सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सातामा एउटा न एउटा भिडियो हास्यव्यंग्यसँग जोडिएकै हुन्छन्। त्यसमा पनि युवा पुस्ताले शुरु गरेका स्ट्यान्डअप कमेडीका शो त छुट्दै छुट्दैनन्। हास्यव्यंग्यको अर्को विधा ड्रामामा आधारित टेलिसिरियल टेलिभिजनसँगै सञ्जालमा पनि हिट छन्।
हास्यव्यंग्य विधा भन्नासाथ दुई हातका औँला भाँच्दैमा पुराना र नयाँ पुस्ताको संख्या सकिन्थ्यो। सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, लक्ष्मी श्रेष्ठ, शिवहरि पौडेल, किरण केसी, उज्ज्वल भण्डारी, दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे आदि। यिनै नाम आउँथ्यो हास्यव्यंग्य कलाकार सम्झँदा।
तर अहिले अवस्था बदलिइसक्यो। रातारात कमेडी स्टार जन्मिरहेका छन्। नयाँ पुस्तामाझ लोकप्रिय पनि भइरहेका छन्। सहज डिजिटल प्लेटफर्मले संख्याको दायरा फराकिलो बनाउँदा नाम थपियो, अपूर्व क्षितिज सिंह, लेखमणि त्रिताल, प्रनेश गौतम, नमुना गिरी, सुजन जिम्बा, क्षितिज केसी, शिष्टता भण्डारी, सिम्रन पाण्डे, सञ्जु कटुवाल।
टेलिभिजनमा पनि नयाँ अनुहारको दबदबा बढ्दो छ। अर्जुन घिमिरे (पाँडेबूढा), हरि निरौला (कक्रोच), पवन खतिवडा (म्याकुरी), लक्षणा राई, सागर लम्साल(बले), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) लगायतकाहरु छाइरहेका छन्। टेलिभिजनमा सन्दीप क्षेत्री पनि उत्तिकै सक्रिय छन्। मध्यम पुस्ताका जितु नेपाल मुद्रेको कमेडी क्लबमार्फत टेलिभिजनमा फर्किएका छन्। मनोज गजुरेलले नागरिक नेटवर्कमार्फत नयाँ पुस्तासँग साक्षात्कार गरिरहेका छन्, युट्युब र फेसबुकमा।
डिजिटल पुस्ताको प्रभावसँगै हास्यव्यंग्य क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्दो छ तर कन्टेन्टमा मिहिनेत नगर्दा नयाँ पुस्ताको प्रस्तुति फास्टफुडझैँ क्षणिक समयको बनेको छ।
अहिले हेर्दा बडो सहज देखिन्छ हास्यव्यङ्ग्य क्षेत्र। ट्राई मार्न चाहनेका लागि त्यत्ति रिस्क छैन। अग्रज पुस्ताले पनि यत्तिकै स्वतन्त्र वातावरणमा आफ्नो कला निखार्ने मौका पाए त ?
नेपालको राजनीतिक घटनाक्रमसँगै जोडिएको छ, यो क्षेत्र पनि। जसरी राजनीतिले राणाकाल, पञ्चायत, बहुदल र गणतन्त्र भोग्यो, हास्यव्यंग्य क्षेत्रले पनि यी सबै चरण पार गरेको छ। डबली हुँदै रंगमञ्च अनि रेडियो, टेलिभिजनदेखि आज युट्युबमा हास्य कलाकार स्वतन्त्र भएर ‘हास्यव्यंग्य’ प्रस्तुत गर्न सक्ने भए।
राणाकालमा यो कला दरबारमा र राणा खलक वरिपरि खुम्चिएर रह्यो। टोलको डबलीमा आक्कलझुक्कल हुने कार्यक्रमबाहेक सर्वसाधारणसम्म त्यत्ति पहुँच थिएन। यसपपछि पालो आउँछ, पञ्चायतकालको।
पञ्चायतमा ‘हास्यव्यंग्य’ हेर्न उहिलेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा हुने ‘गाईजात्रा महोत्सव’ वार्षिक कार्यक्रम कुर्नुको विकल्प थिएन।
मनोरञ्जनको माध्यम बनेको ‘महोत्सव’ ह्युमर आर्टिस्टका लागि ठूलो अवसर थियो। टोलको डबलीमा लुकीलुकी हास्यव्यंग्य प्रस्तुत गर्ने कलाकारहरु ‘महोत्सव’को स्टेज पाउन तँछाडमछाड गर्थे।
मौका पाउनेले पनि मन फुकाएर स्वतन्त्र भएर न हास्य रस प्रस्तुत गर्न सक्थे, न व्यंग्य नै। कुनै प्रहसन गर्नुअगाडि जिल्ला प्रशासन कार्यालयमा स्क्रिप्ट बुझाउनुप-थ्यो र पास भए मात्र देखाउन पाइन्थ्यो। स्क्रिप्टमा केही थपघट गरेर व्यंग्य प्रस्तुत गरे जेल पर्ने पक्का !
