थाइरोइडले यौनमा समस्या

मङ्गलबार, २८ साउन २०७६, ०२ : ०२ शुक्रवार
थाइरोइडले यौनमा समस्या

‘गलग्रन्थी’ गलामा हुने पुतली आकारको सबैभन्दा ठूलो इन्डोक्राइन शरीरको ग्रन्थी हो। यो ग्रन्थीमध्येको सबैभन्दा ठूलो ग्रन्थी हो। गलग्रन्थीबाट केही हर्मोन निस्कन्छन्। यसरी निस्कने प्रमुख हर्मोन ‘टि–थ्री(३)’ र ‘टि–फोर(४)’ हुन्। ‘टि–थ्री(३)’ र ‘टि–फोर(४)’ निष्कासन हुन मस्तिष्कको हाइपोथालामस र अगाडिको पिट्युटरी ग्रन्थीको पूर्ण भूमिका हुन्छ।

‘गलग्रन्थी’बाट निस्कने हर्मोनले सामान्य यौनजन्य कार्य गर्न आवश्यक हुन्छ। यौनजन्य क्रियाकलापका लागि ‘गलाग्रन्थी’बाट ‘थाइरोइड’ हर्मोन सामान्य रुपमा निष्कासन हुनुपर्छ।

‘थाइरोइड’ हर्मोनको कमी भएको खण्डमा व्यक्ति न त यौन सम्पर्कका लागि शारीरिक रुपमा तयारी हुन सक्छ न त मानसिक रुपमै तयारी हुन्छ। ‘थाइरोइड’ हर्मोनको असामान्य उतारचढावले मस्तिष्कबाट यौनका लागि सोच आउने, यौनजन्य तौर–तरिका अपनाउन नसक्नुका साथै यौनजन्य क्रियाकलापका लागि निर्णय गर्न नसक्ने समस्या हुन्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्न सक्छु भन्ने आँट आउँदैन।

पुरुषमा समस्या
पुरुषमा ‘थाइरोइड’ हर्मोनको गडबडी भए मस्तिष्क उत्तेजित नहुने, लिंग दुख्ने, यौन सम्पर्कका लागि लिंग नठडिने, ग्रन्थीबाट यौनजन्य रसायन ननिस्कनेजस्ता समस्या हुन्छन्।

पुरुषमा ‘थाइरोइड’ हर्मोनको कमी भए यौनजन्य काम–वासना क्षय हुन्छ। नपुंसकता हुने विभिन्न कारणमध्ये यो हर्मोन बढी हुनु पनि एक हो। ‘थाइरोइड’ हर्मोन बढी भएको अवस्थामा नपुंसकताको जोखिम हुन्छ। यस्तो अवस्थामा यौनजन्य क्रियाकलापका लागि व्यक्तिलाई असर गर्ने नै भयो। त्यसैले यौन मात्रै हैन स्वस्थ जीवनका लागि ‘थाइरोइड’ हर्मोन सामान्य हुन आवश्यक छ।

महिलामा समस्या
व्यक्तिमा उच्च ‘थाइरोइड’ हर्मोन निष्कासन हुँदा यौनजन्य तृष्णा न्यून हुन्छ। यौनजन्य उत्तेजना असामान्य हुन्छ। त्यसैगरी महिलामा मात्रै हैन पुरुषमा पनि ‘थाइरोइड’ हर्मोनको गडबडीले समस्या निम्त्याउँछ।

महिलामा यो हर्मोनको निष्कासन बढी भएमा योनिबाट चिप्लो पदार्थ कम निष्कासन हुन्छ। योनि सुख्खा हुने समस्या हुन्छ। योनिबाट चिप्लो पदार्थ निष्कासन नभएर योनि नै सुख्खा हुने भएपछि महिलामा कामोत्तेजना कम हुने नै भयो। जसका कारण यौन सन्तुष्टि मिल्दैन।

अझ द्विविधा त महिलामा उच्च मात्रामा ‘थाइरोइड’ हर्मोन निष्कासन भएमा रक्तश्राव अत्यन्तै कम भई रजश्वला बन्द हुने जोखिम हुन्छ। महिलामा ‘थाइरोइड’ हर्मोन बढी हुँदा मात्रै हैन कमी हुँदा पनि असर हुन्छ।

न्यून ‘थाइरोइड’ हर्मन भएका पुरुषलाई जस्तै महिलामा पनि यो हर्मोनको कमी भए काम–वासना अत्यन्तै घट्छ। यो हर्मोनको कमी भई महिलामा काम–वासना नै नभएपछि यौन क्रियाकलापमा सहभागिता जनाउनु पीडादायी अवस्था हुन्छ।

महिलामा ‘थाइरोइड’ (गला) हर्मोनको कमी भयो भने रजस्वलाको समयमा तल्लोपेट दुख्ने र पटक–पटक रजस्वला भइरहने समस्या हुन्छ। कतिपय महिलालाई ‘थाइरोइड’ हर्मोन कमी भएको खण्डमा अनियमित रुपमा रजश्वला हुने समस्या हुन्छ। कतिपय महिलामा त  महिनावारी नै नहुनेसम्मको समस्या हुन्छ। यस्तो समस्याले महिलाको यौन जीवनमा मात्रै हैन स्वास्थ्यमै असर पु-याउँछ। महिनावारीमै समस्या भएपछि यौन क्रियाकलाप कहाँबाट सहज र सम्भव हुन्छ ? यस्तो समस्या भएपछि दुखाइ र पीडाका कारण यौन क्रियाकलापमा सहभागिता जनाउन असम्भवै हुन्छ।

