फोक्सो जोगाउने तरिका

बुधबार, २९ साउन २०७६, ११ : ३६ शुक्रवार
फोक्सो जोगाउने तरिका

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

व्यक्ति बाँच्नु भनेको दोहोरो रुपमा स्वासप्रश्वास प्रक्रिया चलिरहनु हो। व्यक्ति स्वस्थ हुनका लागि स्वासप्रश्वास पक्रिया सक्रिय र सन्तुलित रुपमा चल्न आवश्यक छ। स्वासप्रश्वासको सम्बन्ध शरीरको भित्री अंग फोक्सोसँग प्रत्यक्ष रुपमा रहेको हुन्छ। त्यसैले व्यक्ति स्वस्थ रुपमा बाँच्नका लागि फोक्सो स्वस्थ हुन आवश्यक छ।

व्यक्तिले नाकबाट लिएको स्वास (अक्सिजन) फोक्सोमा पुग्छ। लिएको अक्सिजनले शरीरमा भएको विकारलाई कार्बनडाइअक्साइडमा परिणत गरेर श्वासकै माध्यमबाट बाहिर निकाल्छ। फोक्सो अस्वस्थ भएको अवस्थामा भने यो पक्रियामा अवरोध आउँछ। स्वासप्रश्वास प्रक्रिया सहज हुनका लागि फोक्सो स्वस्थ  तथा मजबुत हुन आवश्यक छ। फोक्सो स्वस्थ तथा मजबुत राख्ने केही उपाय छन्।

व्यायामका तीन चरण
फोक्सोको व्यायामको पहिलो  चरणमा लामो स्वास लिँदै पुनः लामो स्वास छोड्न सकिन्छ। यो क्रम एक चरणमा पाँचदेखि सातपटक गरिन्छ। दैनिक आधाघण्टा यसरी लामो स्वास लिँदै छोड्दै गर्नु उपयुक्त हुन्छ। यसरी लामो स्वास लिएर पुनः लामो स्वास छोड्दा फोक्सो खुम्चने र फुल्ने क्षमता बढ्छ। यसरी फोक्सोको क्षमता बढ्ने भएकाले शरीरले अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने प्रक्रिया चुस्त र धेरै हुन्छ। जसको कारण रक्तनलीले ल्याएको विकार तत्व कार्बनडाइअक्साइडमार्फत फोक्सो हुँदै नाकबाट बाहिर जान्छ। त्यसैगरी रगत शुद्धीकरणका लागि अक्सिजनको मात्रा शरीरमा पर्याप्त पुग्ने भएकाले फोक्सो त स्वस्थ तथा मजबुत हुने नै भयो पूरै शरीर  स्वस्थ र राम्रो हुन्छ।

फोक्सोको व्यायाम गर्ने दोस्रो तरिका छ। नाकबाट अलि जोडले एकोहोरो रुपमा स्वास बाहिर फालिन्छ। सामान्यतः शरीरले अक्सिजन बढी लिने र कार्बनडाइअक्साइड कम फालिरहेको हुन्छ। यसरी नाकले बाहिर स्वास फाल्दा अक्सिजन कम लिने र कार्बनडाइअक्साइड बढी बाहिर फाल्ने प्रक्रिया हुन्छ। कार्बनडाइअक्साइड बढी बाहिर फाल्दा शरीरमा भएको विकार स्वासको माध्यमबाट बढी मात्रामा बाहिर जान्छ। यसरी शरीरको विकार स्वासको माध्यमबाट बाहिर गएपछि व्यक्ति स्वस्थ हुन्छ। त्यसैगरी नाकले धेरै अक्सिजन तानेर फोक्सोको व्यायाम गर्न सकिन्छ। यस चरणको व्यायामलाई फोक्सोको तेस्रो चरणको व्यायाम मान्न सकिन्छ। नाकले एकोहोरो लामो स्वास लिँदा धेरै मात्रामा अक्सिजन तान्न सकिन्छ। यो  किसिमको व्यायामले नाकदेखि फोक्सोसम्मको स्वासनली फुल्छ। जसले स्वासप्रश्वास प्रक्रियामा सहज भई फोक्सो स्वस्थ र मजबुद हुन सहयोग पुग्छ।

फोक्सोका यस्ता व्यायाम हिँड्दा, बस्दा, उभिँदा वा प्रायः जुन समयमा पनि सामान्य रुपमा गर्न सकिन्छ। जसले फोक्सो बिग्रेर फोक्सोले काम नगर्ने जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ। निमोनियाको समस्याबाट जोगिन पनि फोक्सोको यस्ता व्यायामले सहयोग पु-याउँछ। सामान्यतः फोक्सोको व्यायाम १० वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिले गर्न सकिन्छ।

प्राकृतिक व्यायाम
विशेषगरी फोक्सो मजबुत पार्नका लागि प्राकृतिक वातावरण आवश्यक हुन्छ। विशेषगरी यस्ता व्यायाम गर्न प्राकृतिक तथा स्वच्छ वातावरण आवश्यक हुन्छ। घरको छत, खुल्ला बगैंचा, जंगल, चौरजस्तो स्वच्छ वातावरणमा फोक्सोको व्यायाम गर्नाले स्वासको माध्यमबाट विकारतत्व फोक्सोमा पुग्ने जोखिम अत्यन्तै कम हुन्छ। जसले व्यक्ति स्वस्थ हुन सहयोग पुग्छ।

