सभामुखको मुख

शनिबार, २५ साउन २०७६, ०२ : ५९ शुक्रवार
सभामुखको मुख

मनोज गजुरेल

सरल र शालिन सभामुख मानिने कृष्णबहादुर महराले‘उद्घोषण तालिम’ लिने हुनु भएको छ। उहाँले सदनमा बोल्दा धेरै शब्दहरुको उच्चारण अस्पष्ट हुने गरेको क्यारिकेचर विज्ञहरुको भनाइपछि सभामुख स्वयम् यो निर्णयमा पुग्नु भएको हो।

गोप्य सूत्र भन्छ,‘एकदिन उहाँ घरमा बसेर एफएममा समाचार सुन्दै हुनुहुन्थ्यो। त्यहाँ कसैले‘माननीय सदस्यहरु’ भन्नु पर्नेमा‘मान्य सस्सेहरु’ उच्चारण ग-यो। तत्कालै सभामुखले गलत उच्चारणलाई संसद्को रेकर्डबाट हटाइएको रुलिङ् गर्नुभयो तर सभामुखनी भाउजूले यो सदन नभएको र त्यो आवाज उहाँकै भएको सम्झाएपछि सभामुख उद्घोषण तालिममा जाने सोचमा हुनुहुन्थ्यो।

हिजो सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा पनि सभामुखका थुप्रै शब्दहरु अस्पष्ट थिए। संसद्मा सबैभन्दा बढी प्रयोग हुने‘स्पष्टीकरण’,‘प्रधानमन्त्री’,‘ध्यानाकर्षण’,‘व्यवस्थापिका’जस्ता शब्दहरुको उच्चारण प्रस्ट सुनिदैनन्। यसबाहेक बोल्दा धेरै पटक शब्द अड्किएको, रड्किएको र भड्किएको देखिन्छ।

नाम नबताउने शर्तमा माननीय गोप्यलाल चौधरीले भने,‘सभामुखले राष्ट्रियता भन्दा‘रास्ता’ सुनिन्छ। प्रजातन्त्र भन्दा‘पन्त्र’ बुझिन्छ। उहाँबाटै प्रभावित भएर आजकाल त म पनि संघीयतालाई‘संगिता’ भन्न थालेको छु।’

प्रतिनिधि सभा नियमावली – २०७५ मा लेखिएको छ–‘संसद् भनेको नेसनल इभेन्ट हो, सभामुख त्यसको मास्टर अफ सेरेमोनी ! मास्टर अफ सेरेमोनीको कार्यक्रम सञ्चालन र शब्द उच्चारण सरल, सुन्दर र प्रस्ट हुनुपर्छ। त्यसो नभएमा तालिमको व्यवस्था गर्नुपर्छ।’

प्रतिपक्षी दलका एक सांसदले त यतिसम्म निम्छरो कुरा गरे कि‘बोल्दाखेरि सभाभुखज्यू किन लर्बरिनु हुन्छ ? यस विषयमा एउटा‘खानपिन आयोग’ गठन गर्नुपर्छ !’

सोही नियमावलीका आधारमा‘सभामुखको उद्घोषण कला सन्बन्ध’मा खुला टेन्डर आह्वान गरिंदै थियो। तर, मनोज भेटुवालको कम्पनीले पनि टेन्डर हाल्ने खतरा देखिएकाले निवासमै गोप्य तालिम थालिएको छ।

‘अहिले उहाँ शिव ताण्डव स्तोत्र, जिबरिश भाषा तथा वेदका ऋचाहरु पढ्दै हुनुहुन्छ। एक महिनापछि गगन थापा, केपी ओली, प्रचण्ड जत्तिकै प्रस्ट उत्चारक हुनुहुनेछ,’ उद्घोषण प्रशिक्षक दिनेश एडिसीले नाम छाप्न अनुरोध नगर्दै बताए।

सत्तापक्षका भावि सांसद जग–अनाथ खतिवडाले भने–‘सबै सभामुख सुवास नेम्बाङ् हुँदैनन्, जसले शुद्ध, प्रस्ट र सुमधुर बोलुन् ! तर, वर्तमान सभामुखले प्रस्ट उच्चारण गरे सुनमा सुगन्ध हुन्थ्यो, अस्पष्ट हुँदा त गुँदपाकमा गुगन्धजस्तो भयो। प्राक्टिस मेक्स कमरेड परफेक्ट !’

Leave A Comment