लक्षण
कुनै कागज तथा कपीको पाना, समाउँदा हात थर्रथर्र (कम्पन भएर) हल्लियो भने ‘थाइरोइड’ हर्मोनको गडबडीको शंका गर्न सकिन्छ। व्यक्तिले आफैँ मुटुको धड्कन चलेको थाहा पाए, हल्का जाडोमा पनि धेरै जाडो भए जसरी काप्नु यो हर्मोनको गडबडीको लक्षण हो। सामान्य तथा कम घाम लाग्दासमेत शरीर भत्भत् पोल्नु वा घाममा बस्न असहज हुनु नै ‘थाइरोइड’ हर्मोनको गडबडी भएको हुन सक्छ।

‘थाइरोइड’ हर्मोनको गडबडीको यस्तो लक्षण देखिने व्यक्तिले यौन सम्पर्क गर्दा यौनाङ्ग दुख्ने, पोल्ने जस्ता समस्या हुन्छन्। त्यसैले उपचार गरी समाधानको बाटो पहिल्याउन आवश्यक हुन्छ।

उपचारपछि उत्तेजना
‘थाइरोइड’ हर्मोनका कारण व्यक्तिमा यौनजन्य समस्या मात्रै हैन स्वास्थ्यमा पनि असर पुग्ने भएकाले यो हर्मनको सन्तुलन तथा समस्याको समाधानको उपाय अपनाउनु उपयुक्त हुन्छ। स्वास्थ्य तथा यौन सुखका लागि व्यक्तिले स्टिमुलेटिङ हर्मोन, थाइरोइड एन्डिबडिजको जाँच गर्नु आवश्यक हुन्छ। त्यसैगरी सेरम थाइरोइड फ्रि ‘टि–फोर’ को परीक्षण गर्नु उपयुक्त हुन्छ।

यसरी समस्या पहिचान गरेर उपचार गरेमा हर्मोनको गडबडीलाई सन्तुलनमा ल्याउन सकिन्छ। उपचारपश्चात् व्यक्तिको यौन तृष्णा सामान्य अवस्थामा फर्काउन सकिन्छ।

उपचारपछि भने तुरुन्तै यो समस्या समाधान हुन्न। केही समय धैर्यता गर्नै पर्छ। सामान्यतः सामान्य अवस्थामा फर्कन ‘थाइरोइड’ हर्मोनको उपचार थालेको दुई महिनादेखि एक वर्षको समय लाग्न सक्छ।

‘थाइरोइड’ हर्मोनले यौनमा के असर गर्छ भन्ने विषयमा भने त्यति धेरै अध्ययन भएको देखिँदैन। ‘थाइरोइड’ हर्मोनले यही नै काम गर्छ भन्ने किटान गर्न भने मुस्किल छ। ‘थाइरोइड’ हर्मोनले कस्तो काम गर्छ भन्ने कुरा गलग्रन्थीमा मात्रै भर नपरी अगाडिको पिट्युटरी ग्रन्थी र हाइपोथालामसमा भर पर्छ।

सामान्यतः व्यक्तिको प्लाज्मामा ‘टि–फोर(४)’ ‘थाइरोइड’ हर्मोनको तह १०३ न्यानोमोल प्रतिलिटर हुन्छ। ‘टि–थ्री(३)’ ‘थाइरोइड’को तह २.३ न्यानोमोल प्रतिलिटर हुन्छ। सामान्य शारीरिक जाँजको अवस्थामा भने चिकित्सकले ‘टि–थ्रि’, ‘टि–फोर’, ‘टिएसएच’जाँच गराउने परिपाटी भने गलत हो। यो जाँच महँगो हुने भएकाले सामान्य स्वास्थ्य तथा यौनजन्य समस्यामा ‘थाइरोइड’ हर्मोनको जाँच गर्नुभन्दा अगाडि विचार पु-याउनु पर्छ।

सामान्य यौनजन्य समस्यामा यी हर्मोनको जाँच  गर्नु आवश्यक हुँदैन। बिरामीको इतिहास, रोगको लक्षणको आधारमा ‘थाइरोइड’ हर्मोनको समस्या हो भन्ने शंका नभई ‘टि–थ्रि’, ‘टि–फोर’, ‘टिएसएच’ जस्तो ‘थाइरोइड’ हर्मोनको जाँच गर्नु निरर्थक हुन्छ।

नेपालमा विशेषगरी पहाडी क्षेत्रमा आयोडिनको कमीले गलगाँडजस्तो रोग महामारीका रुपमै देखिएको थियो। यस्तो समस्या भने तत्कालीन सरकारले आयोडिनयुक्त नुनको वितरण गर्न थालेपछि समस्या कम हुन थालेको छ। यदाकदा मात्रै गलगाँड आउने समस्या देखिनु भने सामान्य हो।

शरीरमा आयोडिनको कमी भएमा बालबालिकामा ‘कृटिन’ जस्ता रोग पनि देखिन्छन्। जस्को समस्याका कारण बालबालिकाको ढिलो वृद्धि–विकास हुनुका साथै सुस्थ मनस्थितिको हुन्छ। गर्भवती महिलामा आयोडिनको कमी भएको खण्डमा त्यस्ता महिलाबाट जन्मने शिशुमा पनि आयोडिनको कमी भई शिशु शारीरिक तथा मानसिक रुपमा अपांग हुन्छ। उपचार गरेको खण्डमा भने बच्चा सामान्य अवस्थामा आउन सक्छ। प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment