थरिथरिका बाथ रोग

बुधबार, २९ साउन २०७६, ११ : ५९ शुक्रवार
थरिथरिका बाथ रोग

डा. अन्जल बिष्ट, बाथरोग विशेषज्ञ, वीर अस्पताल

बाथरोगका विभिन्न प्रकार हुन्छन्। जसमध्ये ‘कनेक्टिभ टिस्यु’ रोग बाथ रोगअन्तर्गत पर्ने रोग हो। सामान्यतः बाथ रोग भन्नाले ‘अटोइम्युन रोग’ भन्ने बुझिन्छ। ‘अटोइम्युन रोग’मा शरीरका आफ्नै कोशिकाहरुले शरीरका अन्य कोशिकाहरुलाई हानि पु-याइरहेका हुन्छन्। यो एक किसिमको दीर्घ रोग हो।

शरीरमा विभिन्न किसिमका तन्तु हुन्छन्, जसमध्ये ‘कनेक्टिभ टिस्यु’ एक प्रकारको तन्तु हो। यसमा हड्डी, जोर्नी, रगत आदि पर्छन्। ‘कनेक्टिभ टिस्यु’मा हुने एक प्रकारको बाथ रोग नै ‘कनेक्टिभ टिस्यु’ डिजिज हुन्। ‘कनेक्टिभ टिस्यु’ डिजिज भएको खण्डमा जोर्नीमा मात्रै नभई मस्तिष्क, फोक्सो, मुटु, मृगौला, आँखाजस्ता शरीरको अंगमा असर पुग्छ। समयमै यस रोगको पहिचान गरी उपचार गरे यस्तो समस्याबाट बच्न सकिन्छ।


‘कनेक्टिभ टिस्यु’ रोगअन्तर्गत मुख्य रुपमा ‘एस.एल.ई. (लुपस)’, ‘सिस्टेमिक स्क्लेरोसिस’, ‘मिक्स्ड कनेक्टिभ टिस्यु डिजिज’, ‘सोग्रेन सिन्ड्रोम’, ‘डरमाटोमायोसाइटिस्’, ‘पोलिमायोसाइटिस्’जस्ता रोग पर्छन्।

रोगको कारण
धेरैजसो ‘कनेक्टिभ टिस्यु’ रोग वंशाणुगत, हार्मोन र वातावरणीय समस्या जस्ता कारणले लाग्छ। विभिन्न कारणहरुले शरीरको रोगसँग लड्ने ‘इम्युन प्रणालीमा’ गडबडी आउँछ। जसले गर्दा शरीरको आफ्नै कोशिकाहरुले आफ्नै कोशिकाहरुलाई हानि पु-याउँछन् र यो रोग निम्तिने जोखिम हुन्छ।

के हो लुपस ?
वंशाणुगत कारणले पनि ‘कनेक्टिभ टिस्यु’ रोग (डिजिज्) हुन सक्ने उदाहरणका रुपमा लुपस रोगलाई लिन सकिन्छ। परिवारका सदस्यमा लुपस रोग लागेको छ भने यो रोग परिवारका अन्य सदस्यमा हुने जोखिम बढी हुन्छ। दाजुभाइ, दिदीबहिनीहरुलाई लुपस रोग लागेको अवस्थामा अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने जोखिम हुन्छ। कहिलेकाहीँ केही औषधिहरुको नकारात्मक कारणले पनि लुपसको जस्तो लक्षण देखिन सक्छ। लुपस रोग महिनावारी बन्द नभएका महिलाहरुमा पुरुषको तुलनामा बढी देखिन्छ। महिनाबारी बन्द भएपश्चात महिला र पुरुषहरुमा बराबरै मात्रामा लुपस देखिनुले इस्ट्रोजेन र एन्ड्रोजेनजस्ता हार्मोनहरुको भूमिका हुन्छ भन्ने देखिन्छ।

लक्षण

‘कनेक्टिभ टिस्यु’ डिजिजको लक्षण रोगको प्रकृतिअनुसार हुन्छ। सामान्यतः सबै प्रकारको ‘कनेक्टिभ टिस्यु’ रोगमा शरीरका जोर्नीहरु दुख्ने, सुन्निने, ज्वरो आउनेजस्तो समस्या हुन्छ। जाडो मौसममा वा चिसो पानी चलाउँदा औँलाहरु नीलो वा सेतो हुन सक्छन्।

