नेपाल साहित्य महोत्सवमा जावेद र शबना

सोमबार, २७ साउन २०७६, ०१ : २७ शुक्रवार
नेपाल साहित्य महोत्सवमा जावेद र शबना

यस वर्षको नेपाल साहित्य महोत्सवमा भारतीय लेखक जावेद अख्तर, शशी थरुर र अभिनेत्री शबना आजमी सहभागी हुने भएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवबारे जानकारी गराइएको थियो।

बुकवर्म फाउन्डेसनले आयोजना गर्ने महोत्सवको यो आठौं संस्करण हो। राष्ट्रियस्तरबाट बिस्तार हुँदै दक्षिण एसियाको महोत्सवका रुपमा विस्तार हुन लागेको बुकवर्मका अजित बरालले बताए। महोत्सवमा दक्षिण एसियाली साहित्यको ‘डिएससी’ पुरस्कार प्रदान गर्न लागिएको छ। महोत्सवका निर्देशक अजित बरालले भने, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल साहित्य महोत्सवलाई दक्षिण एसियालको तटस्थ मञ्चको रूपमा उभ्याउन मद्दत पुगेको छ।’

२५ हजार अमेरिकी डलर ९२७ लाख ५० हजार रुपैयाँ० राशी बराबरको पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो। दक्षिण एसियाली साहित्यकी सहसंस्थापक सुरिना नुरूलाले भनिन्, ‘नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। महोत्सवको दौरान यसपटक हामी डिएससी पुरस्कारको विजेतासमेत घोषणा गर्दैछौं।’ विभिन्न परिवेश र विज्ञता हासिल गरेका पाँच सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक समितिले पुरस्कारको निर्णय तथा छनोट गर्ने गर्नेछन्। नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, म्यानमार, माल्दिभ्स र अफगानिस्तान गरी सम्पूर्ण दक्षिण एसियाको माटोको सुगन्ध बोकेको लेखनलाई यस पुरस्कारले पुरस्कृत गर्दै आएको छ। डिएससी पुरस्कार वितरणको यो नवौँ संस्करण हो।

पाकिस्तानका एचएम नाक्भी, श्रीलंकाका सेहन करुनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकन लेखक झुम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रागासमले यो पुरस्कार प्राप्त गरिसकेका छन्। गत वर्ष।कोलकत्तामा आयोजित पुरस्कार कार्यक्रममा लेखक जयन्त कैकिनी र अनुवादक तेजश्विनी निरञ्जनाले ‘नो प्रिजेन्ट्स प्लिज’ पुस्तकका लागि डिएससी पुरस्कार पाएका थिए।

यस पटकको महोत्सव जनकपुरमा समेत विस्तार गरिएको छ। जनकपुरमा हुने कार्यक्रम तराई मधेसको महत्वपूर्ण पर्व छठको समयमा पारिएको छ। जनकपुरमा पनि आउँदो कात्तिक ७ र ८ मा साहित्य महोत्सव हुनेछ। कार्यक्रम विभिन्न पाँच ठाउँमा हुने सह–आयोजक ‘फ्याक्ट्स नेपाल’ का मनिष झाले बताए। ‘जनकपुरले मैथिली साहित्यलाई प्रतिनिधित्व गर्छ। जहाँ धर्म र संस्कृति हुन्छ, त्यहाँ संवेदना प्रचार हुन्छ र साहित्य पनि त्यही मौलाउँछ। त्यसैले जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनःस्थापना गर्न टेवा पु¥याउँछ, ’उनले भने।

यस वर्ष हुने महोत्सवमा देशविदेशका एक सयभन्दा बढी साहित्यकार, लेखक, पत्रकार र कलाकारहरूको उपस्थिति रहनेछ। जनकपुर र पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवले नेपाल भ्रमण वर्ष–२०२० लाई सार्थक बनाउन टेवा पु¥याउने नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले बताए।

Leave A Comment