तर त्यस्तो अवस्थामा पनि कलाकारले विविध विषयमा व्यंग्य कस्न छाडेनन्। महिला कलाकारको अभावमा पुरुष नै महिलाको भूमिकामा देखिन्थे। दर्शक त्यही पनि रमाएर हेर्थे।
२०३३ मा संस्कृतिविद् सत्यमोहन जोशीले संस्थागत रुपमा ‘गाईजात्रा महोत्सव’ शुरु गरे प्रज्ञा प्रतिष्ठानमा। त्यतिखेर उनी प्रतिष्ठानका सदस्य सचिव थिए। उनीसँगै डिल्लीबहादुर मल्ल, सूर्यविक्रम ज्ञवाली, माधव घिमिरे प्रतिष्ठानका पदाधिकारी थिए।
यस किसिमको ‘दबू प्याँख’ (डबलीको नाच) २०२४ र २०२५ सालतिर निकै प्रचलित थियो। बालबालिकादेखि वृद्धवृदासम्म सबै ‘दबू प्याँख’ हेरेर रमाउँथे। वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँग डबलीमा प्रस्तुत गरिएको अनुभवसमेत छ।
२०३३ मा संस्कृतिविद् सत्यमोहन जोशीले संस्थागत रुपमा ‘गाईजात्रा महोत्सव’ शुरु गरे प्रज्ञा प्रतिष्ठानमा। त्यतिखेर उनी प्रतिष्ठानका सदस्य सचिव थिए। उनीसँगै डिल्लीबहादुर मल्ल, सूर्यविक्रम ज्ञवाली, माधव घिमिरे प्रतिष्ठानका पदाधिकारी थिए। ‘गाईजात्रा महोत्सव’को परियोजना आफैँले प्रस्तुत गरेको संस्कृतिविद् सत्यमोहनले शुक्रवारलाई बताए।
‘महोत्सव’मा पनि खुलेर हास्यव्यंग्य प्रस्तुत गर्न पाइँदैनथ्यो। सात दिनसम्म हुने महोत्सवमा पहिलो दिनको पहिलो कार्यक्रमको दर्शक दरबारका सदस्य र उच्च सरकारी कर्मचारीहरु हुन्थे। राजासमेत आउँथे कार्यक्रम हेर्न। राजा आउने भएपछि सेन्सर त हुने नै भयो ! त्यतिखेर यादव खरेल, लक्ष्मण लोहनी व्यंग्यात्मक कविता प्रस्तुत गर्थे। कलाकार सन्तोष पन्त, मदनकृष्ण, हरिवंश लगायतको प्रहसन हुन्थ्यो।
‘राजालाई पर्ला भनेर ‘र’ पनि भन्न दिइन्थेन,’ हास्य कलाकार हरिवंश आचार्यले अनुभव सुनाए, ‘पञ्चायत व्यवस्थालाई पर्ला भनेर ‘प’ पनि भन्न पाइन्थेन। त्यो बेला व्यंग्य गर्नु ठूलो विषय हुन्थ्यो। अहिले जस्तो स्वतन्त्र वातावरण थिएन।’
सर्वसाधारणका लागि छुट्ट्याएको सोमा हल्काफुल्का व्यंग्य हुन्थ्यो तर अहिलेको जस्तो सिधै हैन घुमाएर, सांकेतिक रुपमा।
‘२०१७ साल भनेको पञ्चायत व्यवस्था लागू भएको साल। पञ्चनारायण जी कति सालमा जन्मनु भएको ? भनेर सोध्दा। १७ सालमा भनेपछि सेन्सरमा फेल हुन्थ्यो स्क्रिप्ट,’ उनले पुराना दिन सम्झिए, ‘त्यसैले संवादमा पञ्चनायराणजी १६ र १८ सालको बीचमा जन्मेको भनिन्थ्यो।’