लुपस लागेमा कपाल अत्यधिक मात्रामा झर्ने, मुख वा नाकमा बारम्बार घाउहरु आइरहने, गालामा पुतली अकारको एलर्जी देखिने जस्ता लक्षणहरु देखिन सक्छन्।

‘कनेक्टिभ टिस्यु’ रोग अनियन्त्रित भएमा मृगौलामा समस्या, मस्तिष्कघात, फोक्सोमा समस्या, रक्तअल्पताजस्ता जटिलताहरु हुने जोखिम हुन्छ।

‘सिस्टेमिक स्क्लेरोसिस्’रोग भएको खण्डमा जोर्नीहरु दुख्ने, सुन्निनुुका साथै छाला कडा भएर जान सक्छ। फोक्सोमा असर परेमा श्वासप्रश्वासमा समस्या आउँछ। औँलाहरु नीलो हुने, औँलाको टुप्पामा घाउ आउनेजस्ता समस्याहरु देखिन सक्छन्।

‘सोग्रेन सिन्ड्रोम’मा जोर्नीहरु दुख्ने समस्याका साथै आँखा सुख्खा हुने, आँसु कम आउने, मुख सुख्खा हुने, गलफुलो आउनेजस्ता लक्षणहरु देखिन सक्छन्। त्यसैगरी ‘डर्माटोमायोसाइटिस’मा जोर्नीहरु दुख्ने, घाममा जाँदा एलर्जी हुने, छाती तथा औँलाको जोर्निमाशिका छाला रातो हुने, मांशपेशी दुख्ने, थकित हुने, बसेको ठाउँबाट उठ्न गाह्रो हुने, भ-याङ चढ्न गाह्रो हुने, हातलाई टाउको माथि उठाउन गाह्रो हुनेजस्ता समस्याहरु देखिन्छन्। रोग बढ्दै गएमा श्वासप्रश्वासमा तथा खाना निल्न गाह्रो हुनेजस्ता समस्या आउन सक्छन्।

पुरुषभन्दा महिलामा समस्या
‘कनेक्टिभ टिस्यु’ रोग जुनै उमेर समूहका महिला र पुरुषहरुमा देखिन सक्छन् तर सामान्यतः यो रोग पुरुषको तुलनामा महिलाहरुमा बढी देखिन्छ। कुनै प्रकारको ‘कनेक्टिभ टिस्यु’ रोग कम उमेर समूहमा देखिन्छ भने कुनै ४०/५० वर्ष उमेर समूहका व्यक्तिमा देखिन्छन्। कतिपय ‘कनेक्टिभ टिस्यु’ रोग ७० वर्ष उमेर समूहको हाराहारीमा देखिन्छ।

रोगको पहिचान
व्यक्तिमा कुनै पनि असामान्य किसिमका अस्वस्तथाका लक्षणहरु देखिएमा चिकित्सकसँग उचित परामर्श लिनु पर्छ। ‘कनेक्टिभ टिस्यु’ रोग लागेको शंका भएमा विशेषज्ञ चिकित्सककहाँ पुगी उचित परीक्षण गराउनु पर्छ। रोगको पहिचान गर्न आवश्यकताअनुसार रगतको जाँच, एक्स–रे, सिटी स्क्यान, पि.एफ.टी., मृगौलाको जाँचजस्ता परीक्षण गराइन्छ।

उपचार सम्भव
समस्या भए कुन प्रकारको ‘कनेक्टिभ टिस्यु’ रोग लागेको हो र कुन अंगमा असर परेको छ भन्ने जाँच गरेर यकिन गरेपछि उपचार गरिन्छ। रोगको प्रकृतिअनुसार खाने औषधि वा सुईबाट दिइने औषधिबाट उपचार गरिन्छ। यो एक दीर्घरोग भएकाले यसको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ। समयमै उचित उपचार गरेको खण्डमा यी रोगहरुबाट हुनसक्ने जटिलताहरुबाट बच्न सकिन्छ। लुपस जस्ता बाथरोग युवावस्थाबाट सुरु हुन सक्छ। यो रोग लागेको अवस्थामा लामो समयसम्म औषधी सेवन गर्नु पर्ने हुन सक्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment