हिन्दूकरणको षडयन्त्र

शुक्रबार, ३१ साउन २०७६, १२ : ४६ शुक्रवार
हिन्दूकरणको षडयन्त्र

अनिल चमडिया

काश्मिरसँग जोडिएको भारतको संविधानको धारा ३७० र ३५ ए खारेज गर्ने निर्णयलाई लिएर भारतीय जनता पार्टी र आरएसएसको नेतृत्वमा बनेको सरकारले सवैंधानिक प्रक्रिया र प्रावधानको कसरी उल्लंघन ग-यो र लोकतन्त्रको भावनामा ध्यान दिएन भन्ने बहस भइरहेको छ। तर अहिले यो बहसको अर्थ छैन।

लोकतान्त्रिक भावना र संवैधानिक प्रक्रियाको आधारमा कुनै निर्णयलाई गलत ठह-याउन लोकतन्त्र र संविधानको आधारमा हुने राजनीतिमा चिन्ता हुन सक्छ। तर जबजब कुनै निर्णय लोकतन्त्र र संविधानको आधारमा भन्दा विपरीत राजनीतिक लक्ष्य पूरा गर्नका लागि गरिन्छ त्यसको संवैधानिक रुपमा हैन राजनीतिक रुपमा विश्लेषण गर्न आवश्यक हुन्छ।

एक संविधानको भावनाअनुसार समाज र व्यवस्था तयार पारेर विचारलाई लगातार बलियो बनाउने राजनीति हुन्छ। जसले संविधानलाई नै सर्वोपरी मानेको हुन्छ। उसको नीति र निर्णयको मूल आधार संविधान हुन्छ। अर्को संविधानको साटो आफ्नो राजनीतिक लक्ष्य पूरा गर्न संविधानको उपयोग मात्र गर्ने राजनीति हुन्छ।

भाजपा र हिन्दूवादी संगठन आरएसएसका लागि काश्मिर उनीहरुको राजनीतिक लक्ष्यसम्म पु-याउने एक माध्यम मात्र थियो। ब्रिटिस साम्राज्यविरुद्धको लडाइँमै आरएसएसको लाइन राजनीतिको हिन्दूकरण र हिन्दूको सैन्यकरण हो भन्ने प्रस्टै भएको थियो।

राजनीतिको हिन्दूकरण गरेर राजनीतिक लक्ष्य पूरा गर्नका लागि काश्मिर र काश्मिरीको मुद्दा सधैँ केन्द्रमा रहँदै आएको छ। संविधानमा काश्मिरका लागि राखिएको धारा ३७० र ३५ ए एक्लो उदाहरण हैन।

स्वतन्त्र भारतको स्थापनासँगै मुलुकका सबै समुदाय र संस्कृतिका साथ जे जस्ता सम्झौता भएका छन्, ती सबैको संविधानको भिन्नभिन्न धारामा उल्लेख गरिएको छ। तर काश्मिर र काश्मिरी राजनीतिको हिन्दूकरण र हिन्दू सैन्यकरणका लागि ज्यादा महत्वपूर्ण मानियो।

संस्कृतिमाथि आक्रमणका लागि जति काश्मिरी हिन्दूको आड बनाइएको छ उत्तिकै मुसलमानलाई पनि आड बनाइएको छ। दुवैलाई एक अर्काका विरुद्ध उभ्याएर दुवैको संस्कृतिमाथि भइरहेको आक्रमणको यो राजनीति बेलैमा बुझ्न आवश्यक छ।

यो विषय भारत र पाकिस्तान बनेलगत्तै हिन्दूवादी राजनीतिको सामु स्पष्ट भइसकेको थियो। त्यसैले यसलाई एक अलग तरिकाले प्रस्तुत गर्ने गरिन्छ। महत्वपूर्ण के भने गैर काश्मिर क्षेत्रमा काश्मिरको बारेका प्रशस्त पढ्ने सामग्री फेला पर्छ र काश्मिरीबारे जानकारी छैन बराबरै देखिन्छ।