बिहान पाँचदेखि छ बजे र बेलुकी छ देखि सात बजेको समयमा प्राकृतिक वातावरणमा हिँडडुल तथा व्यायाम गर्नु उपयुक्त मानिन्छ। मर्निङ वाक तथा इभिनिङ वाक दैनिक एकदेखि डेढ घण्टासम्म गर्नु उपयुक्त हुन्छ।

स्वच्छ वातावरणमा हिँडडुल गर्नु फोक्सो मजबुत बनाउने प्राकृतिक र सजिलो उपाय हो। मर्निङ र इभिनिङ वाकले स्वासप्रश्वास प्रक्रियामा फोक्सो छिटो छिटो फुल्ने र खुम्चने प्रक्रिया हुन्छ। यो प्रक्रिया छिटो चल्दा फोक्सोका मांशपेशी तथा मसिना नसाहरु सक्रिय हुन्छन्। जसले गर्दा स्वासप्रश्वाससम्बन्धी कतिपय समस्याबाट बच्न सकिन्छ। यसरी फोक्सो छिटो चल्दा शरीरका विकार तत्व पनि छिटोछिटो शरीर बाहिर जान्छ।

जतिपटक हातखुट्टा चल्छ, त्यसैको आधारमा स्वासप्रश्वास प्रक्रिया चल्ने भएकाले स्वासप्रश्वासको गणना गर्नसमेत सकिन्छ। सामान्यतः एक मिनेटमा ७० पटक मुटुको धड्कन चल्छ। स्वासप्रश्वास भने एक मिनेटमा करिब ३५ पटक हुन्छ। दौडँदा, खेल्दा, झगडा गर्दा रिसाउँदा भने स्वास छिटो चल्छ। निदाउँदा, ध्यान गर्दा, वा आराम गर्दा भने स्वावासप्रश्वास प्रक्रिया सामान्य भन्दा कम हुन्छ।

कुनै खेल खेलेर होस् वा दौडेर एक्कासि आराम गर्नु हुन्न। एक्कासि बस्दा, सुत्दा, वा आराम गर्दा व्यक्ति थकित हुने भएकाले स्वासप्रश्वास प्रक्रिया असामान्य हुन पुग्छ। एक्कासि आराम गर्दा स्वासप्रश्वास प्रक्रियामा समस्या आउन सक्छ। त्यसैले व्यायाम गरिसकेपछि वाम अप गर्दै बिस्तारै समय लिएर आराम गर्नुपर्छ। दौडिएको समयमा छिटोछिटो स्वासप्रश्वास प्रक्रिया चल्ने भएकाले यस्तो समयमा पानी पिउनु हुन्न। पानी खाना नलीमा जानु पर्ने हुन्छ। तर यसरी छिटोछिटो स्वासप्रश्वास प्रक्रिया चल्दा स्वासको तिब्रताका कारण पानी स्वासनलीतिर गई सर्किने डर हुन्छ। यस्तो अवस्थामा स्वास रोकिएर ज्यानसमेत जान सक्छ।

प्रदूषित वातावरण भएको ठाउँमा हिँडडुल तथा व्यायाम गर्दा भने प्रदूषित हावा स्वासको माध्यमबाट सिधै फोक्सोमा पुग्ने भएकाले विभिन्न किसिमका जटिल रोगको जोखिम हुन्छ। त्यसैले प्रदूषित वातावरणमा हिँडडुल गर्नु हुन्न।

धूमपानले स्वाहा
फोक्सोको व्यायाम गरेर मात्रै फोक्सो स्वस्थ तथा मजबुत हुँदैन। यसका लागि खानपानमा पनि त्यत्तिकै मात्रामा ध्यान दिन जरुरी छ। फोक्सो स्वस्थ तथा मजबुत राख्न खैनी, चुरोटजस्ता धूमपान र मद्यपान गर्नु हुन्न। धूमपान तथा मद्यपानका कारण हानिकारक तत्वले फोक्सो प्रत्यक्ष रुपमा बिगार्छ।  दैनिक रुपमा अत्यधिक माात्रामा धूमपान गर्दा तीन महिनामै फोक्सोले सामान्य काम गर्न नसक्ने अवस्थाम पुग्छ। धूमपान गर्ने व्यक्तिलाई मात्रै हैन त्यसको धुवाँले वरिपरि बस्ने व्यक्तिलाई समेत असर गर्ने भएकाले फोक्सो जोगाउन धूमपान गर्नु हुन्न।

त्यसैगरी धेरै चिसो किसिमको पदार्थ खाँदा पनि स्वास नली खुम्चिएर एलर्जी हुने भएकाले स्वासप्रश्वास र फोक्सोमा निमोनिया हुने जोखिम हुन्छ। धेरै तातो खाँदा पनि स्वासप्रश्वासमा अवरोध हुन सक्छ। त्यसैले मनतातो किसिमको खाद्यपदार्थ खाँदा स्वासप्रश्वास प्रक्रियामा सहजता ल्याउँछ। फोक्सो स्वस्थ र मजबुत राख्न हरियो सागपात, पहेँला फलफूल र सन्तुलित खाना खानुपर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment