शरीरमा मुसा आएकै कारण ज्यानै जाने त जोखिम हुँदैन तर त्यसले शरीरका अंगको सुन्दरतामा भने अवश्य खोस्छ। सुन्दरतामा रुचि राख्नेहरुले त त्यसलाई तुरुन्तै हटाउने उपाय खोज्छन् तर ज्यानै जाँदैन भने किन चलाउने भनेर मुसा पालेर बसिरहनेलाई चिकित्सकको सुझाव छ, ‘यसलाई पालेर नराख्नुस्।’ त्यसमाथि कतिपय मुसा त ज्यानै लिने किसिका समेत हुन्छन्।
चुपचाप आफ्नो आयु बढाउने, आकार बढाउने र त्यस्तै भए ज्यानैसमेत लिनसक्ने मुसाले कसरी दुःख दिन्छ, यसबारे चर्चा गरौँ।
छालामा इन्फेक्सनका कारण मुसा आउने सौन्दर्य, छाला तथा यौन रोग विशेषज्ञ डा. जेबिना लामाले बताउँछिन्। यो एक किसिमको चर्म रोग हो। ‘ह्युमन प्यापिलोमाभाइरस इन्फेक्सन’का कारण मुसा आउँछ। छोटकरीमा यसलाई ‘एचपिभी इन्फेक्सन’ भनिन्छ। डा. लामाले भन्छिन्, ‘एचपिभी इन्फेक्सनको संक्रमणले मुसा आउँछ।’ छालामा सय बढी ‘एचपिभी इन्फेक्सन’का कारण संक्रमण हुन्छ। यही भाइरस इन्फेक्सनका कारण व्यक्तिको शरीरमा मुसाले दुःख दिन्छ।
कुनै–कुनै जोखिम
कुनै यस्ता मुसा हुन्छन्, जसले क्यान्सरसम्मको जोखिम बढाउँछन्। चिकित्सकका अनुसार ‘एचपिभी–१६’, ‘एचपिभी–१८’ इन्फेक्सन बढी जोखिमपूर्ण हुन्छन्। यस्ता भाइरस इन्फेक्सन भएका मुसा व्यक्तिको यौनाङ्ग र मलद्वारमा आए क्यान्सरको जोखिम हुन्छ।
क्यान्सर गराउने यस्ता भाइरस भएका मुसा महिलाको योनिमा आएको खण्डमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। पुरुषको यौनाङ्गमा यस्ता भाइरस भएका मुसा आए पुरुषको यौनाङ्गको क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्। ‘व्यक्तिको मलद्वारमा यी भाइरसका कारण मुसा आएको खण्डमा मलद्वारको क्यान्सरको जोखिम हुन्छ,’ डा. लामाले भनिन्।
ज्यानै जाने किसिमका मुसा भने अन्त्यन्तै न्यून हुने सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रवीन्द्र शर्माले बताए। त्यसैले मुसा आयो भन्दैमा आत्तिहाल्नु पर्ने अवस्था नहुने शर्माको तर्क छ। कस्तो प्रकृति र कुन ठाउँमा आएको मुसा हो भन्ने कुरा भने ख्याल गर्नुपर्ने उनी सुझाउँछन्।
यसरी यौनाङ्गमा आएको मुसा यौन सम्पर्कको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम पनि उत्तिकै हुन्छ। तिघ्रा र गुप्ताङ्गको वरिपरि यो आउन सक्छ।