किनकि काश्मिर शब्दले राजनीतिको हिन्दूकरण र हिन्दूको सैन्यकरणको प्रक्रियामा सहयोग गर्न सक्छ। तर जब काश्मिरी संस्कृति उजागर हुन्छ त्यसले यस्तो राष्ट्रवादमाथि प्रश्न उठाइदिन्छ। त्यसैले सधैँ काश्मिरलाई मूल मुद्दा बनाइयो। काश्मिरी संस्कृति सधैँ ओझेलमा पारियो।

भारतीय पुरातत्वबाट प्राप्त एक दस्तावेजको एक अंश यहाँ प्रस्तुत छ :
‘काश्मिर घाँटीमा साम्प्रदायिक दंगा भएन र स्थानीय व्यक्तिले सो समयमा सामाजिक सद्भाव बिग्रन दिएनन्। जब १९४७ मा सीमा पार पाकिस्तानबाट मुसलमान आक्रमणकारी आए, सो समयमा पनि काश्मिरीले शान्ति कायमै राखे। १९६५ मा हतियारसहित ठूलो संख्यामा घुसपैठ भयो। त्यही मौकामा पाकिस्तानबाट उपद्रो मच्याउन आएका मुलसमानहरुले जोर जोरले हिंश्रक आह्वान गरे। हिन्दूवादी भारतीय शासकको पञ्जाबाट काश्मिरलाई स्वतन्त्र बनाउने नारा लगाए। तर काश्मिरमा बस्ने काश्मिरीले त्यहाँ बस्ने हिन्दू अप्लसंख्यकलाई समस्या पर्ने र उनीहरुको जीवन खतरामा पार्ने कुनै पनि गतिविधि गर्ने अनुमति दिएनन्। काश्मिरका केही नेताले चाहे जस्तो फैसला गरे पनि या सीमापारबाट आएकाहरुले जति पनि भड्काउने हरकत गरे पनि काश्मिर घाँटीमा साम्प्रदायिक सद्भाव पहिलेझैँ कायमै छ र काश्मिरीहरु धर्म निरपेक्षतामा कायम छन्।’

कुनै पनि समाजमा बस्ने व्यक्तिको मनस्थिति कुन प्रक्रियाले तयार भएको हुन्छ त्यो महत्वपूर्ण विषय हो। काश्मिरी संस्कृति एक लामो ऐतिहासिक प्रक्रियाबाट बनेको हो। काश्मिरीको मनस्थिति सबै धार्मिक झगडा र विवादबाट निक्लेर बलियो बनेको छ। यसलाई आधुनिक समयमा धर्म निरपेक्षताको रुपमा हेरिन्छ।

यही मनस्थिति नै साम्प्रदायिक राजनीतिका लागि सबैभन्दा ठूलो बाधक मानिन्छ। त्यसैले काश्मिरमा साम्प्रदायिक मनस्थिति तयार पार्ने प्रयास जमिन्दारको जग्गा कब्जा गरेर भुमिहीनलाई बाँड्ने अभियानबाट सुरु गरियो। त्यसलाई बढाउँदै लगेर धर्मको रंग दिइयो।

जसको सामाजिक, आर्थिक र राजनीतिक पकड हुन्छ, उसले आफ्नो पकड कायमै राख्नका लागि व्यक्तिको बीचमा आफ्नो एक आधार बनाउने प्रयास गर्छन् र त्यसका लागि सहज बाटो धर्म हुने गरेको देखिन्छ। तर काश्मिरी संस्कृति र मनस्थिति तोड्ने प्रयास सफल हुन सकेन। काश्मिरमा इस्लाम मान्ने र शिव मान्नेहरु दुवै काश्मिरी संस्कृतिमा जोडिएर बसे। दुवै काश्मिरको संस्कृतिको बलियो खम्बा बनेर रहे।

इतिहासको दस्तावेजमा देखिन्छ, एकै धर्म मान्नेहरु अलग अलग देशमा आ–आफ्नो संस्कृतिको साथमा अलग पहिचान बनाएर बस्छन्। काश्मिरलाई मुस्लिम घाँटीको रुपमा पेश गर्ने काम त्यहाँका बासिन्दाले हैन हिन्दूवादी राजनीतिले गरेको हो। किनकि पाकिस्तानका सरदारहरुले काश्मिरमा आक्रमण गर्दा काश्मिरलाई जोगाउन सबैभन्दा धेरै ज्यान काश्मरका मुसलमानहरुको गएको थियो। उनीहरु नै भिडेका थिए। र काश्मिरका मुसलमानहरुले नै भारतसँग बस्ने अनुमति दिएका थिए।

