मिसन कश्मिर

शुक्रबार, २४ साउन २०७६, ११ : १५ शुक्रवार
मिसन कश्मिर

कसरी कश्मिर भारतमा गाभियो र हालै स्वतन्त्र राज्यको ठाउँमा केन्द्र शासित राज्यमा परिणत भयो भन्नेबारे हिजोआज चर्चा र टिप्पणी निकै हुने गरेका छन्। यहाँ हामीले ती घटनाको तिथिमितिबारे चर्चा गर्नेछौँ।

सन् १९५० मा भारतीय संविधानमा विशेष राज्यको दर्जा हासिल गरेको जम्मुकश्मिर र लद्दाखले सो दर्जा गुमाएका छन्। संविधानमा रहेको आर्टिकल ३७० लाई संशोधन गरी कश्मिर घाटी, जम्मु र लद्दाखलाई भारतअन्तर्गत राखिएको छ। यो भारतीय जनता पार्टीको पहिलेको नीतिअनुरुप नै कार्यान्वयन गरिएको हो।

यहाँ कश्मिर राज्यको स्थापना, त्यसको उथलपुथल, कश्मिर राज्यलाई भारतीय संघमा अटाउने निर्णयसँगै हालै संविधानको आर्टिकल ३७० को संशोधनसम्मका प्रमुख तिथिमितिबारे चर्चा गरिन्छ।
१८४६: डोग्राका महाराजा गुलाब सिंह जम्मुकश्मिरको क्षेत्रलाई इस्ट इन्डिया कम्पनीसँग खरिद। यसका लागि अमृतसर सन्धिमा हस्ताक्षर।

१९३० को दशक: महाराजा हरि सिंहको शासनबाट असन्तुष्ट कश्मिरी मुस्लिमको विद्रोह। नेसनल कन्फरेन्स नामक पहिलो राजनीतिक पार्टीको जन्म र संस्थापक शेख मुहम्मद अब्दुल्लाहको राजनीतिक यात्रा शुरु। महाराजाविरुद्ध कश्मिर छोडो आन्दोलन शुरु।

१९४७ अगस्त: बेलायतबाट भारतको स्वतन्त्रता प्राप्ति, पाकिस्तान मुस्लिम मुलुकका रुपमा स्थापित। भारतका राजारजौटालाई तीन छनोटको अवसर, स्वतन्त्र रहने अथवा भारत वा पाकिस्तानमा गाभिने। जुनागढ, हैदराबाद र जम्मुकश्मिरलाई यो सुविधा प्रदान। भारतीय गृहमन्त्री सरदार बल्लभभाइ पटेल निर्णय गर्न नसकेका जुनागढ, हैदराबादलाई भारतमा गाभ्य सक्रिय। महाराजा हरि सिंहद्वारा पाकिस्तानसँग स्वतन्त्र रहने सम्झौतामा हस्ताक्षर।

अक्टोबर १९४७: पाकिस्तानद्वारा परिचालित हतियारधारीद्वारा कश्मिरमा आक्रमण, महाराजा हरि सिंहद्वारा भारतसँग सहयोगको अपिल। प्रधानमन्त्री जवाहरलाल नेहरु र गृहमन्त्री पटेलद्वारा सहयोगका लागि स्वीकृति प्रदान। यससँगै रक्षा, पराराष्ट्र र सञ्चारको अधिकार भारतमा निहित रहने विषयमा भारतको निर्णय रहने विषयमा सहमत। कश्मिरमा भारतीय सेना परिचालित। स्वतन्त्रता पक्षधर र भारतीय सेनाबीच द्वन्द्व शुरु।

जनवरी १९४८: भारतद्वारा कश्मिर मुद्दालाई संयुक्त राष्ट्रसंघमा उठान, पाकिस्तानी सेना हटाउन दबाब। राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई निर्णयको बिन्दुमा आउन आग्रह। दुई देशबीच १९४८ सम्मै द्वन्द्वको अवस्था।

१९४८ मार्च: महाराजा हरि सिंहद्वारा शेख अब्दुल्लालाई जम्मु कश्मिरको अन्तरिम प्रधानमन्त्रीका रुपमा चयन।