पञ्चायत कालमै मदनकृष्ण र हरिवंशले विभिन्न ठाउँमा व्यंग्य प्रस्तुत गर्थे। स्टेजमा मञ्चन भएका हास्यव्यंग्य प्रहसनको क्यासेट बनाउँथे। त्यो बेला रेडियोमा रसरङ भन्ने कार्यक्रममा आउँथ्यो। त्यसमा केही प्रतिशत व्यंग्य हुन्थ्यो। तर सरकारले चलाएको मिडियामा व्यंग्य सेन्सर नै हुन्थ्यो। त्यसैले उनीहरुका क्यासेट खुब बिक्री हुन्थ्यो। ‘अंशबण्डा’, ‘प्यारालाइसिस’ ‘प्रहसन’ आदिका लाखौं क्यासेट बेचे।
बहुदल आएपछि सरकारी तहबाट ‘गाईजात्रा महोत्सव’ अनि ‘दबू प्याँख’ हुन छोड्यो। बहुदलसँगै बोल्ने स्वतन्त्रा पनि आयो। त्यसपछि त व्यक्तिगत रुपमै हास्यव्यंग्य कार्यक्रमहरु प्रदर्शन शुरु भयो।
टेलिभिजनको युग
२०४२ मा टेलिभिजन आएपछि सन्तोष पन्तले हास्यव्यंग्य टेलिफिल्म शुरु गरे। ‘को ?’, ‘लौ आयो’, ‘कठै !’, ‘एउटा कुरा’, ‘कस्तो लाग्यो ?’, ‘मित बा’जस्ता व्यंग्यात्मक सामाजिक टेलिसिरियल दर्शकले खुबै रुचाए। २०५३ बाट प्रशारण शुरु भएको टेलिफिल्म ‘आजभोलिका कुरा’ र पछि नाम परिवर्तन गरिएको ‘हिजोआजका कुरा’ निक्कै चल्यो। पन्तले सो टेलिफिल्म निर्देशन पनि गर्थे र अभिनय पनि। बहुदलमा आएको यो कार्यक्रम गणतन्त्र आएसँगै २०६३ मा बन्द भयो। अहिले टेलिभिजनमा आइरहेका हास्यरसका टेलिफिल्ममा त्यसैको प्रभाव अझै देखिन्छ।
मदनकृष्ण र हरिवंश मिलेर ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘मदनबहादुर हरिबहादुर’ ‘फिप्टी फिप्टी’, ‘दशैं’ जस्ता टेलिफिल्म बनाए। रंगमञ्चमा जमिरहेको हास्यव्यंग्यलाई यी तीन कलाकारले टेलिभिजनको सेटमा मज्जाले जमाए।
टेलिभिजनमा दिनेश डिसी झुल्किए समूह नै बनाएर ‘ट्वाक्कटुक्क’ सञ्चालन गर्न थाले। हास्य कार्यक्रममा यसले राम्रै छाप छाड्न सफल मात्र भएन, यही कार्यक्रमले नारायण त्रिपाठी, दीपकराज गिरी, जीतु नेपाल, गोपाल नेपाल ‘फिस्टे’ लगायतका हास्य कलाकार जन्माएको थियो। कार्यक्रम पनि हरायो, कलाकार पनि हराए।
दोस्रो पुस्ताको प्रभाव
‘ट्वाक्क टुक्क’ हराएपछि टेलिभिजनमा नयाँ पुस्ताले ठाउँ जमाउन थाल्यो। खासगरी दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, जीतु नेपाल (मुन्द्रे), केदार घिमिरे(माग्ने बुढा), सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) आदिले २०६४ सालपछि बेग्लै उचाई हासिल गरे।
