राजेशको बदलिएको फिटनेस सूत्र

बुधबार, २१ साउन २०७७, ०१ : ५५ उपेन्द्र खड्का
राजेशको बदलिएको फिटनेस सूत्र

खोटाङ्गको बुईपामा जन्मिएका चर्चित गायक राजेश पायल राईको ज्यान फिट एण्ड फाइन देखिन्छ। कुनै बेला बेलुकी  रक्सी पिउन थालेपछि छर्लङ्गै उज्यालो बनाउने उनी अहिले रक्सी पिउँदैनन्। व्यायाम र खानपानमा सचेत भएका ६१ किलो शारीरिक तौलका राजेशको जीवनशैली नै परिवर्तन भएको हो। सात हजारभन्दा बढी गीत गाइसकेका राजेशका राई इज किङ्, दर्शन नमस्ते, फैलियो माया दुबोसरीजस्ता दर्जनौं गीत चर्चित छन्।   

उनी शारीरिक तथा मानसिकरुपमा स्वस्थ तथा फिट रहनका लागि दैनिक व्यायाम गर्छन्। उनको बिहान उठ्ने समय भने अलि ढिलो हुँदो रहेछ। गायक राजेश बिहान उठ्दा घडीको घण्टा सुईले करिब ११ हानिसकेको हुन्छ। बेलुका करिब १२ बजे सुत्ने भएकाले उनको उठ्ने समय पनि ढिलो हुँदोरहेछ। 

उठिसकेपछि एक गिलास पानी पिउँछन्। अल्छि नलागेको समयमा उमालेको पानी पिउँछन्, नत्र चिसै पानी पनि पिउँछन्। दैनिक करिब दुई लिटर पानी पिउँछन्। त्यसपछि ट्वाइलेट–बाथरुम जान्छन्। त्यसपछि काँक्रा, मुला, चुकन्दर, गान्टेमुला जस्ता फलफूल तथा सागसब्जीको सलाद खाँदै ईमेल, म्यासेज चेक गर्छन्। 

खानासँग चार पिस मासु 
सलाद खाइसकेपछि खाना खान्छन्। खाना खाँदा दिउँसोको एक बजिसकेको हुन्छ। राजेशले सुनाए, ‘दिउँसो दुई बजेभित्रमा खाना खाइसक्छु।’ उनको छनोटमा यस्तो किसिमको चामलको भात भन्ने छैन, जुनै किसिमको चामलको भात पनि खान्छन् । सामान्यतः जिरामसिनो र बोइल राइस खान्छन्।

खानामा मासु कहिल्यै छुट्दैन रे। राजेशले सुनाए, ‘सुँगुर, कुखुरा आदिको मासु खान्छु। खानामा मलाई ३÷४ पिस भए पनि मासु भने चाहिन्छ नै।’ उनी खसीको मासु कमै खान्छन्। दस वर्ष अघि उनलाई रगत बाक्लो भएर स्वास्थ्य समस्या आएपछि खसी कम खान थालेका रहेछन्। धेरैजसो भान्छामा खट्ने कुकले जस्तो किसिमले मासु पकाइदिन्छिन् त्यस्तै खान्छन्। उनले भने, ‘कहिलेकाहीँ रुचि अनुसारका आईटम बनाइदिनु भन्छु तर, किचनमा जे पाक्यो त्यही खान मलाई आनन्द आउँछ।’ त्यसैगरी खानासँग फ्राई गरेको तितेकरेला, उसिनेको चिप्लेभिण्डी खान रुचाउँछन्, उनी। 

 

एक घण्टा व्यायाम
खाना खाइसकेपछि उनी दैनिक काममा व्यस्त हुन्छन्। रेकर्डिङ स्टुडियो पुगेर दैनिक ३/४ वटा गीत रेकर्डिङ गर्छन्। बेलुका सात बजेसम्म उनी व्यस्त रहन्छन्। कहिलेकाहीँ छ बजे नै काम सकिन्छ। कुनै दिन रातको दस पनि बज्छ। सात बजे काम सकिएपछि उनी हेल्थ क्लब जान्छन्। नेपालमा रहँदा काम सकेर उनी सिधै कहिले लाजिम्पाटमा रहेको वेलनेश हेल्थ क्लब र कहिले गौशालाको त्रिवेणी फिटनेस क्लबमा व्यायाम गर्न पुग्छन्। 

