नेपाली हास्यव्यंग्य साहित्यको खम्बा भैरव अर्यालको देहवसानसँगै गहकिलो हास्य चेतका पुस्तक हराए। साहित्यमा हास्यव्यंग्यकार नआएका हैनन्, अहिले पनि केही सक्रिय नै छन् तर गुणस्तरको मापनमा अर्यालको छेउछाउसमेत पुग्न सकेनन् उनका समकालीन र उनीपछिका पुस्ता।
केही प्रकाशन गृहले पुराना हास्यव्यंग्यकारको पुस्तक पुनर्मुद्रण गरेर पुस्तक पढेर रमाउने पुस्ताको रहर मेट्ने प्रयास गरिरहेका छन्। चट्याङ मास्टरको उपनामबाट कृष्णमुरारी गौतम व्यंग्य लेख्थे। थोरै शब्दमा गहकिलो प्रहार उनको विशेषता थियो। तर अहिले उनी हराएका छन्। प्रिन्ट मिडिया र अनलाइनमा हास्यव्यंग्यको उपस्थिति त छ तर प्रभावका हिसाबले नाम मात्रको।
‘पहिलेका व्यंग्य साहित्य जगतमा बलियो उपस्थिति थियो,’ साहित्यकार तथा समालोचक नेत्र एटमले भने, ‘त्यो बेलाको तुलनामा अहिले त छँदैछैन भने फरक पर्दैन।’
पत्रकार तथा साहित्यकार रोचक घिमिरेले अर्यालले बनाएको मानक भत्काउने प्रतिभा नै नदेखिएको बताउँछन्। उनी भैरव पुरस्कार गुठीको अध्यक्षसमेत हुन्। गुठीले दुई वर्षमा एक पटक पुरस्कार दिन्छ। पुरस्कारका लागि हास्यव्यंग्य पुस्तक छान्दा निकै सकस हुने उनले बताए। उनको विश्लेषणमा नेपाली हास्यव्यंग्य लेखन अर्यालको लेखन शिल्पसम्म पुग्नै सकेको छैन।
उत्साहजन प्रारम्भ
विक्रम संवत् १८५५ मा शक्तिवल्लभले आफ्नै संस्कृत रचना हास्यकदम्बको नेपाली अनुवाद गरेर नेपाली साहित्यमा हास्यव्यंग्यको प्रारम्भ गरेको मानिन्छ।
समालोचक महेश पौड्यालका अनुसार समय क्रमसँगै भैरव अर्याल, केशवराज पिँडाली तथा वासुदेव शर्मा लुइँटेलसम्म आइपुग्दा हास्यव्यंग्यले दुर्लभ उचाइ चुम्न सफल भयो।
शक्तिवल्लभले नै ‘साढ्याको कवितत्’ आफ्नै कविता संस्कृतबाट अनुवाद गरेपछि हास्यव्यंग्यको सुरुवात भएको पनि मानिन्छ। शक्तिवल्लभपछि हास्यव्यंग्य कवितामार्फत कलम चलाउने अर्का कवि मोतीराम भट्ट हुन्।
भट्टले ‘गजवास्टक’ तथा ‘वफास्टक’ पुस्तक प्रकाशित गरेका थिए। भट्टभन्दा पछि केशवराज पिँडालीको ‘खै खै’ निबन्ध प्रकाशनमा आएपछि निबन्धमा हास्यव्यंग्य लेखन सशक्त भएको घिमिरेको भनाइ छ।
सुरुवाती चरणमा हास्य चेत मात्र भएको निबन्ध प्रकाशनमा आउँथे। पछि केशवराज पिँडाली, भैरव अर्याल, वासुदेव शर्मा लुइँटेलले हास्यमा व्यङ्ग्य मिश्रित निबन्ध लेख्न थाले।
केशवराज पिँडाली, भैरव अर्यालभन्दा अघिका हुन्। घिमिरेको दाबीअनुसार केशवराज पिँडालीको मानक भैरव अर्यालले भत्काए तर अर्यालको मानक कसैले भत्काउन सकेनन्। समालोचक नेत्र एटम त अर्यालको नजिक पुग्न सक्ने व्यंग्य नै सिर्जना नभएको दाबी गर्छन्।
दाताराम पौडेल, भूतको भिनाजु भनेर चिनिने वासुदेव शर्मा लुइँटेल, रामकुमार पाँडे, श्याम गोतामे, बालमुकुन्द पाण्डे र श्रीधर खनाल लगायतका व्यंग्यकार अर्यालकै समकालीन थिए।
संख्या धेरै, गुणस्तर थोरै