गिरी समूह ‘तीतो सत्य’को ब्राण्डमा उदाए, जीतु समूह ‘जिरे खुर्सानी’, र धुर्मुस–माग्ने बुढा ‘मेरी बास्सै’ को ब्रान्डमा चर्चित भए। यी तीन वटै कार्यक्रम टेलिभिजनमा खुब जम्यो।
टेलिभिजन छाडेर फिल्मतिर
१२ वर्ष ‘तीतो सत्य’ प्रशारण गरेर गिरी समूह फिल्म निर्माणतिर लाग्यो। जितु समूहको ‘जिरे खुर्सानी’ बन्द भएपछि गिरीतिरै लागे। दीपक, दीपा, केदार, जितुले कमेडी विधाको ‘छक्का पञ्जा’ फिल्मको सिरिज बनाए। फिल्ममा हास्य व्यंग्यको नयाँ ट्रेन्ड सेट गरे मात्र होइन, टेलिभिजनमा हास्य व्यंग्यको चोटिलोपनको विधामा निस्ताएका दर्शक फिल्म हेर्न हलसम्म दौडिए।
‘छक्कापञ्जा’अघि पनि नेपाली फिल्ममा हास्य व्यंग्यको चोटिलो प्रस्तुति त हुन्थ्यो तर त्यो चटनीका रुपमा मात्र प्रयोग हुन्थ्यो। त्यसो त यादव खरेलले २०४६ सालमै मदनकृष्ण र हरिवंशलाई लिएर हास्यप्रधान फिल्म ‘लोभीपापी’ बनाएका थिए। ‘अहिलेको ‘छक्का पञ्जा’ जस्तै फिल्म हामीले त्यो बेला नै बनाएको हो,’ यादव खरेल सुनाउँछन्। यसपछि ‘के घर के डेरा’ पनि सोही जनरालाई पछ्याउँदै बन्यो, जसलाई प्रदीप रिमालले निर्देशन गरेका थिए। यसको निकैपछि मदनकृष्ण–हरिवंशले आफ्नै पहलमा ‘फिलिम’ निर्माण गरेका थिए तर हास्य नै प्रमुख विधा भने सफल हुन सकेको थिएन।
नयाँ पुस्तासँगै हास्यव्यंग्यलाई नौलो शैली र शिल्पमा सफल तरिकाले पस्कने श्रेय भने दीपक–दीपालाई जान्छ, जसको ‘छक्का पञ्जा’ सफल भएपछि मदनकृष्ण–हरिवंशले पनि ‘शत्रुगते’, ‘दाल भात तरकारी’ जस्ता हास्यव्यंग्य फिल्म बनाउन कस्सिए तर दीपक–दीपा जत्ति नै सफल भने हुन सकेनन्।
अहिले दीपक दीपाको टिम ‘छ माया छपक्कै’मा व्यस्त छ। उनीहरुका समकालीन अन्य हास्य कलाकार पनि हास्यप्रधान फिल्म बनाउन अघि बढेका छन्। शिवहरि पौडेलले हालै ‘लक्का जवान’ बनाउने घोषणा गरिसकेका छन्।
धुर्मुस–सुन्तली हास्यव्यंग्य छाडेर समाजसेवातिर लागेका छन्।
अर्को पुस्ताले टेलिभिजन छाडे पनि शून्य भने छैन। नयाँ पुस्ताले ‘भद्रगोल’, ‘गोलमाल’जस्ता हास्य चेतका टेलिफिल्म बनाइरहेका छन् र जमिरहेका छन्।
नयाँ पुस्ताको नयाँ माध्यम
सूचना प्रविधिको विकाससँगै आएका नयाँ नयाँ प्लेटफर्मसँगै हास्यव्यंग्य क्षेत्रमा समेत नयाँ पुस्ता आइरहेका छन्। जसले पुरानो पुस्ताले शुरु गरेको ट्रेन्ड पछ्याएको मात्र छैन, आफैँ ट्रेन्डसेटर हुने प्रयाससमेत गरिरहेको छ।