उनलाई स्टिम बाथ र सौना गर्न असाध्य आनन्द लाग्छ। उनी हेल्थ क्लबमा फिटनेसका अन्य अभ्याससँगै स्टिम र सौना लिन्छन्। दैनिक १५/१५ मिनेट स्टिम र सौना लिन्छन्। दैनिक एक घण्टा हेल्थ क्लबमा बिताउँछन्। 

तर, अहिले महामारी र लकडाउनका कारण हेल्थ क्लब जान पाएका रहेनछन्। यस्तो अवस्थामा नक्सालमा उनी बस्ने घरपछाडि ठूलो खाली विल्डिङ् रहेछ। त्यही खाली घरमा गएर उफ्रन्छन्। उनले हाँस्तै भने, ‘अहिले त्यही घर नै मेरा लागि हेल्थक्लब जस्तो भएको छ।’ विदेशमा रहँदा भने विभिन्न मुलुकमा रहेको एलए फिटनेस क्लबका शाखामा व्यायाम गर्न पुग्छन्। 

त्यसो त उनी शरीरलाई फ्लेक्जिबल रहन छाडिदिन्छन्। उनले भने, ‘मलाई जे मन लाग्छ त्यही गर्छु, शरीरलाई फ्लेक्जिबिलिटी दिन चाहन्छु।’ उनलाई निद्रा लाग्यो भने जुनसुकै समयमा पनि सुत्छन्। दिउँसै पनि निदाउँछन्। 

नेपालमा हिँडडुल गर्न असहज हुने भए पनि विदेशमा हुँदा भने आफू बसेको होटलको वरपर एक घण्टा हिँड्ने गरेको उनी सुनाउँछन्। गायक राजेशले अनुभव सुनाए, ‘नेपालमा त धेरैले चिन्ने र माया गर्ने गर्नुहुन्छ त्यसैले हिँड्न अप्ठेरो हुन्छ। हिँड्न मज्जा आउँछ हिँड्नु स्वस्थकर हो भन्ने थाहा छ मलाई।’ 

भोक लागिरहँदैन
बेलुका खासै खाजा खाँदैनन् रे। राजेशले आफ्नो भोकबारे आफैँ अच्चम्म मान्दै सुनाए, ‘अच्चम्म छ, भोक लागिरहँदैन। किचिङ–किचिङ खाइरहँदिन। यो मेरो उहिलेदेखिको बानी हो।’ उनी खानपानका शौखिन रहेनछन्। जे पाक्यो त्यसैमा रमाउँछन्। उनको खाजा खाने रुटिन भने हुँदैन रे। उनी भोक लाग्यो भने बाटोमा हिँड्दाहिँड्दै स्याउ किनेर खाइ हाल्छन्। काममा व्यस्त हुँदा त खाजै खान बिर्सन्छन्। 

उनलाई आँप, लिची, स्याउ मनपर्छ। पछिल्लो समय ‘ड्रागन फ्रुट’ उनलाई असाध्यै मनपर्न थालेको छ रे। राजेशले भने, ‘स्वास्थ्यका लागि पनि लाभदायक र मिठो पनि भएकाले यो फल मलाई मन पर्न थालेको छ।’ 

च्याँख्लाको भात र राँगाको मासु
बेलुका घर फर्कँदा करिब दस बज्छ। त्यसपछि खानपान गर्छन्। चामलको भात खान्छन्। बेलुकाको खानामा पनि मासु छुट्दैन। उनलाई मकैको च्याख्लाको भातसँग राँगाको मासु खान मनपर्छ। सधैँ खान सम्भव नभए पनि कहिलेकाहीँ च्याँख्लाको भात र राँगाको मासु खान्छन्। 

उनलाई खाना बनाउन आउँदैन रे। राजेशले सुनाए, ‘मलाई खासै खाना बनाउन आउँदैन। कहिल्यै रुचि पनि भएन। त्यसैले होला म किचेनका लागि अनभिज्ञ छु।’

खोटाङ्गमा रहँदा उनका बुवा–आमा (पापाममी) लाई खाना बनाउने सहयोगी दिदीले नै अहिले राजेशलाई खाना बनाइदिन्छिन् रे।

खानपान गरिसकेपछि विभिन्न व्यक्ति, आयोजक, रेकर्डिङ् तथा दैनिक कामको बारेमा कुरा हुन्छ। सुत्दा घडीको सुईले मध्यरातको १२ हान्छ। गायक राजेशले सुनाए, ‘विदेशमा अयोजकसँग कुरा गर्नुपर्ने भएकाले सुत्न ढिला हुन्छ।’

