‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

शुक्रबार, ३१ साउन २०७६, १० : ३३ शुक्रवार
‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

पाकिस्तानी अभिनेत्री मेहविश हयातले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको आरोप लगाएकी छिन्। नर्वेको राजधानी ओस्लामा ‘प्राइड अफ पर्फमेन्स’ अवार्ड लिँदै उनले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको अभिव्यक्ति दिएकी थिइन्।

नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबाट अवार्ड लिँदै उनले भनेकी छिन्, ‘समाजमा सन्देश दिने सशक्त माध्यमको रूपमा फिल्मलाई लिइएको छ। फिल्मकर्मीहरू समाजप्रति जिम्मेवार हुनुपर्छ। फिल्ममेकरले आम मानिसको सोचमा परिवर्तन ल्याउन सक्छौं। तर, हलिउड र बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई बदनाम गरेको छ। पाकिस्तानमा आतंकमात्र हुन्छ भन्ने सन्देश दिने फिल्महरूले हामी पाकिस्तानी नागरिकहरूको छविमाथि प्रश्न उठ्ने गरेको छ।’

अवार्डपछि उनले दिएको मन्तव्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बलिउडले चाहे भारत र पाकिस्तानको सम्बन्ध सुध्रिनसक्ने तर्क उनले दिएकी थिइन्। ‘बलिउडले चाहे फिल्मको माध्यमबाट भारत र पाकिस्तानको आपसी सम्बन्ध र समझदारी बढ्न सक्थ्यो। तर, बलिउडले पाकिस्तानको बदनाम गर्न फिल्महरू निर्माण गरिरहेको छ। बलिउडले राष्ट्रवाद वा शान्तिपूर्ण भविष्य रोज्ने भनेर सोच्नु जरुरी छ, ’उनले भनिन्।

फिल्मले संसारभरका मानिसहरूलाई एकजुट हुन प्रोत्साहन गर्नुपर्ने उनले बताइन्। ‘बलिउडले मानिसहरूलाई एकजुट हुन प्रोत्साहन गर्नुपथ्र्यो। तर, बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई भिलेनको रूपमा प्रस्तुत गरेको छ। हाम्रा प्रधानमन्त्री इमरान खानले भारत एक कदम अगाडि आउँछ भने हामी १० कदम अगाडि बढ्नको लागि तयार छौं भनेर अभिव्यक्ति दिइसकेका छन्,’उनले भनिन्।

 

Leave A Comment