुन सक्छ। तपाईंलाई अध्ययन गर्न बिहानको ७ बजे, बेलुकीको ८ बजे वा अन्य कुनै समय उचित हो भने त्यही समय छनोट गर्नोस्। कहिले बेलुकीको ८ बजे त कहिले १० बजे अध्ययन सुरुवात गर्नु अनुत्पादक हुन पुग्छ। सधैँ एउटै समयमा अध्ययन सुरुवात गर्नोस्। समयमा एकरुपता हुनु आवश्यक छ। फेरबदल नगर्नोस्।
३. अध्ययन प्रक्रिया हतार हतार अगाडि बढाउनु सिकाइको लागि हानिकारक हुन्छ। कुनै पनि विषयवस्तुको गहिराइमा पुग्न समय लाग्छ। कहिलेकाहीँ त सोचेभन्दा बढी समय लाग्न सक्छ। कहिल्यै पनि प्रति घण्टा एउटा पाठको दरले पाँच घण्टामा पाँचवटा पाठ अध्ययन गरेर सक्ने चेष्टा नगर्नोस्। त्यो सम्भव हुने कुरा होइन। सरसर्ती हेरेर सकिएला तर ज्ञान प्राप्त हुँदैन। आफ्नो अध्ययन कार्यलाई धीरताका साथ अगाडि बनाउनुहोस्।
४. कुनै पनि विषय राम्रोसँग बुझ्न अध्ययन गर्नैपर्छ। तपाईं गणित, नेपाली, अंग्रेजी, भौतिक वा रसायन शास्त्र पुस्तक अध्ययन गर्दै हुनुहुन्छ भने आफ्नो अध्ययन समग्र बुझाइ र उत्कृष्टता केन्द्रित बनाउने गर्नोस्। अनावश्यक सत्य तथ्य तथा घटनाक्रम याद गर्नतर्फ नलाग्नोस्। याद गरेर बुझाइ/सिकाइको स्तर बढ्न सक्दैन।
५. नोट लिने बानी विकास गर्नोस्। कुनै पनि पुस्तक अध्ययन गर्न बस्दा एउटा नोटबुक पनि साथमा राख्नोस्। पुस्तकमा भेटिएका रोचक र महत्वपूर्ण हरफ नोटबुकमा साफी गर्नोस्। नोट लिन असहज लागे पुस्तकमा हाइलाइट गर्न सकिन्छ। यसो गर्नाले पछि पुरै पुस्तक अध्ययन गर्नु आवश्यक पर्दैन। नोट गरेका वा हाइलाइट गरेका हरफ हेरे पर्याप्त हुन्छ। यो विधि सेल्फ हेल्प, लेक्चर भिडियो हेर्दा, कोही विशिष्ट व्यक्तिसँग अन्तरक्रिया गर्दा पनि प्रयोग गर्न सकिन्छ।
६. एक पटकको अध्ययनले कुनै पनि विषयवस्तुलाई सजिलै याद गर्न सकिँदैन। कारण ? मानवीय मष्तिस्क भोलाटाइल छ। भन्नुको अर्थ अध्ययन गरेका कुरा चाँडै उडेर जान्छ। एक पटकको भेटले नयाँ व्यक्तिलाई चिन्न र बुझ्न सकिँदैन। बुझ्ने कुरा छोडिदिऊँ, नामसम्म याद रहँदैन। लामो समयपछि पुनः त्यही व्यक्तिलाई कुनै समारोहमा भेट भयो भने कहाँ देखे देखे जस्तो, कहाँ भेटे भेटे जस्तो हुन्छ। यो कुरा अध्ययनमा पनि उत्तिकै लागु हुन्छ। परीक्षामा एकदुई पटक अध्ययन गरेर छाडेको पाठबाट प्रश्न सोधियो भने यो प्रश्न कहाँ देखे देखे जस्तो मात्र हुन्छ, पूर्ण उत्तर दिन सकिँदैन। फलस्वरुप नतिजा अपेक्षा राखेजस्तो उत्कृष्ट आउँदैन। त्यसैले कुनै पनि पाठ अध्ययन गरेपछि आफ्नो स्मरण शक्ति पनि परिक्षण गर्नोस्। पाठको अन्त्यमा सोधिएका अभ्यास पूरा गर्नोस्। केही जानी उत्तर गलत भएको खण्डमा पाठ दोहो-याउन अल्छी नगर्नोस्। अध्ययन गरेका विषय स्वतस्फूर्त याद नभएसम्म आत्मपरीक्षण गरिरहनुस्।
७. अध्ययन जति महत्वपूर्ण छ, आराम पनि त्यत्तिकै महत्वपूर्ण छ। अधिकांश विद्यार्थी वर्षभरि अध्ययन गर्दैनन् तर परीक्षा सञ्चालन हुने केही दिन अगाडिदेखि मात्र रातदिन अध्ययन गर्न थाल्छन्। पर्याप्त आराम र सुताइमा ध्यान दिँदैनन्। जसको नकारात्मक प्रभाव परीक्षामा देखिन्छ। त्यसैले आरामलाई पनि उत्तिकै महत्व दिनोस्। प्रत्येक दिन आठ घण्टा सुत्ने गर्नोस्। धेरै अनिदो बसेर अध्ययन गर्दा एक त स्वास्थ्य खराब हुन्छ नै अर्को तपाईंको शैक्षिक प्रदर्शन पनि त्यति आकर्षक हुन सक्दैन।
Leave A Comment