अग्र्यानिकमा जोड
उनी अग्र्यानिक खानपानमा निक्कै ध्यान दिन्छन्। सकेसम्म पिँडालु, स्कुसको जरालगायतका मौसमअनुसारका अग्र्यानिक खानपानमै जोड दिन्छन्। विदेशमा रहँदा पनि सकेसम्म जंकफुड कम खाने कोसिस गर्छन्। कोरियामा पुगेपछि चाउचाउको एउटा प्रकार ‘रामेन’ खान्छन्। जापान जाँदा ‘शुशी’, ‘शासिमी’ परिकार खान्छन्। 

एक रातमा ९७ हजारको रक्सी
उनी १०÷१२ वर्षअघिसम्म  असाध्यै अल्कोहल सेवन र धूमपान गर्थे। राजेशले भने, ‘म अल्कोहलिक मान्छे हो।’ अल्कोहल पिउँदै जाँदा रातै पनि कटाउँथे। राजेश पायलले साथीहरुसँग अनियन्त्रित रुपमा अल्कोहल सेवन गर्दाको त्यो बेलाको क्षण सम्झँदै भने,‘ ८÷९ जनाले एक रातमा ९७ हजारसम्मको अल्कोहल पिएका छौं। एकैपटक पोख्ने हो भने त खोलै पिएका छौं।’ अल्कोहल पिउने उनका साथि खेमराज गुरुङ पनि रहेछन्। राजेशले त्यो बेलाका सारथी खेमराज गुरुङलाई सम्झँदै भने, ‘हुन त उहाँ बितेर जानुभो, उहाँ मेरो ट्वाँट फ्रेण्ड हो।’

ज्यान बच्यो
अल्कोहल सेवन र स्वास्थ्यमा ध्यान नदिँदा त्यो समयमा शरीरमा रगत बाक्लो हुँदा राम्रोसँग रक्तप्रवाह नभएर  आफ्नो हातखुट्टै नचलेको उनले बताए। उनले त्यो समयको स्वास्थ्यमा भएको तितो अनुभव सुनाए, ‘घाँटीभन्दा तलको देब्रतर्फ (लेफ्टसाइड) को भाग चलेन।’ 

आफू बिरामी पर्दाको त्यो क्षणलाई उनी उदेकलाग्दो रुपमा सम्झन्छन्। नेपालमै करिब पाँच महिना उपचार गरेपछि ठिक भएको उनले सुनाए। बिरामी भएपछि भने उनले अल्कोहल सेवन गर्न छाडे। मृत्यु कि जीवन भन्ने छनोट गर्नुपर्ने अवस्था भएपछि आफूले अल्कोहल सेवन गर्न छोडेको उनले सुनाए। 

कहिलेकाहीँ बिरामी भएर अस्पताल भर्ना हुने भए पनि जीवनमा बिर्सनै नसक्ने हातखुट्टै नचल्दाको त्यो क्षण नै हो। 
त्यो बेला मैले किन त्यसरी अल्कोहल सेवन गर्थेँ भन्ने उत्तर अहिलेसम्म पनि राजेशले पाएका छैनन्। आफूले त्यो बेला अल्कोहल सेवन गर्नुको कारण अहिले पनि खोजिरहेको उनले सुनाए। कुनै पनि हिसाबले फाइदा नगर्ने भए पनि पिउँदा मज्जा लाग्ने, उन्मुक्त भएर, लहैलहैमा, फेशनजस्तो लिएर पनि त्यो बेला आफूले पिएको हुनसक्ने राजेशको अल्कोहल पिउनुको कारणको अनुमानित उत्तर छ। 
पहिले जीवन मजाक र अनुभूति भन्ने लागे पनि अहिले भने जीवनको अत्यन्तै माया लाग्छ। 

बिरामी भएको त्यो समयदेखि उनी प्रत्येक महिना स्वास्थ्य जाँच गराउँछन्। रुघाखोकी लागेको अवस्थामा पनि जथाभावी औषधि पसलबाट किनेर सेवन गर्दैनन्  विशेषज्ञको परामर्शमा मात्रै सेवन गर्छन्। उनी कुनै पनि कस्मेटिक्स सामग्रीको प्रयोग गर्दैनन् रे। प्राकृतिक अनुहारमा नै रहन्छन्। 

उनलाई माछामासु मिठो लाग्छ। खानपान गर्दा माछामासु उनको मुख्य प्राथमिकतामा पर्छ। उनले भने, ‘म मांशाहारी हुँ।’

Leave A Comment