त्यसैगरी ‘एचपिभी–६’, ‘एचपिभी–११’ इन्फेक्सन भएर आएका मुसालाई कम जोखिमपूर्ण मानिन्छ। यी भाइरस इन्फेक्सनका कारण आएका मुसाले क्यान्सर जस्तो रोग लागेर ज्यानै जाने जोखिम कम हुने चिकित्सक बताउँछन्। सुन्दरतामा असर पुग्ने र हेर्दा नराम्रो देखिने समस्या भने हुन्छ। ज्यानै नजाने भए पनि हात, खुट्टा, हत्केला, औँलाको काप, नङमा आएका मुसाको दुखाइले भने व्यक्तिलाई दैनिक जीवनमा असर पुग्छ। पानी पर्दा ढाडिएर घिनलाग्दो समेत देखिन्छ।
यसरी सर्छ मुसा
‘एचपिभी इन्फेक्सन’का कारण खस्रो, डल्लो, सपाट प्रकृतिका मुसा आउँछन्। कतिपय अवस्थामा शारीरिक सम्पर्कका माध्यमबाट मुसा शरीरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। आफ्नै शरीरमा पनि एक भागबाट अर्को भागमा सर्ने गर्छ। सामान्यतः मुसा खैरो रङको हुन्छ। शरीरको छाला भन्दा केही फरक पनि हुन सक्छ।
औँलामा मुसा आएको खण्डमा छाला आफ्नै शरीरको अन्य भागमा त सर्ने सम्भावना हुन्छ नै, अन्य व्यक्तिमा पनि सर्न सक्छ। मुसा भएको व्यक्तिको मुसाबाट कुनै किसिमले चोटपटक लागेर त्यस्तो रगत अन्य व्यक्तिमा लागेको खण्डमा मुसा सर्न सक्छ। मुसा सर्न रगतै आउनुपर्छ भन्ने छैन। स्वस्ति लेजर एन्ड स्किन केयरकी छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीका अनुसार, मुसा भएको व्यक्तिसँग हात मिलाउँदासमेत मुसा सर्न सक्छ। हात र खुट्टामा बढी मुसा आउनुको कारण पनि हातखुट्टाले धेरै वस्तु छोइनु हो।
औँलामा मुसा आएको खण्डमा मुसा आएको औँला मुखमा लाँदा ओठ तथा मुखमा पनि मुसा सर्ने जोखिम हुन्छ।
मुसाको प्रकृति
सामान्यतः शरीरमा मुसा आएको खण्डमा छाला भन्दा केही माथि उठेको हुन्छ। विशेषगरी हात, खुट्टा तथा मुखमा मुसा आउँछ। हातमा चिल्लो र डल्लो किसिमको मुसा आउँछ। चिकित्सकका अनुसार विशेषगरी अनुहारमा चेप्टो र चिल्लो किसिमका मुसा आउँछ। यस किसिमको मुसा बच्चा र वयस्कमा बढी देखिन्छ। दाह्री–जुँगा भएको ठाउँमा पनि यस किसिमको मुसा आउन सक्छ।
आँखीभौँ, घाँटी र काखीमा भने लाम्चो किसिमको मुसा आउने विशेषज्ञ डा. लामाले बताइन्। मुसा आएको ठाउँमा चिलाउनेजस्तो लक्षण देखियो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
सावधानीका उपाय
मुसा आउनबाट जोगिन सबैभन्दा पहिला त सावधानी अपनाउनै पर्छ। विशेषगरी बालबालिकामा मुसा सर्ने सम्भावना हुने डा. लामा बताउँछिन्। डा. लामाको तर्कमा डा. ज्ञवाली पनि सहमत छिन्। स्कुल जाने उमेर समूहका बालबालिको धेरै साथीभाइसँग सम्पर्क हुनाले मुसा सर्ने सम्भावना हुने डा. ज्ञवालीले बताइन्। त्यसैले हातमा मुसा भएका व्यक्तिसँग हात नमिलाउनु उपयुक्त हुने चिकित्सकको सुझाव छ। मुसा छालाको बाहिरी सतहमा हुने भएकाले सजिलै सर्न सक्छ।