१९४९ जनवरी: संयुक्त राष्ट्रसंघद्वारा भारत र पाकिस्तानबीचको युद्धविरामका लागि आग्रह, कराँची सम्झौता सम्पन्न। दुवै देशले आफूले कब्जा गरेको क्षेत्र छाड्न अस्वीकार।

जुलाई १९४९: राजा हरि सिंहद्वारा आफ्नो छोरा युवराज करण सिंहलाई अधिकार प्रत्यायोजन। शेख अब्दुल्लाह र अन्य तीन मन्त्रीद्वारा चाँडै जारी हुन लागेको भारतीय संविधानको आर्टिकल ३७० मा छलफलमा सहभागी।

१९५०: भारतीय संविधान कार्यान्वयनमा। संविधानको आर्टिकल १ मा जम्मु एन्ड कश्मिर भारतीय राज्यको रुपमा स्वीकार, आर्टिकल ३७० द्वारा जम्मु र कश्मिरलाई विशेष राज्यको दर्जा।

१९५१: जम्मु कश्मिर राज्यको संविधान निर्माण।

१९५२: भारतीय संघअन्तर्गत आफूलाई पारेकोमा असन्तुष्ट नेताहरुबीच छलफल। यसैबीच दिल्ली सम्झौता सम्पन्न, जसमा राज्य र संघबीच सम्बन्ध अझ स्पष्ट।

१९५३: शेख अब्दुल्लाह प्रधानमन्त्रीका रुपमा पदच्युत। उनको ठाउँमा बक्सी गुलाम मोहम्मद प्रधानमन्त्री नियुक्त।

१९५४: राष्ट्रपतिद्वारा जम्मु कश्मिरको संविधानको धारा अझ विस्तृत।

१९५६: जम्मुकश्मिरद्वारा संविधान स्वीकार, आफूलाई भारतीय अभिन्न अङ्गका रुपमा स्वीकार।

१९५७: जम्मुकश्मिरको पहिलो विधानसभा चुनाव सम्पन्न। संवैधानिक सभालाई विधानसभाले प्रतिस्थापन। भारतीय गृहमन्त्री गोविन्द बल्लभ पन्तद्वारा जम्मुकश्मिरको राजधानी श्रीनगरको भ्रमण र जम्मुकश्मिर पूर्ण रुपमा भारतको अंश भएको घोषणा।

१९६०: जम्मु कश्मिरमाथि भारतको सुप्रिम कोर्ट तथा चुनाव आयोगको विस्तारको प्रक्रिया समाप्त।

१९६२: चीनद्वारा भारतमाथि आक्रमण। चीनद्वारा जम्मुकश्मिर अन्तर्गतको अक्साई चीन क्षेत्रमा नियन्त्रण।

मे १९६५: जम्मु कश्मिरका प्रधानमन्त्रीको पदलाई मुख्यमन्त्री र सद्र–ए–रियासतको पदलाई गभर्नरका रुपमा परिणत।

१९६५ जुन: नेसनल कंग्रेसका अब्दुल्लाहले पार्टीलाई नयाँ नाम दिलाए, इन्डियन नेसनल कंग्रेस।

१९६५ अगस्तदेखि १९६६ जनवरी: भारत र पाकिस्तानबीच युद्ध। प्रधानमन्त्री लालबहादुर शास्त्री र पाकिस्तानी राष्ट्रपति अयुब खानबीच तासकन्त घोषणा जारी गर्दै युद्ध अन्त्यको घोषणा।

१९६६: जम्मुकश्मिर स्वतन्त्र हुनुपर्ने जनमत संग्रहको माग, सशस्त्र समूहको जन्म। प्लेबिसाइट फ्रन्ट तथा जम्मुकश्मिर लिबरेसन फ्रन्ट जस्ता संस्थाको उदय।

१९७१: भारत र पाकिस्तानबीच तेस्रो युद्ध।

१९७२: भारत र पाकिस्तानद्वारा सिम्ला सम्झौता सम्पन्न, नयाँ लाइन अफ कन्ट्रोलको जन्म।