यो समूह स्ट्यान्डअप कमेडीमार्फत अहिलेका पुस्तासँग अन्तरक्रिया गरिरहेको छ। यसले समाज बुझाइरहेको छ भने सँगैमा मज्जाले हसाई पनि रहेको छ।
अपूर्व क्षितिज सिंह, लेखमणि त्रिताल, प्रनेश गौतम, नमुना गिरी, सुजन जिम्बा, क्षितिज केसी, शिष्टता भण्डारी, सिम्रन पाण्डे, सञ्जु कटुवालजस्ता नवकलाकार अहिलेका आशालाग्दा अनुहार बन्न पुगेका छन्।
उनीहरुको कन्टेन्ट हाम्रै समाज वरिपरिका हुन्छन् तर प्रस्तुतिको शैली र भाषा भने भिन्न छ। केहीले घुमाएर व्यंग्य गर्ने सटायरिक शैली अपनाइरहेका छन् भने केहीले सिधा र बोल्ड तरिकाले अप्ठ्यारो पर्ने गरी व्यंग्य गरिरहेका हुन्छन्। केही कमेडियनको शैली पचाउन नसक्दा प्रहरीले पक्राउसमेत गरेको छ। यसको प्रारम्भ प्रनेश गौतमले गरे।
कन्टेन्टमा भने त्यत्ति मिहिनेत अझै देखिएको छैन नयाँ पुस्तामा। फास्टफुडझैँ तत्कालको विषय टिपेर एउटा घटना विशेष केन्द्रित मात्र हुँदा सो घटना सकिएसँगै उनीहरुको कन्टेन्टको प्रभाव सकिने गरेको छ।
हरिवंश अहिलेको पुस्ताले शुरु गरेको ‘स्ट्यान्डअप कमेडी’लाई प्रविधिसँगै आएको परिवर्तन ठान्छन्। तर उनी ड्रामाटिक कमेडीकै पक्षमा देखिन्छन्। स्ट्यान्डअप कमेडीको आयु छोटो हुने उनको धारणा छ।
‘हामीले गर्ने ड्रामाटिक हास्यव्यंग्य अहिले देखाए पनि पुरानो हुँदैन तर स्ट्यान्डअप कमेडीको त्यस्तो नहोला,’ उनले भने, ‘स्ट्यान्डअप कमेडीमा स्क्रिप्ट हुँदैन भन्छन् तर म पत्याउँदिन।’
नयाँ प्रविधिमा आएका नयाँ पुस्ताले गणतन्त्रको वाक स्वतन्त्रताको अलि बढी नै उपयोग पनि गर्ने गरेको देखिन्छ। चार जनाबीच खासखुसमा उच्चारण गर्न सकस पर्ने शब्द मञ्चमा आएर ड्याङकाड्याङ बोल्नेहरु पनि छन्। कतिले यसलाई स्वतन्त्रताको उपयोग भनिरहेका छन्, कतिले छाडापन।
गीतकार खरेल भने अहिलेको नयाँ पुस्ताको कमेडीमा अश्लीलता अलि बढेको बताउँछन्। हास्यकलाकार दीपक भने ‘समयले त्यसलाई परिस्कृत गर्दै लाने’ बताउँछन्।
‘कमेडीमा श्रृङ्गार रस अलिकति बढी चलाइन्छ तर लाजै लाग्ने हुनु भएन,’ नयाँ पुस्तालाई उनको सुझाव छ, ‘कमेडी अनुशासित हुनुपर्छ। परिवारसँग समेत बसेर हेर्नसक्ने हुनुपर्छ।
Leave A Comment