अर्यालपछि हास्यव्यंग्यमा कलम चलाउनेको संख्या सानो भने छैन। विष्णु नवीन, रामकुमार पाँडे, लोकेन्द्रबहादुर चन्द, हरि बन्दी, मोहनराज शर्मा, विमल निभा, खगेन्द्र संग्रौला, नरेन्द्रराज पौडेल, रुद्र खरेल, नरनाथ लुइँटेल, भाउपन्थी, चट्याङ मास्टर, लाटो साथी, मनोज गजुरेल, लक्ष्मण गाम्नागे, विमल भौकाजी तथा सुरेश किरण लगायतले निरन्तर कलम चलाइरहेका छन्।
संख्यामा उल्लेख्य रहे पनि स्तरीय हास्यव्यंग्य नआएको घिमिरेले बताए। उनका अनुसार भैरवको निबन्ध समयातित छ र अहिले पनि उत्तिकै सान्दर्भिक। ‘उनलाई कृष्णचन्द्र सिंह प्रधानले साश्वत व्यङ्ग्यशिल्पी भन्नुभएको थियो,’ घिमिरेले भने।
समालोचक एटमका अनुसार अर्यालसित मान्छेका गलत प्रवृत्तिको पहिचान गर्ने सामथ्र्य थियो। उनले त्यसलाई हास्यमा मिलाएर व्यंग्य गर्ने तीक्ष्ण कलाको प्रयोग गर्थे। पछिल्लो समयमा व्यंग्यको क्षमता रुद्र खरेलमा भए पनि उनमा हास्यको पुट नभएका कारण उनी प्रखर हुन सकेनन्।
‘आजकलको हास्यव्यंग्य लेखन व्यक्तिको क्षणिक बोली, व्यवहार र नारीद्वेषी चिन्तनको गलत आधारमा अडिएको छ,’ एटमले भने, ‘यो नितान्त क्षुद्र अभिव्यक्तिको स्तरमा ओर्लेको हुन्छ र तिनलाई विभेद बढावा दिएको भनेर मानहानिको मुद्दा लगाउन सकिन्छ।’ एटोमले झैँ समालोचक पौैड्यालले पनि केशवराज पिँडाली र भैरव अर्यालको जस्तो लोकप्रियता अन्य व्यंग्यकारले आर्जन गर्न नसकेको बताए।
‘वासुदेव लुइँटेलमा त्यो सम्भावना नदेखिएको होइन तर उनले त्यो हदको लोकप्रियता हासिल गर्न सकेनन्,’ उनले भने, ‘कारण, उनी विविध नामहरूमा छरिए र ज्यादै नै प्रयोगशील भए। पाठकले ठम्याउन सकेनन्।’
समालोचक अभि सुवेदीका अनुसार भैरव अर्यालको व्यंग्य चेत निकै सशक्त थियो। जुन उनीपछिको पुस्तामा भेटिएन। अहिलेका हास्यव्यंग्य पाठकसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक इतरको विषयमा आउन नसकेको पौड्याल बताउँछन्।
‘आफ्ना आलेखमा समसामयिक राजनीतिका अतिरिक्त आम पाठकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अन्य विषयलाई थोरै छोए, अधिकांशले राजनीतिक विषयभन्दा माथि उठ्न सकेनन्,’ उनी प्रस्ट्याउँदै भन्छन्, ‘त्यसैले उनीहरूको व्यंग्य राजनीतिका पारखी र सरोकारवाला भन्दा पृथक् अन्य पाठकहरूका लागि लोकप्रिय विषय बन्न सकेन।’
साख गुमाएको हास्यव्यंग्य
अग्रजको बाटो पहिल्याउन नसक्नु र आफैँ बाटो नपहिल्याउनुको कारण पनि हास्यव्यंग्य सहित्यमा स्तरीय कृति आउन नसकेको घिमिरे बताउँछन्। उपयुक्त विषय खोज्न नसक्नु र त्यसअनुरुप शिल्पको विकास गर्न नसक्दा अहिले हास्यव्यंग्यले आफ्नो साख गुमाएको समालोचक एटमको ठहर छ। ‘अहिले त्यसले पुनर्जीवन पाउने कुनै सङ्केत देखाएको पनि छैन,’ एटमको ठम्याई छ।
समालोचक अभि सुवेदीका अनुसार भैरव अर्यालको व्यंग्य चेत निकै सशक्त थियो। जुन उनीपछिको पुस्तामा भेटिएन।
पछिल्लो समय लेखनमा भन्दा पनि बोलेर, अरुको नक्कल गरेर केही अश्लील भनिएका शब्द बोलेर हँसाउने चलन बढी भएको पत्रकार तथा साहित्यकार घिमिरेले बताए।