१९७५: प्रधानमन्त्री इन्दिरा गान्धी तथा शेख अब्दुल्लाहबीच कश्मिर सम्झौता गर्दै जम्मुकश्मिर भारतको अभिन्न अंग रहेकोमा जोड। गान्धीद्वारा ‘घडी अब पछाडि फर्कन नसक्ने’ भन्दै जनमत संग्रहको आवाजलाई खारेज। कंग्रेसको सहयोगले जम्मुकश्मिरमा शेख अब्दुलाहको मुख्यमन्त्री पद कायम।

१९७७: कंग्रेस तथा जम्मुकश्मिर नेशनल कंग्रेसको विभाजन। कंग्रेसको सहयोगमा शेख अब्दुल्लाहद्वारा केन्द्र शासित राज्यका रुपमा बाटो खुला।

जुलाई १९७७: जम्मुकश्मिरमा चुनाव सम्पन्न, शेख अब्दुल्लाह पुन: निर्वाचित।

१९७७ देखि १९८९: जम्मुकश्मिरमा सशस्त्र समूहको जन्म, सरकार अस्थिर तथा सरकारद्वारा विद्रोही युवाहरु पक्राउ, कयौँको हत्या।

१९९०: भारत शासित प्रशासनविरुद्ध कश्मिरी युवाको विरोध प्रदर्शन, कश्मिरी पण्डितहरुमाथि विद्रोहीको निशाना, घर छाडी हिन्दु व्राह्मणको भागाभाग। हतियारधारी विद्रोहीको बढोत्तरीसँगै केन्द्र सरकारद्वारा सशस्त्र विशेष पावर एक्ट लागू। सशस्त्र विद्रोहीविरुद्धको कार्बाहीका लागि सशस्त्र प्रहरीलाई अकूत शक्ति।

१९९० को दशक: सशस्त्र विद्रोह चर्कियो। चर्चित विद्रोही नेता पक्राउ, कयौँँको हताहती।

१९९५: प्रधानमन्त्री पिभी नरसिंम्हा रावद्वारा राष्ट्रपति शासन अन्त्य गर्न चाहेको धारणा व्यक्त।

१९९६ फेब्रुअरी: भारतद्वारा जम्मुकश्मिर लिबरेसन फ्रन्ट प्रतिबन्धित।

१९९६ सेप्टेम्बर: जम्मुकश्मिरमा चुनाव, फारुख अब्दुल्लाहद्वारा सरकार गठन।

१९९६ नोभेम्बर: केन्द्रद्वारा जम्मुकश्मिरको स्वतन्त्रताका लागि अध्ययन समिति नियुक्त।

१९९७: राष्ट्रिय मानव अधिकार परिषदद्वारा मानव अधिकार हनन्का घटना चर्किएको भन्दै जम्मुकश्मिरमा बेग्लै शाखा स्थापना।

१९९८: भारत तथा पाकिस्तानद्वारा आणविक हतियार परीक्षण।

१९९९ फेब्रुअरी: भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयीद्वारा पाकिस्तान भ्रमण।

१९९९ जुन: भारत र पाकिस्तानमा कार्गिल क्षेत्रमा विवाद चर्किदा युद्धको शुरुवात।

१९९९ डिसेम्बर: भारतीय विमान काठमाडौँबाट अपहरित। सट्टामा जेल हालिएका विद्रोही छुटाउन विद्रोही पक्षको आग्रह।

२००१ अक्टोबर: राजधानी श्रीनगरस्थित विधानसभामा विद्रोहीको आक्रमण।

२००१ डिसेम्बर: बन्दुकधारीद्वारा भारतीय संसद् नयाँ दिल्लीमाथि आक्रमण।

२००४: भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्वारा पाकिस्तानी राष्ट्रपति जनरल परवेज मसर्रफसँग भेट, सम्बन्ध सहजता उन्मुख।

