भट्टराईको बदलिएको छवि

शुक्रबार, ३१ साउन २०७६, १० : १५ शुक्रवार
भट्टराईको बदलिएको छवि

प्रतिस्पर्धी दलका समर्थकले पनि मन पराउने नेता हुन् योगेश भट्टराई। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने आश्वासन दिएर पूरा नगर्दा नेकपाभित्रका उनका शुभेच्छुक जति दुःखी थिए प्रमुख प्रतिपक्षी दलका युवा नेता कार्यकर्ता पनि दुःखी नै देखिएका थिए।

एक वर्ष कटेपछि भए पनि जब उनी पर्यटनमन्त्रीमा नियुक्त भए नेकपाको पार्टी पङ्क्ति, पार्टीभित्रका उनका शुभेच्छुक खुसी हुने नै भए, प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापालगायतकाले समेत उनलाई शुभकामना दिँदै बोलीले भन्दा व्यवहारले प्रभावशाली काम गर्न शुभकामना दिए।

मन्त्री बने लगत्तै उनले शुभकामना नदिनु भन्दै केही परिवर्तनको संकेत पनि नगरेका हैनन्। तर पद बहाली गरेको केही दिनभित्रै उनीबाट पनि सरकारमा रहेका केही बोलक्कड मन्त्रीकै शैलीमा हास्यास्पद तर्क र सस्ता अभिव्यक्ति आउन थाले। निजगढमा बनाउने तयारी गरिएको अन्तर्राष्ट्रिय विमानस्थलले ल्याउन सक्ने वातावरणणीय क्षति अझै बहसमै छ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कमैको असहमति देखिन्छ। त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानको भार थेग्न नसकिरहेको अवस्थामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नु सुखद पक्ष हो। उनले मंसिरभित्रै शिलान्यास गर्ने, अन्तर्राष्ट्रिय लगानी नआए सरकार आफैँले बनाउने भन्दा धेरै खुसी नै भएका थिए।

तर सकेसम्म कम वातावरणीय क्षति होस् भन्ने अधिकांशको चासो र चिन्ता हो। युवा नेता र समाजसँग राम्रो घुलमिल रहेको छवि बनेका योगेश वातावरणीय पक्षमा गम्भीर हुने धेरैको आशा विपरीत उनी छेडखानीमा उत्रिए।
सकेसम्म कम वातावरणीय क्षति होस् भनेर सुझाव दिनेलाई छेड हान्दै सार्वजनिक कार्यक्रममा उनले ‘रुखको माया लाग्ने अँगालो मार्न आए हुन्छ’ भनेर दम्भ देखाउन सक्रिय भए। उनी यत्तिमै रोकिएनन्। अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई खेतमा रोपाइँझै सहज रुपमा लिँदै १० लाख जना उतारेर भए पनि बनाई छाड्ने जस्तो हचुवा दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँ गम्भीर विषयलाई हल्का रुपमा उडाउन व्यस्त छन्। सञ्चारमन्त्री गोकुल बाँस्कोटाको उग्र शैलीबाट आम नागरिक चिढिएका छन्। यस्तो माहोलको बीचमा मन्त्री बनेका भट्टराईमा एक सातामै देखिएको परिवर्तन स्वाभाविक देखिएन।

आर्थिक अपचलनको भारीले थिलथिलो बनेको पर्यटन मन्त्रालयसँग नेपालको अन्तर्राष्ट्रिय छवि समेत जोडिएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम थला परेको छ। सन् २०२० मा २० लाख पर्यटक स्वदेश भित्र्याउने महत्वाकांक्षी योजना छ। पोखरा र निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने चुनौतीसँगै नेपाल ट्रष्टको सम्पत्तिको दोहन रोक्ने जिम्मेवारी पनि यही मन्त्रालयमा छ। पर्यटनसँगै संस्कृतिको जिम्मेवारी पनि उनकै काँधमा रहेकाले मठ मन्दिरको जग्गामाथि भइरहेको लुट रोक्ने जिम्मेवारी पनि उनकै हो। यत्ति गम्भीर जिम्मेवारी रहेको मन्त्रालयमा पुगेका गम्भीर छवि बनाएका भट्टराई सम्हालिन आवश्यक छ।

पहिलोपटक मन्त्रालयको जिम्मेवारीमा पुगेका उनका लागि समेत यो परीक्षा हो। उनको परीक्षासँग मुलुकको छवि र भविष्य पनि जोडिएकाले पर्यटन तथा संस्कृतिमन्त्रीको रुपमा उनी फेल हुँदा उनको राजनीतिक यात्रा मात्र असफल हुन्न, मुलुकै असफल हुने जोखिम रहेकाले उनलाई फेल हुने छुट छैन।

मुलुकलाई जोक्कर हैन गम्भीर नेतृत्व आवश्यक छ। तुक्का सुनेर हैन, समृिद्धको यात्रामा लम्किएको नेपाल हेरेर आम नागरिक हाँस्न चाहन्छन्। त्यसैले तुक्का र छेडखानी छाडेर आफ्नो जिम्मेवारीमा गम्भीर हुँदै पर्यटन तथा संस्कृति क्षेत्रको सुधारमा जति चाँडो जुट्यो त्यत्ति मुलुक र भट्टराई दुवैको हित हुनेछ।

Leave A Comment