‘स्ट्यान्डअप कमेडी, क्यारिकेचर, मुख बाङ्गो बनाउने, महिलालाई होच्याउने लगायतका हास्य विधाहरु आएका छन्,’ घिमिरेले भने, ‘व्यंग्य चेत भएकाले अरुलाई अपमान नगरी पनि हँसाउन सकिन्छ भन्ने कुरा नै थाहा नभएजस्तो देखिएको छ।’
छापामा व्यङ्ग्य
सुरुवाती चरणमा नेपाली छापामा हास्यव्यंग्यको सानो स्पेस छाप्ने पत्रिका ‘हालखबर’ हो। त्यसमा प्रधान सम्पादक मदनमणि दीक्षित थिए भने सम्पादक दाताराम शर्मा थिए। उनैले हास्नु हुन्छ भने स्तम्भमा हास्यव्यंग्य लेख्थे।
‘हालखबर’ पत्रिकाका नियमित ग्राहक बनेका भैरव अर्यालले त्यही स्तम्भबाट लेख्न थाले। पछि रोचक घिमिरे सम्पादक भएको पत्रिका ‘रचना’मा उनले नियमित लेख्न थाले। घिमिरेका अनुसार भैरव अर्यालमा विषयवस्तुलाई बुझ्ने क्षमता थियो। अर्यालले सुरुमा हास्य चेत भएको मात्र लेख्थे पछि त्यसमा व्यङ्ग्य मिश्रित गराएपछि भने उनको हास्यव्यंग्य चर्चित भयो।
समालोचक पौड्यालका अनुसार पत्रपत्रिकाले त पहिले पनि हास्यव्यङग्यलाई खासै प्रश्रय दिने गरेको देखिँदैन। जसरी कथा, कविता, पुस्तक समीक्षा वा संस्मरणले स्थान पाउँछन् त्यसरी हास्यव्यंग्यले स्थान पाएको छैन।
‘केही आवधिक पत्रिकाले केही विशेषाङ्क छापेको पाइएको छ। विदेह (२०३४), मधुपर्क (२०५४), मिर्मिरे (२०५४), मधुपर्क (२०६४) केही उदाहरण हुन्। ‘केही अखबारका नियमित स्तम्भ पनि छन्,’ पौड्यालले भने, ‘पहिले पहिले साहित्यकारहरू आफ्नै उचाइको बलले लोकप्रियता आर्जन गर्थे। अचेल, अखबारले हैस्टे गरिदिने चलन छ तर त्यसमा पनि हास्यव्यंग्यलाई न्यून।’
व्यंग्यका खम्बा
३९ वर्षको अल्पआयुमै बितेका भैरव अर्यालले पत्रिकामा नियमित स्तम्भ लेखनसँगै पुस्तकसमेत प्रकाशित गरे। भैरव अर्यालका ‘काउकुती’, ‘जयभुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’ लगायतका पुस्तकहरु प्रकाशित छन्। पछिल्लो समयमा उनका केही अप्रकाशित हास्यव्यंग्य पनि प्रकाशनको चरणमा छन्।
साहित्यकार, भैरव अर्यालकाे नाममा प्रकाशित हुलाक टिकट
अर्यालसँग लामो समय बिताएका साहित्यकार एवं पत्रकार रोचक घिमिरेले भैरवका निबन्ध विविधतायुक्त हुने बताए।
कुनै समय भैरव अर्याल गोरखापत्रमा पत्रकार थिए। काममा रमाउने अर्याल सबैको प्रिय थिए। एक हिसाबले भन्दा उनी त्यतिबेलाका चर्चित पत्रकार थिए। मन्त्रीदेखि कर्मचारीको उच्च पदस्थ व्यक्तिले समेत उनलाई लेखिदिन अनुरोध गर्थे।
एक दिन अर्याललाई मन्त्रीले भोलिपल्ट बोल्ने कार्यक्रमको भाषण लेखिदिन अनुरोध आएछ। अर्यालले लेखिदिएछन्। सम्पादकले उनैलाई त्यही मन्त्रीको कार्यक्रममा समाचार संकलनका लागि पठाएछन्। आफूले लेखिदिएको भाषणको समाचार आएर उनैले लेखे। तेस्रो दिनको पत्रिकामा सम्पादकीय त्यही विषयमा लेख्न सम्पादकले अह्राएछन्। यस्ता कुरा भैरवले व्यंग्यका लागि सूचना सङ्कलन गर्ने गरेको रोचक घिमिरे सुनाउँछन्।
Leave A Comment