२००५–२००८: विद्रोही, सशस्त्र समूह, प्रदर्शनकारी शान्त समूहबीच बेलाबेखतमा झडप।

२००८ नोभेम्बर: लस्कर–ए–तोइबाद्वारा विभिन्न सार्वजनिक स्थलमा आक्रमण। खासगरी मुम्बईस्थित ताज होटलमा तीन सयभन्दा बढीको हत्या।

२०१०: प्रदर्शनका क्रममा युवा हतियारधारीको हत्या।

२०११: जम्मु कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहद्वारा प्रहरी वा सशस्त्र प्रहरीमाथि ढुंगामुढाका क्रममा पक्राउ गरिएका १२ सयलाई माफी। लाइन अफ कन्ट्रोलमा भारतीय मानव अधिकारकर्मीद्वारा दुई हजार जनाको सामूहिक चिहान फेला।

२०१३: सन् २००१ मा दिल्ली केन्द्रीय संसद भवनमा आक्रमणका मुख्य दोषी देखिएका अफजल गुरुलाई फाँसी।

२०१५ मार्च: जम्मु कश्मिरमा भाजपा समर्थित पिपल्स डेमोक्रेटिक पार्टीको सरकार पहिलो पटक गठन।

२०१६ अप्रिल: मुख्यमन्त्री मुफ्ती मोहम्मद सइदको देहान्तपछि उनकी छोरी मेहबुबा मुफ्ती मुख्यमन्त्री नियुक्त।

२०१६ जुलाई: युवा हतियारधारी विद्रोही बुर्हान वानीको भारतीय सेनाद्वारा हत्यापछि राज्यव्यापी विरोध प्रदर्शन शुरु। कयौँ महिनासम्म कफ्र्यु।

२०१६ सेप्टेम्बर: जम्मु कश्मिरको उरीस्थित भारतीय सैन्य शिविरमा सशस्त्र आक्रमण। सेनाद्वारा लाइन अफ कन्ट्रोल पारि गई सर्जिकल स्ट्राइकको प्रत्याक्रमण।

२०१७ जुलाई: जम्मु कश्मिरका बासिन्दाद्वारा बुर्हान वानीको मृत्यु शोक आयोजना। सशस्त्र हतियारधारीद्वारा अमरनाथ मन्दिर गएका तीर्थयात्रीमाथि आक्रमण।

२०१८ जुन: जम्मुकश्मिर सरकारमाथि रहेको भाजपाको समर्थन फिर्ता।

२०१८ नोभेम्बर: गभर्नर सत्य पाल मलिकद्वारा विधानसभा खारेज।

२०१८ डिसेम्बर: केन्द्र सरकारद्वारा सिधा शासन चलाउने घोषणा।

२०१९ फेब्रुअरी: पाकिस्तानको बालाकोट क्षेत्रमा सेना परिचालन, भारतीय वायु सेनाका पाइलट पाकिस्तानद्वारा पक्राउ, पछि फिर्ता।

२०१९ मे: भाजपाद्वारा दोस्रो पटक नरेन्द्र मोदीको नेतृत्वमा सरकार निर्माण।

२०१९ जुलाई: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कश्मिर मुद्दामा आफू भारत तथा पाकिस्तानको मध्यस्थता गर्न तयार रहेको जनाउ।

२०१९ अगस्त: ठूलो संख्यामा भारतीय सेना जम्मुकश्मिरमा परिचालन। अमरनाथ पुगेका तीर्थयात्रुलाई फर्कन आग्रह।

२०१९ अगस्त ४: कश्मिरका प्रख्यात नेताहरु ओमर अब्दुल्लाह, मेहबुबा मुफ्तीलाई नजरबन्द। इन्टरनेट तथा मोबाइल सेवा बर्खास्त। धारा १४४ लागू, भेला, भाषणमा प्रतिबन्ध।

अगस्त ५: गृहमन्त्री अमित शाहद्वारा आर्टिकल ३७० फिर्ताका लागि प्रस्ताव। विपक्षी पार्टीद्वारा संसद्मा नाराबाजी। कश्मिर घाटी पूर्ण रुपमा बन्दको घोषणा।

Leave A Comment