यहाँ प्रचारका लागि एउटा तर्क गरिन्छ, अर्को जुन प्रचार गर्नुपर्ने हुन्छ त्यो दबाएर राखिन्छ। काश्मिर र काश्मिरी संस्कृतिका बारेमा पनि यही भयो। काश्मिरीलाई भारतविरोधीको रुपमा प्रचार गरियो। तर उनीहरुले भारतसँग मिलेर बस्न गरेको प्रयास लुकाइयो। काश्मिरवासीलाई भारतविरोधी देखाउँदा हुने राजनीतिक फाइदा मात्र हेरियो, काश्मिरका नागरिकको सहनशीलता र त्याग हेरिएन।

त्यसैले भारतीय संविधानको धारा ३७० र ३५ ए लाई समाप्त गर्ने निर्णयलाई संविधानको सम्झौता र संविधानको प्रावधानमाथिको विश्वास समाप्त पार्ने प्रयाससँग जोडेर हेर्नुपर्छ। सम्झौताको उल्लंघन र त्यसका लागि एक राजनीतिक सामाजिक आधार तयार गर्नु वास्तवमै संविधानको सम्झौता तोड्ने स्विकृति दिनु बराबर हो।

समाजमा जब कुनै घटना हुन्छ त्यसलाई विविध रुपमा हेरिन्छ। काश्मिरको आवरणमा अहिले राजनीतिक आक्रमणको एक रुपमा तयार पारिँदै छ जो पछि विविध रुपमा भारतीय समाज र त्यसको व्यवस्थामा देखिँदै आएको छ। यसले सैन्यकरणको आधार तयार पार्छ। यस्तो प्रकृतिको राजनीतिको मुख्य आधार नै असुरक्षाको भावना बढाउनु हो। जसलाई उसले आफ्नो हतियार बनाइरहन्छ।

असुरक्षाको भाव समाजको सैन्यकरणको स्विकृतिको अनिवार्य तत्व हो। साम्प्रदायिक राजनीतिले पनि ऊभित्र असुरक्षाको भाव निर्माण गरिदिन्छ र समाजमा असुरक्षाको भाव फैलाएर आफ्नो एजेण्डामा आउन बाध्य बनाउँछ। यस्तो अवस्थामा जसलाई असुरक्षाको कारकको रुपमा प्रस्तुत गरिएको हुन्छ समाज उसलाई शत्रुको रुपमा देख्न थाल्छ।

काश्मिरमा यही सूत्रअनुसार असुरक्षाको भावना सबैभन्दा धेरै प्रयोग गरिएको छ। यो काश्मिरी हिन्दू र काश्मिरी मुसलमान दुवैविरुद्ध प्रयोग भइरहेको छ।

यस्तो भारतीयकरण के हो ?
विविधतालाई अस्विकार गर्ने र विशाल आकारका लागि सानो–सानो संख्यामा रहेका संस्कृतिको अन्त्य गर्नु एक सांस्कृतिक विचारधारा मानिन्छ। यही आधारमा काश्मिरमा कब्जा गर्न त सकिन्छ। तर काश्मिरी संस्कृति कब्जा गर्न सम्भव छैन।
त्यसैले संविधानको धारा ३७० र ३५ ए समाप्त गर्नु भनेको स्वतन्त्रताको आन्दोलनको विरासतसँगै बनेको भारतीयताको संस्कृतिमाथि हमला हो। यो संविधानअनुसार एक राज्यको रुपमा राज्यको पहिचान समाप्त पार्नु मात्रै हैन ।

संस्कृतिमाथि आक्रमणका लागि जति काश्मिरी हिन्दूको आड बनाइएको छ उत्तिकै मुसलमानलाई पनि आड बनाइएको छ। दुवैलाई एक अर्काविरुद्ध उभ्याएर दुवैको संस्कृतिमाथि भइरहेको आक्रमणको यो राजनीति बेलैमा बुझ्न आवश्यक छ।
साभार : द वाएर

Leave A Comment