रोग प्रतिरोधात्मक क्षमताको कमीका कारणसमेत बालबालिकामा मुसा आउने चिकित्सक बताउँछन्। सामान्यतः ४/५ वर्षको उमेरपछि बालबालिकामा मुसा आउँछ। ‘प्रत्येक तीन जना बालबालिकामध्ये एक जनामा मुसा आएको पाइन्छ,’ डा. लामाले भनिन्, ‘एक वर्षमा मुसा आएका ५० प्रतिशत बालबालिकाको मुसा आफैँ निको हुन्छ।’ दुई वर्षसम्ममा ७० प्रतिशतको मुसा हराउँछ। रोग प्रतिरोधात्मक क्षमता बढ्दै जाँदा आफैँ पनि मुसा हराउने चिकित्सक बताउँछन्।
स्मिङ पुल (पौडी पोखरी) बाट मुसा सर्ने सम्भावना बढी हुनेतर्फ चिकित्सक सजग गराउँछन्। ‘विशेषगरी खुट्टाको माध्यमबाट मुसा निकाल्ने एचपिभी इन्फेक्सन पौडी खेल्दा धेरै सर्ने गरेको छ,’ डा. लामाले भनिन्, ‘त्यसैले पौडी खेल्दा चप्पल तथा स्विमिङ कस्टम लगाउनु उपयुक्त हुन्छ।’
मुसालाई चलाइरहनु हुन्न। चलाउँदा अन्य भागमा पनि फैलन सक्छ। सामान्यतः मुसा आफैँ हराएर जाने चिकित्सक बताउँछन्। कुनै विशेष उपचारैबिना पनि मुसा हराएर जान्छ। प्रायः दुई वर्षसम्म पनि मुसा नहराए चिकित्सकको सल्लाहमा उपचार गनुपर्ने डा. ज्ञवालीको सुझाव छ।
यौन सम्पर्कको माध्यमबाट मुसा सर्ने जोखिम भएकाले जथाभावी धेरै जनासँग यौन सम्पर्क राख्नु हुँदैन।
व्यक्तिको यौनाङ्गमा मुसा आउन नदिन अग्रिम रुपमा मुसा विरुद्धको भ्याक्सिन लगाउन सकिने डा. लामाले बताइन्। डा. लामाले भनिन्, ‘नौ देखि १६ वर्षसम्म उमेरका बलिकामा गार्डासिल, गार्डासिल–९ जस्ता भ्याक्सिन लगाउन सकिन्छ।’ यौन रोग विशेषज्ञ डा. शर्मा पनि भ्याक्सिन लगाएर मुसा आउनबाट बच्न सकिने बताउँछन्।
कस्तो छ उपचार विधी ?
औषधि, विद्युत्, लेजर, सर्जरीजस्ता विधिबाट मुसा हटाउन पनि सकिने चिकित्सकहरु सुझाउँछन्। ‘सलिसिलिक’ नामक एसिड मलम लगाउनाले पनि बिस्तारै मुसा हट्दै र घट्दै जान्छ। यस्तो मलम चिकित्सकको सल्लाहमा लगाउनु उपयुक्त हुन्छ।
विद्युतीय मेसिनले पनि मुसा हटाउन सकिन्छ। विद्युतीय मेसिनले जलाएर मुसा हटाउन सकिने चिकित्सक बताउँछन्। विशेषज्ञ चिकित्सकले यसरी मुसा हटाउन सक्छन्।
अत्यन्तै चिसो किसिमको लिक्विड नाइट्रोजनले सेकेर मुसा हटाउन सकिने डा. जेविना बताउँछिन्। यसरी चिसोले सेकेर मुसा हटाउने विधिलाई चिकित्सकीय भाषामा क्रायोथेरापी भनिन्छ।
सर्जरी गरेर फाल्ने विधि पनि छ। यसरी मुसा हटाइए पनि पुनः आउने सम्भावना भने रहन्छ। डा. ज्ञवालीका अनुसार लेजर विधिबाट मुसा हटाउँदा सामान्य घाउ हुन सक्नेबाहेक ठूलो असर हुन्न।
Leave A Comment